यही फागुन १४ देखि १८ गतेसम्म पाँच दिने पाँच पोखरी यात्रा जुरेको थियो। जुन निरोगधामले आयोजना गरेको थियो।
पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्छ। समुन्द्र सतहबाट ४१०० मिटरको उचाइमा हिमालको काखमा राजकुमारीझैं पाँच पोखरी सजिएर बसेको छ।
हाम्रो २३ जनाको समूह थियो। समूहका सहयात्री साथीहरू विभिन्न उमेर, पेसा, समुदाय र भूगोलका थिए। परिपक्व व्यक्तिहरूसँगको संगतले मलाई जीवनलाई हेर्ने फराकिलो दृष्टिकोण र भरोसा दिन्छ भने युवाहरूको संगतले ऊर्जा दिन्छ। लाग्थ्यो यो समूह विभिन्न फूलहरूले भरिएको सुन्दर डालो हो।
यात्राको पहिलो दिन रिजर्भ बसमा सात दोबाटो ललितपुरबाट प्रस्थान गर्याैं। काठमाडौंको जोरपाटी-साँखु- जहरसिङपौवा हुँदै सिन्धुपाल्चोकको मेलम्चीतर्फ बस सोझियो। जहरसिङपौवा सम्मको बाटो सररर छ भने त्यहाँबाट भने केही बिग्रेकाे छ। बस यात्रा मेलम्चीबाट तिपेनी- थाङ्पालकोट-भोताङ हुँदै छिम्तीमा पुगेर टुङ्गियाे।
छिम्तीमा ३६ वर्षका साह्रै रसिला, हँसिला र मेहनती होमस्टे सञ्चालक छन्। उनी आफूलाई 'काले दाइ' भनेर चिनाउँछन्। बसबाट झर्दै गर्दा उनै काले दाइले हामीलाई पुस महिनाको घामजस्तै न्यानो स्वागत गरे। उनकै सीप र मेहनतले बनाएको सफा, स्वस्थ र स्वादिलो खानाले हामी सबैको मन हरर बनायो।
छिम्तीबाट अब हाम्रो पैदल यात्रा सुरू हुन्छ। हिँड्न थाल्नु अगाडि यात्राको टिम लिडर रामदेवी महर्जनले पाँच दिने यात्रा र पालन गर्नुपर्ने नियमहरूबारे बताउनुभयो। उहाँको बोलीमा मिठास छ। स्रोताहरूलाई शब्दहरूमा बाँध्न सक्ने खुबी छ। मुस्कान र शारीरिक तन्दुरूस्ती उहाँको परिचय हो। रामदेवी महर्जन 'हाइकिङ काठमाडौं' पुस्तकको लेखक तथा योग प्रशिक्षक समेत हुनुहुन्छ।
सहयात्री मित्र तथा फोटो पत्रकारितामा रूचि राख्ने मित्र अमृत भादगाउँले कहिले थाहा दिएर सुटुक्क हाम्रा तस्बिरहरू कैद गर्दै जानुहुन्थ्यो। उहाँको कलाको जति प्रशंसा गरे पनि कम हुन्छ। केहीबेर समथल बाटो, अनि खोला नाला र उकालो छिचोल्दै हामी अगाडि बढ्यौं। नयाँ साथीहरूसँगको परिचय र संगतले मन पुलकित भयो। करिब ६ घन्टाको पैदल यात्रापछि असिनपसिन हुँदै टुप्पीडाँडा पुगियो। पहिलो दिनको यात्रा त्यही बिट मार्नु जो थियो।
रमाइलो कुरा टुप्पी डाँडामा पनि उनै काले दाइको होटल रहेछ। हामीभन्दा अगाडि पुगेर उनै काले दाइले स्वागत गरे। उनको आतिथ्यता र पहिलो रात राम्रो बस्ने खाने बन्दोबस्तीले हामीलाई मामाघर पुगेजस्तै रमाइलो भयो।
दोस्रो दिन टुप्पी डाँडाबाट ताँगुखर्क-रातमाटे हुँदै चोकर डाँडामा पुगेर बिहानको खाना खायौं। चोकर डाँडाको पानी साह्रै चिसो थियो। राम्रोसँग हात धुन पनि गाह्रो हुने। यहाँबाट अगाडि बढ्दा ३४०० मिटर उचाइमा तपखर्क भन्ने ठाउँ आइपुग्यो। यहीँबाट बाटोमा हिउँ सुरू भयो। हिउँमा खेल्दै, चिप्लिँदै, हाँस्दै, गफिँदै नोस्यामपाटीसम्म पुगियो। जहाँ दोस्रो दिनको बास बस्नु थियो। नोस्यामपाटीको उचाइ ३७०० मिटर छ।
