यो हिउँदमा अमेरिकाबाट काठमाडौं आइपुग्नेबित्तिकै मनमा लामो समयदेखि सुशुप्त भएर बसेको एउटा इच्छा उजागर भयो- इलाम जिल्लाको सलकपुर पुगेर बोटबाटै ताजा सुन्तला टिपेर खाने। सुन्तलाको स्वादमात्र होइन, सलकपुरको प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वले पनि मेरो मन लोभ्याएको थियो।
स्कुल पढ्दाको समयमा एकपटक सलकपुर गएको स्मृतिले गर्दा त्यो यात्रा मेरो बाल्यकालका सम्झनाहरूलाई पुनर्जीवन दिने अद्भूत अवसर बन्न पुगेको थियो। बाल्यकालका ती रमाइला अनुभवहरूको सम्झनाले मेरो मनमा यति प्रगाढ प्रभाव पारेको थियो कि अहिले लगभग आधा शताब्दीपछि म त्यही ठाउँमा पुनः फर्कन चाहन्थेँ।
रिडर्स क्लब झापाले काँकडभिट्टामा आयोजना गरेको कला-साहित्य उत्सव कार्यक्रममा भाग लिएर हामी चारजना देवराज, राज, विजय र म उकालो लाग्यौँ। नकलबन्दा, बाहुनडाँगी, गाडागल्ली हुँदै हाम्रो जिप अघि बढ्दै थियो। गाडीमा नेपाली गीत घन्किरहेको थियो। सानो कारले सडकका चुनौतीपूर्ण उकालो-ओरालो र कच्ची बाटो पार गर्न नसक्ने भएकाले हामीले जिपको सहारा लिनुपरेको थियो।
नकलबन्दा कटेपछि 'बिचरा नकलबन्दा' भन्न मन लाग्यो। नकलबन्दा कुनै समय झापा जिल्लाको प्रमुख प्रवेशद्वार थियो, जहाँबाट मानिसहरूको आवतजावत र व्यापारिक गतिविधि चल्थ्यो। काँकडभिट्टा नाका प्रमुख प्रवेशद्वार बनेपछि नकलबन्दा ‘बिचरा’ हुन थालेको हो।
बाटोमा जंगली हात्तीको बिगबिगी भएकोले होसियार भएर गुड्नुपरेको थियो। जंगल वा खेतबारीको छेउछाउबाट जंगली हात्तीहरू निस्केर बाटो काट्ने सम्भावना थियो। त्यसले हाम्रो यात्रा झन् रोमाञ्चक तर अलि भयमिश्रित बनाइदिएको थियो। ‘हात्ती बाटैमा भेटियो भने गाडी रोकेर चुपचाप बस्नुपर्छ,’ चालक शिवले भने।
झापामा हुर्केको हुनाले सानो हुँदा दुई-चार पटक जंगली हात्ती देखेको याद आयो।
भन्दाभन्दै पर जंगल नजिकै केही हात्तीहरू देखिए। डराउनु त कता! हामी उनीहरू नजिक गएर हेर्न र फोटो खिच्न उत्सुक भयौं। गाडी रोकेर धानखेत हुँदै हामी त्यतातर्फ लाग्यौं र परैबाट हात्तीहरू हेरेर आनन्दित भयौं।
जंगली हात्तीहरू बर्सेनि भारतको असमबाट यात्रा सुरू गरी दक्षिण भुटान, उत्तर बंगालका तराई क्षेत्रहरू हुँदै नेपालसम्म खाना र पानीको खोजीमा आइपुग्छन्। यो वर्षौं पुरानो परम्परा हो। पुस्तौंदेखि यसरी सयौं किलोमिटर यात्रा गर्ने गरेको भए पनि उनीहरू बाटो कहिल्यै बिराउँदैनन्।
