यात्रा संस्मरण:
हिजोसम्म पूरै खुलेको आकाश आज एकाएक धुम्म परेको थियो। न घाम न पानीको अवस्था। वसन्त ऋतुको अन्त्यतिर थियौं हामी।
कोइलीको कुहुकुहु आवाज गुञ्जिरहेको सुनिन्थ्यो। रूखमा नयाँ पालुवाहरू पलाइसकेका थिए। बारीमा किसानका मोतीरूपी मकैका टुसाहरू उम्रिँदै थिए।
सानोतिनो वैशाखे झरीको आवश्यकता त छँदै थियो माटोलाई। हाम्रो यात्राको मिति तय भइसकेको थियो। ठूलो झरी नपरोस् भन्ने थियो। स्टाफ कलेज र सार्वजनिक वित्त तालिम केन्द्रको करिब सात महिने तालिम सकिएपछि मलेनिकाले पहिलो पदस्थापन गरेको थियो हामीलाई।
म आफ्नै गृह जिल्ला ओखलढुंगास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पदस्थापन भएर आएँ।
अक्सर साथीहरूसँग पुरानै मित्रता थियो मेरो। केही साथीहरू नयाँ। म ओखलढुंगा आई सकेपश्चात साथीहरूले मुस्ताङसम्मको योजना बनाउनुभयो। हामीले सरसल्लाह गर्यौं। म आजसम्म पोखरा पनि पुगेको थिइनँ।
पोखरा पनि पुगिने अनि हिमाल पारिको जिल्ला मुस्ताङको यात्रा, मुक्तिनाथको दर्शन, कागवेनी। आहा! मन फुरूङ्ग भयो। हामीले यात्राको मिति तय गर्यौं। वि.सं २०८१ वैशाख २६ गते हाम्रो यात्रा सुरू हुने भयो।
-1740832352.jpg)
साथीहरूले राजु श्रेष्ठको ००१ ज ०३९७ नम्बरको सुमो लैजान सम्झौता गर्नुभयो। अब हाम्रो यात्राको सारथी त्यही सुमो हुने भयो। बेलुका छिटपुट पानी पर्न थाल्यो। कतै ठूलो पानी पर्यो भने! मनमा डर उब्जिरहेको थियो। तै पनि जानु त छँदै थियो। हाम्रो यात्रामा चालक समेत नौ जना हुने भयौं। राजेन्द्र राई, जीवन घिमिरे, बाबुराम आचार्य, लक्ष्मण धमला, सोमनाथ बाँस्तोला, विपीन मण्डल समेत दुई जना र म। यात्राको खर्चलाई एकीकृत गर्ने उद्देश्य स्वरूप हामी आठ जनाले नै जीवन घिमिरे सरको खातामा निश्चित रकम जम्मा गर्यौं। अब आर्थिक कारोबारको जिम्मा जीवन सरलाई हुने भयो, हामी आनन्दले खाने र रमाइलो गर्ने।
-1740832474.jpg)
२६ गते बिहान पूरै आकाश खुलेको थियो। हिजोको आकाशे झरीले त बाटोको धुलो मारेर राम्रो काम पो गरेछ। ओखलढुंगाबाट बिहान ४ बजे नै हाम्रो यात्रा सुरू भयो। यात्रामा मोटामोटी योजना बनाउनै पर्दछ सोही अनुरूप हामीले पनि योजना बनाएका थियौं। विपिन मण्डल र उहाँको एक जना साथी सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा मिसिनु भयो। अहिलेसम्मको हाम्रो अधुरो संख्या अब पूरा भएको थियो। हामी सिन्धुली हुँदै हेटौँडा निस्किने मदन भण्डारी मार्गबाट यात्रा गर्ने भयौं। मेरो लागि यो नयाँ बाटो थियो। सिन्धुलीबाट हाम्रो सुमो अगाडि बढ्यो। यो सुमो अब सात दिनका लागि राजु श्रेष्ठको नभएर हाम्रो हो है! ड्राइभर राजुलाई जिस्कायौँ हामीले। राजु धेरै नबोल्ने तर मुसुमुसु हाँसिरहने गर्नुहुन्थ्यो। यात्रा अवधिभर उहाँले कहिलै पनि गुनासो गर्नुभएन न त रिसाउनु नै भयो।

