सबथोक छोडेर गायक दिपेशकिशोर अमेरिका पसे


 

सवै थोक त्यागेर उनी अमेरिका पसेका थिए। ४५ वर्षिय उनी अर्थात गायक दिपेशकिशोर भट्टराई। काठमाडौं लाजिम्पाटमा जन्मिएका उनी अमेरिकामा बस्न थालेको ९ वर्ष भइसकेको छ।

त्यसो त धेरै कलाकारहरु उनीअघि अमेरिकामा छन् र आउने क्रम अझै रोकिएको छैन। यसको अनुपातमा १ प्रतिशत फर्किए होलान्। फर्किनेको तर्क त्यस्तो दमदार पनि छैन।

कलाकार मात्र होइन विभिन्न पेशा व्यवसायमार्फत लामो समय विताएका नेपाली अमेरिकालगायत विभिन्न देशमा पुगेका छन्। विदेशिनुको कारण व्यक्तिगतदेखि साम्सारिक छ। हुनत ग्लोबल भिलेजमा रुपान्तरण भैसकेको विश्वमा को कहाँ रहन्छ भन्ने कुराले अर्थ बोक्न छोडिएको छ अबको दुनियाँमा। तर, पनि देश छोड्नुको कारण र पीडा खास हुँदा सबैलाई बाँड्नुपर्छ। यसले पीडामा हुनेको मन हल्का मात्र गर्दैन देशको विशिष्ट श्रेणीमा भएकालाई उप्रान्त नागरिक प्रति सोच्ने र वहन गर्ने जिम्मेवारीमा सकारात्मक प्रभाव पर्नसक्छ।

यस्तै महसुस गर्दै गायक दिपेशको अमेरिका बसाईको कारण सोधियो। सवैका देश छोड्नु कारणहरू खास नहुन सक्छन्। उनको सवथोक छोडेर अमेरिका आउने र यतै बस्ने कारण यस्तो रहेछ।

उनका दुई सन्तान मध्ये पछाडिको सन्तान १३ वर्षिय छोरा आयाम भट्टराई मस्तिष्क पक्षघातबाट पीडित रहेछन्। जसको भविश्यको लागि अमेरिका आउने निर्णयसँगै उनको संगीत कर्मको व्यवसायिक यात्रामा ब्रेक लागेछ।

सेतोपाटीसँग कुराकानीको क्रममा उनले भने, ‘जे भए पनि नेपाल छँदा पैशा नभए पनि परिचय थियो। सवैले गायक भनेर चिन्थे।’ यति भन्दै उनी रोकिए। मनभित्र उनी भक्कानिएको उनका आँखाले बताईरहेका थिए। एकछिनको सन्नाटा चिर्दै पीडा लुकाउँदै फेरि शुरू गरे, ‘तर म खुशी छु। एउटा अभिभावक पनि भैसकेपछि सन्तानको भविश्यलाई रोज्नुपर्छ, मैले अमेरिका रोजे जहाँ मेरो सन्तानको विशेष गरि सन्तानको सुविधा देखेर। नेपालमा यस्तो मानिसका लागि उपयुक्त निकाय छैन। गरिने व्यवहार पनि सभ्य छैन।’

यस्तै महसुस गर्दै उनी विदेशिए। यो नै उनी विदेशिनुको प्रमुख कारण रहेछ। यसबाहेक उनी गीतसंगीतमा लागेर नेपालमा जिविकोपार्जन सहज नभएको दाबी गर्छन्। वास्तविकता लुकाएर सवै राम्रो छ भनिन्छ तर त्यो होइन। आफू गीतसंगीतमा लागेर आर्थिक रूपमा सन्तुष्टि नभएको उनको तर्क छ।

आर्थिक जिवनस्तर उकास्न र सन्तानको खुशीको लागि अमेरिका आउँदा शुरूका दिन कठिन भए। सामान्यतयः यताछिर्ने सबैंको समस्या हो यो। अमेरिकाको बसाई निकै पीडादायी थियो उनी सम्झिन्छन्, पेशा बाहेकको कामहरु गर्नुपर्ने जिविकोपार्जनको लागि मात्र।

नेपालमा संगीतमा बिताएका पलहरु सम्झेर रातभरि रोएको छु। तर छोरालाई हेरेर आँसु लुकाउँथे। शुरू शुरुमा एउटा गायकलाई सामान्य काम गरिरहेको देख्दा र भेट्दा विभिन्न प्रश्न सोध्ने गर्थे। सबैलाई जवाफ दिएर सम्भव पनि थिएन। कतिले आक्रोश पोख्थे सामाजिक सन्जालमा। यसबाट झन पीडा हुन्थ्यो। तर यो सवै दर्शकहरुको मायाले होला भन्ठान्थे र चित्त बुझाउँथे।

अहिले सामान्य भैसक्यो। नेपालमा बसेको जस्तो त नहोला तर संसारमा जहाँ गए पनि जता बसे पनि खासै फरक हुँदैन जस्तो लाग्न थाल्यो। मैले यतै बसेर पनि आधा दर्जन जति गीत गाईसकेको छु उनी भन्छन्।

