जिल्लाभित्रकै भए पनि दोलखाको सबभन्दा बढी पुगिने गन्तव्य हो—कालिञ्चोक।
धार्मिक आस्थाको गहिरो केन्द्र र अनुपम प्राकृतिक सौन्दर्यको संगम भएकाले पनि होला, कालिञ्चोक पटक–पटक पुग्न मन लाग्ने स्थान हो मेरो लागि।
कहिले हिउँको प्रतिक्षामा, कहिले साथीसँग रमाइलोको बहानामा फागुन महिनामै दुईपटक पुगियो।
चरिकोटबाट सडकले सहज बनाइदिएकाले होला कालिञ्चोक पुग्नु झन् सरल लाग्छ। तर यो सहजताले गन्तव्यको मोह घटाउँदैन बरू झन् आकर्षित गर्छ।
यहाँको सुन्दरता, श्रद्धा, र आत्मीयताको स्पर्शले हरेक पाहुनालाई बाँधेर राख्छ। वर्षायाममा बादलको नृत्य, जाडोमा सेताम्य हिउँको ओछ्यान, प्रत्येक मौसममा कालिञ्चोकका रूपहरू पृथक, मनमोहक र अवर्णनीय लाग्छन्।
कालिञ्चोक एक तस्बिर होइन, यो त एक चलायमान चित्र हो। जसको रङ र रूप सेकेन्ड–सेकेन्डमा फेरिन्छन्। कहिले बादलको कम्बलले ढाकिएको, कहिले नीलो आकाशमुनि उज्यालो भएर टल्किएको देखिन्छ कालिञ्चोक। यसको यही परिवर्तनशीलतामा छ एक अनौठो जादू जो हरेक पल पर्यटकको मनमा नयाँ अनुभूति बोकेर आउँछ।
युवादेखि ज्येष्ठसम्म सबैलाई आ–आफ्नै कारणले तान्छ कालिञ्चोकले। प्रकृतिप्रेमीहरूका लागि त यो ठाँउ समय बिर्सिने, आँखाले आत्मालाई छुन खोज्ने तीव्र अनुभव हो। कुरी बजारको झलझलाउँ दृश्य त झन् कल्पनामा सजिएको कुनै चित्रजस्तो लाग्छ। वास्तविकताको सौन्दर्यले भरिएको एक सपनाजस्तो।
कालिञ्चोकको टाकुराबाट टाढासम्म नजर दौडाउँदा, गौरीशंकर हिमश्रृङ्खलादेखि जुगल हिमालसम्म, चेर्दुङडाँडादेखि हनुमन्ते डाँडा हुँदै शैलुङ डाँडासम्मको अवलोकन गर्न सकिन्छ। तामाकोशीको अविरल बग्दो शिरसम्मानी धारासँगै दोलखाको विस्तारिएको भूगोललाई पनि यहीबाट नियाल्न सकिन्छ। यो सबै प्राकृतिक वैभवको साक्षात्कार एक निम्तो हो-कालिञ्चोकले दिएको, फेरि आउनु भनी मनमा गहिरो गरी रोपेको।
एकचोटि पुग्नेहरू दोहोर्याएर तानिन्छन्, अनेक बहानामा, अनेक अनुभूतिमा।
त्यसैले म भन्छु, कालिञ्चोकको यही रूप, यही मोह, यही निम्तो तपाईंका लागि पनि हो। एकपटक आएर घुम्नुस् अनि शब्दले बयान गरेर अट्न नसक्ने अनुभूति आफैले अनुभव गर्न सकिन्छ।
तस्बिरहरू:
-1742563912.jpg)
-1742563912.jpg)
-1742563911.jpg)
-1742563910.jpg)
-1742563908.jpg)
-1742563909.jpg)
-1742563909.jpg)
-1742563908.jpg)
-1742563906.jpg)
-1742563906.jpg)
-1742563907.jpg)
-1742563907.jpg)
-1742563905.jpg)
-1742563905.jpg)