मेरो योभन्दा अघिल्लो ट्रेक लाङटाङको थियो। लाङटाङ ट्रेक गएको साढे दुई वर्ष भइसकेछ। ट्रेकिङका लागि भनेर किनेका सामानमध्ये केही हराइसकेछन्, केही च्यातिएछन्, अनि केही बिग्रिएछन्।
नेपालका विभिन्न ठाउँहरू घुम्न जान थालेको धेरै वर्ष भयो। वर्षमा कम्तीमा एक पटक अझ विशेष गरी दसैंको समयमा नेपालको कुनै न कुनै ठाँउ गइरहेको हुन्छु।
अघिल्लो वर्षको दसैंमा भने एउटा अनौठो संयोग जुर्यो। नेपालको कुनै ठाउँ घुम्न जाने योजना बनाउँदै थिएँ, अचानक एउटा कार्यक्रमको सिलसिलामा युरोप जानुपर्ने भयो।
त्यो बेला भर्खरै युरोपबाट फर्केकी मेरी प्रेमिका (अहिले श्रीमती) सँग एउटा कार्यक्रममा सहभागी हुन युरोप उडेको थिएँ।
हामी दुबैले युरोपको यात्रालाई रोमाञ्चक बनाउन निर्धारित कार्यक्रम पश्चात् त्यहाँका डाँडाकाँडामा हाइक गर्ने योजना बनाएको थियौं।
चौध दिनको बसाइँमा इटली र स्विट्जरल्याण्डका हिमशृङ्खलाबीच साक्षात्कार हुने अवसर मिल्यो।
नेपालको हिमाली भेगमा स्थानीय संस्कृति, जीवनशैली, स्थानीयहरूको स्नेह र हिमालको विशालताले मन जसरी पगाल्छ, हो त्यस्तै युरोपमा पनि त्यहाँको व्यवस्थित ट्र्याक रूट, अलग परिवेश र प्राकृतिक सुन्दरताले हरेकको मन आकर्षित गर्ने रहेछ।

तर, जति सुकै विदेशतिर घुमे पनि आफ्नै देशको, आफ्नो भूगोलको, आफ्ना डाँडा काँडा र हिमाली परिवेशको पुकार भने अर्कै किसिमको हुन्छ।
नेपालका डाँडाहरूमा उक्लिन नपाएको धेरै भइसकेको रहेछ। निकै समयबाट हिमाली भेगको पुकार भैरहेको जस्तो लाग्थ्यो। अनेक परिस्थितिले ट्रेक जाने मौका जुराउनै मुस्किल भैरहेको थियो। बेला बेला हिमालतिर उक्लिन नपाएको कारण एक किसिमको अधुरोपनको अनुभूति हुन्थ्यो।
फेरि यो ट्रेकिङको लत पनि बडा विचित्रको हुन्छ। घुमेरै खान पुग्ने हुन्थ्यो भने कस्मम म हिमालतिरै कतै घुमिरहेकै हुन्थेँ। तर कसैले ट्रेकिङको लत कस्तो खालको हुन्छ भनेर सोध्यो भने शब्दमा वर्णन गर्न मुस्किल पर्छ।
फागुन ८ गते पोखरा विश्वविद्यालयमा स्नातकोत्तर तहको दिक्षान्त समारोह थियो। त्यसकै लागि भए पनि मलाई पोखरा जानुपर्ने थियो। पोखरासम्म जानै पर्ने भएपछि त्यही मेसो पारेर एउटा ट्रेक गरेर फर्किनुपर्छ होला भन्ने सोचिरहेको थिएँ।
श्रीमतीले फेरि मनभित्रकै कुरा बुझेझैँ, 'पोखरासम्म जाने भए त कतै ट्रेकिङ गरेर आए पनि हुन्छ, घुमिरहने मान्छे धेरै भयो ट्रेक नगएको' भनिन्।
अब श्रीमतीले नै घुम्नलाई हौस्याएपछि बाँकी केही सोच्नै परेन। तर उनको एउटा सर्त चाहिँ मान्न पर्ने थियो, 'आउने दसैंमा घुम्न जान्छु भन्न पाउनु हुन्न' भनेर।
ट्रेकिङ ब्याग पुरानो भएर च्यातिसकेको थियो। श्रीमतीले उनको भाइको ट्रेकिङ ब्याग मागिदिइन्। मलाई चाहिने सामानहरू उनैले प्याक गरिदिइन्। मभन्दा झनै घुम्न रूचाउने उनले नेपालका धेरै ठाउँमा सोलो ट्रेक गरेकी छन्।
समय अभावका कारण मार्दी हिमाल जानुपर्छ होला भन्ने सोचेको थिएँ। श्रीमतीले मार्दीभन्दा अन्नपूर्ण बेस क्याम्प जाने सुझाव दिइन्। उनी दुबै ठाउँ पहिले घुमिसकेको हुनाले उनको कुरालाई नकार्न सकिएन।
जिन्दगीमा पहिलो पटक दिक्षान्त समारोहमा सहभागी हुने अवसर पाउँदै थिएँ। जति उत्साह ट्रेकिङलाई लिएर थियो, त्योभन्दा बढी उत्साह मलाई कालो गाउन र फुर्के ह्याट लगाउनेमा थियो। अनि डिग्री सर्टिफिकेट हातमा बोकेर चटक्कको एउटा फोटो खिच्नु थियो। त्यही फोटो फ्रेममा राखेर घरको बैठक कोठाको भित्तामा टाँङ्ने धोको थियो।