हामीले पनि सकेसम्म उहाँको विचार गरिरह्यौँ। बिहान चार बजेदेखिको अनवरत यात्रा बेलुका आठ बजेपछि रोकियो। हामी पोखरा पुग्यौं। पोखराका चोकहरूमा होटलका मान्छेहरू ग्राहकहरूलाई आफ्नो होटलमा लैजान आउँदा रहेछन्। यो उनीहरूको व्यापार रणनीति होला। हामीले अनलाइनमा खोजेर पोखराको लेकसाइडमा एउटा होटल बुक गरिसकेका थियौं। होटलका मान्छे हामीलाई लिन चोकमा आएका रहेछन्। उनकै पछिपछि लाग्यौं हामी। दिनभरिको थकान थियो। होटलमा पुगेर हातमुख धोएर फ्रेस भयौं। खाना तयार भइसकेको थिएन। एकछिन पोखरा घुम्न निस्किने सल्लाह भयो। फेवातालको आसपासमा घुमिसकेपछि होटलमा फर्कियौं। खाना तयार भइसकेको थियो। भोलि मुस्ताङको यात्रा थियो हाम्रो। जीवन सर पहिले नै पुगिसक्नु भएको थियो। तथापि होटलवालासँग मुस्ताङ यात्राको हालको अवस्थाबारे बुझ्यौं र सबै जनाले विश्राम लियौं।
भोलिपल्ट बिहानै स्नान गरेपछि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्यौं। लोक सेवा पढ्दा पढेको यो तालसँग आज आफैले साक्षात्कार गर्ने मौका मिल्यो। त्यसपछि मुस्ताङको लागि हाम्रो यात्रा अगाडि बढ्यो। कति सफा सडक, कति सुन्दर पोखरा। नेपालको सबभन्दा बढी पानी पर्ने स्थान लुम्ले कास्की पनि हाम्रै बाटोमा पर्दो रहेछ। यात्रामा देखिएका मनमोहक दृष्यहरूलाई हाम्रो गाडीमा गुञ्जिरहेको 'फेवातालमा साइँली'। गीतले झनै आनन्दित बनाइरहेको थियो। हामी अगाडि बढिरहेका थियौं। साथीहरू रमाइलो कुराकानी गरिहनुभएको थियो। पर्वतको सदरमुकाम कुश्मा हाम्रै यात्राको बाटोमा पर्दोरहेछ। वारिपट्टि कुश्मा पारिपट्टि बाग्लुङ। झोलुङ्गे पुलको जिल्ला बाग्लुङ। दुई जिल्लाको समिपमा रहेर कालीगण्डकी बहँदै रहेकी थिइन्। कालीगण्डकीले दुबै तिरको भूभाग आफूमा मिसाएकी हुँदा यिनको छाती धेरै फराकिलो थियो। त्यसैले दुई जिल्लालाई जोड्न लामालामा झोलुङ्गे पुलहरू बनाइएका थिए।
-1740832352.jpg)
पुस्तकमा पढेको कुरा आँखाले देखिँदै थियो, त्यसैले मन आनन्दित थियो। सबभन्दा अग्लो बञ्जी हेर्यौं तर बञ्जी जम्प गर्ने हिम्मत आएन। एकछिन यिनै दृष्यहरूको अवलोकन गरेपश्चात पुन: अगाडि बढ्यौं। यसपछि कस्ता दृष्यहरू यी आँखाले कैद गर्न पाउला। मन झनै उत्सुक थियो।
