हाइकिङ काठमाडौं


काठमाडौं उपत्यकामा हाइकिङ संस्कृति विकास भैसकेको छ। विदाका दिनमा वरपरका डाँडापाखामा भेटिन्छन् हाइकर्सहरु। प्रदुषणमुक्त ठाउँमा हिँड्दा स्वास्थ्य राम्रो हुन्छ। साथै ग्रामिण परिबेश, गाउँले जनजिवन र नयाँ ठाउँ चिन्न सकिन्छ। सामान्यत ः एक दिन हिड्नुलाई हाइकिङ र एक भन्दा बढी दिन हिँड्नुलाई ट्रेकिङ भनिन्छ। हिमाललाई शीर बनाएर बसको काठमाडौं उपत्यकाको चारैतिर हरिया डाँडा छन्। जुनसुकै डाँडामा हिँडे पनि हुन्छ। काठमाडौ वरपर हाइकिङ गर्न मिल्ने केही रुटहरु

भालेश्वर

हरिया डाँडा बीचमा काठमाडौं उपत्यका। डाँडाबाट देखिन्छन् सलाइका बट्टाजस्ता घरहरु। हरियो उपत्यकालाई पहरा दिइरहेका डाँडाहरु ! एउटा होइन, दुइटा होइन, दर्जनौं डाँडा। एक माथि अर्को खप्टेर बसेका। त्यही हरिया डाँडा माथि पूर्वदेखि पश्चिमसम्म १८० डिग्रिमा फैलिएका सेता हिमाल। गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा आदि।

घमाइलो दिन, भालेश्वर टपबाट यस्तै दृश्य देखिन्छ। भालेश्वर (२,५००मिटर)मा केबलकार बनेको छ। अढाइ किमि लामो केबुलकारमा १० मिनेट लाग्छ थानकोटबाट भालेश्वर पुग्न। केबुलकार सञ्चालकले तीन तले प्यागोडा शैलीको मन्दिर बनाएका छन्। त्यसभित्र राखिएको छ भालेश्वर महादेवका शिला। पहिला खुला आकाशमुनि रुखको छहारीमा बसेका थिए ती।

भालेश्वर धार्मिक तिर्थ हो। त्यहाँबाट चारैतिर राम्रो दृश्य देखिन्छ। पूर्वमा काठमाडौं उपत्यका, पश्चिममा मकवानपुरको चित्लाङ उपत्यका, उत्तरमा हिमाली सृङखला र दक्षिणमा चखेल दामन एवं महाभारत पर्वत।

भालेश्वर आफैंमा भ्यू टावर हो। आकाश खुलेका दिन भालेश्वरमा बसेर सिंगो काठमाडौं उपत्यका र हिमाल हेर्दा मन पुलकित हुन्छ। भालेश्वर ऐतिहासिक ठाउँ पनि हो। नेपाल एकिकरण तयारीका बेला राजा पृथ्वीनारायण शाह मामाघर भएर चन्द्रागिरी भञ्ज्याङ आएका थिए। भञ्ज्याङबाट सुन्दर काठमाडौं उपत्यका देखेपछि उनलाई काठमाडौंलाई जित्ने इच्छा भयो। र, उनले नजिकैको भालेश्वर आएर भाकल गरे। पछि यही बाटो भएर काठमाडौं उपत्यकामा आक्रमण गरि जिते।

भालेश्वरसम्मै थानकोट पछाडि गोदाम (१,४५०मिटर)बाट गाडि चल्छ। हाइकिङ गर्दा गोदामबाट सुरु गरे राम्रो। स्वच्छ हावा लिँदै उकालो चढ्ने। हिँड्ने दुई बाटा छन्। मोटरेबल सडक र ठाडो गोरेटो।  करिब २ देखि ३ घण्टा उकालो चढेपछि पुगिन्छ चन्द्रागिरि भञ्ज्याङ। काठमाडौं र मकवानपुरको साँधमा भञ्ज्याङ (२,२५०मिटर)। गोदामबाट चन्द्रागिरी ठाडो उकालो ३.८ किमि र मोटर बाटो ४.५ किमि।