मेरो दाजु र भाइले आ-आफ्ना दिक्षान्त समारोहका फोटोहरू पहिल्यै भित्तामा टाँगिसकेका थिए र मेरो फोटो अट्ने ठिक्कको खाली ठाउँ राखिदिएका थिए।
दिक्षान्त समारोह सकिएको बेलुका सबै साथीहरूले घान्द्रुकतिर जाने योजना बनाएका थियौं। मलाई घान्द्रुकसम्म साथीहरूसँग गएपछि भोलिपल्ट ट्रेक जानलाई सजिलो हुने थियो। त्यसैले पनि साथीहरूले मलाई सजिलो पर्छ भनेर घान्द्रुक जाने सल्लाह गरे। एक जना साथीको गाडीमा हामीहरू पोखराबाट हेम्जा हुँदै नयाँपुल अनि घान्द्रुकतिरको उकालो लाग्यौं।
त्यो दिन दिउँसो घान्द्रुकतिर अत्यधिक पानी परेको रहेछ। बाटो पूरै हिलाम्य भएर गाडी चिप्लिन थाल्यो। बाटोको अवस्था हेरेर गाडि अगाडि जान नसक्ने जस्तो भयो। साथीहरूलाई घान्द्रुक जान मन हुँदाहुँदै जान नसकिने भएपछि पर्वततिर मोडिने भए।
मलाई फेरि त्यो बेलुका जसरी पनि घान्द्रुक पुग्नुपर्ने थियो। ट्रेकिङ जाने तयारीका साथ मेरो भाइहरू पुस्कर र गणेश दिउँसो नै घान्द्रुक पुगिसकेका थिए।
साथीहरूबीच बाटोबाट फर्किने भएपछि भाइलाई फोन गरेँ—'गाडी माथि आउन नसक्ने भयो, साथीहरू पर्वततिर जाने योजनामा छन्, मलाई लिन आउन पर्यो भनेर।'
भाइ बीच बाटोसम्म बाइकमा लिन आउने भयो। धन्न उनीहरू दुई जना काठमाडौंबाट आफ्नो बाइकमा घान्द्रुक पुगेका थिए।
थोरै अगाडि एउटा सानो चिया दोकान थियो। साथीहरू चिया पिएर छुट्टिने भए। घान्द्रुकबाट भाइ लिन आउन समय लाग्ने भएकाले मैले गाडीबाट आफ्नो सामान निकालेर साथीहरूलाई फर्किन अनुरोध गरेँ।
केहीबेरमा भाइ आइपुग्यो। म बाइकको पछाडि बसेर उकालो लागेँ। हिलाम्य बाटो बाइकलाई त धौधौ भैरहेको थियो, गाडी जाने त चान्सै रहेनछ।
पोखराबाट करिब चालिस किलोमिटर पश्चिममा अवस्थित घान्द्रुक गाउँ समुद्री सतहबाट करिब १९४० मिटरको उचाइमा छ। प्राकृतिक सुन्दरता, सांस्कृतिक विरासत, स्थानीय मौलिकपन र मनमोहक हिमालयको दृश्यका लागि प्रख्यात ठाउँ घान्द्रुक म पहिलो पटक पुगेको थिएँ।
रातिको समय थियो, घान्द्रुकमा बत्तीका झिलिमिली मात्र हेर्न पाइयो। फेरि त्यो दिन कलाकार शान्ति श्री परियारको कन्सर्ट चलिरहेको थियो। निकै हल्ला खल्ला हुँदै थियो।
कन्सर्टको रमाइलोभन्दा पनि मलाई होटलमा पुग्नु थियो। भोक र थकाइले ब्याकुल भैसकेको थिएँ। होटलमा फ्रेस भएर भाइहरूसँग खाना खाइसकेपछि मैले ट्रेकिङको लागि अन्तिम योजना बनाउन थालेँ।
होटलका साहुजीले ट्रेकिङ गाइडको काम गर्ने रहेछन्। उनले बाटोको कठिनाइ र हिमपहिरोका पुराना घटनाहरू सुनाएर राम्रै तर्साइदिए। उनैले हाम्रो लागि आइटिनरी पनि बनाइदिए। उनको पुराना घटनाका कुराहरू सुनेर भाइहरू त तर्सिए होलान् मैले भने खासै गम्भीरतापूर्वक लिइनँ। यात्रा गर्नुपूर्व नै डराइयो भने के यात्रा गर्नु भन्ने लाग्छ। तर आवश्यक सावधानी भने अपनाउन जरूरी हुन्छ।
अघिल्लो दिनको झरीले होला होटलको बार्दलीबाट बिहानै बाहिर निस्केर हेर्दा हिमाल सेतै टल्किरहेको थियो। सायद हिजो आज हिमालमा हिउँ पनि निकै थपिएको हुनुपर्छ। जब घामको पहिलो किरण अन्नपूर्णका चुचुरोमा पर्यो, मनै लोभ्याउने दृश्य देखियो। बिहेको श्रृङ्गारमा सजिएकी बेहुलीझैं टलक्क टल्किएको थियो अन्नपूर्ण!