हात्ती चर्ने र हिँड्ने ठाउँमा अहिले खेतीपाती र बस्तीले ढाकेको हुनाले मानिस र हात्तीबीचको द्वन्द्व सुरू भएको हो। धेरै मानिसले ज्यान गुमाउनुपरेको समाचार बेलाबेलामा आइरहन्छ।
निन्दा सिरान पुगेपछि दाहिनेतर्फ ‘करसोङ पदमार्ग २०७८, तपाईंलाई हार्दिक स्वागत गर्दछ’ लेखिएको सुन्दर गेटले मेरो ध्यान आकर्षण गर्यो। यो पदमार्ग मेचीनगर-१ निन्दा सिरान नजिकैको पाटापुरबाट सुरू भएर इलाम जिल्लाको सलकपुर ( गुर्धुम डाँडा), रम्याङ (झण्डी डाँडा) र गुगल पोइन्ट हुँदै पवित्र धार्मिकस्थल हाँसपोखरी पाथीभरा मन्दिरसम्म जाँदो रहेछ। पहिले सलकपुर हिँडेर जाँदा मैले यही बाटो लिएको हुनुपर्छ।
बाटो राम्रो नभएर र ठाउँ-ठाउँमा मर्मतको काम भइरहेको हुनाले काँकडभिट्टादेखिको यो २५ किलोमिटरको यात्रा हामीलाई साढे दुई घण्टा लाग्नेवाला थियो। बेलाबेलामा गाडीले हल्लाउँदा कतै ‘डान्स फ्लोर’ मा त छुइनँ भन्ने भान हुन्थ्यो। गाडीको तीव्र हल्लाइले पूरै शरीर, विशेषगरी टाउको जोगाउनुपर्ने अवस्था आएको थियो।
खाल्टाखुल्टी परेको पिच बाटो सकिएर कच्ची बाटो आइसकेको थियो। हिँड्ने मान्छे वा साधनको गतिअनुसार ‘स्पिड इल्युजन’ भएर दूरी छोटो वा लामो महसुस हुने रहेछ। सलकपुर टाढाजस्तो लागिरहेको थियो। मनको खेल, समयको अनुभूति, गति र दूरीबीचको यो विचित्र सम्बन्धसँग जुझ्दै गर्दा झापा र इलामको सिमाना पनि आइपुगेछ। ठिक यो सिमानामा देब्रेपट्टि एउटा झोलुङ्गे पुल रहेछ। हाम्रो गाडी एउटा सानो छाप्रोअघि गएर रोकियो। दुई जना १९-२० वर्षे केटीहरू स्न्याक्स बेचिरहेका थिए।
त्यहाँबाट सुरू भयो कठिन र ठाडो उकालो ढुंगे बाटो। सलकपुर पुग्न अब मात्र तीन किलोमिटर बाँकी थियो। त्यो उकालो कट्नासाथ लटरम्मै फलेका सुन्तलाको बगैँचा देखियो। केहीबेर त्यहीँको एउटा डाँडामा रोकिएर परपरसम्म नियालेँ। पहाडको स्वच्छ हावा लिँदै, हराभरा डाँडाकाँडा, निन्दा खोला र तराईका फाँटहरू हेरेर रमाएँ।
होमस्टेमा रात बिताउने निधो भयो। सुत्नको लागि एउटा ठूलो हलमा ९ वटा बेड तयार गरिएको रहेछ। नजिकै सानो भान्सामा खाना तयार भयो। सबै खानेकुरा त्यही गाउँमा उमारिएको रहेछ।
होमस्टेका मालिक विशाल संगीतप्रेमी भएर पनि होला, एउटा सानो कोठामा बाजागाजा र साउण्ड बक्सको व्यवस्था रहेछ। गीत घन्किन थाल्यो। साँझ परेर चारैतिर अँध्यारो फैलिसकेको थियो। मेची नदीको वारी र पारी दुवैतर्फ बिजुली बत्ती टल्किरहेका थिए। पहाड र तराई दुवै क्षेत्रमा मेची नदीको पारिपट्टि धेरै बत्तीहरू देखिन्थे।