भञ्ज्याङमा  बौद्ध स्तुप छ। नजिकै सानो भाई जिम्बाको खाजा पसल पनि छ। भञ्ज्याङबाट भालेश्वर ३ किमिमा छ। भञ्ज्याङमा चौबाटो छ। सिधा पश्चिम लागे ६ किमिमा चित्लाङ पुगिन्छ। पहिला पहिला काठमाडौंबाट तराई हुँदै भारत पस्न चन्द्रागिरी भञ्ज्याङको यही गौंडो प्रयोग गरिन्थ्यो। भञ्ज्याङबाट दायाँ उत्तर पश्चिम लागे ५ किमिमा तामाङ बस्ती टोप्लाङ हुँदै नौधारा पुगिन्छ।

भन्ज्याङबाट उकालो लाग्ने। जति जति उचाइ चढ्दै गयौं उति उति हिमाल देखिन्छन्। दायाँबायाँ जंगल छ। केबलकार स्टेशनबाट माथि छ भालेश्वर मन्दिर। भालेश्वर टप काठमाडौं र मकवानपुरको संगममा पर्छ। त्यहाँ ध्यान र योग पनि गर्न सकिन्छ। त्यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो दृश्य देखिन्छ। बेलुकी काठमाडौंको झिलिमिलि मनमोहक देखिन्छ। भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा गर्न सकिन्छ।

भालेश्वरमा बस्ती छैन। बस्ती पुग्न दुई किमि ओरालो झर्नु पर्छ। भालेश्वरबाट एक घन्टामा  चखेल देउराली जहाँ राणाकालमै बनेको रोप वे स्टेसन छ। अचेल त्यो प्रयोगमा छैन।

देउरालीबाट ठाडो उकालो सिधा दक्षिण लागे २ किमिमा छापडाँडा। छापडाँडाबाट पनि काठमाडौ राम्रो देखिन्छ। मोटरबाटो पश्चिम लागे कुलेखानी पुगिन्छ।

चखेलबाट मातातिर्थ चाहिँ ६ किमि। दुई घन्टा लाग्छ ओरालो झर्न। मातातीर्थ पवित्र धाम। त्यहाँ आमाको मूर्ति छ। आमा खुवाउने औंशीका दिन मेला लाग्छ।

हाइकिङ मातातिर्थबाट सुरु गरेर थानकोटमा अन्त्य गर्न पनि सकिन्छ। जताबाट हिँडे पनि पदयात्रा दुरी १६ किमि।

कसरी पुग्नेः काठमाडौं पुरानो बसपार्कबाट कलंकी, गुर्जुधारा हुँदै थानकोट गोदामसम्म गाडिमा। गोदामबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै भालेश्वर पुग्ने। भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा। पदयात्रा दुरी ः १६ किमि। समय ५–६ घण्टा। उचाई गोदाम १५०० मिटर, भालेश्वर २५०० मिटर। ठाडो उकालो १००० मिटर चढ्नु पर्ने भएकाले यात्रा साहासिक हुन्छ।

 

नमोः बुद्ध

बौद्धमार्गिहरुको नेपालमा भएका प्रमुख चार धाम (बौद्धनाथ, लुम्बिनी, स्वयंभु र नमो बुद्ध) मध्ये एक हो नमो बुद्ध (१६००मिटर)। शाक्यमुनि गौतम बुद्धको पूर्व जन्मको इतिहास जोडिएको छ यहाँ। कथा अनुसार साँखु र पनौती बीचमा राजा महारथको दरबार थियो। तीनका तीन छोरा थिए। जेठो प्रभासत्व, माहिलो देवसत्व र कान्छो महासत्व। जेठो र माहिलो शुरवीर थिए। कान्छो करुणायुक्त र दयालु थिए।

राजा–रानी छोरासँग घोडा चढेर जंगल विहारमा निस्के। डुल्दाडुल्दै गुफामा पुगे। गुफामा बघिनि र ५ डमरु भोकै थिए। भोकले व्याकुल बघिनिले आफ्नै बच्चालाई झम्टन खोज्दै गरेको देखेर महासत्वको मन बेचैन बन्यो। बाघलाई खुवाउन अरु जनावर मार्नु पथ्र्यो। उनले आफ्नै शरिर बघिनिलाई खुवाउने निर्णय गरे। परिवारले त्यसो गर्न दिँदैनथ्यो। त्यसैले अलिक पर पुगेपछि उनी फर्किए। राजकुमारले रुखका हाँगा लाछेर आफ्नो शरिरको मासु काटेर बघिनिलाई खुवाए। त्यसपछि बघिनिले राजकुमारलाई झम्टिइन्।