अन्नपूर्णलाई टाढाबाट नियाल्दा त यति सुन्दर देखिएको थियो, हामी तीन दिनपछि त्यसको समिपमा पुग्नेवाला थियौं। थाहा छैन नजिकबाट कस्तो देखिन्छ होला।
बिहानको नास्ता घान्द्रुकमै गरेर ट्रेक सुरू गर्ने योजना थियो। नास्ता गरेर हिँड्ने बेलामा गणेशको तयारी हेर्दा लाग्यो, 'यस्तो पारामा यसले कसरी यात्रा गर्छ!'
ऊसँग न राम्रो जुत्ता थियो, न त ट्रेकिङका लागि उपयुक्त कपडाहरू। उसले झोला पनि बोकेको थिएन! आफ्ना सबै सामानहरू पुष्करको झोलामा राख्ने योजना बनाएको रहेछ।
मैले गणेशलाई ट्रेकिङमा हुन सक्ने कठिनाइहरूको बारेमा राम्रोसँग सम्झाएँ। उसले जसरी पनि जान खोजिरहेको थियो। साहुजीले पनि माथि निकै हिउँ परेकाले यो जुत्ता अनि यत्तिको तयारीमा हिँड्न मुस्किल पर्छ भने। अब उसलाई बाइकमा पोखरा फर्किनुको विकल्प थिएन।
गणेशलाई बीचैमा छोडेर हिँड्नु परेकोमा मन थोरै खिन्न थियो। तर अर्को कुनै ट्रेकमा मैले उसलाई पूर्ण तयारीसहित लैजाने बाचा गरेको छु। बिना तयारी ट्रेकिङ गएर बाटोमा दु:ख पाएकोहरू मैले धेरै पटक धेरै ठाउँमा भेटेको छु।
नचाहिने सामानहरू गणेशको जिम्मा लगाएर म र पुस्कर घान्द्रुकबाट अगाडि बढ्यौँ। घान्द्रुकबाट हिँड्न थालेको थोरै समय भएको थियो अगाडि जाँदै गरेको एउटा खाली गाडी भेटियो। गाडी रोकेर सोधेँ—कहाँसम्म जान्छ?
'कुम्रुङ डाँडासम्म,' चालकले भने।
हुन त ट्रेकिङ भनेको पैदल हिँड्नको लागि र त्यसैको मजा लिन जाने हो। तर बाटोमा कहिलेकाहीँ गाडी भेटियो भने यसो एकैछिन भए पनि चढिहाल्न मन लाग्छ। त्यसले यात्रा अवधिलाई केही छोटो र सजिलो पारिदिन्छ।
केहीबेर भाडामा मोलमोलाइ गरेपछि हामी गाडीमा चढ्यौं।
गाडीले हाम्रो एक डेढ घण्टाको पैदल यात्रालाई दश पन्ध्र मिनेटमै पार गराइदियो।
कुम्रुङ डाँडामा गाडीबाट ओर्लिएर हामी सिधै ओरालो हिँड्न थाल्यौं। बाटोमा निकै घना जंगल थियो। बिहानीपख चराचुरूङ्गीहरूका आवाजहरू आइरहेका थिए। बाटोमा हामी दुई दाजुभाइ मात्र थियौँ। अनेकौं गफहरू गर्दै केहीबेरमा किम्रुङ खोला पुगेका थियौं।
पुस्करले बाइकको चाबी छोड्न बिर्सेर गोजीमै लिएर आएछ। भाग्यवस किम्रुङ खोलामा हामी पुग्नु, चाबी छुट्यो भनेर गणेशको फोन आउनु र त्यही बेलामा घान्द्रुकतिरै जाने एउटा जिप भेटिनु यसलाई एउटा मिठो संयोग मात्र मानियो। नत्र चाबी कोसँग पठाउने भनेर बिजोग हुने रहेछ।

किम्रुङ खोलामा बसेर चिया पिउन थाल्यौं। चिया सकेर एउटा लौरोको जोहो गर्न थालेँ। एक जना आमासँग पचास रुपैयाँमा निगालोको लौरो किनेँ। अबको केही दिन त्यो लौरो मेरो साथी हुने वाला थियो। ट्रेकिङमा हातको लौरोले हिँड्न धेरै सहज बनाइदिन्छ।
किम्रुङ खोलाबाट सिधै उकालो चढ्नु थियो। घाम पारिलो लागेको थियो। बेला बेला पानीको घुट लगाउँदै हिँडिरहेका थियौँ। मोबाइलमा कुमा सागरको गीत बजिरहेको थियो। हिजो आज कुमा सागरलाई खुबै सुन्न थालेको छु। पछिल्लो समय खुबै मन पर्न थालेका गायक कुमा, मोबाइलमा उनका सबै गीत डाउनलोड गरेर राखेको थिएँ।
कुमा सागरका अर्गानिक धुनहरूले बाटो काटेको पत्तै भएन। केहीबेरमा दुर्पिन डाँडामा पुग्यौँ।
पहाडको बाटोहरू हेर्दा निकै नजिक देखिन्छ, ऊ त्यही त हो भन्ने हुन्छ। तर हिँड्दै जाँदा भेटाउनै मुस्किल हुन्छ। हामीलाई अन्नपूर्णसम्म पुग्नुभन्दा पहिले, त्यस्ता थुप्रै उकाली र ओरालीहरू पार गर्नुपर्ने थियो।
