‘बोस्टन सप्ताह’को तयारी पुरा,पण्डित् दिनबन्धु बोस्टनमा

सप्ताहबारे बोस्टनमा आफ्नो धारणा राख्दै प्रमुख बाचक पण्डित दिनबन्धु पोखरेल । तस्विर ः सेतोपाटी


आगामी साता यहाँ हुन लागेको ‘बोस्टन सप्ताह’को तयारी लगभग पुरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन अगस्त ६ देखि १२ सम्म बोस्टनमा श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

मेडफोर्डस्थित शिवालय मन्दिरको दुर्गा हलमा हुने सप्ताहको भौतिक तयारी पुरा भएको र  केही आन्तरिक तयारी तिब्र पारिएको सप्ताह मूल–आयोजक समितिले जानकारी दिएको छ । सप्ताहको प्रमुख वाचकका रुपमा पण्डित् दिनबन्धु पोख्रेल नेपालबाट आइपुगेका छन् ।

बोस्टन आएलगत्तै उनले मुल–आयोजक समितिसंग तयारीबारे जानकारी लिएका छन् । उनले सप्ताहस्थलमै आयोजक समिति र स्थानीय नेपाली समुदायसँग अन्तरक्रिया समेत गरे ।

बोस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीका विभिन्न सभा, समारोह तथा धार्मिक कार्य लागि आफ्नै सामुदायिक भवन निर्माण गर्ने उदेश्यले अर्थ संकलन गर्न यो सप्ताह गर्न लागिएको हो । सो भवनमा पशुपतिनाथ र बौद्ध मन्दिर समेत रहने छ ।

सात दिनमा १५ लाख डलरको लक्ष्य

सप्ताहबाट सामूदायिक भवन स्थापनाका लागि श्रद्धालु दाताबाट १५ लाख डलर संकलन गर्ने लक्ष्य लिइएको छ । सप्ताहमा हजारौं नेपालीको सहभागीता रहने र लक्ष्य बराबरको अर्थ संकलन हुने आयोजक मूल–समितिका संयोजक सुशीलचन्द्र पौडेलले बताए । दाताको सजिलोका लागि नगद, चेक, क्रेडिट कार्ड र डेविट कार्ड तथा पे– पलमार्फत् अनलाईनबाट समेत दान गर्न सकिने व्यवस्था गरिएको छ । सप्ताहको सम्पूर्ण आर्थिक कारोबार चुस्त र पारदर्शी बनाउन मूलआयोजक समिति मातहतको अडिटिङ टिम र ट्रेजरर टिम बनेको छ ।

समितिले सप्ताह तयारीका क्रममा नेपाली समुदायबाट केही रकम सञ्चालन खर्चको रुपमा उठाएको छ । समितिका कोषाध्यक्ष रञ्जन थापाले अहिलेसम्म १५ हजार ५ सय २८ डलर उठाइएको र त्यसबाट १४ हजार ३ सय ५८ डलर तयारीको क्रममा खर्च भएको जानकारी दिए ।

सप्ताहमा बोस्टन आसपासका शहरहरु केपकड, उष्टर, नरउड तथा छिमेकी राज्य न्यूह्याम्सर र कनेटिकटबाट समेत नेपालीहरुलाई आउने संयोजक पौडेलले आशा व्यक्त गरे ।

‘ती स्थानबाट नेपालीहरु निश्चित दिन तोकेर बस रिजर्भ गरेर आउँदै हुनुहुन्छ,‘पौडेलले उत्साहित हुँदै भने ।

नेपाली समुदायभित्र हुने जन्मदेखि मृत्युसम्मका धार्मिक कार्य तथा सांस्कृति गतिविधिका लागि बोस्टनमा आफ्नै सामुदायिक भवन बनाउन यहाँको नेपाली समुदाय अहिले जुटेको हो । यस्तो भवन खरिद गरि आवश्यक पूर्वाधार बनाउन ८ देखि १० लाख डलरसम्म रकम आवश्यक पर्ने अनुमान छ । यही रकम जुटाउन बोस्टन क्षेत्रमा सप्ताह लगाउन करिब तीन महिनादेखि तयारी थालिएको छ ।