मालढुंगा कटेसी घुम्ती घुम्ती रोड। यति बेला यो लोक गीत एकदमै चलेको थियो। हामी पनि मालढुङ्गा कट्यौं। बाग्लुङ कालिका देवीको मन्दिरको बारेमा सुनेको थिएँ। उकालो कटेर केही अगाडि बढेपछि बाग्लुङ कालिका भगवतीको गेट देखियो। गाडीलाई सडकको छेवैको पार्किङ स्थलमा राखेर हामी मन्दिरको दर्शन गर्न गयौं। अद्भुत मन्दिर। दर्शन पश्चात बाग्लुङको डिलैडिल अगाडि बढ्यौँ हामी। पूरै नयाँ ठाउँ थियो। धेरै कुराहरू थाहा थिएन। जति थाहा थियो आनन्द लिएर अवलोकन गर्यौं। पर्वत, बाग्लुङ र म्याग्दी धेरै टाढाका जिल्लाहरू होइन रहेछन्, अनुभव भयो।
बाग्लुङबाट अगाडि बढेपछि अब म्याग्दी आउँछ भन्ने बुझियो। मनकुमारी छन्त्यालको 'बेनीको बजार' गीतले मनमा बास गरी हाल्यो। युट्युबमा लगाएर सुन्यौँ पनि। वर्षायामको समयमा अत्यन्तै जोखिमपूर्ण रूपमा टेलिभिजनमा देखिएको म्याग्दीको सदरमुकाम बेनीमा आज आफ्नै पाइलाहरू पर्दै थिए। झल्याँस्स ती दृष्यहरू आँखामा घुम्न थाले। कालीगण्डकी नदीको किनारमा अवस्थित थियो बेनी। म्याग्दी आफैमा पनि धेरै आध्यात्मिक विषयसँग जोडिएको जिल्ला हो। लंकापति रावणको जन्मभूमि समेत यही जिल्लामा रहेको अनुमान गर्ने गरिन्छ। प्रशिद्ध गलेश्वर धाम पनि यहीँ छ।त्यस बेला जानकारी नभएर हो वा समयको पावन्दीले हो हामीले भने गलेश्वर धामको दर्शन गर्न सकेनौं। बेनीमा खाना खाएर अगाडि बढ्यौं। गण्डक ऋषिको नामबाट नामकरण भएको गण्डकी नदी, अब मुस्ताङसम्मको हाम्रो यात्रा यही नदीको किनारैकिनार हुँदै थियो। म्याग्दीमा पर्ने नेपालकै प्रशिद्ध तातोपानी कुण्ड बाटोमा पर्दो रहेछ। तातोपानी कुण्डमा नुहाउँदा शरीरको दुखाइ कम हुने, छालाको रोगहरू निको हुने विश्वास गरिन्छ। हामीले पनि तातोपानी कुण्डमा पैँतालिस मिनेट जति डुबुल्की मार्यौं। त्यहाँ थुप्रै स्वदेशी र विदेशीहरू पनि नुहाउँदै थिए। यो हाम्रो लागि राम्रो अवसर थियो।
-1740832351.jpg)
मैले लोक सेवामा नायब सुब्बा उत्तिर्ण गर्दाको एउटा प्रश्न थियो। रूप्से झरना कुन जिल्लाम पर्दछ भन्ने। म्याग्दी र मुस्ताङमा सधैं द्विविधा हुने। तर म्याग्दी नै लगाएको थिएँ मैले। साँच्ची नै रुप्से झरना म्याग्दीमै पर्दो रहेछ। अदृष्यमै योसँग मेरो साइनो बसिसकेको थियो। हामीले रुप्से झरनाको शीतलता ग्रहण गर्यौं। ऊ छङ्छङ् बगिरहेको थियो म उसलाई हेर्दै दङ्ग परिरहेँ। केही माथि आएपछि दाना गल्छी भेटियो। ६,९६७ मिटर गहिरो गल्छी, जुन कालीगण्डकी नदीले बनाएको गल्छी हो। यो संसारको सबभन्दा गहिरो गल्छी पनि हो। यसलाई अन्ध गल्छीका नामले समेत चिनिन्छ। साँघुरो र गहिरो गल्छी