अक्षर यात्रा: साहित्यबाटै पर्यटन प्रवर्धन

मासिक पोखरेली कार्यक्रम अक्षर यात्राले साहित्यिक पर्यटन विकासमा टेवा पुर्‍याउँदै आएको छ।


अक्सर क्यालेन्डरका हरेक पत्र फेरिनासाथ अर्थात महिना ढल्नासाथ पोखरेली साहित्यिक वृत्तमा  एउटा चर्चा आरम्भ हुन्छ–यस पटकको अक्षर यात्रा कहाँ होला ? त्यसको केही दिन बित्न नपाउँदै साहित्यमा चासो राख्ने, लेख्न रुचाउने वा यात्राप्रति लगाव राख्ने अनुरागीका फेसबुकका वालहरुमा अक्षर यात्राको नून शृङ्खला, स्थान र समय बारेमा पोष्ट हुन्छ। मोबाइलका म्यासेज बक्समा अक्षरयात्रा सम्बन्धि जानकारी प्रेषित हुन्छ। कुनै औपचारिक चिठी पत्र वा निमन्त्रणा छापेर कवि/लेखकका दैला दैला पुग्ने चलन छैन। रेडियो, टेलिभजन वा पत्रपत्रिकामा सूचना प्रकाशित गर्ने झन्झट पनि छैन। तिनै सामाजिक सञ्जाल र मोबाइल म्यासेजका भरमा नेपाली साहित्यका स्वनामधन्य स्रष्टादेखि अनुज पुस्ता अक्षरहरूको यात्रामा निस्किन्छन् झोला भिरेर।

झोलामा एक थान कापी, खल्तीमा रुचिअनुसार कलम एक थान छाता यस्तै यस्तै कुराहरु लिएर यात्रामा निस्किन्छन् यात्रीहरु। शुङ्खलाको स्थानका आधारमा आपूmलाई पायक पर्ने हिसाबले कोही आफ्नो निजी सवारीमा, कोही सार्वजनिक सवारी साधन त कोही यात्राकै लागि भाडामा लिइएको सवारीमा सवार हुन्छन् यात्रीहरू।

कार्यक्रमस्थल पुगेपछि केहीबेर यात्रीहरूबीच हेलो–हाई चल्छ। दैनिक दिनचर्या, हालखबर सोधपुछमा बित्छ केहिबेर। स्थानीय आयोजक भए उनीहरुसँग चिनापरिचय हुन्छ। त्यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वकास्थलहरुको विषयमा कुराकानी हुन्छ। त्यसपछि समय सन्दर्भअनुसार खाना वा खाजा खाएर अक्षरको खेती गर्न निस्कन्छन् अक्षर यात्रीहरु। कोही रुखका फेदमा, कोही ठुला चट्टानमा,  कोही आडका जङ्गल वा चौरमा छरिएर कलम टोक्दै सोच्न थाल्छन् कविहरू। लेख्दै जाँदा कहिले गजल, कहिले कविता वा मुक्तक लेखिन्छन्। कहिले फेरि लेख्दै जाँदा के बन्यो पत्तो नै हुँदैन स्रष्टालाई।

आयोजकले उपलब्ध गराएको निश्चित समयभित्र जे लेखिन्छ त्यही बोकेर रचना वाचन कार्यक्रममा स्रष्टाहरु उपस्थित हुन्छन्। पोखराबाट गएका अक्षर यात्री, स्थानीय स्रोता कार्यक्रममा सहभागी बन्छन्।  अक्षर यात्रा सञ्चालक संस्थाहरु गजल सन्ध्या र नवनीत साहित्य सागरका अध्यक्षहरुको संयुक्त अध्यक्षतामा औपचारिक कार्यक्रम सुरु हुन्छ। अक्षर यात्रीहरु रचना वाचन गर्न थालेपछि स्थानीय स्रष्टाहरू पनि रचना सुनाउ उत्सुक हुन्छन्। कसैले कविता, कसैले गजल वा मुक्तक भन्दैगर्दा कहिले काहीँ रामायण, महाभारत, तरुण तपसी वा गौरी खण्डकाव्यका केही श्लोक भन्छु भन्दै स्थानीय बृद्धबृद्धाहरु आउँछन्। कार्यक्रममा सुनाउने जति हुन्छन् त्योभन्दा बढी सुन्नेहरु हुन्छन्। औपचारिक कार्यक्रम सकिए पछि त्यो दिनको मेलो सकेर अक्षर यात्रीहरु आ–आफ्नो गन्तव्यतिर लाग्छन्।