आकाशमा जून र ताराहरू आफ्नै लयमा चम्किरहेका थिए। त्यो विशाल निलो चौरमा कुनै सिमाना थिएन, न त कुनै मेची खोला थियो जसले नेपाल र भारतलाई अलग पार्न सक्थ्यो। जून र ताराको उज्यालोले देशको सीमालाई चिन्दैनथ्यो। ती चम्काइहरू एउटै भावना बोकेर फैलिरहेका थिए- समग्र पृथ्वीको लागि शान्ति र सौन्दर्यको प्रतीक।
खानपिन गर्दैगर्दा मोतीराम माध्यमिक विद्यालयका एकजना शिक्षक ‘सलकपुरे साइँला’ (वास्तविक नाम लुकाइएको) सँग कुराकानी गर्ने अवसर मिल्यो।
कुरैकुरामा उनले डंकी रूट भएर अमेरिका जाने सोचमा भएको कुरा ओकले। विगत २५ वर्षदेखि अमेरिका बसिराखेको र डंकी रूटको कुरा निक्लेको हुनाले उनको कुरामा मेरो ध्यान आकर्षण भयो।
‘देशमा ज्ञानको ज्योति फैलाउँछु भनेर विगत १० वर्षदेखि शिक्षक भएर काम गरेको त अहिले मेरो स्कुल विदेशमा चाहिने जनशक्ति उत्पादन गर्ने संस्था पो बनेको छ। गाउँका सबै युवा एकपछि अर्को गर्दै बिदेसिँदै छन्। स्कुल सकेर कलेज जानुको सट्टा विदेश गएर धमाधम पैसा कमाउन थाल्नुपर्छ भन्ने अवधारणा जागेको छ,’ उनी केही निराश सुनिए।
‘अनि तपाईं आफै जाने कुरा?,’ मैले जिज्ञासा राखेँ।
उनले सहज तरिकाले जबाफ दिए, ‘छोराछोरीको भविष्यको लागि, मेरो परिवारको लागि र मेरो समाजको लागि। मलाई शिक्षक भएर खान-लाउन धौधौ परेको छ। विदेश जानेहरूको घरपरिवारले गाउँमा तरक्की गरेका छन्। राम्रो घर बनाएका छन्, मोटरसाइकल किनेका छन्, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन्, मिठोमसिनो खान थालेका छन् अनि देशविदेश घुमेका छन्। देशविदेशमा भएका सलकपुरबासीले पाँच वर्षअघि एउटा एम्बुलेन्स किनेर गाउँमा पठाए। उनीहरू यहीँ बसेको भए केही पनि गर्न सक्दैनथे। खै, मैले के गरेँ? अरू केही उपाय नभएपछि पैसा खर्च गरेर हिँडेर अमेरिका जाने सोचमा छु।’
उनको कुरा अझै सुन्न मन थियो तर रात छिप्पिन लागेको हुनाले त्यो रात सुत्न गयौँ हामी। बिहानै उठेर सूर्योदय हेर्नु थियो। उठेर होमस्टे नजिकैको डाँडामा गएर प्रतीक्षा गरेँ। यहाँबाट श्रीअन्तुबाट भन्दा राम्ररी सूर्योदय देखिन्छ भन्ने सुनेको थिएँ। हेर्दाहेर्दै घामको पहिलो झुल्कोले उत्तरतर्फ रहेको कञ्चनजङ्घाको चुचुरोलाई सुनौलो रंगले रंगाउँदै सलकपुरलाई स्पर्श गर्यो।
विस्तारै पहाडहरू र तराईका समतल मैदानहरूले नयाँ ऊर्जा पाए। पूर्वतिर मेची खोला अविरल रूपमा बगिरहेको थियो। मेचीपारि मिरिक डाँडा, खर्साङ र पानी ट्यांकी देखिन्थ्यो अनि मेचीवारि श्रीअन्तु डाँडा, झण्डी डाँडा र काँकडभिट्टाले अनुहार खोलेका थिए। त्यहाँको शुद्ध हावा, हरियाली र मनोरम दृश्यले मेरो मन शान्त र आल्हादित भयो। मौसम पनि कति सुहाना ! न जाडो न गर्मी।