ट्रेक रूटमा कसैलाई त्यो ठाउँ पुग्न कति समय लाग्छ भनेर सोध्यो भने फेरि कहिले पनि मिल्दैन। हरेक मान्छेको फरक फरक समय हुन्छ।
हामीले दिउँसोको खाना छोम्रुङ पुगेर खाने योजना बनाएको थियौं।
दुर्पिन डाँडामा दुई वटा विदेशी ग्रुप भेटिए। बाटोमा कोही पनि मान्छे भेटिँदैन कि के हो भन्ने सोचले पिर मानिरहेका हामीलाई त्यो ग्रुपहरू भेट्दा मनमा एक किसिमको खुसीयाली छाएको थियो। अफ सिजन भएर होला मान्छेको चहलपहल निकै कम थियो। र पनि यस्तो मान्छे हिँडिरहने रूटमा कोही पनि मान्छे भेटिँदैन कि भनेर सोच्नु मुर्ख्याइ नै थियो। चोइले तिरबाट आएका उनीहरू पनि अन्नपूर्णतिरै जाने रहेछन्।
एउटा ग्रुपमा देख्दा भर्खर सोह्र सत्र वर्षको जस्तो देखिने विदेशी छोरी मान्छे थिइन्। उनीसँग एक जना गाइड र उनको सहयोगी रहेछन्। सुरूमा झट्ट हेर्दा गाइड विदेशी सम्झेको। पछि उहाँले नेपाली बोलेको सुन्दा ए तपाईं नेपाली पो हो भनेर मस्तै हाँसियो।
ट्रेकिङको सुन्दरता के हुन्छ भने बाटामा हिँड्ने सबै मान्छेसँग गफ गर्न मन लाग्छ, सबै मान्छे प्यारा लाग्छन्। नबोल्न खोज्नेलाई पनि कोट्याई कोट्याई बोलाउन मन लाग्छ।
गफ गर्दै जाँदा १९ वर्षीया बेलायती नागरिक कलेज सकाएर घुम्न आएकी रहिछन्। अब यताबाट फर्केपछि फेरि फर्दर पढ्न सुरू गर्ने योजना रहेछ।
झट्ट हेर्दा विदेशी जस्तो देखिने गाइड पनि साह्रै मिसाजिलो हुनु हुँदो रहेछ। सात वर्षदेखि गाइडको काम गर्न थालेको उनी, यो सिजनमा मात्र एघार वटा ग्रुपलाई लिएर एभरेस्ट बेस क्याम्प जाने कार्यक्रम तय भैसकेको रहेछ।
सहयोगी भाइले पनि विगत केही वर्षदेखि यस्ता कैयन विदेशीहरूको झोला बोकेर उनीहरूलाई गन्तव्यमा पुर्याएर फर्काएका रहेछन्।
दुर्पिन डाँडामा केहीबेर आराम गरेर हामी दुई जना पनि उनीहरूसँगै गफ गर्दै अगाडि बढ्यौँ। मैले जिस्केर गाइडलाई अब हामी दुई जनालाई पनि हजुरले गाइड गर्नुपर्ने भयो म्यामभन्दा उहाँ केही बोल्नु भएन। उहाँको मौनता हुन्छको थियो या हुँदैनको केही चाल पाइएन। उहाँको त्यो भाव हेर्दा 'कति कुरा नभनेरै मिठा मिठा हुन्छन्' भन्ने गीत याद आयो।
छोम्रोङमा खाना खान पुग्ने योजना थियो हाम्रो। उनीहरूको पनि त्यही रहेछ। विदेशीहरूसँग हिँडेपछि उनीहरूको खाना खाने, बस्ने ठाउँहरू प्राय: निश्चित हुने रहेछ। हामीलाई त के, जता सजिलो भयो उतै बस्यो। होटल मोनालिसामा उनीहरूसँगै खाना खान बस्यौं हामी।
छोम्रोङबाट अगाडि चेक पोइन्ट रहेछ। चेक पोइन्टमा इन्ट्री गराएपछि मात्र अगाडि बढ्नु पर्ने नियम रहेछ। हामी अन्नपूर्ण राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दै थियौं।
छोम्रोङको सफा बाटो कटिङ ढुंगाले सिँढी जस्तै गरेर बनाइएको रहेछ। कटिङ ढुंगाले नै बनाएका घरहरू निकै आकर्षक देखिन्थे। प्रायजसो मान्छेहरू झिनुसम्म गाडीमा आएर त्यताबाट हिँड्दै छोम्रोङ आउने रहेछन्। छोम्रोङबाट अगाडि बढ्दा थप अन्य ग्रुपहरू पनि फेला परेका थिए।

अलिक तल पुग्दा हल्का पानी पर्न सुरू भयो। सबैले प्लास्टिक र रेन कोटहरू निकाले। झोलामा छाता थियो निकाल्नै अल्छी लाग्यो। यसो आकाशतिर हेरेको एकैछिनमा रोकिन्छ जस्तो लाग्यो र यत्तिकै हिँडिरहे।
करिब आधी घन्टा तल हिँडेपछि एउटा खोला र झोलुङ्गे पुल आइपुग्यो। झोलुङ्गे पुलमा केही थान फोटो खिचेर हामी फेरि उकालोतिर लाग्यौं।
