अस्ट्रेलियामा नेपाली समुदाय ठूलो हुँदै गएको छ। यससँगै समस्या पनि बढ्दै गएको छ। अस्ट्रेलियामा नेपालीहरू जोडिएका घटनाको संख्या पनि बढ्दै गएको छ।
अपराध, मानसिक समस्या, घरेलु हिंसा, सम्बन्ध विच्छेद (डिभोर्स) जस्ता घटना बढ्दै गएको पाइएको छ। लागुपदार्थ दुर्व्यसन पनि बढ्दो छ।अस्ट्रेलियामा १८ वर्ष उमेर पूरा भएको व्यक्तिले रक्सी किन्न पाउँछ। नेपालको घरपरिवार छाडेर टाढा हुँदा युवाहरूमा अलिक बढी स्वतन्त्रताको अनुभव भएको हुन सक्छ। यस कारण लागुपदार्थ दुर्व्यसन बढेको हुन सक्छ।
कतिपयले त पढाइ, करिअर र पैसा सबै बिगारेका छन्। कोही सुधार गृहमा पुग्छन्। कसैलाई अभिभावकले नेपाल फर्काउँछन्।
अस्ट्रेलियामा रहेर अधिवक्ताका रूपमा काम गरिरहेको हुनाले म इमिग्रेसन (अध्यागमन) र पारिवारिक मुद्दाहरू हेर्छु। आज म अस्ट्रेलियाको पारिवारिक कानुन र डिभोर्सबारे कुरा गर्छु।
नेपालको तुलनामा अस्ट्रेलियामा डिभोर्सको प्रक्रिया अलि सिधा र सजिलो छ। डिभोर्स हुने जोडी एक वर्षभन्दा बढी छुट्टिएर बसेको हुनुपर्छ। सँगै बसेको अवस्थामा डिभोर्स हुन सक्दैन।
श्रीमान श्रीमतीको झगडा पर्यो अनि एक जना घर छाडेर हिँड्यो भने दुईमध्ये एक जनाले सम्बन्ध विच्छेदको निवेदन दिन सक्छ। डिभोर्सको प्रक्रिया सहज भए पनि सम्पत्ति र बालबच्चाको विषयमा भने दुई पक्षबीच सहमति नभएमा अदालती प्रक्रियामा जान्छ। बच्चाको हेरचाहका लागि दुवै पक्षलाई जिम्मेवार बनाइन्छ।
सम्पत्तिको हकमा सुरूमा दुई पक्षलाई सहमतिको मौका दिएको हुन्छ। सहमति नभए मध्यस्थकर्ताको माध्यमबाट प्रयास हुन्छ। यसबाट पनि भएन भने अदालती प्रक्रियामा जान्छ।
डिभोर्स भएको एक वर्षभित्र सम्पत्ति बाँडफाँटको टुंगो लगाइसक्नुपर्छ। दुई जनामध्ये कसले कति कमाएको छ, उनीहरू सँगै बस्न सुरू गर्नुअघि कसको कति सम्पत्ति थियो, भविष्यमा कमाउने क्षमता कसको कति छ भन्ने आधारमा सम्पत्ति बाँडफाँट हुन्छ। दुई जनाको सामूहिक सम्पत्ति कति छ भनेर पनि हेरिन्छ।
नेपाली आप्रवासीको बिहे अस्ट्रेलियामा भएर डिभोर्स नेपालमा भएको रहेछ भने पनि मान्यता हुन्छ। तर नेपालमा डिभोर्स भएको हो भनेर सम्पत्ति बाँडफाँटको दायित्वबाट उम्किन मिल्दैन।
श्रीमान श्रीमती डिभोर्सका लागि कानुन व्यवसायीकोमा पुग्नसाथ फाइल अघि बढिहाल्ने होइन। सुरूमा दुई पक्षलाई मिलाउने प्रयास हुन्छ। कहिलेकाहीँ दुई जनाबीच समस्या एकातिर हुन्छ, बुझाइ अर्कोतिर भएको हुन्छ। त्यस्तो अवस्थामा कानुनी र मेडिकल काउन्सिलिङ (चिकित्सकीय परामर्श) बाट डिभोर्स रोकिन पनि सक्छ। यस्ता घटना मैले धेरै देखेको छु। यस कारण हाम्रो पहिलो प्रयास दुई जनालाई मिलाउनमै केन्द्रित हुन्छ।
अस्ट्रेलियामा मात्रै होइन, सबैतिर डिभोर्सको मुख्य कारण श्रीमान र श्रीमतीबीच अविश्वास हुनु नै हो।
अविश्वास उत्पन्न गराउने कारण विभिन्न हुन सक्छन्। आर्थिक कारण र विवाहेत्तर सम्बन्धले अविश्वास बढेको हुन सक्छ। विवाहपछि दुवैलाई हामी एक अर्काका लागि उपयुक्त रहेनछौं भन्ने पनि लागेको हुन सक्छ।
महिलाहरू आर्थिक र शैक्षिक रूपमा बलिया भएका छन्। शिक्षा र रोजगारीले गर्दा महिलाको आत्मबल बढेको छ। यस्ता महिला पारिवारिक हिंसा र तनाव सहेर बस्न उचित मान्दैनन्। यो पक्ष सकारात्मक पनि हो। तनावमा जीवन बिताउँदा भन्दा आआफ्नो बाटो लिँदा सहज हुन पनि सक्छ।
यी कारणहरूले गर्दा सबै डिभोर्सलाई एउटै डालोमा हाल्नु राम्रो हुँदैन। उकुसमुकुस, अत्याचार र दमनबाट स्वतन्त्र हुनु पनि राम्रो हो। यसो भनेर डिभोर्स गर्नु राम्रो हो भनेको पनि होइन।
डिभोर्स गरेपछि दुवै पक्षको जीवन थप सहज हुन पनि सक्छ। कहिलेकाहीँ झन् खराब पनि हुन सक्छ। यस कारण हतार र आवेगमा डिभोर्स गर्नु हुँदैन, धेरै पक्ष विचार गरेर मात्र निर्णयमा पुग्नुपर्छ।
(अस्ट्रेलियाको 'मण्डला लिगल' मा कार्यरत अधिवक्ता सञ्जीव पाण्डेसँग सेतोपाटीका सन्जिब बगालेले गरेको भिडिओ कुराकानीमा आधारित।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com