हामीले झोलुङ्गे पुल माथिबाट नै नियाल्यौँ। धेरै डरलाग्दो थियो तर मनमोहक पनि उत्तिनै। चट्टानहरु त शङ्ख जस्तै बटारिएका देखिन्थे। म्याग्दी जतिको सडक समस्याग्रस्त रहेछ। स्तरोन्नति हुन नसकेका। मुस्ताङ लागे पश्चातको सडक सुधारिएको पाइयो। मुस्ताङ साँच्चै नै हिमाल पारिको जिल्ला रहेछ। कतिबेला हामी हिमाललाई काटेर अगाडि बढ्यौं पत्तै भएन। हिमाल त हामीभन्दा पछाडि पो देखिन्छ। हिमालहरू चारैतर्फ ३६० डिग्रीमा घुमेर बसेको जस्तो विलक्षण दृष्य देख्न पाइयो।
'जोमसोमै बजारमा बाह्र बजे हावा सरर' आजको हाम्रो बास जोमसोममा भयो। जोमसोम मुस्ताङको सदरमुकाम हो। जोमसोमलाई कालीगण्डकी नदीले दुई भागमा विभाजन गरेको रहेछ। भोलिका लागि हामी आज नै उत्सुक थियौँ। किनकि प्रशिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन पाउँदै थियौं। बिहान उठेर एकछिन जोमसोम घुमेर मुक्तिनाथतर्फ लाग्यौं। मुक्तिनाथ हिन्दु र बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल हो। यो ३,७१० मिटरको उचाइमा अवस्थित छ। मुक्तिक्षेत्रको यात्रा जटिल छ, तथापि हजारौं यात्रुहरू यस पावनस्थलमा चरण स्पर्श गर्न आइपुग्छन्। यहाँ भगवान विष्णुको पूजन हुन्छ। यस क्षेत्रको दर्शनले मात्र मुक्ति प्राप्त हुने वा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ।
भागवत गीतामा लेखिए अनुसार मुक्ति मिल्नु भनेको जन्म र मृत्युको झन्झटबाट पार पाउनु हो। सिधै भगवानको क्षेत्रमा विलोप हुनु हो। मुक्तिनाथमा १०८ धाराको स्नानपश्चात हामीले भगवानको दर्शन र पूजा गर्यौं। बिहानको खाना हाम्रो कागबेनीमा हुने भयो। कागबेनी मुक्तिनाथबाट केही तल पर्छ, यो कालीगण्डकी नदीको किनारमा अवस्थित छ। कागबेनीको एउटा होटलमा खाना भनेर नदी किनारतर्फ लाग्यौं। राजेन्द्र राई सर र मैले आफ्ना पितृ (पिता) लाई सम्झँदै केही कर्म र दान दक्षिणा गर्यौं। यो पावन स्थलबाट पितृहरूलाई जल चढाउँदा मात्र पनि पितृहरूले प्राप्त गर्दछन्, पितृहरू खुसी हुन्छन् भन्ने विश्वास लिइन्छ।
शालिग्राम पाइने एक मात्र नदी कालीगण्डकी नदी हो। शालिग्राम भगवान विष्णुको रूप हो। पौराणिक कथन अनुसार जालन्धरकी पत्नी वृन्दाका श्रापले भगवान विष्णुले शालिग्रामको रूप लिनु परेको थियो। यो ढुङ्गा एकदमै पूजनीय छ। नदी तटमा गएर शालिग्राम खोज्ने समय हामीलाई थिएन। त्यहीका मान्छेहरूले राखेका केही शालीग्रामहरू हामीले लियौं। खाना खाएपछि हाम्रो यात्रा अपर मुस्ताङका लागि अगाडि बढ्यो।
-1740832351.jpg)
