अस्ट्रेलियामा सवारी साधनको लाइसेन्समा दुई प्रकारको ग्र्याजुएसन हुन्छ। अस्ट्रेलियामै जन्मेको र हुर्केको पुस्ताले १६ वर्षमा 'लर्नर पर्मिट' लिन पाउँछ।
लर्नर पर्मिट लिएपछि १८ वर्ष उमेरसम्ममा १५० घण्टा इन्स्ट्रक्टर (प्रशिक्षक) सँग बसेर सवारी साधन चलाएको हुनपर्छ। यसमा फ्री–वे (खुला बाटो) मा चलाएको समय, व्यस्त बाटोमा र रातमा चलाएको समय र गतिको रेकर्ड हेरिन्छ।
निर्धारित १५० घण्टा चलाएपछि लाइसेन्स परीक्षामा सहभागी हुन योग्यता पुगेको मानिन्छ। तर पूर्ण लाइसेन्स प्राप्त गर्न १८ वर्ष उमेर पुगेको हुनुपर्छ।
करिब चार वर्ष अघिसम्म नेपाल लगायतका अन्य देशबाट अस्ट्रेलिया जानेहरूको आआफ्नो देशमा पाएको लाइसेन्सले मान्यता पाउँथ्यो। नेपालकै लाइसेन्सका आधारमा पनि लामो समय सवारी साधान चलाउन पाइन्थ्यो। पिआर (स्थायी आवास अनुमति) प्राप्त भएको ६ महिनाभित्र चाहिँ अस्ट्रेलियन लाइसेन्स लिनुपर्ने नियम थियो।
हाल अस्ट्रेलिया सरकारले यो नियममा कडाइ गरेको छ। विदेशी व्यक्तिले स्वदेशमा प्राप्त गरेको लाइसेन्सका आधारमा ६ महिना मात्र सवारी साधन चलाउन पाइन्छ।
नेपालमा गाडी चलाउन पोख्त नै भए पनि नयाँ ठाउँ, खासगरी विदेशमा सचेत रहनुपर्छ। हामी नेपालमा ४०–५० किलोमिटर प्रतिघण्टा गतिमा चलाउन पायौं भने धेरै गति पुगेको ठान्छौं। यस्तो ठाउँबाट एकैचोटि ८० देखि ११० किलोमिटर प्रतिघण्टा गतिमा चलाउन पाउने विदेशी सडकमा पुग्दा धेरै फरक हुन्छ।
अस्ट्रेलियामा ४०–५० किलोमिटर प्रतिघण्टा सामान्य हो।
नयाँ मान्छेलाई अस्ट्रेलियाको सडकमा फरक अनुभव हुन सक्छ। त्यसैले इन्स्टिच्युटमा कक्षा नलिई गाडी चलाउनु हुँदैन भन्ने मलाई लाग्छ।
विगतमा नेपालकै लाइसेन्सले चलाउन पाउने भएकाले पनि हुन सक्छ, हाम्रा नेपाली साथीहरू दुर्घटनामा परेका। कतिको त ज्यान पनि गयो। एक जनाको ज्यान जाँदा अन्य धेरै परिवारलाई असर पर्छ।
नेपालको लाइसेन्स लिएर अस्ट्रेलिया गएको भए ६ महिनाभित्र त्यहाँको लाइसेन्समा परिवर्तन गरिसक्नुपर्छ। अस्ट्रेलियाका राज्य अनुसार सवारी साधनको लाइसेन्स सम्बन्धी नियम केही फरक हुन सक्छ। तर समग्रमा सबैतिर उस्तै हो।
नेपालमा लाइसेन्सका लागि परीक्षा दिने ठाउँमा गाडी चलाएर पास गरे पुग्छ। अस्ट्रेलियामा कम्तीमा ३० मिनेट सबै खालका सडक सञ्जालमा चलाएर परीक्षा दिनुपर्छ। परीक्षा लिने व्यक्ति ड्राइभरको छेउमा बसेर निरीक्षण गर्छ। पास–फेल निर्धारण गर्छ। पार्किङ कसरी गर्यो, पार्किङबाट कसरी निकाल्यो भन्ने पनि परीक्षण हुन्छ।
गतिमा सीमा पालना गरेको वा नगरेको पनि परीक्षण हुन्छ।
यस्ता अनेक मापदण्ड पूरा गर्नुपर्ने भएकाले अस्ट्रेलियामा लाइसेन्सको ग्र्याजुएसन सिस्टम उत्तम छ।
नेपालमा पनि अलि व्यवस्थित गर्न सके नेपाली लाइसेन्स लिएको व्यक्तिले अस्ट्रेलिया जस्ता देशमा पनि सहज तरिकाले गाडी चलाउन सक्ने थिए।
नेपालमा लाइसेन्स छैन तर अस्ट्रेलियामा लिनुपर्यो भने सुरूमा लर्नर पर्मिट लिनुपर्छ। त्यसपछि ड्राइभिङ इन्स्टिच्युटमा गएर नियमित कक्षा लिनुपर्छ। इन्स्टिच्युटले यो प्रशिक्षार्थी लाइसेन्स लिन सक्षम छ भनेपछि मात्र परीक्षामा सहभागी हुन पाइन्छ। कम्प्युटरमा ड्राइभिङ गरेर पास गर्नुपर्ने नियम पनि छ।
धेरैजसोले इन्स्टिच्युटमा १० देखि २० वटासम्म कक्षा लिएर लाइसेन्स निकाल्न सक्छन्। कतिपयले त ५० वटा कक्षा लिँदा पनि लाइसेन्स पाउन नसेकको देखिएको छ। सामान्यतया १५ वटा कक्षा लिनेले लाइसेन्स परीक्षा पास गर्ने गरेका छन्। अस्ट्रेलियामा ८ लाख १७ हजार किलोमिटर हाराहारी सडक सञ्जाल छ। नेपालमा लगभग साढे ६ हजार किलोमिटर छ।
गत वर्ष अस्ट्रेलियाको सडक दुर्घटनामा १२ सय ६६ जनाको ज्यान गयो। नेपालमा हकमा ३८ सय हाराहारीको ज्यान गयो। विश्व स्वास्थ्य संगठन र नेपाल प्रहरीको तथ्यांक हेर्दा केही तलमाथि भए पनि यही संख्याको हाराहारीमा छ।
अस्ट्रेलियामा सडक दुर्घटना संख्या हालको तुलनामा सन् २०३० सम्ममा ५० प्रतिशत कम गर्ने र सन् २०५० सम्ममा शून्यमा झार्ने लक्ष्य छ। नेपालको हकमा भन्ने सडक दुर्घटना हरेक वर्ष बढ्दै गएको छ।
(सडक सुरक्षा अभियन्ता निराजन गौली अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपालका लागि वाणिज्यदूत हुन्। पेसाले इन्जिनियर गौली सडक सुरक्षामा पिएचडी (विद्यावारिधि) गर्दैछन्।)
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com