चिनियाँ पर्यटक किनमेलका सोखिन, भारतीय खानका

हल्ला गर्नमा दुवै माहिर 


सन् २०१६ मा नेपालको उत्तरी छिमेकी मुलुक चीनबाट १२ करोड २० लाख पर्यटकले विश्वका विभिन्न मुलुक भ्रमण गरे। त्यस्तै गत वर्ष २ करोड ३८ लाख भारतीय पर्यटकले विदेश यात्रा गरे।

प्राय: पर्यटक घुम्न छिमेकी देश नै धेरै जाने गर्छन्। नेपाली पर्यटन बजारले भने चिनियाँ र भारतीयहरुमा तीव्र रुपमा बढिरहेको विदेश घुम्ने सोखलाई पूरा सदुपयोग गर्न सकेको छैन। नेपालका लागि अहिले पनि भारत र चीन नै सबैभन्दा धेरै पर्यटक पठाउने मुलुक भने हुन्।

सन् २०१६ मा चीनका १ लाख ४ हजार र भारतका १ लाख १८ हजार पर्यटकले नेपाल भ्रमण गरे।

नेपाल अाउने चिनियाँ र भारतीय पर्यटकहरुको रुचि, चाख र उनीहरुको अानीबानीबारे हाम्राे अध्ययन र जानकारी एकदमै थोरै छ। यकिन तथ्यांक छैन, तर नेपाल अाएर सबैभन्दा बढी खर्च गर्ने पर्यटकमा अहिले पनि युरोपेली तथा अमेरिकीहरु नै पर्छन्। आर्थिक स्तर बढेसँगै भारतीय र चिनियाँ पर्यटकको खर्च गर्ने क्षमता र बानी पनि बढ्दै गएको छ।

हामीले ठमेलका केही व्यवसायीसँग चिनियाँ र भारतीय पर्यटकका रुचि, चाख र खर्च गर्ने शैलीबारे सोधखोज गर्यौं। उनीहरुमध्ये धेरैले अाफ्नो व्यवसायको संवेदनशीलता जोडिएकाले आफ्नो परिचय खुलाउन भने चाहेनन्।

खर्च गर्ने प्रवृत्ति देशभन्दा पर्यटकको स्तरअनुसार फरक पर्ने व्यवसायीको अनुभव छ। भ्रमणको प्रायोजन, प्रकृति, उसको बजेट र उसको आयस्रोतमा खर्च निर्भर हुने होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन्।

धेरै होटल व्यवसायीको अनुभव छ, भारतीयहरु कोठामै मगाएर खान्छन्। मदिरा र परिकार मगाएर कोठामै खान्छन् र धेरै बिल तिर्छन्। घुम्नकै लागि आएका कतिपय भारतीय पर्यटकले लगभग युरोपेलीहरुकै स्तरमै खर्च गर्छन्। तीर्थयात्रा र पूजापाठका लागि आउने भारतीयहरु भने माछामासु, मदिराजस्ता खानेकुरा नखाने र सकभर कोठाको शुल्क मात्र तिरेर जाने खालका हुन्छन्।

‘तीर्थालु पर्यटकले धेरै खर्च गर्दैनन्,’ शाहले भने। 

बहुर्राष्ट्रिय कम्पनीमा काम गर्ने, व्यापारी तथा धनी हुँदै गएका चिनियाँहरु विदा मनाउन, घुमफिर गर्न वा साइट भिजिटका लागि नेपाल अाउदा धेरै खर्च गर्ने गरेको व्यवसायीहरुको अनुभव छ।

नेपालमा ३५–४० वर्ष उमेर समूहका चिनियाँहरु धेरै अाउने गरेका छन्। उनीहरु सन्ध्याकालीन रमाइलो गर्न रुचाउँछन्। स्वाभाविक रुपमा उनीहरुले धेरै खर्च गर्छन्। प्राय: चिनियाँहरु भारतीयजस्तो होटलको कोठामा मगाएर सेवा नलिने र भरसक खाना पनि अर्कै रेस्टुरेन्टमा गएर खाने गरेको व्यवसायीहरुको अनुभव छ।