रिसाएको बालकझैं आकाश धुम्म थियो। चिसो त कति हो कति! सबैतिर हिउँ नै हिउँ। एउटै होटलमा पाहुनै पाहुना। सबै जना आगो ताप्ने तातो फलामे चुलेमा झुम्मिए। तातोपानी पनि त्यहीँ जो पाइन्थ्यो। समूह समूहलाई पालैपालो खाना खाने व्यवस्था। सुत्नलाई बेलैमा आफ्नो ओछ्यान सुरक्षित गर्नुपर्ने। अनि कोचाकोच। त्यसै रात २:५१ मा सोही स्थान नजिकै केन्द्रविन्दु भएको हल्का भूकम्पले स्वागत गर्यो।
तेस्रो दिन नोस्यामपाटीबाट अगाडि बढ्नासाथ हिमपात सुरू भयो। यहाँबाट अगाडि बढेपछि पाँच पोखरी नपुगेसम्म बस्ने प्रबन्ध पनि छैन। परिसकेको हिउँमा खेलेको मात्रै अनुभव थियो। अब भने पर्दापर्दैको आलो हिउँमा हिँड्नु पर्ने भयो। दृश्य हेर्दा लाग्थ्यो हामी सगरमाथा आरोहण गर्दैछाैं।
हिमाली भेगको भिरालो जमिन र साँघुरो बाटो। जहाँ अत्यन्तै सावधानीपूर्वक बाटो काट्नु थियो। लौरोको सहायताले वर्षादी ओढेर विस्तारै अगाडि बढ्यौं। हिउँसँगै बेजोड हावा चल्यो। यहाँ संयमता अपनाउनु बाहेक अरू विकल्प थिएन। भरिया भाइहरूले अप्ठ्यारो ठाउँमा सहयोग गर्थे। तिनै भरियाहरू अप्ठ्यारो बाटोका हाम्रा सहारा थिए। यिनै स्थानीय युवाहरू छन् र पो हिमाली भेग गुल्जार छ। सातघुम्ती, पाङ्सिङ बिसाउने, लौरीबिना, मानी हुँदै छ घन्टाको हिमपैदलपछि पाँच पोखरी पुग्न सफल भयाैं।

४१०० मिटरको उचाइमा रहेको पाँच पोखरी थामिनस्कनु चिसो थियो। सबैतिर बाक्लो हिउँ। पानी छैन केबल बरफ छ। तातोपानी पिउन पनि बरफ तताउनु पर्ने। फिल्म हलमा बाल्कोनी सिट पाउन जस्तै आगो नजिकको बस्ने ठाउँ पाउन मरिहत्ते गर्नुपर्ने। होटलवाला भाइले त्यस्तो प्रतिकूल अवस्थामा पनि राम्रै खानाको व्यवस्था गरे। अनि भएभरको लुगा लगाएर लाइनै सुतियो। जे पाइयो त्यो हाम्रा लागि लाख थियो।
रातभरि बताससहित अविरल हिउँ पर्यो। अब भने दिसापिसाब गर्न गाह्रो। घुँडा घुँडासम्म हिउँ छ। पानी होइन बरफ छ। ट्वाइलेटभित्र पूरै बरफ जमेको छ। पिसाब त जेनतेन गरिन्थ्यो, दिसा गर्न गाह्रो। होटलवाला भाइलाई सोधेको जहाँ सक्नुहुन्छ त्यही गर्नु भने। आँट हुनेले थोरै दायाँबायाँ गएर गरे, नहुने जति खपेर बसे। म पनि यस अर्थमा भने आँट हुनेमै परेँ।
शरीरको बोझ केही भए पनि हल्का भयो। हिउँ र बतासका बीच लामो शौच गर्नु पनि सायद त्यो दिन साहसिक काम थियो। फरक समय र परिस्थितिले पनि सामान्य र साहसिक काम फरक हुने रहेछ।
