इस्लाम धर्मावलम्बीहरूको लागि सबभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले ईद उल फित्र अर्थात ईद मनाइरहेका छन्।
रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र खानपिनको आदान–प्रदानसहित उत्सवको रूपमा मनाइन्छ।
इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष विभिन्न देशमा फरक फरक मितिमा मनाइन्छ। नेपालमा सोमबार मनाइएको पर्व अस्ट्रेलियामा मंगलबार मनाइएको छ।
यसैबीच नेपाली मुस्लिम कम्युनिटी अस्ट्रेलियाले सिड्नीमा एक कार्यक्रमबीच ईद मनाएको छ।
अस्ट्रेलियामा छरिएर रहने मुस्लिम समुदायका प्रवासीहरूलाई एउटै छानामुनि जमघट गराएर शुभकामना आदान-प्रदान गर्ने योजना स्वरूप यस्तो कार्यक्रमको आयोजना गरिएको संस्थाका अगुवा ईरसाद अहमदले बताए।
उनले कार्यक्रमलाई आगामी दिनमा अझ बृहत बनाएर जाने जानकारी दिए।
‘सामान्यतया इदको अर्थ खुसी हो। एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफूलाई इस्लाम धर्मले वर्जित गरेको कामबाट अलग राखी धेरैभन्दा भन्दा धेरै पुन्यको काम गरेको खुसीमा ईदको खुसीयाली मनाइन्छ,’ उनले भने।
उनका अनुसार विशेषगरी बिहान ईदको नियतले नुहाएर सफा र पवित्र भएर खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर ईदको सामूहिक नमाज पढ्ने र खानपिन गरेर रमाइलो गर्ने परम्परा रहेको छ।
यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ।
रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् ।
कार्यक्रममा सहभागी एनएसडब्लु राज्यका वाणिज्यदूत सन्जिव शर्माले शुभकामना दिँदै प्रवासमा रहेका मुस्लिम समुदाय भेला भएर पर्व मनाएकोमा खुसी व्यक्त गरे।
‘सबैलाई खुसीयाली बाँड्ने, भाईचारा बढाउने महान पर्व भएकाले खुसी साट्न र शुभकामना आदान प्रदान गर्न आएको हुँ,’ उनले भने।