प्रत्येक दुई वर्षमा हुने यस्तो भेला जसले क्विन्सल्याण्ड राज्यको मुख्य सहर नै नेपालमय हुने गर्दछ, त्यो हो-नेपाल महोत्सव ब्रिसबेन।
पर्यटकीय क्षेत्र एवं मुख्य सहर किङ जर्ज स्क्वायरमा करिब १५ हजार नेपालीको भिड, जताततै फहराइएको चन्द्रसूर्य अंकित त्रिकोणाकार झण्डा, नेपाली मौलिक पहिरन, नेपाली खाना अनि सांस्कृतिक कार्यक्रमले पूरा ब्रिसबेनको सहरी क्षेत्र आइतबार गुञ्जायमान भयो।
वर्षभरि सहरका विभिन्न क्षेत्रमा हुने कयैन कार्यक्रमभन्दा केही फरक अनि मुलुकपरक यो महोत्सवले कम्तीमा एक दिन भए पनि सबै नेपालीलाई एकैथलो र एउटै पहिचानभित्र बाँध्न सफल भयो।
वर्षभरि भिन्न झुन्ड र समूहमा विभाजित भई आ-आफ्नो लय पकड्ने हाम्रो परम्परालाई नेपाल महोत्सवले एउटै छातामुनि बाँध्ने काम गरेको छ।
परदेशको व्यस्त जीवनमा आइतबार यस्तो एउटा कार्यक्रम थियो जहाँ ‘मिनी नेपाल’ को झल्को आउँथ्यो।
एकाबिहानैबाट सडकभरि फर्फराएको नेपाली झन्डा, झल्किएको नेपाली कला र संस्कृति, प्रिमियर र मन्त्री एवं विपक्षी दलका नेता र सभामुखले गरेको नेपालीहरूप्रतिको प्रशंसा अनि नेपाली राजदूतद्वारा अस्ट्रेलियाली नेतालाई देखाइएको आत्मविश्वासले घरदेश छोडेर विभिन्न परिस्थितिमा विदेशिएका नेपाली खुसी नहुने कुरै भएन।
-1744007224.JPG)
-1744007224.JPG)
महोत्सवमा राखिएका विभिन्न स्टल र नेपाल हाउसको माध्यमबाट नेपाली खाना, नेपाली संस्कृति, जात्रा तथा पर्व झाँकी र नेपालको पर्यटनको बारेमा विदेशीहरू चासो मानेर हेरिरहेका थिए। नेपाली परिकार स्वाद मानेर खाइरहेका थिए।
फेस्टिबलमा ‘नेपाल हाउस’ नाम दिएर छुट्टै स्टल तयार पारिएको थियो। जसमा नेपाल झल्किने सामानहरू राखिएका थिए। गुरूङ, थारू, मगर, तामाङ, नेपाल लगायत नेपाली परम्परागत संस्कृतिको झलक त्यहाँ थियो।
महोत्सवको औपचारिक कार्यक्रममा अस्ट्रेलियाका केन्द्रीय मन्त्री, प्रिमियर लगायत अन्य राजनीतिक दलका नेतासँगै अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको सहभागिताले कार्यकममा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुमधुर बनाउने सेतुको काम गर्यो।
एनआरएन अस्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिको आयोजनामा भएको नेपाल फेष्टिबलमा पहिलो पटक राज्यका प्रिमियर नै सहभागी भए।
प्रमुख अतिथिको रूपमा नेपाल फेष्टिबलको औपचारिक कार्यक्रममा सहभागी भएका प्रिमियर डेभिड क्रिसाफोलीले राजदूत चित्रलेखा यादवसँगै पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे।
प्रिमियर क्रिसाफोलीले क्वीन्सल्याण्डको नेपाली समुदाय बढ्दो क्रममा रहेको भन्दै उनीहरूले राज्यको उत्थानमा दिएको योगदानको कदर गर्दै नेपालीको मुक्तकण्ठले प्रशंसा गरे।
उनले नेपाली समुदायलाई गर्ने सहयोग बढाउने भन्दै उनले ६५ वर्ष अगाडि आफू पनि आप्रवासीका रूपमा इटालीबाट अस्ट्रेलिया आउँदा जस्तो मेहनती समुदायको रूपमा हेरिन्थ्यो त्यस्तै नेपाली समुदाय भएको जिकिर गरे।
'तपाईंको इतिहास महान छ, तपाईंको देश सुन्दर छ, तर तपाईंले अस्ट्रेलिया (विशेष गरी क्विन्सल्याण्ड) लाई आफ्नो नयाँ घर बनाउनुभएकोमा हामी धन्य छौं,' उनले भने, 'तपाईंहरूले आफ्नो मेहनत, परिवारप्रतिको माया र सपनाहरू यता ल्याउनुभयो, जसले हामीलाई राम्रो बनाउँछ। यसका लागि म कृतज्ञ छु।'
