ग्लोबल नेपाली
गुल्मीका जीवन केसी अस्ट्रेलियामा बसोबास गरेको १८ वर्ष भयो। केही वर्षदेखि उनी रियल–इस्टेट (घरजग्गा कारोबार) एजेन्टका रूपमा कार्यरत छन्। उनले यस्तो कारोबार गरेको १० वर्ष भयो।
पहिले उनी व्यक्तिगत ढंगले कारोबार गर्थे। दुई वर्षयता भने कम्पनी खोलेर संस्थागत रूपमा काम गरिरहेका छन्। उनी 'प्रपर्टी इन्भेस्टर क्लब' नामको कम्पनीका निर्देशक छन्। यो कम्पनीले महिनामा सरदर १५ वटा जति घरजग्गा बिक्रीको कारोबार गराउँछ।
उनका अनुसार अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकका नागरिकहरू घर किनेर बस्नुलाई उति महत्त्व दिँदैनन्। बरू मोरञ्जनमा बढी खर्च गर्छन्।
'नेपालीहरू जुन देशमा बसेका भए पनि घरजग्गा र सम्पत्तिमा जोड दिन्छन्,' जीवनले भने, 'त्यसपछि मात्र मनोरञ्जनको कुरा आउँछ। अस्ट्रेलियामा मेरो कम्पनीमार्फत घरजग्गा किन्नेमा धेरैजसो नेपाली मूलकै हुन्छन्।'
उनले कारोबार थाल्दा उनीमार्फत घर किन्नेमा आधा जति नेपाली हुन्थे। आजकाल ७० प्रतिशत जति छन्। बाँकी ३० प्रतिशतमा भारतीय, इटालियन, फिलिपिनो, अस्ट्रेलियन लगायत हुन्छन्।
सामान्यतया उनको कम्पनीले १५ वटा कारोबार गर्दा १० वटा घर किन्ने नेपाली हुन्छन्।
'हामी नेपाली गाँस, बास, कपासलाई आधारभूत आवश्यकता मान्छौं। केही पैसा कमाएपछि आफ्नो एउटा घर होओस् भन्ने सोच्छौं। एक हिसाबले राम्रै पनि हो। अस्ट्रेलियामा घर किन्ने नेपालीको संख्या बढ्दै गएको छ,' उनले भने।
उनले कारोबारका लागि अस्ट्रेलियाका विभिन्न सहरमा घर किनेर राखेका छन्। हाल सिड्नी, क्विन्सल्यान्ड, एडेलेड र पर्थमा गरी सातवटा घर किनेका छन्। उपयुक्त ठाउँमा घर किनेर राख्न सक्दा केही वर्षमा मूल्य बढेर राम्रो प्रतिफल प्राप्त हुने उनी बताउँछन्।
'जहाँ घरको माग धेरै छ, जहाँ मानिसहरू बसाइँसराइ गरेर जान रूचाउँछन्, त्यस्ता ठाउँमा राम्रो प्रतिफल पाइन्छ,' उनले भने, 'मानिसहरू यातायात, अस्पताल, स्कुलजस्ता पूर्वाधार राम्रो भएका ठाउँमा बस्न रूचाउँछन्। यस्तै ठाउँ विचार गरेर घर किन्नुपर्छ। उपयुक्त ठाउँ पहिल्याउन पहिले नै राम्रो अध्ययन गर्नुपर्छ।'
उनका अनुसार अस्ट्रेलियामा भविष्यमा मूल्य बढोस् भन्ने उद्देश्यले घरमा लगानी गर्ने हो भने अपार्टमेन्ट किन्नु हुँदैन। सामान्यतया अपार्टमेन्टको मूल्य बढ्दैन, घटाएर बेच्नुपर्ने हुन सक्छ। अपार्टमेन्ट भाडामा बस्न मात्र उपयुक्त हुन्छ। बरू घर किनेर भाडामा दिई आफू अपार्टमेन्टमा बस्न सकिन्छ। अस्ट्रेलियामा यस्तो अभ्यास धेरै छ।
घर किन्दा पनि जग्गाको क्षेत्रफल विचार गर्नुपर्छ। सकेसम्म बढी जग्गा भएको घर रोज्नुपर्छ।
'घरभन्दा पनि घरसँग भएको जग्गाका आधारमा मूल्य बढ्ने हो। जति धेरै जग्गा छ, भविष्यमा त्यति नै राम्रो हुन्छ,' उनले भने।
धेरै व्यस्त ठाउँमा, विद्यालय अगाडि, बिजुलीको 'हाइटेन्सन लाइन' नजिकै र बाढीले डुबाउने ठाउँमा घर नकिन्न उनको सुझाब छ। डढेलो लाग्न सक्ने क्षेत्र (बुस फायर जोन) मा पनि घर किन्नु हुँदैन। जग्गा धेरै भिरालो पनि हुनु हुँदैन। भिरालो जग्गा किनेर घर बनाउँदा धेरै महँगो पर्छ। बेच्न पनि कठिन हुन्छ।
सामान्य ढंगले हेरेर बाढी आउने र डढेलो लाग्ने ठाउँ थाहा हुँदैन। यस्तो पक्ष थाहा पाउन अध्ययन गर्नुपर्छ।
नेपालमा स्थानीय तह भएजस्तै अस्ट्रेलियामा काउन्सिल हुन्छ। घरजग्गा किन्दा काउन्सिलबाट स्वीकृत भए–नभएको पनि थाहा पाउनुपर्छ। काउन्सिलबाट स्वीकृत भएको मात्र किन्नुपर्छ।