महासत्व धेरैबेरसम्म नफर्केकाले दुई राजकुमार खोज्दै आए। त्यहाँ महासत्वका कपडा र हड्डी मात्र थियो। उता दरबारमा रानी आराम गर्दै थिइन्। चीलले दरबारका तीन परेवा मध्ये एउटालाई टिपेर लगेको सपना उनले देखिन्। त्यसपछि उनले सेनाहरुलाई राजकुमारको खोजीमा पठाइन्। राजकुमारले शरिर दान गरेको कुरा सुनेर रुवाबासि चल्यो।

मातापिता शोकमा डुबेको देखेर महासत्वले सपनामा भने, ‘मेरो चिन्ता गर्नु पर्दैन।’ राजारानीले उनका बाँकी कपडा र हाडखोर बटुलेर चैत्य बनाए। जुन चैत्य (स्तुप) तल गहिरोमा छ। माथि डाँडाका गुम्बा पछि ठाङगु रिम्पोछेले बनाएका हुन्।

अर्को जुनीमा तिनै महासत्व लुम्बिनीमा जन्मिए, सिद्धार्थ गौतमका रुपमा। उनले बुद्धत्व प्राप्त गरेपछि चेलाहरुसँग काभ्रेको श्यामपाटीमा आए। र, त्यो चैत्यलाई तीनपटक घुमेर प्रणाम गरे। बुद्धले नमन गरेको ठाउँ भएकाले नमोः बुद्ध भनिएको। तिनै बघिनी सिद्धार्थकी कान्छी आमा प्रजावतीका रुपमा जन्मेकि थिइन्। ती डमरुहरु बुद्धका चेला बने भनिन्छ।

त्यो प्राचिन स्तुप छेउमा बत्ति बाल्ने पालाहरु छन्। ठूलो माने, नजिकै पुरानो गुम्बा छ। पुण्यभूमि नमो बुद्ध धार्मिक पर्यटन गन्तव्य बनेको छ। कात्तिक पूर्णिमा र बुद्ध पूर्णिमामा ठूलो मेला लाग्छ।

नमो बुद्धका दुइ खण्ड छन्। तल भञ्ज्याङको स्तुप सबैभन्दा पुरानो हो। त्यसभन्दा २०० मिटर माथि डाँडामा गुम्बा र बुद्धका ठूल–ठूला मूर्ति छन्। जुन पछि बनाइएका हुन्। अध्यात्म, प्रकृति र संस्कृतिको त्रिबेणीधाम नमो बुद्ध शान्त र शितल छ। हावाले फर्फर गरिरहेका रंगीन धज्र्यू र लुङदारहरुले डाँडै झकिझकाउ देखिन्छ।

डाँडाबाट हिमाल झलमल्ल देखिन्छ। मकालु, चोयु, गौरीशंकर, दोर्जेलाक्पा, लाङटाङ, गणेश र मनास्लु हिमालहरु। त्यहाँबाट हरिया डाँडै डाँडा र सुन्दर बस्तीहरु देखिन्छ। पनौती, भक्तपुर, धुलिखेल र काठमाडौंका दृश्यहरु आँखामा आइपुग्छन्। उचाइमा भएकाले सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ।

त्यहाँ खाना र बास बस्ने होटल तथा रिसोर्ट छन्। नमोः बुद्ध पुगेर भातृत्व, शान्ति र अहिँसाको पाठ सिक्न सकिन्छ। हामी नेपाली बुद्ध नेपालमा जन्मेका हुन् भनेर घमण्ड गछौं तर बुद्ध बचन बिर्संदै गएका छौं। हामीले बुद्ध वचन अर्थात पञ्चशिल मात्र पालन गरे पनि समाज कति सुन्दर हुन्थ्यो होला !