उनले यहाँ नेपाली समुदाय बढ्दै गरेको भन्दै यसले हाम्रो राज्यलाई पनि बढाउने बताए।
'नेपाली समुदायको अस्ट्रेलिया, विशेष गरी क्विन्सल्याण्डको यात्रा अहिले प्रारम्भिक चरणमा छ। हामीसँग नेपाली प्रवासीहरूको संख्या हजारौंमा छ, अझै बढ्दो क्रममा छ र यो जसरी बढ्नेछ, हामी पनि राज्यको रूपमा बढ्नेछौं,' उनले भने।
उनले आफ्नो विगत कोट्याउँदै नेपालीले यहाँ गरेको संघर्षका बारेमा जानकार रहेको बताए।
'यहाँको भाषा वा संस्कृति नजाने पनि मेहनतको मूल्य जान्दै ६५ वर्ष अघि मेरो परिवार इटालीबाट यहाँ आएको थियो। यही कुरा म तपाईंको समुदायमा देख्छु। मेहनत, महत्वाकांक्षा, आफ्नो परिवारप्रतिको माया तपाईँहरूमा छ, हामी धन्य छौं र खुसी छौं कि तपाईंहरूले क्विन्सल्याण्ड छनोट गर्नुभयो,' उनले भने, 'यो लामो समयसम्म जारी रहोस्। आफ्नो परिवार र साथीहरूलाई स्वागत गर्दै रहनुहोस्। आज तपाईंहरूलाई यहाँ पाउँदा म धेरै, धेरै आभारी छु।'
-1744007224.JPG)
-1744007222.JPG)
कार्यक्रममा बोल्दै राजदूत चित्रलेखा यादवले आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई जीवित राख्न पुस्तान्तरण गर्न अनुरोध गरिन्। यस्तै राज्य सरकारले नेपाली समुदायलाई गरेको सहयोग र सद्भावका लागि धन्यवाद दिइन्।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अस्ट्रेलियाका पाँच वटा सहरमा लगातार पाँच साता नेपाल फेष्टिबल सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए। उनले यसका लागि सयौं स्वयंसेवकहरू खटिएको भन्दै यसले अस्ट्रेलियाको अर्थतन्त्रमा दिएको योगदानको समेत चर्चा गरेका थिए।
उनले नेपाली समूदाय एकताबद्ध भएर अघि बढ्ने हो भने अस्ट्रेलियाले पनि समूदायको योगदानलाई क्रमशः कदर गर्दै जाने वातावरण बन्ने बताए।
कार्यक्रममा अस्ट्रेलियाको संघीय संसदका सभामुख मिल्टन डिकले प्रधानमन्त्री एन्थोनी एल्बानिजीको सन्देश पढेर सुनाएका थिए। जसमा प्रधानमन्त्रीले नेपाली समूदायको योगदानका लागि धन्यवाद दिएका थिए। त्यसअघि उनले आफूले संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै केही समय अघि नेपालको भ्रमण गरेको र दुई देशको सम्बन्धलाई उचाइमा लैजानका लागि प्रतिबद्ध रहेको डिकले बताए।
कार्यक्रमलाई एनआरएन आइसिसीका उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव स्वतन्त्र प्रताप शाह, ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल लगायतले सम्बोधन गरेका थिए।
औपचारिक कार्यक्रमपछि साँझपख थकाइलाई बेवास्ता गर्दै संगीतमा झुमिरहेको नातिपुस्तादेखि हजुरबुवा पुस्तासम्मको सहभागिताले अस्ट्रेलियामा मातृभूमिप्रतिको माया कति गहिरो छ भन्ने स्पष्ट देखिन्थ्यो।
राष्ट्रिय कलाकारहरू तथा ब्याण्डहरूको प्रस्तुतिमा रमाइरहेको जनसागर ब्रिसबेनमा नभएर नेपालकै काठमाडौं, विराटनगर या पोखरामा आयोजित कुनै भव्य सांगीतिक मेलाजस्तो लाग्थ्यो।
केही समयपछि स्टेजमा देखिएकी समीक्षा अधिकारीले ‘हेल्लो ब्रिसबेन…’ भनिरहँदा ‘दर्शक हेरेको हेर्यै…’ अर्थात् दर्शकले उनको नयाँ गीतको फर्माइस गरिहाले- दुस्मन हेरेको हेर्यै। अवस्था कस्तो आयो भने उनले यो गीत तीन पटक गाउनुपर्यो। दर्शकले उनलाई साथ दिइरहे, नाचिरहे। त्यसपछि अन्तिम प्रस्तुतिको रूपमा कन्दरा ब्यान्डले माहोल थप ततायो।