भर्खर खाना खाएर होला उकालो हिँड्न निकै मुस्किल हुँदै थियो। उकालोमा एक जना बुढो विदेशी मान्छे भेटिए। उनी यसपालि आफ्नो छोरासँग अस्ट्रेलियाबाट नेपाल घुम्न आएका रहेछन्। असाध्यै मन परेर आफ्नो छोरालाई लिएर यो बेला दोस्रो पटक नेपाल घुम्न आएका उनी रिडायर्ड प्रोफेसर रहेछन्। छोराको पढाइ सकेर जाँगर सुरू गराउनभन्दा अगाडि नेपाल घुमाउन लिएर आएका रहेछन्।
विकसित राष्ट्रहरूमा घुम्ने ट्रेन्ड असाध्यै राम्रो रहेछ। हामीलाई भए पढाइ सकाउन नपाउँदै काम खोज्न चटारो हुन्थ्यो। पैसा कमाउनको ध्यान हुन्थ्यो। केटा या केटी हेरेर बिहे गर्नको हतार हुन्थ्यो। तर उनीहरू केही समय फ्रेस हुन घुम्न निस्किन्छन्।
थुप्रै नेपालीहरू अस्ट्रेलियामा रहेको कुरामा उनी जानकार थिए। अधिकांश नेपाली बाहिर जानुको कारण सोधिरहेका उनले औसत नेपालीहरूको एक महिनाको कमाइ सुनेर तीनछक्क परे। बुझिल्याउँदा उनीहरूको एक दिनको कमाइ आम नेपालीहरूको महिना दिनको तलब हुने रहेछ। त्यो पनि नेपाल सरकारले तोकेको न्यूनतम ज्यालादारीको हिसाबमा। त्योभन्दा कममा काम गर्नेहरू पनि कति छन्, छन्। अनेकौं गफहरू गर्दै हाँस्दै, बेला बेला आराम गर्दै अनि पानीको चुस्की लिँदै दुई घन्टा जस्तो ठाडो उकालो हिँडेर लोअर सिँनुवामा पुग्यौँ।
त्यो बेलामा हिँडिरहेका सबै जनाको योजना अपर सिँनुवामा बास बस्न पुग्ने थियो। दिउँसोको तीन बजेतिर हामी सबै जना अपर सिँनुवामा पुग्यौं।
बिहान बेलायती ग्रुपसँग नजिकिएका हामी दिउँसो अस्ट्रेलियनसँग नजिकिएका थियौँ। यात्राको सुन्दरता नै यही हो कता को सँग गफ मिल्छ पत्तै हुँदैन।
हाम्रो पनि त्यो दिनको बसाइ अपर सिँनुवामा हुने भयो। अलिक हिँडेको भए परसम्म जान त सकिन्थ्यो तर पहिलो दिन नै ज्यानलाई धेरै दु:ख दिन मन लागेन। सिँनुवा गेस्ट हाउसमा झोला बिसायौं।
समुद्री सतहबाट २३६० मिटरको उचाइमा अवस्थित सिँनुवामा पुग्दा हल्का सिमसिम पानी परिरहेको थियो। अफ सिजन भएर होला कोठा पाउन गाह्रो भएन। सिजनमा हुन्थ्यो भने त कहिले कोठा नपाएर डाइनिङ हलतिर सुत्नु पर्ने हुन्थ्यो।
बेलायती ग्रुपसँगै हिँडेका हामी, गाइडले सजिलो पारिदिनलाई उनीहरू मेरो मामाको छोराहरू हो भनिदिनु भयो।
होटल राम्रो परेछ। अलिक पर गोठमा आगो ताप्ने व्यवस्था रहेछ। अन्नपूर्ण क्षेत्रमा आगो बाल्न नपाइने नियम बनाएका रहेछन्। सिँनुवाभरिमा हामी बसेको होटलमा मात्र आगो बलेको थियो। भाग्यबस त्यस्तो चिसोमा आगो ताप्ने मौका पाइयो। भाइलाई जिस्काउँदै थिए कसैको पछि लाग्यो भने फाइदै हुने रहेछ भनेर।
आगो ताप्न भनेर अन्य होटलमा बसेका गाइड र पोर्टरहरू पनि हाम्रो गोठमा आइपुगेका थिए। माथि बेस क्याम्पबाट फर्केको ग्रुप पनि आइपुगेको थियो। माथितिर मस्तै हिउँ परेको भन्ने खबर पाइयो। केही कठिन ठाउँहरूको बारेमा पनि जानकारी लिइयो।
गाइडहरूका किस्साहरू पनि बडो गज्जबका हुने रहेछन्। वर्षौंदेखि गाइडको पेसा अंगालेका उनीहरू छ महिना हिमालमा हराउने र छ महिना आराम गर्ने रहेछन्। बिचरा पोर्टरहरूका भारी बोकेका किस्सा झनै कारूणिक थिए। तर उनीहरू सबै जना बडो निष्ठाका साथ आफ्नो कर्म गरिरहेका थिए।
सबैसँग गफिँदै, सबैका यात्रा अनुभव सुन्दा केहीबेर रमाइलो नै भयो। अब आगो निभाउनु पर्छ खाना खान आउनुस् भन्ने जानकारी आयो।
सात बजेतिरै खाना खाएर हामी सबै आ-आफ्नो कोठातिर लाग्यौं। दिनभरिको थकान र अघिल्लो दिनको अनिँदोले होला बेलैमा निदाइएछ।