म र देवराज हिँडेरै गाउँ घुम्न थाल्यौँ। तराई र पहाड दुवै ठाउँमा हुने खेतीपाती यहाँ गर्न सकिने रहेछ। ‘गहनाबिनाको सुन्दरी र फूलबिनाको घर अधुरो हुन्छ’ भनेजस्तै सबैले घरवरिपरि फूल रोपेका रहेछन्। तातो चिया खाएर हामी सलकपुरको थाप्लोमा रहेको गुर्धुम डाँडातर्फ लाग्यौँ। त्यहाँबाट झन् ३६० डिग्री भ्यू देख्न सकिँदो रहेछ। कञ्चनजङ्घा हिमालमा हिउँ टल्किरहेको थियो, पहाडहरू हरियाली र फाट्टफुट्ट गाउँहरूले ढाकिएका थिए र तराईका फाँटहरू सुनौलो बालीनालीले भरिएका थिए। यो दृश्यले नेपालको प्राकृतिक सौन्दर्यलाई उजागर गरिरहेको थियो- जहाँ हिमाल, पहाड र तराईले आ-आफ्नै विशेषता प्रस्तुत गरेका थिए।
सलकपुरका विशिष्ट व्यक्ति तथा समाजसेवी टंक थापा मगरले आफ्नो फेसबुक पेजमा गुर्धुम डाँडाको बारेमा लेख्नुभएको रहेछ।
उहाँका अनुसार हाल रोङ गाउँपालिका वडा नम्बर ६ सलकपुरमा पर्ने गुर्धुम (गुरु धौम्य) डाँडालाई नेपालकै सुदूरपूर्वमा रहेको एक पौराणिक तथा ऐतिहासिक महत्व बोकेको पवित्र धार्मिकस्थलको रूपमा लिन सकिन्छ।
धार्मिक कथनअनुसार महाभारतकालीन समयका प्रख्यात ऋषि व्याघ्रपादका दुई पुत्र धौम्य र उपमन्यु दुवै भगवान शिवका उपाषक भएकोले धौम्यले यस स्थानमा आई शिवको उपासना गरेको विश्वास गरिन्छ। पछि उही गुरू धौम्य ऋषि पाण्डवहरूका कुलगुरू (गुरु क्रिपाचार्य) भएको विश्वास छ। उनै महान् ऋषि धौम्यले तपस्या, साधना र उपासना गरेको ढुंगा या डाँडालाई नै आज गुर्धुम डाँडाको नामले चिन्न सकिन्छ। टंकले केशवराज खनालको धारणा र टिप्पणी पनि पोस्ट गर्नुभएको थियो।
त्यहाँ घुमिसकेर म मोतीराम स्कुलतर्फ लागेँ। एक जना शिक्षकसँग भेट भयो जसले म्याथ र साइन्स ट्युसन पढाउनु हुँदोरहेछ। उहाँले भनेअनुसार अहिले विद्यार्थी संख्या ज्यादै कम भएको छ। हरेक कक्षामा दश जनाभन्दा बढी विद्यार्थी छैनन्। युवाहरू बिदेसिएर जनसंख्या नै घट्दै गएको र कतिले आफ्ना केटाकेटी सहरमा लगेर पढाउन थालेकोले विद्यार्थी संख्या घटेको रहेछ।