मोटर बाटो त नमोः बुद्धसम्मै छ। हाइकिङ गर्दा भने प्राचीन नेवार वस्ती एवं हिल स्टेशन धुलिखेलबाट हजार सिंढी, शान्ति वन हुँदै नमो बुद्ध पुग्ने र नमोबुद्धबाट गाउँको बाटो हुदै शंखु पुग्ने। शंखु गाउँ कृषिका लागि उर्वर छ। त्यहाँ सुनमति कुण्ड र शंखबुद्ध पाउ पनि छ। सुन्तलाका लागि समेत शंखु क्षेत्र उपयुक्त छ। त्यहाँबाट शंखुपाटीचौर, ईटे हुँदै पनौती झर्न सकिन्छ। पदयात्रा दुरी १८ किमि। अर्को बतासेबाट शंखु, हुँदै नमोबुद्ध पुग्ने र फर्कंदा पातलेखेत गाविसको कुइँकेल डाँडा, गुम्बा हुँदै फस्कु गाउँ भएर काभ्रे भञ्ज्याङसम्म  हिड्ने। बतासे–नमो बुद्ध ६ किमि र नमो बुद्ध–काभ्रे भञ्ज्याङ ७.५ किमि। नमोबुद्ध हाइकिङ, बाइकिङ, साइक्लिङ सबैका लागि उपयुक्त छ।

कसरी पुग्ने ः काठमाडौ–धुलिखेल बसमा। धुलिखेलबाट बतासेसम्म अर्को गाडिमा। गाडिमा जम्मा डेढ घन्टा। काठमाडौं–बतासे ३५ किमि। बतासेबाट इँटे, शंखु हुँदै नमोबुद्ध। नमो बुद्धबाट गहते सामुदायिक वन, कुइँकेल गाउँ, गुम्बा, फस्कोट हुँदै काभ्रे भञ्ज्याङसम्म हिँड्ने। पदयात्रा दूरि १३.५ किमि। समय ५ घन्टा। काठमाडौ–नमो बुद्ध ५० किमि। नमो बुद्धसम्म सोझै मोटर, मोटरबाइक, साइकल वा अन्य गाडिमा जान सकिन्छ।

 

पाथीभरा

पूर्वी नेपालको ताप्लेजुङमा शदियौं पुरानो पाथीभरा मन्दिर छ। त्यहीँकी देवीसँग हुबहु मिल्ने मूर्ति नल्लुमा पनि छ। ललितपुरको दक्षिणी भेक महाभारत श्रृखलामा पर्छ नल्लु। त्यहाँको थुम्का (१,८९० मिटर)मा पाथिभरा मन्दिर छ। मन्दिरमा पाथीभराको मूर्ति छ, शरिरमा रातो साडी, निधारमा रातो टीका, हातमा त्रिशुल र खड्ग, छातीमा चुराको माला लगाएकी। सिंहमा चढेकी।

काठमाडौंबासीले मात्र २० किमी दुरीको नल्लु पुगे हुन्छ पाथीभरा दर्शन गर्न। त्यहाँ पुग्दा घन्टको टङ् टङ् आवाजले कान पवित्र बनाइ दिन्छ। पाथीभराको मुल मूर्ति वरपर स–साना मूर्ति छन्।

चैते नवमी र बडादसैंमा मन्दिरमा मेला लाग्छ। देवीलाई विषेशगरी महिलाका सगुन चिज जस्तै चुरा, टिका, धागो, पच्छयौरी, साडी लगायत सामाग्रि चढाइन्छ। त्यसरी चढाएका सामान ५० बर्ष भन्दा मुनिकाले लगाउनु हुँदैन भनिन्छ।

पाथिभराबाट आँखा डुलाउँदा चारैतिर हरिया डाँडाको लस्कर देखिन्छ। कुनै ठूला, कुनै साना। डाँडाका बीच बीचमा देखिने सुन्दर बस्तीहरु। मन्दिर क्षेत्रमा चल्ने सिरसिरे बतासले शरिरमा उर्जा भर्छ।