यसरी नै अक्षर यात्राका विभिन्न शृङ्खला भइसकेका छन्। विसं. २०६३ सालमा सिर्जनाको महिना भनेर चिनिने असार १८ गतेबाट आरम्भ भएको यो कार्यक्रमले अहिलेसम्म १४५ शृङ्खला पुरा गरिसकेको छ। तत्कालीन लेखनाथ नगरपालिकाको रमणीयस्थल सुन्दरी डाँडामा पहिलो यात्रा गरेको यो अभियान कास्कीका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा धार्मिकस्थल हुँदै पोखराञ्चलका तनहुँ, स्याङ्जा, पर्वत, लम्जुङ, गोर्खा, पाल्पा, बाग्लुङसम्म पुगिसकेको छ। आरम्भमा पोखरामा क्रियाशील तीन  संस्थाहरू गजल सन्ध्या, नवनीत साहित्य सागर र भावना परिवारको संयुक्त पहलमा सञ्चालित अक्षर यात्रा कार्यक्रमका परिकल्पनाकार साहित्यकार प्रकट पगेनी ‘शिव’ हुन्। उनीसहित दीपक समीप, लक्ष्मण थापा लगायतका केही स्रष्टाहरु अनौपचारिक तवरले चियागफ गर्दैगर्दा साहित्यिक यात्रामा जाने कार्यक्रम बन्यो। कार्यक्रमको नाम राखे पाका स्रष्टा प्रकटले “अक्षर यात्रा” भनेर। त्यसपछि तीन ओटा संस्थाहरुको संयुक्त पहलमा अक्षर यात्रा हुन थाल्यो। पछिल्लो समय भावना परिवारले गति लिन सकेन र ऊ सहयात्राबाट टाढियो।

त्यसो त अक्षर यात्राभन्दा अगाडि यस्तै प्रकृतिका कार्यक्रम नभएका भने होइनन्। यसअघि नै नेपाली साहित्यका स्थापित स्रष्टा सरुभक्तको संयोजकत्वमा सञ्चालित संरक्षण कविता आन्दोलनले नेपाली साहित्यमा निश्चित उचाई ग्रहण गरिसकेको छ। विसं २०३८ सालतिर “कविता यात्रा” नामबाट पोखरेली तथा बाह्य कविहरू साहित्यिक यात्रामा निस्किएको इतिहास छ भने २०४२ सालमा पोखरेली युवा सांस्कृतिक परिवारले “पोखरेली कवितायात्रा” नामबाट काठमाडौँ, पाल्पा, तनहुँ, स्याङ्जा, बाग्लुङमा कार्यक्रम सम्पन्न गरेको इतिहास पनि हाम्रा सामु छ। यसबाहेक संरक्षण कविता यात्रा, ग्रामीण कविता यात्रा, तालमाथि कविता, हिमालमाथि कविता आदि विभिन्न अभियान अन्तर्गत कविता रचना तथा वाचन कार्यक्रम भइसकेका छन्।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित समता कला कार्यशालामा पनि तत्स्थानीय चित्राङ्कन कार्यक्रम सञ्चालन भइरहेको छ। यी विभिन्न अभियान तथा साहित्यिक यात्राहरुले छुट्टाछुट्टै महत्त्व र गरिमा बोककेका छन्। यीमध्येमा अक्षर यात्राको अवधारणा सबैभन्दा कान्छो मानिए पनि निरन्तरता र सहभागिताका हिसावले अहिलेको पुस्तामाझ लोकप्रिय अभियानका रूपमा स्थापित भएको छ।

