मिथिला पर्यटनको संभावना


नेपालमा पर्यटन क्षेत्र कहिले पनि नसकिने अनि कसैसँगै पनि प्रतिष्पर्धा गर्नु नपर्ने क्षेत्र हो। आजको विश्व बनावटी पर्यटन बजारमा स्व–निर्मित सम्पदा र विविधताले भरिएको पर्यटन क्षेत्रका धनी हामी नेपाली हौं। हामीमाझ ऐतिहासिक, सांस्कृतिक, सामाजिक सद्भाव तथा धार्मिक सम्पदाको खानी नै रहेको छ। तर, हामीले यसलाई विश्व बजारमा चिनाउन सकेका छैनौं।

यस्तै विविधताबीच मिथिला ऐतिहासिक, सांस्कृतिक, सामाजिक सद्भाव तथा धार्मिक सम्पदा पनि एक हो। र यसको पनि स्वस्थ्य व्यापार हुनुपर्दछ। यसले राष्ट्रिय ढुकुटीमा कतिको धन ल्याउन सफल हुनेछ, त्योे अध्ययन, अनुसन्धान र बहसको विषय होला। यसले सिंगो विश्वमा, तत्काल सार्क क्षेत्रमा नै राष्ट्रियता झल्काउन सफल हुनेछ।

मिथिला क्षेत्रको पर्यटनलाई प्रवद्र्धन गरेर उक्त क्षेत्रका आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा उल्लेखनीय योगदान गर्न सकिने छ। साथै नेपालको अन्तराष्ट्रिय गरिमा तथा थप पहिचान र मानमा थप यस वृद्धि गर्न सकिने यथार्थ पनि हाम्रो सामु रहेको छ। मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, समाजिक तथा धार्मिक धरोहर सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गरेर बृहत मिथिला पर्यटन प्याकेज तयार गरेर अगाडि बढनु पर्ने आजको आवश्यकता हो।

सम्भावनाहरुः
हामीबीच जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर, धनुषाधामको शिव धनुष र बन जंगल तथा ताल, जलेश्वरको जलेश्वरनाथ, वीरगंजको घरिअर्वा पोखरी, बाराको गढीमाई मन्दिर र सिमरौनगढ, सर्लाहीको नाढी ताल र जंगबहादुर राणाले बिताएका स्थान, सुनसरीको बाह्क्षेत्र, सुनसरीकै जल्पापुरमा रहेको मदिना मस्जिद, सुनसरी–सप्तरीको सयूंक्त कोशी तट, सुनसरीको कोशीटप्पु, सप्तरीको छिन्नमस्ता, कंकालनी र शम्भुनाथ, राजदेवी मन्दिर, सिराहाको सलहेसधाम लगायतका क्षेत्रहरु, मोरङको विराट क्षेत्र यस्ता छन्, जसलाई हामीले मिथिला प्रर्यटन क्षेत्रमा समावेश गर्न सक्छौं। र, यसको केन्द्रविन्दु जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर हुनेछ। किनकि प्राचीनकालका सम्पदाको रुपमा जानकी मन्रिदरलाई मानिएको छ भने सीताको जन्म थलो पनि जनकपुर नै हो।

नेपाल, भारत र श्रीलंकालाई समेत जनकपुरले नै सेतूझैं जोडेको छ। यसलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउने र यस अद्भूत तथा ऐतिहासिक मन्दिर, विवाह मण्डप, जनक मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर आदि को व्यवस्थापन, सरसफाईमा सुधार, दलितहरुको गौरव तथा विभूती सलहेस तथा दीनाभद्रीलाई राष्ट्रिय विभुती वा लोक नायकको रुपमा घोषणा गर्न सकिन्छ। र, यी कार्यहरुले देशको अनेकतामा एकता थप्ने कार्य बढाउने छ भने राष्ट्रियताको भावना पनि अभिपृत गराउने छ।

दलित वर्गका एतिहासिक धरोधर सलहेसको जन्मभूभी क्षेत्रलाई सलहेस जन्मथलो विकास समिती गठन तथा सलहेस फूलबारी वा खासगरी हरेक नयाँ वर्ष वैशाख १ गतेको दिन लाग्ने सलहेस मेलालाई बृहत पर्यटन स्थलको रुपमा विकास र सुदृढीकरण गर्न सकिन्छ। जनकपुरधामका ऐतिहासिक ७० वटा पोखरीहरुको सरसफाई, संरक्षण, सिँगार्ने र डुंगा बाहनको रुपमा प्रवद्र्धन गर्न सकिन्छ। त्यस्तै तत्कालिन भगवान रामले तोडेका ऐतिहासिक धनुषलाई समेत अहिले पनि धनुषाधााममा हेर्न सकिन्छ र त्यसको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ।

मिथिला संस्कृती झल्किने गरी जनकपुर नजिकको एउटा गाउँलाई मिथिला गाउँ (होमस्टे सहितको) को रुपमा समेत विकास गर्न सकिन्छ। नेपालको एक मात्र रेल सेवालाई पनि पर्यटनको केन्द्रविन्दु बनाउन सकिन्छ भने रेलका पुराना पाटपुर्जालाई संग्रह गरी एउटा विशाल संग्रहालयको रुपमा समेत विकास र रेल यात्राको गन्तव्यको रुपमा व्यवस्थापन गर्न सकिन्छ।