जयबहादुर स्याङतान र रमेश श्रेष्ठको सक्रियतामा मन्दिर बनाइएको हो। मन्दिर बनाउन स्थानीय स्याङतानले तीन रोपनी जग्गा दान गरेका छन्। देवी भएको ठाउँमा जयबहादुरले घर बनाउन ढुँगा खसालेका थिए। त्यही रात सपनामा तीन कन्या आएर उनलाई भनेछन्, ‘हामी बसेको ठाउँमा घर बनाउन पाइँदैन।’ सपनामै उनले त्यही ठाउँमा ठूलो इनार देखे। इनारबाट पानी तानेर बालिकाले गाग्री र पाथी भरिदिए। यस्तो सपना देखेपछि उनले त्यहाँ घर बनाउने बिचार छाडे। र, मन्दिर बनाउने टुँगोमा पुगे।

उनको भेट विराटनगरका रमेशसँग भयो। र, ०६५ चैत २४ गते जयबहादुर र श्रेष्ठ ताप्लेजुङको पाथिभरा पुगेर सगुनका रुपमा कलश, हाल शिशा भित्र बलेको बत्ती र त्रिशुल लिएर आए। अनि होम गरेर जग खनियो। एउटै ढुँगामा बनेको मूर्तिको उचाई पाँच फिट दुई इन्च छ। मूर्ति तयार भएपछि ०६७ चैत १८ गते २ बजे लगनखेलको महालक्ष्मीस्थानबाट साइत हेरेर कलश यात्रा गरियो। अनि नौ दिनसम्म भागवत पुराण गरेर नल्लुमा त्यसलाई स्थापना गरियो।

पाथीभरा नल्लुको मात्रै होइन ललितपुरकै प्रख्यात धार्मिक तीर्थ बन्दै छ। पाथिभरामा भ्यू टावर बनाउन सके धार्मिक, प्राकृतिक र साँस्कृतिक सौन्दर्यमा रमाउनेको घुइँचो लाग्ने छ।

आकाश खुल्दा पाथिभराबाट उत्तरतिर सेता हिमालसँगै काठमाडौको पुरा दृष्य देखिन्छ। सूर्योदय र सुर्यास्तको दृश्य पनि राम्रो हुन्छ। मन्दिर क्षेत्रमा पसल छैन। राम्रा होटल र रिसोर्ट खोलेमा पाथिभरा राम्रो पर्यटन गन्तव्य बन्न सक्छ। पिकनिक स्पट बनाउन पनि जरुरी छ। गाउँमा होमस्टे चलाउन सकिन्छ।

नल्लु प्राकृतिक सौन्दर्यको खानी हो। नल्लुको पूर्वमा भारदेउ र काभ्रे पर्छन भने पश्चिम र दक्षिणमा दल्चोकी र उत्तरमा लेले। तामाङ जातिको बसोबास रहेको नल्लु चिटिक्क छ। चारैतिर डाँडा, बीचमा कलकल बगेकी नल्लु खोला, हरिया खेतीबाली। एक दिने पदयात्रा गर्न उपयुक्त गन्तव्य।

हरियालीमा आँखा डुलाउँदै चराको चिरविर सुन्दै, गाउँले जनजिवन बुझ्दै, प्रकृतिमा फलेका फल चाख्दै हिँड्दा स्फूर्ति मिल्छ। साइक्लिङ र बाइकिङका लागि पनि उपयुक्त छ नल्लु पाथीभरा।

पाथिभराबाट दल्चोकीको मनकामना मन्दिर जान मिल्छ। नल्लु–दल्चोकी करिब ३ किमी। एक घन्टा पदयात्रामा पुगिन्छ। त्यसैगरी नल्लुबाट भारदेउ गुप्तेश्वर महादेव मन्दिर ८ किमी दुरीमा। यहाँबाट गोटिखेल हुँदै कालेश्वर महादेव पनि जान सकिन्छ। नल्लुमा एक रात बसाएर दल्चोकी हुँदै निरोग आनन्दधाम, सानो भैंसे भएर टिकाभैरबसम्म पदयात्रा प्याकेज बनाउन सकिन्छ।

