श्रष्टा नरहे सृजना कहाँ बाँकी रहलाः कवि तुलसी दिवस


नेपाली साहित्यको क्षेत्रमा सुन्दर, सरल भाषा अनि निर्भिक र स्पष्ट कविको नाम हो तुलसी दिवस। अस्ट्रेलियाको पर्थमा संचालन भैरहेको अन्तराष्ट्रिय साहित्य सम्मेलनमा भेटिदाँं कवि तुलसी दिवसमा जोश र जाँंगर घटेको थिएन बरु केहि उर्जा थपिएको थियो।

हिँड्दा हिड्दै मोडमा
हिँडेको बाटोनै मोडिए पछी
हिँड्नेको पनि केहि लाग्दो रहेनछ
तेर्सिदा तेर्सिदै तेर्सोमा
तेर्सिएको बाटोनै उक्ले पछी
तेर्सिनेको पनि केहि लाग्दो रहेनछ…..

निकै जोशिलो मुद्रामा आफ्ना सृजना पस्किरहेका कवी तुलसी दिवसले साहित्यको जीवन र समाजसँग घनिष्ठ सम्बन्ध रहेको बताए। ‘साहित्यले समाजको परम्पराको निर्वाह भन्दा परम्परालाई अगाडी बढाउने काम पनि गर्छ’,उनले भने।

देश फैलिदाँं त्यस देशको कला साहित्य, परम्परा अनि भेषभुषा मात्र हैन देशका सबै हिमाल,पहाड र तराइ पनि फैलिने गर्छन्। अस्ट्रेलियाको पर्थमा हामी नेपाली भाषाको कुरा गरिरहेका छौ अनि सगरमाथा र बुद्धका कबिता सुनाइरहेका छौ यही हो देश फैलिएको, कवि दिवसले बडा गजबका साथ आफ्नो तर्क प्रस्तुत गरे।

जिन्दगी चिन्तन र बिचार भन्दा पनि आचरण हो भन्न रुचाउने कवि दिवस विदेशमा नेपाली फैलिदै जाँंदा सानो नेपाल पनि फैलिएको तर्क गर्छन्। ‘शक्तीमा बस्ने नेताले हैन विदेशमा फैलिएका हाम्रा दाजुभाइले बढि नेपाल चिनाएका छन् ,यसमा शंका छैन। ‘उनले भने।

बडा गजबको आत्मबिश्वास बोकेका कवी तुलसी दिवसले कमजोर कवि समाजमा बाच्न नसक्ने बताउँदै सार्मथ्य नभएकाहरु नक्कली तालीमा बाच्ने बताए। ‘साच्चीकै कविले कविता बाचन गर्दैगर्दा नदीमा बाढी आएको जस्तो बेग आउनुपर्छ अनि दुई चार हजार बर्षपछि पनि चिहानबाट उठेर हिडन सक्नुपर्छ।’ उनले भने।

‘ताली बज्न त घैटोमा घाम लाग्नु पर्छ मुटुमा चस्स बिझाउनु पर्छ तब पो ताली बज्छ अनि मजा आउँछ’, उनले भने, ‘कविताले तरँग उत्पादन गर्नु पर्छ अनि पो मज्जा आउँछ’।

उनि भन्दै थिए ,’भगवान पनि कमजोर देखेको छु मैले। कमजोरी हरेक मानिशको हुन्छ ,त्यसलाई छुपाउने र लुकाउने काम गर्दा हामी कमजोर देखिएका छौ कयैनपटक।’

श्रष्टा र सिर्जनाको सम्बन्धमा कवि दिवसको फरक बिचार छ, ‘श्रष्टालाई हेर्ने दृष्टिकोण अब फेरिनु पर्छ, श्रष्टा सँधै असहाय र सहानुभूतिको पात्र मात्र बन्न सक्दैन। श्रष्टा अँधेरो मै बिउँझन्छन, श्रष्टाले समाजलाई चेतनाको प्रबाह गर्ने गर्दछ। जति हामी सिर्जनालाई महत्व दिन्छौ त्यति नै हामीले श्रष्टालाई पनि महत्व दिनु पर्दछ।’ उनले  श्रष्टा जीवित सास्कृतिक सम्पदा भएकाले श्रष्टा लाई संरक्षण गरिएन भने सिर्जना पनि बाँंकी नरहने बताए।

यहाँं त मरेपछि मात्र सम्मान गर्ने परम्परा भएको बताउँदै उनले जिउँदो हुँदा कुनै वास्ता नगर्नु दुखद भएको बताए।

उनले कविता उत्कृष्ट बन्नको लागि बिषयको पकड, बिम्बहरुको उत्कृष्ट समायोजन र प्रस्तुति हुनुपर्ने बताए। भने, ‘मानवीय समबेदना र अनुभूतिलाई प्राथमिकता दिदाँं कविता राम्रो र उत्कृष्ट बन्छ।’

कवि दिवसका थुप्रै लेख रचना र कविताहरु बिभिन्न देशका प्रतिनिधि मुलुकहरुबाट २५ वटा अन्तराष्ट्रिय भाषामा अनुवादित भै प्रकाशित भएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.