त्यस्तै संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको सपहीस्थित जन्मस्थल, उनले अध्ययण गरेको विद्यालय, बाल्यकाल बिताएको निवास स्थान र बाल्यकाल र किशोरावस्थामा प्रयोग गरेका महत्वपूर्ण सामाग्रीहरुको समेत संग्रह गरी त्यसलाई संग्रहालयको रुपमा विकास गर्न सकिन्छ। पर्यटकहरुलाई आकर्षित गर्न सिंगारिएको मिथिलामा सफा तथा व्यवस्थित बयलगाडा तथा भैंसी सवारीलाई समेत विकास गर्न सकिन्छ।

साँझको समयलाई आकर्षित बनाउन महागंगा आरती, जानकी राम आरती लगायतका कार्यक्रमलाई निरन्तरता दिन सकिन्छ। मैथिली सांस्कृतिक साँझ कार्यक्रम व्यवस्थित तथा नियमित स्थानीय सांस्कृतीक समूहहरु जस्तै, मिथिला नाट्यकला परिषद लगायतको अगुवाईमा मिथिला साँझको प्रवद्र्धन गर्न सकिन्छ।

सरकारी नीति तथा कार्यक्रममा समावेशीकरणः
नेपालको पर्यटन क्षेत्र मध्यमाञ्चल क्षेत्र केन्द्रित रहेको पाइन्छ र सुदूरपश्चिम वा अन्य भागलाई बेवास्ता गरिएको पाइएको छ। तर, यर्थाथमा मध्यमाञ्चलका काठमाडौं उपत्यका सहित बिभिन्न जिल्लाहरु जस्तै, नुवाकोट, धादिङ, चितवन, गोरखा जिल्लाबाहेक अन्य कुनै पनि जिल्लाहरुमा रहेको सम्भावित पर्यटन केन्द्रहरुलाई कुनै पनि पर्यटन नीतिले सम्बोधन गरेको छैन। तर, सम्भावनाको दृष्टिकोणले प्रचुर सम्भावना रहेको मिथिला क्षेत्रको पर्यटनलाई सम्बोधन, प्रवद्र्धन र व्यवस्थापनमा सरकार मात्र होइन, सहयोगी निकायको योगदान पनि उति उल्लेख्य छैन।

मिथिला सभ्यता ग्रीक सभ्यताभन्दा पुरानो मानिए पनि र ग्रीक सभ्यतालाई विश्वकै सबैभन्दा पुरानो सभ्यताको रुपमा विश्वव्यापी रुपमा प्रचार गरिएको छ। यस्तो सभ्यता, संस्कृती, ऐतिहासिक, सामाजिक र धार्मिक रुपममा अत्यन्त धनी रहको नेपालको मिथिला क्षेत्रलाई सरकार र सहयोगी निकायको तर्फबाट सम्बोधन नगर्नु समग्र राष्ट्रकै समृद्धिमा ठुलो बाधक रहको देखिन्छ।

त्यस्तै, विश्व सम्पदाको सुचीमा हालसम्म कुल १० वटा स्थलहरु रहे पनि त्यस स्थलमा पनि मिथिला क्षेत्रका कुनै पनि सम्पदा परेको पाइँदैन। मिथिला क्षेत्रमा विश्व सम्पदा सुचीमा सुचीकृत हुन सक्ने कुनै सम्पदा नै छैन भन्ने होइन। जानकी मन्दिर र सलहेस फूलबारी यस्ता दुई स्थल छन्, जो विश्व सम्पदा सुचीमा सुचीकृत हुनसक्ने क्षेत्र हुन्। जसले देशलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन सक्छ।

नेपाल सरकारको पर्यटन रणनीति, २०२० ले पूर्वी तराईको सुनसरी र मध्य तराईको चितवन जिल्लाहरुलाई पर्यटनको हबको रुपमा विकास गर्ने उल्लेख गरेको छ। यद्यपी, दुवै हबमध्ये कुनै हबले मिथिला पर्यटनलाई प्रभावकारी रुपमा प्रवद्र्धन गर्ने तथा व्यवस्थित गर्न सक्ने सम्भावना देखिँदैन। त्यसैले, मिथिला पर्यटनको अपार सम्भावनालाई मध्यनजर गरी जनकपुरधामलाई मिथिला पर्यटनको केन्द्रबिन्दुको रुपमा स्थापना र सुदृढिकरण गर्नुपर्ने आवश्यकता छ। यसका लागि मिथिला पर्यटनमा चासो राख्ने व्यक्ति, सरकारी तथा गैह्र सरकारी संस्थाबाट नियमित रुपमा बहस तथा छलफल भइराख्नु आवश्यक छ।

अतः मिथिला क्षेत्रलाई राजनीतिक अखडा बनाइनु हुँदैन। यसको नाममा भोटबैंकको खेती गरिनु हुँदैन, बरु उक्त क्षेत्रका सम्पूर्ण जनताको हितमा मिथिला क्षेत्रलाई व्यवस्थित बनाइनु पर्दछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.