हानका अध्यक्ष अमरमान शाक्यका अनुसार चिनियाँहरु हस्तकला तथा ‘सोभिनियर’ किन्नमा धेरै खर्च गर्छन्। यसको अर्थ भारतीय पर्यटक कम खर्च गर्छन् भन्ने होइन।

धार्मिक यात्रामा आउने बाहेकका भारतीय पर्यटक चिनियाँभन्दा कम खर्चालु नहुने शाक्यको भनाइ छ। उनका अनुसार भारतीयहरु बाहिर हिँड्दा गाडी खोज्छन्, महँगो मदिरा खान्छन्, रात्रिकालीन जीवन व्यतित गर्छन्, धेरै खान्छन् तर कम किन्छन्।

चिनियाँ पर्यटकहरु भने समूहमा यात्रा गर्छन्। पछिल्लो समय चीनमै प्याकेज किनेर सामूहिक यात्रामा निस्कने चलन चिनियाँ पर्यटकमा बढेको छ। तथ्यांकअनुसार चिनियाँ पर्यटकमध्ये ४० प्रतिशत समूहमा घुम्न जान्छन्।

यसरी अधिकांश चिनियाँहरुले चीनमै प्याकेज किनेर आउने भएकाले उनीहरुले नेपालमा एउटा बियर खाँदा पनि त्यसैमा जोडिने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए।

उनका अनुसार भारतीय पर्यटकहरुको खर्च गर्ने क्षमता बढ्दै गएको छ।

‘केही समय अघिसम्म पशुपति, मुक्तिनाथ यात्रामा मात्र आउने भारतीयहरु अहिले पाँचतारेमा बस्ने, पोखरा घुम्ने र क्यासिनो जाने गर्छन्,’ जोशीले भने।

खानपिनमा भारतीयहरु दालभात, मासु-तरकारीमा बढी रुचि राख्ने स्वभावका हुन्छन् भने चिनियाँहरु चिनियाँ खाना नै बढी रुचाउँछन्। ‘चिनियाँहरु हल्का खानेकुरामा रुचि राख्छन्,’ शाक्यले भने।

चिनियाँ र भारतीय पर्यटकहरुमा मदिरापान गर्ने बानी बढ्दो रुपमा देखिएको छ। बियर र ह्विस्की उनीहरुका प्रिय पेय हुन्।

धेरै असमानता भए पनि चिनियाँ र भारतीय पर्यटकहरुमा एउटा कुरामा भने समानता छ — ठूल्ठूलो स्वरमा गफ गर्ने र हल्ला गर्नेमा यी दुई देशका पर्यटकबीच प्रतिस्पर्धा नै हुन्छ।

‘नियतवशभन्दा पनि मुख्यत: मदिरा पिएपछि ठूलो स्वरमा कुरा गर्ने र होहल्ला गर्ने बानी चिनियाँ र भारतीय पर्यटकहरुमा छ,’ हानका अध्यक्ष शाक्य भन्छन्।

यसको उल्टो अमेरिकी र युरोपेली पर्यटकहरु शान्तसँग बस्छन्।

‘युरोपेली तथा अमेरिकीहरु कोठामा बसे-नबसेको बाहिरकाले थाहा पाउँदैनन्,’ एक व्यवसायीले भने, ‘भारतीय र चिनियाँहरु भने हल्ला गरेर अरुलाई पनि डिस्टर्ब गर्छन्।’

चिनियाँ र भारतीय पर्यटकहरु बढ्दै गएका भए पनि नेपाल अझै चिनियाँहरुका लागि २० लोकप्रिय गन्तव्यभित्र पर्दैन।