मुस्ताङमा साँच्चै नै धेरै हावा चल्दो रहेछ। गाडी नै उडाउला जस्तो हावा। हामी उकालोतर्फ लाग्यौं। धेरै माथि पुगिसकेपश्चात गाडी कराउन थाल्यो। धेरै तातेछ क्यारे। एकछिन रोकेर गाडी सेलाउन्जेल बस्यौं। यदि गाडी बिग्रीहाल्यो भने! अहिलेसम्म नआतालिनु भएको ड्राइभरको अनुहारमा निराशा थियो। हामी धेरै टाढा, अनकन्टार ठाउँमा थियौं। पूरै मरूभूमि। नेपालको मरूभूमि भनेर चिनिने जिल्लामा थियौं हामी। नभन्दै यो मरूभूमि नै रहेछ। ड्राइभरलाई शान्त्वना दियौं, गाडी पनि चिसिइसकेको थियो। फेरि हाम्रो यात्रा अगाडि बढ्यो। पिच नभए पनि तिब्बतको नाकासँग जोड्ने भएकाले होला सडक एकदमै फराकिलो र राम्रो थियो। हरेक ठाउँमा बिजुली पुगेको। सरकारले लगानी नगरेको चाहिँ होइन रहेछ है, यस्तो ठाउँमा पनि यत्तिको लगानी गरेको छ, हामी गफ गर्दै अगाडि बढ्यौँ।
माटैमाटोको ठाउँ, माटोकै चट्टान। अति नै मनमोहक लाग्ने माटोका पहाडहरू। हरेक पहाडहरू, हरेक ढिस्काहरू प्राकृतिक रूपमा नै अत्यन्तै कलाकृत थिए। कोही त केदारनाथ धामको दृष्य जस्ता पनि देखिन्थे। हरेक आकृतिहरूमा विभिन्न देवीदेवताहरूका रूप झल्कन्थ्यो। हामी आश्चर्य चकित थियौं ठाउँहरू देखेर। मोबाइलमा भिडिओ र फोटोहरू कैद भइरहेका थिए। हामी धेरै अगाडि बढिसकेका थियौं। एकाएक साथीहरू बोल्न छाड्नुभयो, गाडीभित्रै सन्नाट छायो। एउटै प्रकृतिका दृष्यहरू हेरेको हेर्यै, कतै पनि हरियो छैन, राता र खैरा पहाडहरू हेर्दाहेर्दै आँखा टट्याई सकेछन्। कहाँ पुगियो? अब कति हिँडेपछि पुगिने हो? यस्तै सोच्दा सोच्दै मौन भइएछ। गुरूजी पनि चुपचाप गाडी हाँकिरहनु भएको थियो। हामी पनि चुपचाप। एउटा पहाड माथि पुग्यो, फेरि अर्को पहाड आउँछ। हामीले धेरै क्षितिजहरू पार गर्यौं। बाटोमा एक/दुई वटा घरहरू देखिन्छन्। यस्तो ठाउँमा मान्छेहरू कसरी बसेका छन् होला? के खान्छन् होला? यहाँको शिक्षा, स्वास्थ्यको अवस्था कस्तो होला? मनमा प्रश्नहरू खेलिरहे।
हामी ल्हो मन्थाङ सहर पुगेछौं। यो जोमसोमबाट १०५ किमि उत्तरतर्फ अवस्थित छ। ल्हो मन्थाङ भन्नाले माटोका घरहरू भन्ने बुझिन्छ। जिग्मे पर्वल विष्ट यहाँका पहिलो राजा हुन्। यहाँ अहिले पनि १०८ ढोका भएको माटोको दरबार छ। हामीले उक्त दरबारको नजिकैबाट अवलोकन गर्यौं। यो दिन हामी कोरला नाका नै पुग्ने भनेर ल्हो मन्थाङबाट पनि अगाडि बढ्यौं। त्यहाँबाट अगाडिको बाटो धेरै राम्रो थियो। हामी कोरला नाका भन्दा १० किमि अगाडि पुग्यौं त्यहाँ नेपाल प्रहरीको क्याम्प रहेछ।
-1740832350.jpg)
