देखावटी प्रगतिवादको ब्याण्ड-वागन


केही भाइ-बन्धु मित्रहरूले मलाई आफू प्रगतिवादी भएको तर हामीलाई गिज्याउनलाई ‘म रुढीवादी हुँ’ भनेर भन्ने गरेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जालमा बौद्धिक खेमाका भाइ-बन्धुहरूले ​वाद र पन्थका सैद्धान्तिक कुराहरु निकाल्न थाल्नुभयो।

अनि मलाई केही लेखौं-लेखुँ जस्तो लाग्यो।  हुन त म जस्तो व्यवहारमुखी वा यथार्थवादी मान्छेले के सिद्धान्तका कुरा गर्न चाहन्थेँ तै पनि आफ्नो विचार स्पष्ट पार्न यो रेलगाडी समात्नै पर्ने भो।

मलाई प्रगतिवादी भन्नुहोस् वा रूढीवादी यो आफैंमा अस्पस्ट धारणा हुन्छ।  अहिलेको समय उदारवादले सांस्कृतिक युद्ध जितिसकेको छ, त्यसैले हामी चाहेर पनि नचाहेर पनि लेफ्ट (वाम) धारतिर त्यसै पर्छौं। तर सांस्कृतिक मौसम  युगले तय गर्नेरहेछ।

सन् साठीको दशकमा ‘हिप्पी’ संस्कृतिले जरा गाड्दा युवा-पुस्ताको जमातप्राय: यो ‘मनोत्तेजक’ संस्कृतिबाट ​अछुतो नरहे जस्तै हाम्रो समयलाई यो ‘प्रगतिवाद’ मय बनाइसक्यो तर कुरो कुन हदसम्मको यो ‘वाद’ लाई पचाउने वा प्रोत्साहन दिने भन्ने हो।

केही समयअघि चर्चित  ‘प्रगतिशिल’ अमेरिकी मिडिया-हाउस सीएनएनका ‘प्रगतिशिल’ स्तम्भकार इएन कर्नरले एउटा लेख लेखे। विवाहित छँदा-छँदै आफ्नो श्रीमान् वा श्रीमती अर्को ‘पार्टनर’ सँग सुत्ने प्रयोग दम्पत्तिका लागि राम्रो हुनसक्छ, जसलाई ‘ककोलडिङ’ भनिन्छ।

अब यो किसिमको प्रगतिवाद मलाई पाच्य छैन मित्रहरू। टुक्रिएका परिवार, अस्थायी सम्बन्धहरू, क्षण-भरिका मात्र प्रेम-सम्बन्ध, अति धेरै विलासिताले धेरै मानिस मानसिक रोगको शिकार भएको सत्य हाम्रा अगाडि छ।

त्यस्तै अन्य धेरै संस्कृतिक अभ्यासहरू छन् यताको जीवनशैलीका जो सिको नगर्दा नै राम्रो। यतैका कतिपय मान्छेलाई पनि मन नपर्ने हुन्छन् यहाँका केही सांस्कृतिक अभ्यासहरू र पछि हाम्रो पूर्वीय सभ्यता वा पुराना अमेरिकी पारिवारिक मूल्य-मान्यतामा फर्केर जान्छन्।

हामी नेपाली वा तेश्रो विश्वबाट आएका मान्छेहरूमा भएको हीनताबोध र हीन-मनोग्रन्थिले पश्चिमा मुलुक, विशेसत अमेरिकीले जे गरे त्यो सिको गर्ने चलन छ। आफू अमेरिकीहरूले गरेजस्तो गरे ‘मोडर्न’ देखिन, जति मोडर्न देखिए त्यति राम्रो ठान्ने आफूलाई,  फुइ लाउने प्रबृत्ति चाह नेपालीहरूमा।

गलत नबुझ्नू होला म आधुनिकता र  गतिशिलताको विरोधी होइन तर अर्काबाट सिक्ने होडबाजीमा आफ्नो बुद्धि प्रयोग गर्ने छाड्ने र आफ्नो पहिचान नै बिर्सिने सोचसँग मेरो आपत्ति छ।

अर्को कुरा यदि ‘मोडर्न’ हुनै छ भने पुरै तरिकाले हुनुहोस्, अवसरवादी (वा सेलेकटिव) मोडर्न नहुनुहोस्। अर्थात्, आफूलाई सहज हुने  कुरामा मोडर्न तर असहज हुने बित्तिकै नेपाली पारा नगर्नुस्।

नेपालमा झैं सानो-ठूलो जातपात मान्ने कुरामा तपाईँको सोच अझै त्यही होला। ‘झोपडी छोडे पनि खोपडी उही हो’ भने जस्तै यस्ता मुद्दामा तपाईँको सोच उही घिसेपिटेको होला। राम्रो लुगा लगाएरै, मित्थ्यदेखिने अमेरिकन एकसेन्टमा बोल्न खोजेरै वा अमेरिकीले जे गर्‍यो त्यो गर्नै खोजेरै राम्रो भईन्छ भन्ने सोचले कालान्तरमा आत्म-ग्लानि होला।

आफैंसँग कहिलेसम्म झुटो बोल्नु? अन्ध रूपमा नपछ्याउनु। आफ्नो अकल लगाउँदा राम्रो

आफूमा भएको राम्रो संस्कृतिको अभि-मुल्यन गर्नुहोस्। कतिपय पश्चिमाहरू पूर्वीय संस्कृति भनेपछि हुरुक्क हुनेहरू पनि छन्। आफूमा भएको निहित मूल्यवान् संस्कृतिको कदर गर्दैमा रूढीवादी भइन्छ भने म त्यस्तो रुढीवादलाई बचाउनुपर्छ भन्छु।

आत्म-सम्मानको लडाईमा समर्पण होइन मैदानमा आफ्नो अस्तित्वको झण्डा फ़हराउन पछि हट्ने छैन। मलाई यस्ता आत्म-ह्रासी, अन्धभक्ति र देखावटी  लिबरल  वा ‘प्रगतिवाद’ को खादा ओड्नु छैन। म यस्ता आधुनिकताका ‘ब्याण्डवागन’ बाट टाढा रहेरै खुसी छु, सुखी छु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.