द्वन्द्वग्रस्त यमनमा गत दुई महिनाको अवधिमा झण्डै ३२ हजार नागरिक विस्थापित भएका छन्। युद्धबाट पीडित भएर उनीहरूले आफ्नो घर छाडेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको हाे।
नियोगले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा यमनमा यस पहिले २० लाख सर्वसाधारण विस्थापित भएको उल्लेख गरिएको छ। नियोगका प्रवक्ता शाबी मन्टुले विद्रोहीहरुको प्रभाव परेको राजधानी सानामा द्वन्द्वको असर बढ्दै गएको बताएका छन्।
‘यमनी नागरिकहरूको मृत्यु, विस्थापन लगायत युद्धको प्रभावका बारेमा हामीले निरन्तर निगरानी गरीरहेका छौँ,’ मन्टुले शुक्रबार ट्वीटरमा लेखेका छन्।
यमनमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले विश्वसमुदायबाट मान्यताप्राप्त सरकारलाई सत्तामा पुनः स्थापना गर्न हुथी विद्रोही विरुद्ध चालेको कदमका कारण सन् २०१५ र त्यसपछि अहिलेसम्म नौ हजार यमनीको मृत्यु भएको छ।