ग्लोबल नेपाली
सन् १९९९ मा हङकङ जाँदा अमृता थापा (कञ्चन) २३ वर्षकी थिइन्। उनले श्रीमान र छोरीलाई पनि हङकङ पुर्याइन्। हङकङमा ६ वर्ष काम गरेपछि श्रीमानका साथ चीनको ग्वान्जाओ पुगिन्।
उनीहरू व्यवसायका सिलसिलामा चीन गएका थिए। त्यहाँ 'ओम इन्टरनेसनल ट्रेडिङ कम्पनी' कम्पनी खोलेर आयात–निर्यातको काम सुरू गरे।
'हाम्रो कम्पनीले निर्यातको काम धेरै गर्छ,' अमृताले भनिन्, 'फर्निचर, निर्माण सामग्री र विद्युतीय सामग्री निर्यात गर्छौं। विशेष गरेर नेपाल, भारत, अस्ट्रेलिया र रूसमा सामान पठाउँछौं।'
अमृताका अनुसार उनीहरू हङकङ पुग्दा नेपाली समुदाय ठूलै भए पनि चीनमा निकै सानो थियो। चीन पुग्दा त नेपाली व्यक्ति भेट्न गाह्रो हुन्थ्यो। अहिले पनि काम गर्ने र पढ्नेबाहेक ग्वान्जाओमा व्यवसाय गर्ने नेपालीको संख्या दुई सय हाराहारी छ।
चीनमा अमृतालाई प्रारम्भिक दिनमा भाषाको समस्याले व्यवसाय गर्न गाह्रो भएको थियो। तर कडा मेहनतले अप्ठ्यारो अवस्था पार हुँदै सहज बन्दै थियो। यस्तै समयमा सन् २०१४ मा उनका श्रीमान सुन्दरको मृत्यु भयो।
त्यसपछि फेरि कठिनाइ सुरू भयो।
'क्यान्सरले श्रीमानको मृत्यु भयो। डाक्टरले निको हुन्छ भनेका थिए तर अचानक उहाँको मृत्यु भएपछि मैले कल्पनै गर्न नसक्ने चोट बेहोर्नुपर्यो,' उनले भनिन्, 'जस्तै चोट परे पनि मैले व्यवसाय अघि बढाउनै पर्थ्यो। ग्राहकहरूको अर्डर आइरहेको थियो। जसरी पनि पार लगाउनै पर्ने भएपछि म डु अर डाई (गर वा मर) को अवस्थामा पुगेँ।'
ग्राहकको विश्वास, देवर र बहिनी लगायतको साथ तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगले काम गर्न सहज भएको उनले बताइन्।
सुन्दर एनआरएनए, चीनका अध्यक्ष थिए।

'म सबै चुनौती स्वीकार गरेर अघि बढेँ। म हार्नु हुँदैन, डराउनु हुँदैन भनेर हिम्मत गरेँ,' उनले भनिन्, 'काम सिक्दै, गर्दै गएँ। अहिले हेर्दा हिम्मत गरेअनुसार सफल भएँ जस्तो लाग्छ।'
उनका दुई छोरी छन्। ठूली छोरीको बिहे भइसक्यो। सानी छोरी बेलायतमा 'ए लेभल' पढ्दै छिन्। हाल छोरीज्वाइँले व्यवसायमा सहयोग गरेका छन्। सुन्दरको मृत्यु हुँदा कान्छी छोरी सात वर्षकी थिइन्। व्यवसायमा समय दिनुपर्ने भएपछि कान्छी छोरीलाई नेपालमा ल्याइन् र होस्टेलमा राखेर पढाइन्।
अमृता एनआरएनएमा सक्रिय भइन्। हाल उनी एनआरएनएको सहकोषाध्यक्ष पदमा छिन्। अहिले फर्केर हेर्दा उनलाई व्यावसायिक व्यस्तताका कारण छोरीका लागि पर्याप्त समय दिन पाइनँ भन्ने लाग्छ।
'व्यवसाय र एनआरएनएमा समय दिनु पर्दा छोरीहरूका लागि समय दिन नसकेर उनीहरूमाथि अन्याय गरेँ कि जस्तो पनि लाग्छ,' उनी भन्छिन्, 'तर कठिन परिस्थितिमा पनि छोरीहरू सक्षम भएको देख्दा सन्तुष्टि हुन्छ।'
कहिलेकाहीँ विगततिर फर्केर हेर्दा अमृतालाई श्रीमान बितेपछिको निराशाका दिनमा व्यवसाय सह्माल्ने हिम्मत कसरी आयो होला भन्ने लाग्छ। उनलाई त्यो हिम्म्मतको स्रोत के थियो भन्ने अझै थाहा छैन।
'म भगवान मान्छु। सायद भगवानबाट मलाई शक्ति प्राप्त भयो होला। म धेरै नकारात्मक सोच्दिनँ। बिग्रिएको कुरामा त्यति धेरै ध्यान दिन्नँ,' उनले भनिन्, 'श्रीमान बितेपछि मैले जे हुनु थियो, त्यही भएको होला भनेर चित्त बुझाएँ। व्यवसाय सह्माल्ने कुरा सोचेँ।'
जे हुनु छ त्यो भएरै छाड्छ, दुःखकष्ट पार नलगाई हुन्न भन्ने उनको सिद्धान्त छ। यही सिद्धान्त अनुसार घटनाहरूमा सकारात्मक सोच बनाउँछिन्। नजानेको कुरा सिक्दै आत्मविश्वासका अघि बढ्दा सफल हुन सकिन्छ भन्ने उनको मान्यता छ।

श्रीमानको मृत्युपछि व्यवसाय र दुई छोरीको शिक्षादीक्षा उनको एक्लो जिम्मेवारीमा पर्यो। उनी हिम्मत जुटाएर अघि बढिन्। श्रीमानको पदचाप पछ्याउँदै अमृता एनआरएनएमा सक्रिय भइन्।
व्यवसायमा छोरीज्वाइँले साथ दिएपछि उनलाई एनआरएनए गतिविधिमा सक्रिय हुन सजिलो भयो।
एनआरएनएमा हाल व्याप्त विवादले उनलाई संस्थाको भविष्यबारे चिन्ता लागेको छ। राजनीतिक आस्थाका कारणले विवाद सिर्जना भएको उनको ठहर छ।
'एनआरएनए भित्रको विवाद हामी आफैले सिर्जना गरेको हो। निर्वाचित कार्यसमिति स्वीकार गर्न नसक्नु अहिलेको मुख्य समस्या हो,' उनी भन्छिन्, नेपालबाहिर हुँदा पनि राजनीतिक दलको टोपी फुकाल्न नसकेका कारणले अप्ठ्यारो भएको हो।'
सबै सरोकारवालाहरू एउटै टेबलमा बसेर संवाद गर्न सके समस्या समाधान हुने उनको विश्वास छ।
भन्छिन्, 'एनआरएनएका अग्रजहरू गुटको नेता नभई सबैको अभिभावक हुन सक्नुपर्छ। संवादबाट समाधान नहुने समस्या केही पनि हुँदैन।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com