नेपालतर्फको यो नै अन्तिम क्याम्प हो। ६ बजेभन्दा पछाडि जान नदिने रहेछ, त्यहाँको भौगोलिक अवस्था र उत्तरी वायुका कारण। हामी पुग्दा त्यो समय गुज्रिसकेको थियो। प्रहरी साथीहरूले हामीलाई आग्रह गर्नुभयो, त्यही समयमा ठूलो उत्तरी वायु पनि चल्यो। हामी भोलि बिहान मात्र जाने भनेर पुन: ल्हो मन्थाङ नै फर्कियौं। होटल त्रिभद्रिका आजको हाम्रो रोजाइ पर्यो।
हामीले त्यसै होटलमा विश्राम लियौं र ल्हो मन्थाङ घुम्यौं। भोलिपल्ट बिहान ६ बजेपछि आउनु भन्नुभएको थियो प्रहरी साथीहरूले। हामी त्यस्तै मिलाएर हिँड्यौं। दश किमी वरबाट नै भारतीय र विदेशीहरूलाई जान नदिइँदो रहेछ। हामी कोरलातर्फ अगाडि बढ्यौं। लेक लाग्छ भन्ने थियो। हामी गाडीमै सवार गरेकाले होला त्यस्तो अनुभव भएन। जति अगाडि बढ्यो उत्ति नै उत्सुकता थियो। अब सबै पहाडहरू सकिएर समथर भूभागमा प्रवेश गरियो। हामी धेरै उचाइमा पुगिसकेका थियौं। नेपालको अन्तिम क्षितिज। त्यहाँभन्दा माथि नेपालका कुनै पनि पहाडहरू थिएनन्। सहजै अनुमान लगायौं हामीले, अब कोरला नाकामा आइपुगियो। हामीले सोचेभन्दा फरक थियो यो। चाइनातर्फको भूभागमा पनि जाने हाम्रो इच्छा थियो। लक्ष्मण सर त भन्दै हुनुहुन्थ्यो, चाइनिज रेष्टुरेन्टमा छिरेर खाजा खानुपर्छ भनेर। तर हाम्रो यो इच्छा धेरैबेर टिकेन। नाकामा लगेर टक्क गाडी रोक्यौं। चीन तर्फ ठूलाठूला विल्डिङ बनाइएको रहेछ। त्यो पनि नेपाललाई पछाडि फर्काएर। एउटामात्र गेट थियो। हामीलाई त्यता जान नदिने रहेछन्। मुस्ताङका माथिल्ला दुई गाउँपालिकाका बासिन्दाहरूलाई जिल्ला प्रशासनको सिफारिसका आधारमा जान दिने रहेछन्। उनीहरू चीनतर्फ गएर सामान ल्याउने र नेपालको भूभागमा त्रिपालको अस्थायी संरचना बनाएर कोरला घुम्न आउने नेपालीहरूलाई त्यही सामान बिक्री गर्ने रहेछन्। व्यापारका लागि तानातान हुँदो रहेछ त्यहाँ। हामी एउटा कटेजमा गयौं र बट्टावाला चाइनिज चाउचाउ बनाउन लगाएर भोक मेटायौं। केही चकलेट र अन्य सामानहरू खरिद गर्यौं।
-1740832351.jpg)
नेपालको झण्डा बोकेर नेपाल २४, २०१९ लेखेको सेतो स्तम्भमा सामूहिक र सिङ्गल फोटोहरू खिच्यौं, भिडिओहरू बनायौं। त्यहाँ नेपालतर्फ कुनै संरचनाहरू बनेका थिएनन्। तर पनि नेपालको माटो थियो। नेपाल तिब्बत (चीन) को सिमानामा पुगेर यो माटो टेक्न पाउँदा पनि गर्वले छाती फुल्दो रहेछ। यो ठाउँमा एकदिन नेपाली संरचनाहरू बनून्, नेपालको पनि बलियो उपस्थिति होस् यही कामना गर्दै नेपाली माटोलाई ढोगेर फर्कियौं हामी।
-1740832351.jpg)
-1740832350.jpg)
-1740832350.jpg)
-1740832349.jpg)
-1740832349.jpg)