बिहान केहीबेरपछि हिउँ पर्न अलि कम भयो। करिब दुई फिट अग्लो हिउँ छिचोल्दै पाँच पोखरीकाे सुन्दर दृश्यको स्वाद लिइयो। पाँच पोखरी पूरै हिउँको बर्को ओढेर मस्त आराम गरिरहेकी थिइन्। पोखरीको पानी पनि बरफ बनेको थियो। तथापि पानी जमेको बरफ हल्का धमिलो देखिन्थ्यो भने हिउँ निक्खर सेतो। यसरी पोखरीको सिमाना छुट्टिन्थ्यो। हिउँले डाँडाकाँडा पूरै सेताम्मे थिए। सकेसम्म राम्रा तस्बिर लिने प्रयास गरियो। फेरि हिउँ पर्न थाल्यो। तस्बिर खिच्ने प्रयास चाहिँ अन्माएर डोलीमा चढाउन लागेकी दुलहीको हतार हतारमा तस्बिर खिचेझैं भयो। पाँच पोखरीको सुन्दर दृश्यले मोहनी लगायो।
हिउँको बेग पटक्कै रोकिएन। लाग्थ्यो भगवानले यसै समयमा पार्न भनेर हिउँ जोगाएर राखेका थिए। कहिलेसम्म हिउँ पर्ने हो पूरै अनिश्चित थियो। त्यसैले जतिसक्दो छिटो फर्कने सल्लाह भयो। बासस्थानमा बिहानी नास्ताको रूपमा चना र चियाको व्यवस्था भयो। त्यो नास्ता हाम्रा लागि अमृत समान थियो। यसैको बलले हिउँ मार्ग छिचोल्नु थियो।
पाँच पोखरीमा मोबाइल फोनले काम गर्दैनथ्यो। एक किसिमले भन्दा यो हिमालको टुप्पो जस्तै थियो। सगरमाथा वरिपरि खिचेका तस्बिर र यस ठाउँमा अहिले कुनै फरक देखिन्थेन। त्यहाँ थियो त केबल हिउँ, बरफ, अजङ्गको सेतो पहाड र चिसो सिरेटो।
फोन नलागे पनि पाँच पोखरीबाट नोस्यामपाटीमा होटल सञ्चालकहरूले वाकीटकीबाट कुरा गर्ने रहेछन्। बाटोमा धेरै हिउँ भएकोले नोस्यामपाटीमा रहेका यात्रीलाई माथि नपठाउन सल्लाह गरे। अनि भरिया तथा स्थानीय भाइहरूको सहयोगमा पाँच पोखरीमा रहेका सबै जनालाई एकैपटक सँगसँगै फर्किने/फर्काउने निधो भयो।
चौथो दिन अर्थात् २०८१ फागुन १७ गते शनिबारका दिन बिहान ९:४५ मा हामी सबै जना पाँच पोखरीलाई मन मुटु र मस्तिष्क भरी अंगाल्दै त्यहाँबाट रबाना भयाैं। साबेल, खुकुरी, कोदालोको सहायताले भरिया भाइहरूले बाटो बनाउँदै गए। हामी पछिपछि लाग्यौं। माउको पछि चल्लाको हुल लागे जस्तै।
लौरीबिनाको बाटो निकै ठाडो छ। जाँदा उकालो र फर्कंदा ओरालो। सिँढी पूरै हिउँले ढाकिएको छ। करिब पचास मिटर झर्न एकले अर्कालाई सहयोग गर्नु पर्यो। धेरै मेहनत, धैर्य र समय लगाउनु पर्यो। हाम्रा लागि कठिन परिस्थितिमा समूहमा कसरी काम गर्ने एउटा शिक्षा पनि थियो त्यो।

बीचबीचमा सहयोगी भाइहरूले हिम पहिरो आउन सक्ने सम्भावित जोखिमपूर्ण ठाउँबारे जानकारी गराइरहे। हल्का वर्षा भयो। हिउँले भरिएको हिमाल र पहाड छिचोल्दै करिब पाँच घन्टामा हामी नोस्यामपाटी पुग्याैं। हिउँ पर्न रोकिएको थियो। यो दिनको खाना समेत हामीले नोस्यामपाटीमा खायाैं।
नोस्यामपाटीबाट करिब २:०० बजे हिँडेर रातमाटेमा बास बस्न पुग्यौं। अबको बाटो हाम्रा लागि केही सहज पनि थियो। सकुशल यहाँसम्म फर्कन सकेकोमा सबैको मुहारमा खुसीको आभा थियो। आगो बालेर गफिँदै बस्दा समय बितेको पत्तै भएन। भर्खरै बन्दै गरेको होटल भएकाले यहाँको शौचालय गीत गाउनु पर्ने खालको थियो। वा जङ्गलको बीचको स्थान भएकोले पूरै जङ्गल पनि हाम्रा लागि साह्रै राम्रो विकल्प थियो। मैले चाहिँ दोस्रो विकल्प रोजेँ।