बिहान सिँनुवामै नास्ता खाएर निस्किने योजनामा थियो। अरू बेलाको ट्रेक पूरै नेपाली पारामा हुन्थ्यो। रात परिन्जेलसम्म, उस्तै परे मोबाइलको लाइट बालेर हिँडिन्थ्यो। बिहान पनि झिसमिसेमै निस्किसकेको हुन्थ्यौं। यसपालि भने विदेशी ग्रुपहरूसँग बहुत आनन्दको अझ भन्नु पर्दा विदेशी स्टाइलको यात्रा गरिरहेको थियौं।
अघिल्लो दिनको भन्दा भोलिपल्ट बाटो पनि अलिक सहज थियो। उकालो र ओरालो नभएर अलिक तेर्सो तेर्सो नै थियो।
बाटोमा फोटो खिच्दै, यताउता ओहोर दोहोर गर्ने मान्छेहरूसँग हेलो नमस्ते गर्दै हिँडिरहेका थियौं। म बेला बेला ठूल ठूलो स्वरमा गीत गाउँथे। बेलायती नानीलाई मेरो गीत खुबै मन परेछ। उनी चियर गरिरहेकी हुन्थिन्। उनले मैले गाएको गीत नबुझे पनि भाका खुबै रूचाएकी थिइन्।

सिँनुवाबाट साढे एक घन्टा जस्तो हिँडेर ब्याम्बो (२३३५ मि) मा पुगिने रहेछ। ब्याम्बोमा केहीबेरको आराम गरेपछि फेरि हिँड्न थालेका थियौं।
मलाई यसपालि त्यो ट्रेकिङ रूटको एउटा गज्जबको दृश्यले मन खिचेको थियो। हरेक होटलहरूमा ढकमक्क एकैनासका फूलहरू फुलेका देख्न पाइन्थ्यो। हाम्रो कर्णाली यत्तिको उचाइमा यो समयमा सुख्खापन मात्र देख्न पाइन्छ। त्यताका घर आँगनमा फुलाइएका रंगीचंगी फूलहरूले असाध्यै मनलाई प्रफुल्लित पारिरहेका थिए।
त्यस्तै, हरेक स्टपमा भेटिने ठूला ठूला जर्मन सेफर्ड र भोटे ब्रिडका कुकुरहरूले बाटोमा हिँड्ने जो कसैको मन जितेका थिए। शान्त स्वभावका देखिने ती कुकुरहरूको भिडिओ र फोटो जो कसैले लिन्थे।
अनि फेरि अनौठो के भने तिनैमध्येका कुनै कुनै कुकुरहरू विशेष गरी फर्किने बेलामा ट्रेकरहरूको पछिपछि लागेर एक डाँडाबाट अर्को डाँडासम्म सँगसँगै पुर्याउन गैरहेका हुन्छन्। यो चाहिँ अन्य रूटहरूमा पनि देख्न पाइन्छ। मलाई ती कुकुरहरू किन छोड्न जान्छन् होला भनेर जान्ने मन छ।
दिउँसोको ११ बजेतिर दोभानमा पुगेका थियौं। हाम्रो योजना अपर दोभानमा खाना खाने थियो। जंगलको बीचमा रहेको अप दोभान २५०५ मिटरको उचाइमा छ।
दोभानमा पुग्दा हल्का घाम लागेको थियो। अघिल्लो राति परेको हिउँ जस्ता पातामा थुप्रिएर बसेको रहेछ। जस्ता पातामा घाम लागेपछि हिउँ पग्लेर तप्प तप्प पानीको थोपा झरिरहेको थियो।
हिउँ पग्लेर पानीका थोपाहरू भुइँमा उछिट्टिएको देख्दा जुम्ला तिरको याद आयो। हिउँ परेर पग्लिने बेला हाम्रा थाडा (छत) बाट पनि यसरी नै पानीको थोपाहरू झर्थे। ती थोपाहरूले माटोको ओटाला (आँगनमा) मा प्वाल पार्थे। अनि बाछिटा उछिट्टिएर पर परसम्म पुग्थे। खाली बाटा र बाल्टिनमा पानी थाप्ने गर्थ्यौं।
बरफले गर्दा जाडो महिनामा धारामा पानि आउथेन, प्राय: पानीको हाहाकार हुन्थ्यो। तिनै थोपाबाट जम्मा भएको पानीलाई घरमा जुठा भाँडा माझ्न र गाईवस्तुलाई दिन प्रयोग गरेको याद आयो।
खाना खाइसकेपछि हिँड्न थालियो। केहीबेर हिँडेपछि एउटा प्रशिद्ध मन्दिर भेटियो। पोजेङ्यम बराह थान मन्दिर भन्ने रहेछन्। त्यो मन्दिरभन्दा अगाडि र त्यो आसपासतिर मासु लैजान नपाइने रहेछ। खोलाको किनारैमा बनाएको त्यो मन्दिर निकै मनमोहक थियो।
मन्दिरबाट हिमालय (२७२० मि) हुँदै उकालो लाग्दा हिउँ झर्न थालिसकेको थियो।
हिमालयभन्दा माथिको बाटो अलिक अप्ठ्यारो पनि थियो। देउराली नपुगन्जेल हिमपहिरोको डर हुन्छ भनेर हामीले बारम्बार सुनेका थियौं। पुस्कर भिडिओ बनाउन र फोटो खिच्न अप्ठ्यारो अप्ठ्यारो ठाउँमा गैरहेको थियो। मैले उसलाई अलिक सजग भएर हिँड्न भनेको थिएँ।