कसरी पुग्नेः लगनखेल बसपार्कबाट लेले–नल्लु जाने गाडिमा चढ्ने। बस नल्लु खोला किनारको चैत्यसम्म पुग्छ। त्यहाँबाट हिँडे एक घन्टामै पाथिभरा पुगिन्छ। पाथिभरा फेदसम्मै कच्चि मोटर बाटो छ। हाइकिङ गर्दा लेले सरस्वती कुण्डसम्म गाडीमा। कुण्ड घुमेर नल्लु भन्ज्याङ हुँदै पाथिभरा पुगेर नल्लु खोला तीरैतीर टीकाभैरबसम्म पदयात्रा गर्ने। लेले कुण्ड–पाथिभरा ८ किमि र पाथीभरा–टीकाभैरब ८ किमि। जम्मा १६ किमि। समय ६ घण्टा।

 

मणिचुड

खुल्ला आकाश मुनि चिटिक्क दह। दह नजिकै स्तुप। स्तुप बायाँ शिव–पार्वती मन्दिर। दायाँ शिवलिंग। लिंग नजिक नन्दीको प्रतिमा। दह नजिकै बस्न सानो पाटी र खुला चौर। चारैतिर डाँडाले घेरिएको। हो यसैलाई मणिचुड दह भनिन्छ।

मणिचुड दह कमण्डलु आकारको छ। मणिचुड राजाले राज्य चलाएको स्थान भएकाले यस ठाउँको नाउँ मणिचुड रहन गएको हो। मणिचुडमा जनै पूर्णिमाका दिन मेला लाग्छ। मणिचुड (२,०३० मिटर) बाट उत्तरमा सेता दन्तै लहरझै हिमाल देखिन्छ। वरपर हरिया डाँडा पनि। मणिचुड हरेक बिहान हिमालसँग आँखा झिम्क्याउँदै व्युँझन्छ।

मणिचुडलाई पौराणिक भाषामा मृगेन्द्र पर्वत भनिन्छ। शंखचुर अर्थात शिवपुरी डाँडा पनि भनिन्छ। यसको पूर्वमा लप्सेफेदी, नाङलेभारे र गन्थमादन पर्वत पर्छन। ६४ शिवलिंग मध्ये कागेश्वर, मणिचुडेश्वर, योगेश्वर र नारायणेश्वर यही डाँडामा पर्छ।

दह भएको ठाउँमा बज्रयोगिनी खेल्न आउँथिन्। एक दिन खेल्दाखेल्दै उनको कमण्डलु खसेकाले त्यहाँ दह उत्पत्ति भयो। त्यसैले दह कमण्डलु आकारको भएको। पछि त्यहाँ स्तुप र मन्दिर बनाइयो।

मणिचुड जान साँखु पुग्नु पर्छ। साँखु काठमाडौं उपत्यकाको सबैभन्दा प्राचिन बस्ती। संस्कृतिविद् प्रकाशमान श्रेष्ठका अनुसार ३३१३ वर्ष अगाडि नै साँखुमा बस्ती बसेको थियो। त्यतिबेला बज्रयोगिनी मन्दिरका पुजारी जोगदेव बज्राचार्यले शंख आकारमा बस्ती बसालेका थिए। त्यही भएर साँखुलाई शंखरापुर भनिन्छ।

देवतै देवताको सहर हो साँखु। साँखु बजारमुन्तिर शाली नदी छ। किनारमा महादेव, स्वस्थानी, गणेश, नागनागिनी, हनुमान, बद्रीनाथ, वासुकी आदिका मूर्ति छन्। हिन्दु शास्त्रअनुसार विष्णुले पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधि सिकाए। पार्वतीले नदी किनारमा व्रत बसेर महादेव स्वामी पाइन्। त्यसैले शाली नदी क्षेत्रमा माधवनारायणको प्रतिमा साक्षी राखी व्रत बसिन्छ। ब्रत १ महिना चल्छ।

साँखुमा केही होटल र नेवार खाजा घर छन्। कृषिमा निर्भर छन् साँखुबासी। धान, गहु, आलु राम्रो उत्पादन हुन्छ। साँखु तिब्बत जाने प्रबेशद्वार पनि हो। पहिला पहिला ल्हासा जानेहरु यतैबाट ओहोर दोहोर गर्थे। भृकुटीको बज्रयोगिनीमा स्वयंवर गराएर तिब्बत हुँदै भोट लगेकाले त्यही बेलादेखि तिब्बत ल्हासा व्यापार चलेको हो।