सन् २०१६ मा सबैभन्दा बढी चिनियाँहरुले भ्रमण गरेका देशमध्ये थाइल्यान्डमा ८७ लाख, दक्षिण कोरियामा ८० लाख र जापानमा ६० लाख थिए। त्यही वर्ष कुल चिनियाँ पर्यटकको ०.०८५ प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन्। अर्थात् सन् २०१६ मा १ लाख ४ हजार ५ जना चिनियाँले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ।

भारतीयहरु पनि वर्षमा २ करोड ३८ लाखले विदेश यात्रा गर्दा सबैभन्दा बढी जाने २० देशको सूचीमा नेपाल पर्दैन। कुल विदेश जाने भारतीयमध्ये जम्मा ०.४७ प्रतिशतले मात्र नेपाल यात्रा गरेका छन्। भारतीयहरु सबैभन्दा बढी थाइल्यान्ड, साउदी अरब, दुबईजस्ता देश जान्छन्। नेपालमा भने उनीहरुको यात्रा सीमित देखिएको छ।

उदाउँदो आर्थिक अवस्था मात्र होइन, विश्वकै समृद्धशाली मुलुक बन्ने होडमा अगाडि बढेका दुई छिमेकी मुलुकबाट यहाँ कम्तीमा वर्षको २ प्रतिशतलाई भ्रमण गराउन सक्ने हो भने नेपालको पर्यटन उद्योग कायापलट हुने कतिपयको विश्वास छ।

गएका केही वर्षमा नेपालमा भारतीय पर्यटकहरुको हिस्सा घट्दै गएको तर चिनियाँहरुको बढ्दै गएको देखिन्छ। पर्यटन बोर्डका अनुसार सन् २००३ मा कुल ३ लाख ३८ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए। त्यसमा २.२ प्रतिशत अर्थात् ७ हजार ५ सय ६२ जना चिनियाँले मात्र नेपाल भ्रमण गरेका थिए। सोही वर्ष भारतीय पर्यटकको हिस्सा भने २५.५ प्रतिशत थियो।

सन् २०१६ मा कुल विदेशी पर्यटकमा चिनियाँ हिस्सा १३.८१ प्रतिशत पुग्दा भारतीय हिस्सा भने १५ प्रतिशतमा सीमित भएको छ। संख्यात्मक रुपले गिरावट आए पनि सन् २०१५ को तुलनामा भारतीय पर्यटकको हिस्सा बढेको छ। अर्थात् अघिल्लो वर्ष १३ प्रतिशत हिस्सा रहेको भारतीय पर्यटकको सन् २०१६ मा १५ प्रतिशत पुगेको छ।

भारतबाट आउने पर्यटकहरु अधिकांश गाडीबाट आउने र त्यसको तथ्यांक भारत वा नेपाल कतै नरहने भएकाले वास्तविक तथ्यांकको कमी भएको अधिकारीहरुकै भनाइ छ। भारतीयहरु हवाई यात्राभन्दा गाडीबाट बढी आउने अनुमान भए पनि कति संख्यामा नेपाल आउँछन् भन्ने यकिन तथ्यांकको अभाव भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी जोशीको भनाइ छ।

सन् २०१० मा पर्यटन बोर्डले गरेको एक अनौपचारिक अध्ययनअनुसार नेपालमा ६ लाख ५० हजार भारतीय आउने गरेको पाइएको थियो। त्यही तथ्यांक हो भने हाल त्यो संख्या बढेर कम्तीमा ९ लाख हाराहारी पुगेको हुनसक्ने जोशीको अनुमान छ।

नेपालले पनि अाफ्नो मुलुकमा अाउने पर्यटकको रुचि र स्वभाव अध्ययन गरी उनीहरुको चाखअनुसार आफ्नो सेवा र पर्यटकीय गतिविधि विकास गर्नुपर्ने व्यवसायीहरुको धारणा छ। त्यसो गर्यो भने धेरै पर्यटक नेपाल भित्र्याउन र उनीहरुको नेपाल बसाइ लम्ब्याउन तथा खर्च बढाउन सकिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.