जति जति माथि जान्थ्यौँ हिउँ झनै बढी परिरहेको थियो। बरफ जमेर चिप्लो भएको बाटोमा हल्का हिउँ थपिएर झनै चिप्लो बनाइरहेको थियो। माथिबाट तलतिर झरिरहेका मान्छेहरूलाई पनि हिँड्न झनै कठिन भइरहेको थियो। चिप्लिन्छ कि भन्ने डरले हरेक मान्छेका खुट्टामा क्र्याम्प थिए। कोही कोहीले नचिप्लियोस् भनेर जुत्ताको बाहिर मोजाले कभर गरेका थिए। यो जुत्ता बाहिर मोजा लगाएर नचिप्लिने आइडिया राम्रै लाग्यो।
म र पुस्कर जुम्लामा जन्मेका र बच्चैदेखि हिउँमा लडिबुडी खेलेर हुर्केका हुनाले हिँड्न खासै गाह्रो भएको थिएन। तर पनि चिप्लिन्छ कि भन्ने कुरामा निकै सजग चाहिँ थियौँ।
देउराली पुग्नै लाग्दा एउटा गुफा आउने रहेछ। गुफाकै छेउमा दुई वटा खोलाहरू खोँचजस्तोबाट बग्ने रहेछन्। त्यो ठाउँमा धेरै पटक हिमपहिरो आएर कैंयनलाई बेपत्ता पारेको रहेछ। सानो खोँचले गर्दा माथिबाट हिमपहिरो आएको नदेखिने रहेछ।
अनि मान्छेहरू हिँडिरहेको बेला हिमपहिरो आएको चालै नपाइने रे। बाटो पनि पहिरो आएर जम्मा भएको हिउँको माथिमाथि बनाइएको थियो। कोही चिप्लियो भने पनि तल खोलामा पुग्ने अवस्था थियो।
अगाडि हिँडेका मान्छेका पाइला पछ्याउँदै म पुस्करलाई पछाडि नै छोडेर माथितिर हेर्दै कुद्न थालेँ। त्यो गाह्रो बाटो पार गर्न दश मिनेट जस्तो लाग्छ भन्थे तर मैले एकै छिनमा पार गरेछु।
दुई दाजुभाइसँगै हिँड्न डरले म अगाडि गएको थिएँ। त्यो बेलामा मेरो दिमागमा केही गरी झ्याप्प पहिरो आइहाले कोही एक जना त बचिन्छ भन्ने लागेको थियो। त्यही भएर पनि भाइलाई छोडेर म कुदेको थिएँ। भाइ चाहिँ मस्त भिडिओ बनाउँदै हिँडिरहेको थियो।
दिउँसोको तीन बजेतिर देउरालीमा पुग्यौं। त्यो दिन हाम्रो देउरालीमै बस्ने योजना भयो। फेरि हामी चाहेर पनि अगाडि जान सक्ने थिएनौं। हिउँले बाटो पूरै पुरिसकेको थियो। बाटोका पाइलाका डोबहरू हिउँले पुरेर पूरै समतल बनाएको थियो।
समुद्री सतहबाट ३२३० मिटरमा अवस्थित देउराली सबैतिर हिउँले ढपक्कै ढाकिएको थियो। काला चट्टानहरूको आडमा बनाइएका होटलहरू एक हिसाबमा डर लाग्दा देखिन्थे। दिउँसो १२ बजेतिर बाट पर्न सुरू भएको हिउँ बेलुकासम्म निकै जम्मा भइसकेको थियो।
देउराली गेस्ट हाउसमा केही अन्य ग्रुपहरू पनि थिए। चिसो एकदमै धेरै थियो। हामीले अघिल्लो दिनको आगो मिस गरिरहेका थियौं। ज्यान तताउनै हम्मे हम्मे थियो।
दाउरा बाल्न नपाउने नियमले त्यता ग्यास सिलिन्डरको प्रयोग हुने रहेछ।
त्यत्रो उचाइमा मान्छेहरूले सिलिन्डर बोकेर कसरी पुर्याउँछन् होला। त्यसमाथि सबै कुरा खाने कुराहरू बोकेरै लैजानु पर्ने रहेछ। धन्न बलिया नेपालीहरू जहाँकहीँ छन् र त्यो उचाइमा पनि विदेशी तथा स्वदेशी पर्यटकहरूले आफूले चाहेको खाना खान पाएका छन्। घुम्न पाएका छन्।
अन्नपूर्ण बेस क्याम्पको रूटमा फोन र इन्टरनेट राम्रै चल्ने रहेछ। बाहिर बस्दा चिसो हुने भएकाले बेलैमा खाना खाएर आ-आफ्नो कोठामा गयौं। केहीबेर मोबाइल चलाउँदा हात कठ्याग्रिन थाल्यो। ओछ्यानभित्र मोबाइल चलाउँदा बाफिएर स्क्रिन केही पनि नदेखिने। फेरि चिसोका कारण मोबाइलको ब्याट्री पनि चाँडै सकिने हुनाले सुत्नुको विकल्प थिएन।
भोलिपल्ट अझै कठिन यात्रा गर्नुपर्ने थियो। हिउँ पर्दैछ कि भनेर म बेला बेला झ्यालबाट बाहिर चिहाउँथें।
बिहानै बाहिर हेर्दा आकाश हल्का खुलेको जस्तो थियो। बाथरूमका धारामा बरफ जमेर पानी नै आइरहेको थिएन।
