सिरियाको कुर्दिस लडाकु समूहकाे विरुद्ध कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई कुनै पनि हालतमा समर्थन नगर्न अमेरिकालाई आग्रह गरेको छ।
टर्कीले उक्त लडाकु समूहविरुद्धको कारबाहीलाई मङ्गलबार पनि तीव्र पारेको थियो। टर्कीले बुधबार पुनः पछिल्लो पटक अमेरिकालाई आग्रह गरेको छ।
टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध केही दिन यतादेखि हवाई र स्थलगत रुपमा समेत सैन्य कारबाही जारी राखेको छ। उक्त कारबाहीपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेकाे जनाइएको छ।
उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले हवाई आक्रमण पनि गरेको थियो। सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ। राष्ट्रपति रिसेप तैयप एर्दोगानका प्रवक्ताले टर्कीको फौजविरूद्ध कुर्दिस लडाकूहरूले अमेरिकाले दिएका हातहतियारहरुको प्रयोग गरिरहेको बताएका छन्। टर्कीको सैनिकले सिरियाको आफ्रिन क्षेत्रबाट वाइपीजी लडाकूहरूलाई लखेट्ने प्रयास जारी राखिरहेको जनाएको छ। यसै क्रममा पछिल्ला केही दिनयता आएर भने सिरियाका कैयौँ गाउँहरू टर्कीको नियन्त्रणभित्र परेका पनि बताइएकाे छ।
यता टर्की सरकारले यहाँ इस्लामिक स्टेटविरूद्धको संघर्ष पूरा भइसकेको भन्दै वाइपीजीसँगको साझेदारी अन्त्य गर्न अहिले अमेरिकासमक्ष माग गरिरहेको बताइएकाे छ। संयुक्त राष्ट्रसंघ र अमेरिकाले टर्कीले गरेको भनिएको सो कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जानेगरी कुनै पनि कारबाही नहोस् भनी संयमताका लागि आग्रह गरेको हो ।
त्यसैगरी उसले सर्वसाधारण नागरिक हताहत हुन नदिन र उक्त समूहविरूद्धको कारबाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्न आग्रह गरेको छ। त्यसैगरी फ्रान्सले पनि जतिसक्दो चाँडै युद्धविराम गर्न र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा त्यसबारे आकस्मिक छलफल गर्न माग गरेको छ। तर यस विषयमा राष्ट्रसंघले भने कुनै पनि प्रतिक्रिया दिएको छैन।
सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि चार लाख नागरिकको ज्यान गएको छ। सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारविहीन तथा शरणार्थी भएका छन्।