प्रकृतिको अनुपम उपहार हो दोमुखा। डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता, वरिपरि वनजंगलको साथ अनि मनै छुने चराचुरुङ्गीको आवाज। चुरे पहाडको फेद। केही सानो बस्ती अनि नजिकै कलकल बग्ने कनकाईको पानी।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित पर्यटकीय हिसाबले निकै महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो दोमुखा। पूर्वको यो प्राकृतिक रमणीय स्थलबाट इलामको हरियो वन र तराईको समथर भूभाग देख्न सकिन्छ।
पूर्वमा कनकाई नगरपालिका र उत्तरमा इलामको माई नगरपालिकाको सीमानामा पर्ने यो स्थल दक्षिण र पश्चिममा शिवसताक्षी नगरकै भूभाग पर्छ। दोमुखा पर्यटकीय स्थलका रूपमा मात्र होइन,फलफूल तथा कृषि उत्पादन तथा धार्मिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण ठहरिएको छ। मनमोहक र सुन्दर दृश्य देखिने यहाँ बाह्रै महिना चिसोको अनुभव गर्न सकिन्छ।
हिम श्रृङ्खलाबाट तराई झरेकी कनकाई माईको चिसो कलकलाउने पानीले यहाँ आउनेलाई शितलता प्रदान गर्छ।
२०३३ सालमा कोरीयाली सरकारले निर्माण गरेको कन्काई सिँचाइ प्रणालीको हेडबक्सले दोमुखाको सुन्दरता थपिएको स्थानीय बताउँछन्।
उत्तरमा हरियो पहाड दक्षिणमा तराईका परम्परागत रूपमा निर्माण भएका घर टहराले सहरिया जीवनलाई मन्त्रमुग्ध बनाउँछ। दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले दोमुखाको रूप परिवर्तन गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य नै दोमुखा भएको स्थानीय बासिन्दाको भनाइ छ।
खासगरी झापा, मोरङ र सुनसरी जिल्लाका स्थानीय दोमुखा आउन रुचाउँछन्।
सुनसरी हाँसपोसाकी धनकुमारी अधिकारीका अनुसार दोमुखा जस्तो प्राकृतिक दृश्य देखिने स्थल पूर्वमा कहीँ छैन। दोमुखामा पछिल्ला वर्षदेखि भौतिक पूर्वाधार पनि थपिएका छन्।
बालबालिकाका लागि चिल्ड्रेन पार्क, युवायुवतीका लागि प्राकृतिक भूभाग, वृद्धवृद्धाका लागि चौतारी र नवदुलहादुलहीका लागि वैष्णोदेवी माता मन्दिर बनेपछि सबै उमेरका सर्वसाधरण दोमुखा आएर आनन्द लिने गरेका छन्।
दोमुखा आएर गीत बजाएर नाच्नु छुट्टै मजा हुने सुनसरी चतराकी सुस्मा नेपालीको अनुभव छ।
नेपालीका अनुसार दोमुखा उनका लागि पहिलो रोजाइको पर्यटकीय स्थल हो। सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा घोषणा गरेको छ।
प्रदेश नम्बर १ का कैयौं ठाउँ सरकारको पर्यटकीय स्थलको सूचीमा परे पनि दोमुखा भने त्यस सूचीमा परेन। दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका वरिष्ठ उपाध्यक्ष गुमान सिंह खुलालका अनुसार यहाँ साताको १ दिन शनिबारमात्रै ५० हजार आन्तरिक पर्यटक आउँछन्।
‘करोडौ, अर्बौं रुपैयाँ खर्च गरेर व्यवसायिक रूपमा स्थापित कृत्रिम पर्यटकीय स्थललाई सरकारले घुम्न योग्य सूचीमा राख्यो,' उनले भने, 'दोमुखा जस्तो सदावहार पर्यटकीय क्षेत्रलाई न त संघीय सरकारले चिन्यो न त प्रदेश सरकारले नै।’
दिनभर दोमुखा परिसरमा वनभोजमा रमाएर कनकाई नदीको कलकलाउदो पानीमा माछा पार्ने आन्तरिक पर्यटकको कमी छैन।
दिनहुँ युवायुवती रमाइलोको लागि नजिकैको कनकाई नदीमा पाइने माछासँग रमाउँछन्।