हाल उनी अमेरिकाको कोलोराडो राज्यमा छन्। आफ्नो परिवारको सुख र सन्तानको भविश्यको लागि दिन काटिरहेका छन्। छोरा स्याहार्दै उनको दैनिकी गुज्रिन्छ। एकछिन पनि एक्लै छोरालाई छोड्न मिल्दैन उनि भन्छन, ‘दिशा पिसाव गराउनेदेखि सवै किसिमको हेरचाह गर्नुपर्छ।’

यसै बीचमा पूर्णविराम लागिसकेको संगीत यात्रामा बिउँझेजस्तो गर्छन् र गीत गाउन भ्याउँछन् आफैं
संगीत भरेर। जीवन संगीनी घरमा भएको बेला फुर्सद पाउँछु र हातमा गिटार लिइहाल्छु र गुनगुनाउँछु उनी भन्छन्।

पछिल्लो पटक उनले गाएका जिन्दगीले हिसाव माग्छ, भगवान मरेछ, न याद यो, रात कस्तो, लगायतका केहि गीतहरुले उनको संगीत यात्राको अर्को अध्याय शुरु भएको हो कि भन्ने महसुस गराउँछ।

यी गीतहरुमा उनको आफ्नै कथा पनि लुकेको देखाउँछ। त्यसो त गीतहरु कसै न कसैको जीवनमा मेल खाएका हुन्छन् नै।

नेपाली संगीतसर्जक गोपाल योन्जनसँग १९९७ तिर शुभकामना भन्ने गीतको शिलशिलामा भेट गरे। केही सिकेर संगीतमा लाग्ने सल्लाह सुझाव वोकेर उनी भारत पसे। ३ वर्षको संगीत क्षेत्रको सिकाई पुरा गर्दै गर्दा गोपाल योन्जनले संसार छोडे। योन्जनको परिवारले उनलाई शुभकामना र माफ गरिदेउ भन्ने गीतलाई पुन रेकर्डिड गर्ने अनुरोध गर्‍यो। र उनले गीत पुनः गाएर आफ्नो संगीत यात्राको शुभमुहुर्त गरे। डेढ दशकसम्मको उनको व्यवसायिक योगदानमा गाएका गीतहरु सवै मिठा सुनिदै आएका छन्, जस्तै एकै नजरमा, भेडाको उनजस्तो, के म तिम्रो साथी वन्न सक्छु, इत्यादि।

युवा पुस्तालाई छुने खालका छन् उनका गीतहरू। करिब सय गीतहरु गाईसकेका उनले १० वटा एल्बम निकालिसकेको बताए। पप विधामा पर्ने उनको संगीत जीवनले दर्शकलाई न्याय दिएको उनको दावी छ।

गीतसंगीतमा लागेपछिको उनको अनुभव यस्तो छ,  ‘गीत गाउन जन्मजात गला लिएर आउनुपर्छ। साधनाले यसलाई पालिस लगाउने मात्र हो।’

उनले नेपाल छोडेर यता आएपछि दर्शकले भरिएका स्टेजहरु, राम्रा रचनाहरु, संगीतकारहरु, दर्शकको तालीले दिने फिजिकल्ली अट्यास्मेन्टसहितको आनन्द गुमाए, परिवारको भविश्य र विशेषगरि छोराको लागि। त्यसो त सेलिव्रेटीको समय सधावहार हुँदैन। आरोह अवरोह हुन्छन्। ‘चल्न छोडेपछि आईपर्ने पीडालाई व्यवस्थापन गर्न मैले बाटो मोडेको हुँ,’ उनी भन्छन, ‘सवैकुरा सम्झेर मन दुःखाउन चाहन्नँ। मैरो अमेरिका पस्ने निर्णय सुझबुझपूर्ण नै छ। एउटा अभिभावकको सन्तानप्रतिको सुख मेरो विदेशको वसाईको कारण हो।’

अहिले उनको परिवारका सवै सदस्यहरु अमेरिकी नागरिक भइसकेका छन्। विदेशमा बसे पनि उनी देशको खवरमा वेखवर छैनन्। अस्थिरताका कारण परिवार पाल्नको लागि धेरै जना विदेशिएको उनको वुझाइ छ। तर एक दिन नेपालमा राम्रो भएरै छाड्ने र आफू पनि नेपाल फर्किने आशामा छन् अझै गायक, दिपेश किशोर भट्टराई।

कुरा सकिँदा सकिदै उनले भने, ‘गीतकार विलास राईले लेखेको गीतको भिडियो बनाएको छु।’ विलास राईको मृत्युपछि उनको संझना एवं सम्मानस्वरुप उनले गीतमा भिडियो थपेको बताए। अर्को नयाँ गीत यो माया आउँदैछ जसको भिडियो छायाँकन अष्टेलियामा भइरहेको जानकारी पनि दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.