पर्यटनको आर्कषण बन्दै होमस्टे गाउँ भकुण्डे


२०६८ साल कात्तिकमा नौ घरदुरीले सुरु गरेको बागलुङको भकुण्डे होमस्टेमा अहिले आन्तरिक तथा बाह्रय पर्यटक बढ्दै गएका छन्। बागलुङ नगरपालिका—१० भकुण्डेमा रहेका होमस्टेमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटकहरुलाई पुग्ने गरेका छन्। गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने यो जिल्लाको एक मात्र होमस्टेको रुपमा रहेको छ।

सदरमुकाम बागलुङ बजारबाट पश्चिममा रहेको भकुण्डेलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न होमस्टे कोशेढुंगामा सावित भएको छ। वि.सं २०७३ सालमा नेपाल पर्यटन बोर्ड पोखरामा ‘अतिथि सत्कार होमस्टे’ नामबाट दर्ता गरी सञ्चालनमा आएसँगै  होमस्टेमा पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ।

होमस्टेमा दैनिक एक सय बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको होमस्टे सञ्चालकहरु बताउँछन। विषेश गरी हिँउदको समयमा बढी पर्यटकहरु भित्रीने गरेका छन्। स्वच्छ वातावरण, खानेपानी, शौचालय, बिजुलीबत्तीलगायतका सुविधा व्यवस्थित गरिएको छ।

होमस्टे सञ्चालन गरेका घरहरुमा २० देखि ३० जनासम्म बस्न सक्ने क्षमताका रहेका छ।  ‘होमस्टे सञ्चालनमा आएपछि आर्थिक गतिविधि पनि बढदै गएको आमा होमस्टेकी संचालक अस्सरा थापाले बताईन्, ‘हामीले अझै व्यवसायिक बनाउने सोच बनाएका छौँ।’

आउँदा दिनहरुमा अझै सुविधा सम्पन्न बनाउने प्रयत्नमा रेहका उनीहरू अहिले भकुण्डेबासीले होमस्टेलाई थप व्यवस्थित र सेवालाई प्रभावकारी बनाउन थालेका छन्।

अर्ग्यानिक खानाहरू आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा स्थानीय परिकारहरुमा पर्यटक रमाउने गरेका छन्। पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगसँगै रातको समयमा क्याम्पफायर गर्ने सुविधा समेत व्यवस्था गरिएको होमस्टे व्यवस्थापन समितिले जनाएको छ।

होमस्टे सञ्चालन गरेपछि आफ्नो घरखर्च समेत राम्रो सँग चलेको होटल सञ्चालकहरु बताउँछन्। ‘होमस्टेले खर्च राम्रै सँग पुगेको छ। यसैमा हामी सन्तुष्ट छौँ।’ सञ्चालक थापाले थपिन्, ‘यस्लाई अझ व्यवस्थित गरी गुणस्तरीय सेवा र आतिथ्य सत्कारमा जुटेका छौँ।

दैनिक आउने पर्यटकलाई मध्ययनजर गर्दै होमस्टे व्यवस्थापन समितिले प्रत्येक शुक्रबार होमस्टे प्याकेज कार्यक्रम सञ्चालन गरिरहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाले बताए। ‘हप्ताको २ दिन विशेष प्याकेज कार्यक्रम सञ्चालनमा ल्याएका छौँ। अध्यक्ष थापाले भनेँ, ‘यसबाट भकुण्डेको कला,संस्कृती र मौलिकता सँगै पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरेका छौँ।’ दुई दिने प्याकेजमा भकुण्डेको मौलिक कला,संस्कृति झल्किने सालैजो,झ्याउरे,चुट्के,ठाडो भाकाका गीतहरु तथा नृत्यहरु प्रदर्शन,पर्यटकीय क्षेत्रको भ्रमण तथा स्थानीय खानाहरुको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए।

भकुण्डेमा मगरको बासस्थान रहेकाले प्याकेजमा आउने पर्यटकहरुलाई माला र मगर संस्कृतीको  गीत र नाचले स्वागत गरिन्छ। अतिथिहरुलाई फुलमालाले स्वागत गरिने गरिन्छ। भकुण्डेको मूलाबारीमा निर्माण हुँदै गरेको भ्यूटावर अवलोकन गर्न पर्यटकहरु अघिल्लो दिनमै पुग्ने गरेका छन। पर्यटकहरु भकुण्डे भ्यूटावरबाट देखिने दृश्यहरु हेर्नको लागि अघिल्लो रातमै होम–स्टेमा बास बस्ने जाने गरेको संचालक मगरले बताइन्। सुर्योदय र हिमश्रृंखला हेर्नको लागि पर्यटकहरुले भ्यूटावरमै खाजा लगेर जाने गरेका छन्। भ्यूटावर निर्माण भएपश्चात  पर्यटक बढ्नेमा होमस्टे सञ्चालक आशाबादी छन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.