विसं २०६६ सालको असोजमा यात्राको स्वर्ण शृङ्खलाको अवसर पारी जारी गरिएको घोषणा पत्रमा “अक्षर यात्रा” साहित्यिक अभियानका उद्देश्यहरू प्रस्तुत गरिएको छ। मासिक रूपमा साहित्यिक यात्रा गर्ने र तत्स्थानका अनुभूतिाई समेटेर तत्स्थानमै साहित्य सिर्जना गरी सुन्ने, सुनाउने लगायत साहित्यिक पर्यटन पद्धति विकास गर्ने उद्देश्य घोषणा पत्रमा राखिएका छन्। यसैगरी साहित्यलाई समाज रुपान्तरण र क्रान्तिको सम्वाहक बनाउने, नवोदित साहित्यकारहरूलाई प्रेरणा र प्रोत्साहन दिने, पर्यटकीय सम्भावना खोजी गर्दै साहित्यमार्फत उजागर गर्ने जस्ता उद्देश्य पनि घोषणापत्रमा समेटिएका छन्।

सामूहिक नेतृत्व, सर्वसम्मत निर्णयका आधारमा गन्तव्य निर्धारण आदि विशेषता बोकेको “अक्षर यात्रा” लाई सञ्चालक संस्थाहरुले एउटा विशिष्ट आन्दोलनका रूपमा घोषणा पत्रमा उद्घोष गरेका छन्।

विगत केही वर्षदेखि अक्षर यात्रामा निरन्तर सहभागी भई उत्कृष्ट सिर्जना गर्ने एक जनालाई वार्षिक रूपमा “अक्षर यात्रा प्रतिभा पुरस्कार”बाट पुरस्कृत गर्न थालिएको छ। दुई जना अक्षर यात्री गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा स्थापित उक्त पुरस्कारबाट हालसम्म ६ जना यात्रीहरू पुरस्कृत भइसकेका छन्।

आरम्भदेखि अहिलेसम्मका प्रायः कार्यक्रम पर्यटकीय सम्भावना बोकेर पनि ओझेल परेकास्थलहरूमा केन्द्रित देखिन्छन्। कास्कीको सार्दीखोला (तातोपानी), देउराली उकाली, चन्द्रकोट, कृस्तिनाच्नेचौर, भरतपोखरी हुँदै स्याङ्जाको मट्टिखान, बाँगेफड्के, चापाकोट, तनहुँको ढोरफिर्दी, बन्दिपुर, पाल्पाको रामपुर आदि ठाउँमा भएका कार्यक्रमले त्यसको पुष्टि गरेको छ। नदीनाला, ताल तथा वातावरण संरक्षणतर्फ पनि अक्षर यात्रीहरूले रचना मार्फत चेतना जगाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम गरेको देखिन्छ।

यात्रा क्रममा लाग्ने आर्थिक व्ययभार सहभागीबाटै जुटाइनु अक्षर यात्राको अर्को विशेषता हो। पोखरा र यसको वरिपरि आयोजना हुने यात्रामा यात्रीहरु आ–आफ्नै तरिकाले सहभागी हुन्छन्। पोखराभन्दा टाढाका शृङ्खलामा आयोजकले भाडाका सवारी साधन व्यवस्था गरेका हुन्छन्। सवारीको भाडा तथा खाजा खाना खर्च यात्रीहरूबाटै सङ्कलन गरिन्छ। स्थानीय आयोजक समेत भएको खण्डमा खाजा, खाना र कहिलेकाहिँ यातायातको व्यस्थासमेत उनीहरुले नै गर्छन। पोखरा बाहिर गरिएका केही कार्यक्रमहरूमा यात्रीहरू दुई दिने खाका सहित उपस्थित भएको पनि देखिन्छ।