झापाको आयाबारी फर्कनुअघि सुन्तला खाने र किन्ने योजना थियो। सलकपुरमा गौरी लामाले २०२६ सालदेखि सुन्तला खेती सुरू गर्नुभएको भन्ने सुनियो। सलकपुरलाई कतिपयले ‘सुन्तलाको राजधानी’ पनि भन्दा रहेछन्। नेपाल सरकारले २०८० साल चैत ३० गते (सन् २०२४ अप्रिल १२) सुन्तला (Citrus sinensis) लाई राष्ट्रिय फलको रूपमा औपचारिक रूपमा घोषणा गरेको थियो। अलैँची खेतीबाट बढी आम्दानी हुने र सुन्तलालाई धेरै स्याहार गर्नुपर्ने भएकोले गाउँमा सुन्तलाका बोट कम हुँदै गएका रहेछन्।
म बोटबाट छानीछानी सुन्तला टिपेर खानमा व्यस्त थिएँ। हामी सबैबाट गरेर करिब ५० किलो सुन्तलाको अर्डर भइसकेको थियो। रमेश थापा मगर रूखमा चढेर हाँगाहाँगा चाहार्दै सुन्तला टिपिरहेका थिए भने उनकी श्रीमती रूखमुनि बसेर सुन्तला बोरामा हाल्दै थिइन्।
केही समयपछि देवराजले मलाई तल्लो घरमा बोलाए। जब म त्यहाँ पुगेँ, एकदमै अचम्ममा परेँ। त्यो घर रमेशका दाजु उनै टंक थापा मगरको रहेछ। उहाँहरू सबै पहिले हाम्रो गाउँ आयाबारीमै हुर्कनु र बढ्नुभएको थियो। पुराना छिमेकीहरूसँग यसरी अकस्मात् भेट हुँदा म निकै खुसी भएँ।
टंक र रमेशकी आमा रामकुमारीसँग पनि भेट भयो। उहाँहरू मलाई ‘पश्पति’ भनेर मात्रै चिन्नुहुन्थ्यो, जो मेरो गाउँमा बोलाउने नाम थियो। पुराना सम्झनाहरू साटासाट गर्दा माहोल एकदमै रमाइलो भयो। सुन्तला र चिया खाँदै कुराकानी गर्दा टंकको छोरी किम थापा मगर पनि सामेल भइन्।
किम गत वर्षमात्र अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित मेरो क्षेत्रकै सबैभन्दा ठूलो कन्फरेन्स ‘एजीयु’ (American Geophysical Union) मा सहभागी भएर फर्केकी रहिछन्। म पनि त्यो कन्फरेन्समा थिएँ तर चिनजान नभएकोले कुराकानी भएको थिएन। उनले आफ्नो पढाइ र भावी योजनाको बारेमा निकै रोचक ढंगले सुनाइन् र हामी सबैलाई प्रभावित पारिन्। किमसँग कुरा गर्दा अहिलेको पुस्ताप्रति गर्वले मन भरियो। सूचना प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको यो पुस्ता विज्ञान-प्रविधिमा रमाउने, नेपालमै बसे पनि विश्व बुझ्न र देख्न सक्ने शक्ति बोकेको रहेछ।
सुन्तलाको झोला बोकेर उकालो चढ्दा हामी सबै थकित भई पसिनाले निथ्रुक्क भएका थियौँ। पन्ध्र मिनेटको त्यो उकालो बाटो निकै लामो लाग्यो। माथि बाटोमा पर्खिरहेको गाडीमा बल्लबल्ल पुग्यौँ। त्यहाँबाट उही ढुंगे बाटोमा ओरालो झर्न सजिलै भयो।
त्यो दिन झापा र इलामको सिमानामा रहेको स्न्याक्स बेच्ने छाप्रो सुनसान थियो। पसल छुट्टीको दिनमात्र खुल्दो रहेछ। हाम्रो गाडी त्यहाँ नरोकिई आयाबारीतर्फ हुइँकियो।
(गिरी अमेरिकी सरकारका उच्च अधिकृत र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसर हुन्।)