चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ ले प्रवासमा पनि आफ्नो राम्रो छाप छाड्न सफल भएको छ।
अष्ट्रेलियाबाट आफ्नो अन्तर्राष्ट्रिय प्रदर्शन शुरू गरेको यो चलचित्रले विशेष गरेर सिड्नीमा अपार दर्शकहरूको माया पायो। सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा चलचित्रसँगै नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भेट्न पाउने कारणले पनि चलचित्र हेर्न दर्शकहरू ओइरिएका थिए।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ लाई अष्ट्रेलिया भित्र्याएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले चलचित्रलाई अपार माया गरिदिएकोमा दर्शकलाई धन्यवाद दिए।
योभन्दा अगाडि अष्ट्रेलियाको एडिलेटमा चलचित्रको प्रदर्शन सफलताका साथ सम्पन्न भइसकेको छ भने अब मेलबर्न, तासमानीया र क्यानबेरामा शो हुँदैछ।
यतिबेला युवा पुस्तामाझ राम्रो सफलता हात पारेको यो चलचित्रको विषय बस्तु र कलाकारहरूको कामको सिड्नीमा रहेका दर्शकहरूले खुलेर प्रशंसा गरेका छन्।
सिड्नीमा एउटै हलमा तीन सयभन्दा बढी दर्शकहरूले उक्त चलचित्र हेरेका थिए। ‘अष्ट्रेलियामा रहेका दर्शकहरूलाई राम्रो चलचित्र पस्कन पाएकोमा हामी खुशी छौँ, आगामी दिनहरूमा पनि यस्तै राम्रा चलचित्रहरू प्रदर्शन गर्ने बाचा गर्दछौँ,’ आयोजक सुनिल उप्रेतीले भने।