अग्रज र अनुज स्रष्टाहरुलाई एकै मञ्च प्रदान गर्दै रचित सिर्जनामाथि टिप्पणीसहितको अनौपचारिक छलफलमा सहभागी गराउनु कार्यक्रमको अर्को विशेषता हो। यसबाट अनुज पुस्ताले आपूmलाई सच्याउने अवसर प्राप्त गरेको छ। गीत, गजल, कविता, मुक्तक जे लेखिए पनि त्यो सिर्जना जन्मनासाथ स्रोता प्राप्त गर्नु नव सर्जकका लागि जति महत्वपूर्ण छ त्योभन्दा महत्वपूर्ण कुरा उसले प्राप्त गर्ने सल्लाह, सुझाव वा प्रतिक्रिया हुन आउँछ।

यसरी हेर्दा “अक्षर यात्रा” नेपाली साहित्यको क्षेत्रमा एउटा महत्वपूर्ण मासिक कार्यक्रमका रूपमा स्थापित भएको छ। नव सर्जकहरूले अग्रज पुस्ताको औँला समाउँदै बामे सर्ने अवसर प्राप्त गर्नुलाई धेरैले महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। तथापि अभैm बढी योजनावद्ध रुपमा विशेष तयारी र दुरदर्शी सोचका साथ लाग्न सकेमा यसले थप उचाई प्राप्त गर्न सक्छ। अहिलेसम्मका लगभग सबै शृङ्खलाहरूमा यात्राको आर्थिक व्ययभार सहभागीबाटै जुटाइएको भए पनि आगामी दिनमा यात्रा सञ्चालनार्थ आवश्यक रकम जुटाउने गरी दीगो श्रोतको खोजी गर्न पहल गर्न सके राम्रो हुन्छ। अक्षर यात्रा जस्तो महत्वपूर्ण अभियानका सञ्चालक दुई संस्थाहरू गजल सन्ध्या र नवनीत साहित्य सागरमध्ये गजल सन्ध्या अभैm पनि झोलामा कार्यालय बोकेर हिँड्न बाध्य छ भने नवनीतले आफ्नो दोस्रो पुस्ता जन्माउन सकेको छैन। दुवै संस्थाले त्यसतर्फ पनि ध्यान दिन सके त्यसको सकारात्मक प्रभाव अक्षर यात्रामा पनि पर्न सक्छ। यात्रीहरुले पनि अक्षर यात्रालाई सप्ताहन्त वा महिनाको एक पटक मोज, मस्ती वा रमाइलो गर्ने कार्यक्रमका रूपमा भन्दा सिर्जनात्मक सत्संगका रुपमा लिने हो भने कार्यक्रमको प्रभावकारितामा अझ बृद्धि हुन सक्छ।

अझ तत्स्थानीय रचनाका नाममा जे लेखे पनि त्यसैलाई साहित्य मानेर बस्नुभन्दा त्यसको पुनर्लेखन, परिष्कार र परिमार्जनतिर ध्यान दिन सके ती रचना गर्व गर्न लायक बन्नेछन्। कार्यक्रम स्थलमा पुगेर कनी कनी गरिएका सबै लेखनी साहित्य नहुन पनि सक्छन् भन्नेमा अहिलेको युवा जमात सचेत भयो भने यात्रीले यात्राप्रति गर्व गरे जसरीनै यात्राले पनि यात्रीप्रति गर्व गर्न सक्ने परिस्थिति बन्ने देखिन्छ।

समयानुकूल परिष्कार र परिमार्जनसहित अक्षर यात्राको निरन्तरताको कामना गर्दै यो मासिक रूपमा मनाइने सिर्जनात्मक चाड बन्न सकोस्, असिमित शुभकामना।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.