यो सप्ताहमा प्रमुख बाचक पोखरेलको उपवाचकको रुपमा महेश सुवेदी, गणेशका रुपमा रमेश पराजुली र पूजाचार्यको रुपमा दिनेश ढुंगेलले सातै दिन साथ दिनेछन् । उनीहरुले सप्ताहका क्रममा आफुले पाउने दक्षिणा त्यहीं दान दिने घोषणा गरेका छन् ।

यस्तै भजन र प्रवचनका बेला संगीत तथा वाद्यवादनमा हिमालयन हेरिटेज एण्ड कल्चरल एकेडेमी र सुशेली समूहले साथ दिने समितिका प्रवक्ता गौरव थपलियाले जानकारी दिए । सप्ताहलाई सांगीतिक र मनोरञ्जनात्मक बनाउन न्युह्याम्सारबाट हरिमाया खतिवडा र सागर खतिवडाको जोडी आउने थपलियाले बताए । उनकाअनुसार सप्ताह अवधिभरका लागि संगीत समूहको संयोजक श्याम नेपालीले गरेका छन् ।

प्रमुख बाचक दिनबन्धुको अठोट

बोस्टन सप्ताह आध्यात्मिकताको नयाँ प्रयोग हुने प्रमुख बाचक दिनबन्धु पोख्रेलको भनाई छ । उनले सप्ताहलाई मानव मिलनको परिकल्पनाअनुसार आफुले अघि बढाउने उद्घोष गरेका छन् । यो सप्ताहले अमेरिकामै नयाँ आयाम थप्नेछ उनको विश्वास छ । ‘यो सप्ताह ‘हँसाउने, नचाउने र बचाउने’ शैलीको हुनेछ’ उनले भने ।

संसारका जुनसुकै कुनामा पुगेका नेपालीमा आफ्नो धर्म, संस्कृति र पराम्परा नष्ट होला कि भन्ने चिन्ता देखिएको उनले सुनाए । ‘त्यसैको परिपूर्तिका लागि पनि बोस्टनमा यो सप्ताह हुन लागेको हो’ उनले भने,‘अहिले धेरैतिर नेपाली समाज रुमल्लिएको देखिन्छ ।’

आफुले सप्ताहमा आउने नेपाली युवा पुस्ताका लागि पनि विशेष महत्व दिई उनीहरुलाई आफ्नो धर्म र संस्कृतिबारे अँग्रेजी भाषामा समेत प्रवचन दिने तयारी गरेको सुनाए ।

‘हाम्रो धर्ममा विज्ञान छ,’उनले भने,‘यसको प्रमाणसहित प्रवचनमा बताउने छु । यो रुढीवादी र परम्परागत काम हो भनेर युवा पुस्ताले बुझ्नु हुँदैन ।’

यसअघि उनले अमेरिकाकै विभिन्न राज्यमा यस्तै सप्ताह तथा विभिन्न धार्मिक पूजाआजा गर्दै आएका छन् भने अष्ट्रेलिया र यूरोपमा पनि यस्तै कार्य गरिसकेका छन् । यसका आधारमा उनले नेपाली समुदाय जहाँ–जहाँ पुगे पनि विभिन्न जात–जाति वा वर्ग र समुदायका नाउँमा विभाजित हुने र अरुलाई नगन्ने अवस्थामा पुगेको अनुभव समेत सुनाए ।

‘अहिले जहाँतहीं एकले अर्काको अस्तित्व नस्वीकार्ने संस्कार देखिएको छ,’ उनले थपे,‘यो सप्ताह केवल पैसा उठाउने मात्र होइन, छरिएका सबै मन र विचारको मिलन पनि गराउने एउटा आयाम हुने विश्वास लिएको छु ।’

बोष्टन सप्ताह अहिलेसम्मकै फरक

किराँत र बौद्ध धर्मसम्बन्धी पूजा अनुष्ठान पनि गर्ने कार्यक्रम रहेको यो सप्ताह अहिलेसम्मकै फरक हुने दावी आयोजकले गरेका छन् । प्रमुख बाचव पोखरेलले पनि सप्ताहमार्फत् अध्यात्मलाई विज्ञानसँग जोडेर प्रभावकारी बनाइने बताए । नेपाली समूदायद्धारा बोस्टनमा पहिलोपटक गर्न लागिएको यो सप्ताहले युवावर्ग र किशोर–किशोरीमा सकारात्मक परिवर्तन ल्याउने पोखरेलको दावी छ ।

