पर्यटकीय नगरी शिवसताक्षीमा अत्याधुनिक वाटर किङ्डम पार्क सञ्चालनमा आएको छ।
निर्माणाधीन अवस्थामै कोरोना भाईरसका कारण थलिएको पार्कमा साता अघिदेखि काउण्टर खुलेको छ। विधिवत उद्धघाटन भने पछि गरिने सञ्चालक राजकुमार संग्रौलाले सेतोपाटीलाई जानकारी दिए।
पार्क भित्र सञ्चालन हुने होटल, रेष्टुरेन्ट, वार र क्यासिनो पनि सञ्चालनको तयारीमा छन्। पार्कमा आउने पर्यटकका लागि आवश्यक पर्ने यी सुविधा यसै सातादेखि सञ्चालनमा आउने संग्रौलाले जानकारी दिए।
जिप लाईनका दुई आईटम सिङ्गल र सुपरमेन सुरू भएका छन्। यो खेल साहसिक खेल हो। जमिनबाट ५८ फिटको उचाईमा रहेको १५८ मिटर दुरीको जिपलाईन सञ्चालन भइरहेको छ। उद्घाटन पूर्व पार्कले निर्धारण गरेको मूल्यमा छुट दिएर जिप लाईन सञ्चालन भईरहेको सञ्चालकले बताए।
माघपछि पार्क भित्र पानीको सहायतामा खेलिने १३ प्रकारका खेल पनि सुरू हुनेछ। संग्रौलाका अनुसार ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय फिट लामो स्लाइडिङ गरी स्वीमिङ पुलमा उत्रिदै पानीको मज्जा लिन सकिने वाटर किङ्डम प्रा.लि.का सञ्चालक संग्रौलाले जानकारी दिए।
त्यसैगरि ३० फिट उचाईमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय फिट लामो फ्ल्यास पुलमा ल्याण्ड गर्न सकिने छुट्टा छुट्टै स्ट्रेट स्लाइड र वेभ स्लाइड निर्माण गरिएका छन् ।
वाटर किङ्डम प्रा.लि.ले २८ करोड लागतमा अत्याधुनिक पार्क निर्माण गरेको हो। २ विगाहा क्षेत्रफलमा फैलिएको वाटरपार्क करिब २ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो। ‘लकडाउन नहुँदो हो त १५ महिनामा निर्माण सक्ने योजना थियो,’ संग्रौलाले भने। यो पार्कमा आएर परिवार, बालबच्चासहित रमाउन सकिने संग्रौलाले बताए।
झापाका १५ स्थानीय तहमध्ये शिवसताक्षी नगरपालिका धार्मिक दृष्टीकोणले महत्वपूर्ण पालिका हो। पौराणीक कथासँग यहाँका सताक्षीधाम, चिल्लागढ, कनकाई नदि र दोमुखा पर्यटकीय क्षेत्र जोडिएका छन्।
नगरभित्र अर्को अत्याधुनिक प्रकृतिको पार्क निर्माण भएपछि सबै उमेर समूहका मानिसले मनोरञ्जन लिनसक्ने भएका छन्। शिवसताक्षी नगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष कृष्ण खरेलले शिवसताक्षी आउने पर्यटकका लागि नयाँ गन्तब्य अब पार्क हुने दाबी गरे।
वाटरपार्कमा प्रा.लि.ले बोरिङ गरेर पानी निकालेको छ। उक्त पानीलाई उच्च प्रविधिमा प्रशोधन गरेर प्रयोगमा ल्याएको अर्का सञ्चालक सौजन संग्रौलाले बताए।
पार्क खुल्ला हुन थालेपछि यहाँ आएर फोटो खिच्ने, जिपलाईनको मज्जा लिनेको संख्या बढ्न थालेको छ।
उर्लाबारी ६, मोरङको होली चाइल्ड बोर्डिङ स्कुलका ७६ विद्यार्थीले पार्कमा आएर मज्जा लिए। कक्षा ११ को व्यवस्थापन संकायमा ट्राभल एण्ड टुरिजम विषय पढ्दै गरेका विद्यार्थीलाई विद्यालय प्रसाशनले पार्कमा ल्याएको हो।
विद्यार्थीलाई पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन गराउन पार्कमा ल्याईएको विद्यालयका संस्थापक खड्ग डाँगीले बताए। उनले पार्कमा रहेको जिपलाइनको मज्जा विद्यार्थीले लिएको जानकारी दिए। पार्कमा आएका अनुप धिमाललाई जिपलाइन खेल्दा सुरूमा अब मरिएछ भन्ने लागेको थियो तर पछि मज्जा आएको उनले बताए। ५ सय रूपैयाँ तिरेर जीवनमा पहिलो पटक जिप लाईनको मज्जा लिएको उनले सुनाए।