यात्राको पाँचौं वा अन्तिम दिन रातमाटेबाट पाँच घन्टा पैदल यात्रा पछि हामी छिम्ती पुग्याैं। छिम्तीमा उनै रसिला हँसिला काले दाइले ससम्मान बिहानको स्वादिलो खाना खुवाए। हाम्रो बस पनि यहीँ हामीलाई कुरिरहेको थियो।
बसबाट काठमाडौंतर्फ प्रस्थान गरेको केही समयमा ओठ निचोर्दा दुध आउला जस्तो कलिलो टिपर चालक भाइ साँघुरो बाटोमा भेटिए। ती चालक भाइ र हाम्रो बस चालक दाइ पछाडि हटेर बाटो छाेडिदिन दुबै तयार भएनन्। उनी मेलम्चीको डन, हाम्रो चालक काठमाडौंको डन। घुरेर हेराहेर गर्दै दुवैले एकअर्कालाई पछाडि हट्न संकेत गरे। अन्तमा हाम्रो समूहकी सहयात्री दिदी अस्टमाया डंगोल बसबाट झरेर टिपर चालक भाइलाई दुई हात जोडेर मुस्कानसहित अनुरोध गर्नुभयो। सम्मान र मुस्कानले ती भाइ पग्लिए। बाटो खुल्यो। आफू सानो बनेर मुस्कानसहित गरेको अनुरोध कति बलियो हुन्छ त्यसको साक्षी हामी सबै भयाैं। हाम्रा लागि यो ठूलो शिक्षा भयो।
मेलम्चीदेखि हाम्रो बस संगीतमय बन्यो। नाच्ने गाउने नयाँ कलाकारहरू निस्किए। अनन्त सर र बिपुला म्याडमले ताली बजाएर साथ दिनुभयो। चन्द्रकला र उषा म्याडम यानेकी "गाइज म्याडम" हरूले स्वर खाप्दै बसको सिटमै हात उचालेर नाच्नुभयो। शेर बहादुर दाइ र बसन्ती म्याडम जिउ मर्काईमर्काई नाच्नुभयो। रमेश दाइमा गफ लगाएर माहोल सधैं रमाइलो बनाउने खुबी थियो। विनोद दाइ, साथी सुमन लगायत हामी बाँकी चाहिँ बेलाबेलामा स्वर खाप्ने र ताली बजाउने काममा व्यस्त थियौं। बस एकाएक लाइभ ब्यान्ड जस्तो बन्यो। अब मनोरञ्जनको त लेखाजोखा नै भएन।

लामिडाँडा-धुलिखेल हुँदै सुरक्षित रूपमा हामी साँझ सात बजेतिर उपत्यका आइपुग्यौं। यसरी जिन्दगीभर यादगर पाँच पोखरी यात्रा सम्पन्न भयो।
मलाई लाग्छ यो ब्रह्माण्डमा यदि स्वर्ग छ भने त्यो पृथ्वीमै छ र तीमध्ये एउटा पाँच पोखरी पनि हुनुपर्दछ। यसको सुन्दरताको वर्णन जति गरे पनि कम हुन्छ। अत्यन्तै प्रतिकूल मौसमका बाबजुद पनि सम्पूर्ण टिमले सफलतापूर्वक यात्रा सम्पन्न गर्न सक्नु सायद भगवानको कृपा र साथ सहयोग नै हुनुपर्छ। सम्पूर्ण सहयात्री साथीहरूको साथ त उसै छँदैछ।
यदि तपाईं पनि उच्च हिमाली भागको यात्रा गर्न इच्छुक हुनुहुन्छ भने पहिले बाटो तथा मौसमको राम्रो जानकारी लिनुहोला। साथै राम्रो खालको जुत्ता, न्यानो लुगा, बर्षादी, छाता, केही औषधि, चस्मा, लौरो, तातो पानीको भाँडो, ड्राइ फ्रुट्स लगायत सामानको राम्रोसँग जोहो गर्नु होला। यात्राले मन र तन दुबैलाई पुनर्ताजगी बनाउनेछ।
निजी गाडी वा काठमाडौंको जोरपाटीबाट सार्वजनिक यातायातमा करिब छ घन्टा यात्रा गरेर छिम्तीसम्म पुग्न सकिन्छ। काठमाडौंबाट प्रस्थान गरेर पाँचपोखरी भ्रमण गरी फर्कन सामान्यतया पाँच दिन लाग्छ।
अनि तपाईं पनि जाने होइन त पाँच पोखरी?