समितिका अनुसार पुस, माघ, साउन र भदौमा पानी खेल्ने आन्तरिक पर्यटक चिसो र वर्षाका कारणले प्रभावित भए पनि अन्य आठ महिना उत्तिकै भेटिन्छन्।
सप्तरी, सिराहा, धनकुटा, इलाम मात्र होइन दोमुखा आउने बाह्य पर्यटकको संख्या पनि उत्तिकै छ। यहाँ आउने सबभन्दा धेरै बाह्य पर्यटक भारतीय नागरिक हुन्। यो संख्या पनि पछिल्ला वर्षदेखि बढेको छ। आसाम, मणिपुर, दार्जेलिङ, गान्तोक, सिक्किम, सिलीगुडीदेखि बाह्य पर्यटक वनभोजका लागि बासै बस्नेगरी आउने गरेको समितिका सचिव धनकुमार ढकालले बताए।
साप्ताहिक र सार्वजनिक बिदाका दिन दोमुखाका वनभोज स्थल भरिभराउ हुन्छन्। सरकारी तथा गैरसकारी संस्थाका कर्मचारी, परिवार लगायत अन्य सामाजिक संघ संस्था, सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक दोमुखा आउँछन्।
मोरङ कानेपोखरी गाउँपालिकास्थित पिनाकल इङ्ग्लिस बोर्डिङ स्कुलका संचालक उमेश पौड्यालले प्रकृतिले दोमुखालाई धनी बनाएको बताए। पौड्यालका अनुसार स्थानीयले सरसफाईमा ध्यान दिए प्रदेश नम्बर १ को पहिचानका रुपमा दोमखा स्थापित हुन्छ।
दोमुखादेखि उत्तरतर्फको चुरे पहाडमा मोटरेवल सडक छ। कतिपय युवायुवती त्यहीँ सडक हुँदै चुरेको जङ्गलमा चराचुरुङ्गी हेर्न जाने गरेका छन्। पूर्वपश्चिम राजमार्गदेखि चार किलोमिटर पश्चिमी रतुवामाई वृक्षरोपण आयोजनाको जंगल र पूर्वतर्फको मानव वस्ती छिचोलेपछि दोमुखा पुग्न सकिन्छ।
सरकारले दोमुखा र पूर्वतर्फको धनुषकोटी धाम जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरेपछि सेल्फी खिच्नेकै भीड हुन्छ।
भौतिक पूर्वाधार विकास र प्रचार प्रसारमा भने स्थानीय सरकारले प्राथमिकता नदिएको स्थानीयको गुनासो छ। दोमुखा आउनेहरूको संख्या वर्षेनी बढ्दै गए पनि सरकारले पर्यटकीय गन्तव्यमा यो क्षेत्रलाई पार्न नसकेको उनीहरू बताउँछन्।
वैशाख १ र माघ १ (माघे संक्रान्ति)का अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ।
स्थानीय र समितिकै सक्रियतामा वैशाख १, माघ १ र जनवरी १ मा प्रत्येक वर्ष लोकनृत्य, नाचगान गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्वागत तथा रमाइलो प्रदान गरिँदै आएको स्थानीय सुरज थापाले बताए।
पर्यटनको प्रचुर सम्भावना रहेको यस स्थानमा आवश्यक भौतिक संरचनाको निर्माण गरी स्थानीय तहले नियमित आन्तरिक आम्दानीको स्रोतको रूपमा विकास गर्न आफू लागि परेको शिवसताक्षी नगरपालिका वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापाले बताए।
उनले स्थानीय, प्रदेश र संघीय सरकारले वर्षेनी पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माणका लागि बजेट दिएर संरचना निर्माण भइरहको बताए।
कार्यालयको तथ्यांकअनुसार हालसम्म सबभन्दा बढी भारतीय पर्यटक दोमुखा आएका छन्। जर्मन, नेदरल्यान्ड, अमेरिका, फ्रान्स लगायतका मुलुकबाट पनि पर्यटक यहाँ आएको कार्यलयले जनाएको छ।
यो क्रम पहिल्यैदेखिको हो। तर सरकारले २०२० लाई पर्यटन वर्षको रूपमा घोषणा गरे पनि दोमुखालाई यो कार्यक्रमले नछोएको अध्यक्ष लावतीले बताए।
‘दोमुखा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या अघिल्ला वर्षकै तुलनामा छ। सरकारको कार्यक्रमले दोमुखामा खासै प्रभाव पारेको छैन,' उनले भने।