बिहानको ८ बजेसम्म कसैले पनि बाटो खोलेका थिएनन्। हामी बसेको होटल सबभन्दा अन्तिमको होटल थियो। हामी नास्ता खाँदै सुरूमा कसले बाटो खोल्छ होला भनेर झ्यालबाट हेरिरहेका थियौं। एउटा ठूलै नेपाली ग्रुप हल्ला खल्ला गर्दै अलिक परसम्म गयो। फेरि छिनमै फर्कियो पनि। उनीहरूले सकिँदैन जान निकै बाक्लो हिउँ रहेछ भन्न थाले।
त्यो सुनेर मेरो र पुस्करको मन खिन्न भयो, हामीलाई यो ठाउँसम्म पुगेर माथिसम्म जानै सकिँदैन क्या हो भन्ने लाग्यो।
केहीबेरमा सात आठ जनाको विदेशी सहितको एउटा ग्रुप अलिक परसम्म गएको थियो झ्याम्मै हिउँ पहिरो गयो।
सबैजना 'ए फर्क फर्क' भन्दै चिच्याउन थाले। उनीहरू हिमपहिरोबाट झोला छोडेर तलसम्म कुदेका थिए। हामी वारि बस्नेहरू फोटो लिन र भिडिओ खिच्न व्यस्त थियौँ।
हिम पहिरो देब्रेतिर झरेको थियो। देब्रेतिरको बाटो अलिक डेन्जर भएर दाहिनेतिर पट्टिबाट नयाँ बाटो खोलिएको रहेछ।
उनीहरू केहीबेर बीचैमा अड्किए। केहीबेर बाटोमा भलाकुसारी गरेर फिर्ता होलान् भनेको उनीहरू अन्नपूर्णतिरै लागे।

यता वारिपट्टि भएका हामी जाने कि नजाने खैलाबैला हुन थाल्यो। वारि पनि हामी थुप्रै मान्छेहरू भेला भएका थियौं। अस्तिबाट हामी जुन ग्रुपको पछि लागेका थियौं उनीहरू त त्यहीबाटै फर्किने भए। अरूहरू पनि कसैले अगाडि बढ्ने कोसिस गरेनन्। सायद त्यो पहिरो आउन्थेन त सबै जना अगाडि बढ्थे। गाइड र पोर्टर बाहेक अन्य स्वदेशी तथा विदेशी पर्यटक सबैको मन खिन्न थियो। एउटा मात्र ग्रुप अगाडि बढेको भए सबै जना जान्थे। अन्तत: हामी पनि अगाडि जान डरायौं।
यसो बुझ्दा गाइडहरूलाई त्यतैबाट विदेशीहरू फर्काउँदा झनै फाइदा हुने रहेछ। पैसा पनि बच्ने रिस्क पनि कम। त्यसैले उनीहरूले झनै तर्साउने कुरा गर्न थाले। एउटा ग्रुप अगाडि बढे प्रेसर हुन्छ भनेर कसैले बढ्न मानेन।
सबैजना एक दुई जना गर्दै त्यताबाट फर्किन थाले। अन्तत: निकैबेर कुरे पनि कोही पनि बेस क्याम्पतिर नजाने भएपछि हामी पनि फर्किने भयौँ।
केही थान फोटो र भिडिओमा अन्नपूर्णलाई कैद गर्दै, देउरालीमा ध्वजा बाँधेर हामीले यो पटकको हाम्रो अन्नपूर्ण बेस क्याम्प सम्मको यात्रालाई बीचैमा टुङ्याएका थियौं। हामीले देउराली माईसँग फेरि आउने बाचा गरेर बिदा मागेका थियौं।
फर्किने बेलामा हामी दुई दिनदेखि सँगै हिँडेको ग्रुपसँग पनि छुट्टिएका थियौं।
जाँदा दुई दिन लागेको बाटो हामीलाई फर्किन एक दिन मात्र लाग्यो। बेलुका चार बजेतिर झिनु पुगेका थियौँ। झिनुमा ठ्याक्कै एउटा गाडी पोखरा जान भनेर तयार रहेछ। हामी त्यही गाडीमा बसेर पोखरातिर लाग्यौं।
मलाई यसपालिको यात्रा सपना जस्तै लागिरहेको थियो। देउरालीसम्म पुगेर बेस क्याम्प जान नसकेकोमा कता कता खिन्न पनि भएको थियो। म भन्दा बढि खिन्न पुस्कर थियो। पहिलो पटक ट्रेकमा हिँडेको उसको यात्रा अपुरो भएको थियो।
मैले चाहिँ शरिर रह्यो भने यस्ता ठाँउ फेरि फेरि घुम्न पाईन्छ भाई खिन्न न हो भनेर सम्झाई रहेको थिए। फेरि हामिले कहिले पनि नेचर सङ्ग खेलवाड गर्न हुदैन। आफ्नो गतिमा हिँडेको नेचरलाई अन्डर स्टिमेट गर्दा थुप्रै दुर्घटनाहरु घटेका छन्।
अन्तमा, त्यति बेला यात्रा अपुरो लागे पनि अहिले सम्झिदा कुनै पनि पदयात्रा अपुरो भने नहुने रहेछ। किनकी, हामीले यात्राको थुप्रै अनुभवहरु भरपुर लिएर आएका छौँ।
