कोलम्बियामा भेटियो १२ टन कोकिन

हालसम्मकै ठूलो परिमाणको लागूऔषध बरामद


ल्याटिन अमेरिकी राष्ट्र कोलम्बियामा हालसम्मकै सर्वाधिक ठूलो परिमाणमा लागूपदार्थ भेटिएको छ।

देशको उत्तरी क्षेत्रमा रहेको केराघारीमा गाडेर राखेको अवस्थामा करीब १२ टन( १२ हजार किलोग्राम) कोकिन प्रहरीले बरामद गरेको हो।

कोलम्बियाली राष्ट्रपति जान म्यानुअल सान्तोसका अनुसार प्रहरीको एकै कारबाहीमा यसरी इतिहासकै सबैभन्दा ठूलो परिमाणको लागूपदार्थ भेटिएको हो। उनले भने, ‘यो हाम्रो अर्को ठूलो सफलता हो, अब अपराधीलाई पनि नियन्त्रणमा लिइनेछ।’ प्रहरीले त्यस क्षेत्रबाट अन्य चारजना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको छ। कोकिन भेटिएको क्षेत्र लागूपदार्थको कारोबार तथा ओसारपसार गर्ने बाटोकै नजिक रहेको छ।

प्रहरीले आपराधिक समूह ‘गल्फ क्लान’विरुद्धको अपरेशनका क्रममा यसरी कोकिन भेट्टाएको हो। उक्त लागूपदार्थ गल्फ क्लान समूहका नाइके डेइरो उसुगाको हुन सक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ।

कोकिन अमेरिका लगेर विक्री गर्ने योजनामा रहेको तथ्य पनि प्रहरी पत्ता लगाएको छ। कोलम्बियाली सरकारले यस वर्ष उक्त समूहका १५ सय अर्धसैनिक लडाकुलाई नियन्त्रणमा लिएको बताएको छ।

१२ टन कोकिनको मूल्य करीब ३६० मिलियन अमेरिकी डलर बराबरको रहेको बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.