क्यानडामा पहिलो पटक नेपाली ट्यालेन्ट शो हुने


नयाँपुस्तालाई नेपाली कला तथा साहित्यमा आकर्षण गर्ने उद्धेश्यले क्यानडाको ब्राम्प्टनमा पहिलो पटक नेपाली ट्यालेन्ट शो गरिने भएको छ।

यही अगष्ट २७ आइतबार क्यानडाको ब्राम्टनस्थित एभरेष्ट तेकवान्दो एकेडेमी सेन्टरमा दिउँसो २ बजेदेखि ६ बजेसम्म यो कार्यक्रमको आयोजना गर्न लागिएको हो।

कार्यक्रममा ५ देखि २१ वर्षसम्मका बाल तथा किशोर किशोरी प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्।

पहिलो पटक हुन गइरहेको क्यानडास्तरीय कला तथा साहित्य प्रतियोगितामा प्रतियोगीलाई २ उमेर समूहमा बिभाजन गरिने छ।

पहिलो उमेर समूहमा ५ देखि १२ वर्ष र दोस्रो उमेर समूहमा १३ देखि २१ वर्षका किशोर किशोरीहरु रहनेछन्।

प्रतियोगितामा कलातर्फ गायन र नृत्य एवम् साहित्य तर्फ कविता, मुक्तक, गीत र गजल बाचन हुनेछ भने नेपाली भाषाका रचनालाई प्राथमिकता दिइने आयोजनकले जनाएको छ। यद्यपी अंग्रेजी भाषाका रचना पनि समाबेश भने गराइने छ।

दुबै उमेर समूहबाट प्रथम द्धितिय र तृतिय प्रतियोगिलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ भने प्रतियोगी मध्येबाट एक जनालाई उत्कृष्ट बर्ष प्रतिभा घोषणा गरिने छ ।

क्यानडामा नेपाली नयाँपुस्ता नेपाली भाषा, संस्कृति, तथा साहित्यबाट टाढा हुँदै गइरहेको सन्दर्भलाई मध्यनजर गर्दे यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्था नेपलिज कम्युनिटि नेटवर्क अफ क्यानडाका महासचिव लिला पाण्डेले बताए।

कार्यक्रम नेपलिज कम्युनिटि नेटवर्क अफ क्यानडा र नेपाली साहित्य समाज क्यानडाले संयुक्त रुपमा गर्न लागेको हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.