‘तपाईंहरुले सप्ताह अघिका युवा र सप्ताहपछिका युवाबीच फरक पाउनु हुनेछ,’ उनले भने,‘बोस्टन अहिले एउटा अभियानमा होमिएको छ । यो कार्यले बोस्टनबासी नेपालीबीच एकताको सन्देश समेत दिनेछ ।’

सप्ताहभन्दा एक साताअघि बोस्टन आइपुगेका पोखरेलले बढीभन्दा बढी नेपालीको उपस्थितिको लागि आवश्यक परे आफूले पनि हरसम्भव प्रयास थाल्ने बताए । उनले नेपालीका संघ–संस्था तथा प्रतिष्ठित व्यक्तिहरुसँग आफैं गएर भूमिका निर्वाह गर्न पनि तयार रहेको उल्लेख गरे ।

‘सप्ताह आयोजकसँग मिलेर यसको सफलताको लागि केही रहस्यहरुको पनि प्रयोग गर्नेछु’ पण्डित्ले भने ।

एक हजार आठ महिलाको कलश यात्रा

बोस्टन सप्ताहको पहिलो दिन एक हजार आठ महिला सहभागी गराई कलश यात्रा गर्ने तयारी भइरहेको छ । सप्ताहस्थल नजिकैको पार्कमा महिलाहरु भेला गराउन संयोजक रुक्मिणी कार्की क्रियाशील छिन् ।

‘कलश यात्रामा एक हजार आठ महिला पु¥याउने लक्ष्यअनुरुप महिला दिदी–बहिनीहरुले धमाधम नाम दर्ता गराइरहनु भएको छ’ कार्कीले भनिन्,‘तोकिएको संख्यामा महिलाको सहभागीता नभए पुरुषहरु पनि कलश यात्रामा सामेल हुनेछन् ।’

उनकाअनुसार कलश यात्रामा सहभागी महिलाले परम्परागत नेपाली पोशाक लगाएर आफ्नो संस्कृति मसेत झक्लकाउने छन् । महिलाहरुले सप्ताहमा प्रयोग भएको कलशलाई शुभ’ मानेर घर लैजान पाउने ऐच्छिक व्यबस्था गरिएको छ । समितिले तोकेको शुल्क तिरेपछि सप्ताहको अन्तिम दिन कलशलाई घर लैजान पाउने छन् । त्यसको लागि ५१ डलर शुल्क तिर्नुपर्छ । यसबाट सप्ताह आयोजक समितिलाई करिब ५१ हजार डलर संकलन हुने अपेक्षा छ ।

कलश यात्रा भनिए पनि स्थानीय प्रशासनले अनुमति नदिएका कारण उक्त यात्रा पार्कको वरिपरि नैं घुम्ने समितिका महासचिव पुष्कर न्यौपानेले जानकारी दिए । यसअघि कलश यात्राले करिव दुई माइल पैदल दुरी पार गरी महायज्ञस्थल पुग्ने भनिएको थियो ।

सप्ताहको पूर्ण तालिका

आयोजक समितिका अनुसार सप्ताहका क्रममा लाखबत्ती, बज्रायन गुरुपूजा, सामूहिक ब्रतबन्ध, रुद्री पाठ, गुन्यूचोलो, ब्रत समापन, तुलादान र लामा पाठ हुनेछन् । सप्ताहअन्तर्गत हरेक दिन १२ः३० देखि ३ बजेसम्म बौद्ध धर्म प्रवचन, ध्यान र पूजाआजा हुनेछन् । यस्तै ३ देखि ६ बजेसम्म भजनको समय हुनेछ । साँझ एकघण्टा प्रसाद ग्रहण गरेपछि ७ देखि ९ः३० बजेसम्म भागवत प्रवचन र त्यसपछि पूष्पाञ्जली गरि त्यो दिनको तालिका समाप्त हुनेछ ।

सप्ताहका क्रममा विभिन्न जातजाति र समुदाय विशेषको पूजा समेत हुने आयोजना समितिले जानकारी दिएको छ । सप्ताहको अन्तिम दिन केही बटुकको ब्रतबन्ध समेत गरिने कार्यक्रम छ ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.