सांगीतिक कार्यक्रममा नेपाली संगीतमा रहेका गहिरा भावना उजागर भए—जहाँ प्रवासी जीवनका संघर्ष र संवेदनाहरू गुञ्जिए। कार्यक्रमले न केवल मनोरञ्जन प्रदान गर्यो, तर देशप्रेम र सांस्कृतिक जरासँगको सम्बन्धलाई अझ बलियो बनाउने अवसर पनि सिर्जना गर्यो।
नेपाललाई चिनाउने अन्तर्राष्ट्रिय मञ्चका रूपमा यस महोत्सवले नेपाली संस्कृति, भाषा, संगीत र पहिचानलाई गर्वका साथ प्रस्तुत गर्यो। लोकगीतदेखि आधुनिक ब्याण्ड प्रस्तुतिसम्मको सांगीतिक विविधताले सबै उमेर समूहलाई मन्त्रमुग्ध बनायो।
ब्रिसबेनजस्तो बहुसांस्कृतिक सहरमा आयोजित नेपालीकै ठूलो कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक उपस्थिति मात्र देखिएन, यो एक अन्तर्राष्ट्रिय सांस्कृतिक कूटनीतिमा समेत एक महत्त्वपूर्ण योगदान बन्यो।
युवा पुस्ताका लागि पनि महोत्सव प्रेरणादायी रह्यो—जसले उनीहरूलाई आफ्नो मौलिक संस्कृतिप्रति गर्व महसुस गराउँदै भविष्यमा त्यसलाई जगेर्ना गर्ने भावना जागृत गर्यो।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा अस्ट्रेलियाका सबै प्रमुख सहरहरूमा नेपाल फेस्टिवल आयोजना हुने गर्छ। यो एक किसिमले विदेशमा नेपालीहरूको ‘पर्व’कै रूपमा विकास भइरहेको छ।
-1744007222.JPG)
-1744007223.JPG)
एनआरएनए अस्ट्रेलियाका महासचिव सन्तोष कुँवरको विचारमा नेपाल फेस्टिवलले विदेशमा नेपाली संस्कृति जोगाउने काम गरिरहेको छ। यो प्रवासी नेपालीहरूको पहिचान, भावना र संस्कृतिको जगेर्ना गर्ने सशक्त माध्यम बनेको छ।
'नेपाल फेस्टिबल हाम्रो कला र संस्कृति जोगाउने महोत्वपूर्ण माध्यम हो,' उनले भने, 'विदेशमा हुर्किरहेको दोस्रो पुस्तामा नेपाली संस्कृति सिकाउने बुझाउने प्रयास पनि हो।'
विदेशमा नेपाल चिनाउने र पर्यटन विकासमा पनि यस्ता कार्यक्रमले सहयोग गरिरहेको उनले बताए।
अस्ट्रेलियाको नेपाली समुदायले हरेक २ वर्षमा यस महोत्सवलाई पर्वको रुपमा मनाउने एनआरएनए अस्ट्रेलियाको क्यालेन्डर नै बनिसकेको छ। अस्ट्रेलियामा नेपालीको आगमन र उपस्थिति बढ्दै जाँदा महोत्सवलाई पनि हरेक राज्यमा विस्तार गरेको पाइन्छ।
एनआरएनए अस्ट्रेलियाले सिड्नीबाट सुरू गरेको महोत्सव यतिबेला अन्य देशका एनआरएनले पनि सिको गरेका छन्।
महोत्सवमार्फत् नेपालको पर्यटन विकासमा टेवा पुग्यो कि पुगेन त्यो आफ्नो ठाउँमा रहला तर यही जन्मेहुर्केका हाम्रो दोस्रो पुस्ताका बाबुनानीका लागि यी र यस्ता महोत्सवले नेपालसँग नजिस्क्याउने काम अवश्य नै गरेको छ।
महोत्सवमा प्रदर्शन गरिने झाँकी तथा संस्कृति र परम्परा झल्कने पोशाकले सांस्कृतिक रूपले हामी वास्तवमै धनी छौं है भन्ने कुराको बोध हाम्रा नानीले गरेकै हुनुपर्छ।
अस्ट्रेलियामा नेपालको कला, संस्कृति, रीतिरिवाज एवम् परम्पराको प्रचारप्रसार गरी विदेशीहरूलाई नेपाल घुम्न जाउजाउ पार्ने उद्देश्यले दुई दशकदेखि हुँदै आएको नेपाल महोत्सवको निरन्तरता नै अस्ट्रेलियाको नेपाली समुदायको सबभन्दा ठूलो उपलब्धि हो।
-1744007223.JPG)
-1744007221.JPG)
-1744007220.JPG)
-1744007221.JPG)
-1744007220.JPG)
-1744007222.JPG)