घरमा प्रयोग भएको काठ कति बलियो छ, झ्यालढोका ठीक छ कि छैन, धमिरा लागेको छ कि छैन भन्नेमा पनि ध्यान दिनुपर्छ। समग्रमा घर कति सुरक्षित छ भन्नेमा पर्याप्त ध्यान पुर्याउनुपर्छ। यसरी ससानो पक्षमा ध्यान दिएर मात्र घरजग्गा किन्न जीवन सुझाब दिन्छन्।
सहर अनुसार घरको मूल्य फरक फरक हुन्छ। हाल सिड्नीमा ठिक्क जग्गा भएको घर सस्तोमा किन्ने हो भने नेपाली रूपैयाँ १२ करोड जति पर्छ। क्विन्सल्यान्डमा १० करोड रूपैयाँ जति पर्छ। एडेलेड, वेस्टर्न अस्ट्रेलिया र मेलबर्नमा कम्तीमा सात करोड रूपैयाँ पर्छ।
'महँगोमा घरहरू १० करोड अस्ट्रेलियन डलरसम्म (करिब नौ अर्ब नेपाली रूपैयाँ) पर्छ,' उनले भने।
अस्ट्रेलियामा घर किन्नेलाई सहुलियत ऋण उपलब्ध हुन्छ। हाल बैंक तथा वित्तीय संस्थाले ६ प्रतिशतसम्म ब्याजदरमा कुल मूल्यको ९५ प्रतिशतसम्म ऋण दिन्छन्। कोरोनाको समयमा यस्तो ऋण दुई प्रतिशत ब्याजदरमा उपलब्ध थियो। त्यसअघिको ब्याजदर ४.९ प्रतिशतसम्म थियो। ब्याजदर रिर्जभ बैंक अफ अस्ट्रेलियाले निर्धारण गर्छ।
'अस्ट्रेलियामा घरजग्गा कारोबार ठूलो व्यवसाय हो। बैंकहरूले सबभन्दा धेरै लगानी गरेर पैसा कमाउने घरजग्गामै हो,' उनले भने।
अस्ट्रेलियामा धेरै मान्छेले लगानी गर्ने क्षेत्र पनि घरजग्गा नै हो। यो क्षेत्र सुरक्षित भएकाले पनि धेरैले बैंकबाट ऋण लिएर लगानी गर्ने गरेका छन्। यो कारोबारमा घाटा लाग्यो भने त्यो कम गर्ने उपाय पनि छ।
'घाटा लागिहाल्यो भने पर्सनल ट्याक्समा क्लेम (व्यक्तिगत करमा दाबी) गर्न मिल्छ। घाटा लागेको मध्ये ३० देखि ४० प्रतिशत रकम आफूले तिरेको ट्याक्सबाट फिर्ता आउँछ,' उनले भने।
सबै पक्ष राम्ररी बुझेर घरजग्गा कारोबारमा लगानी गर्दा वार्षिक १० प्रतिशतसम्म मुनाफा आर्जन गर्न सकिने उनको भनाइ छ। यसका लागि उपयुक्त ठाउँमा, उपयुक्त घर उचित मूल्यमा किन्नुपर्छ।
'यसमा हामी (प्रपर्टी इन्भेस्टर क्लबमार्फत) सहजीकरण गर्छौं,' जीवनले भने, 'होम लोन (घर किन्ने ऋण) लागि पनि सहजीकरण गरिदिन्छौं। घर किनेर भाडामा लगाउने हो भने पनि गरिदिन्छौं।'
अस्ट्रेलियामा जग्गा किनेर घर बनाउनेभन्दा पनि घर नै किन्ने चलन बढी छ। घर किन्नेबित्तिकै भाडामा लगाएर आम्दानी गर्न सकिन्छ। घर किन्न सुरूमा कुल मूल्यको १० देखि २० प्रतिशत रकम डिपोजिट (जम्मा) भयो भने सहज हुन्छ। २० प्रतिशत रकम डिपोजिट भएको छ भने घरको मूल्य घट्दा पनि लगानी उठाउन अप्ठ्यारो पर्दैन भन्ने हिसाब गरिएको हुन्छ। त्यति डिपोजिट गर्दा 'लेन्डर मोरगेज इन्स्योरेन्स' को पैसा तिर्नु पर्दैन।
सात–आठ करोड (नेपाली रूपैयाँ) को घर किन्न आम्दानी पनि राम्रो हुनुपर्छ। भाडामा लगाउने गरी किन्ने हो भने पनि भाडाबाहेक मासिक आम्दानी कम्तीमा १० लाख नेपाली रूपैयाँ हुनुपर्छ। यसो भए भाडाको रकम र अर्को आम्दानीबाट ऋण तिर्न सहज हुन्छ। आफै बस्न किन्ने हो भने मासिक आम्दानी कम्तीमा १५ लाख नेपाली रूपैयाँ आम्दानी हुनुपर्छ।
ऋणमा घर किन्ने हो भने पुरानो सबै ऋण चुक्ता भएको हुनुपर्छ। क्रेडिट कार्ड चलाएको छ भने नियमित रूपमा किस्ता तिरेको हुनुपर्छ। फोनको र बिजुलीको महसुल ठीक समयमा तिरेको हुनुपर्छ। घरभाडा नियमित रूपमा तिरेको हुनुपर्छ। घर किन्ने व्यक्तिको क्रेडिट स्कोर (पेमेन्ट हिस्ट्री) राम्रो हुनुपर्छ।
यसो हुँदा मात्र बैंकले ऋण पत्याउँछ।
'निर्धारित समयभित्र ऋण तिरेको छैन भने त्यस्तो त्यक्तिले पाँच वर्षसम्म अर्को ऋण लिन पाउँदैन। त्यसैले यी सबै कुरामा ध्यान दिनुपर्छ,' जीवनले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com