साँखुबाट २ किमिमा बज्रयोगिनी मन्दिर छ। जंगल बीचमा ढुँगा ओच्छाइएको सिंढी चढेर मन्दिर पुगिन्छ। त्यहाँबाट साँखुको पुरा दृश्य देखिन्छ। १६ औं शताब्दीमा राजा प्रताप मल्लले बनाएको बज्रयोगिनी मन्दिर हिन्दु र बौद्ध धर्मावलम्वीको साझा तीर्थ हो। तीन तले मन्दिरको प्रबेशद्वार अगाडि सिंहका मूर्ति छन्। नजिकै ठुलो घन्ट छ। मन्दिर पछाडि धारा छन्।

आगोको रश्मीबाट उत्पन्न भएको हुनाले बज्रयोगिनीलाई उग्र ताराको रुपमा पनि पुजिन्छ। मन्दिरको टुप्पामा स्यानो स्तुप छ। मन्दिर मास्तिर जात्रा हुँदा बज्रयोगिनीलाई राख्ने घर छ। चैत्र पूर्णिमादेखि एक साता बज्रयोगिनी जात्रा मनाइन्छ।

बज्रयोगिनीलाई नेवारको इष्ट देवता समेत मानिन्छ। बज्रयोगिनी दर्शन गरी ठाडो उकालो चढ्दा आधा घन्टामा घुमारेचौर पुगिन्छ। घुमारे चौर तामाङहरुको बस्ती हो। बज्रयोगिनी, घुमारे चौर हुँदै करिब २ घन्टा ठाडो उकालो चढेपछि नार्गाजुन शिवपुरी राष्ट्रिय निकुृञ्ज कार्यालय पुुगिन्छ। त्यहाँ प्रबेश शुल्क तिरेपछि मात्र प्रबेश पाइन्छ। वनदेवी माध्यमिक विद्यालयबाट दुई बाटा छन्। सिधा गए सुन्दरीजल पुगिन्छ। दायाँ ठाडो उकालो चढे मणिचुड।

तीन घन्टा उकालो चढेपछि खुल्ला चौरमा पुगिन्छ। त्यहाँबाट ५ मिनेटमा मणिचुड। शान्त छ ठाउँ। त्यहाँ फागुन–चैतमा गुराँस फुल्छ। कात्तिकदेखि माघसम्म हिमाल खुल्छ। त्यहाँको चौरमा क्याम्पिङ गर्न निकुञ्जसँग अनुमति लिनु पर्छ। डाँडामा खाजा पसल छैनन्।

साइक्लिङका लागि समेत मणिचुड उपयुक्त छ। मणिचुडबाट धेरैतिर पदयात्रा गर्न सकिन्छ। पानी मुहान, गुर्जे भञ्ज्याङ, बिष्णुद्वार, बाघद्वार, नागी गुम्बा, शिबपुरी पिक, चिसोपानी, भोटेचौर लगायत ठाउँ घुम्न  सकिन्छ।

कसरी पुग्ने ः   काठमाडौं–साँखु १८ किमि गाडिमा एक घन्टा। साँखु–बज्रयोगिनी २ किमि। बज्रयोगिनी–मणिचुड ४ किमि। आउन र जान पदयात्रा दुरी १२ किमी। समय ५ घन्टा। रत्नपार्क र सातदोबाटोबाट चाबहिल, जोरपाटी हुँदै साँखुसम्म सार्वजनिक बस चल्छन्।

 

फुल्चोकी

काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा फुल्चोकी (२,८०० मिटर) हो। बषैभरि शीतल हुन्छ त्यहाँ। डाँडाको थाप्लोमा हिन्दुको फुलचोकी मन्दिर र बौद्धमार्गिको चैत्य छ। हिन्दु र बौद्धमार्गीको साझा तिर्थ हो फुल्चोकी। खुला आकाशमुनि ढुङ्गैढुङ्गाका मूर्ति र त्रिशुल छन्। अबिरले राताम्मे। सँगै चैत्य पनि।

नयाँ वर्षमा मेला लाग्छ। पौराणिक भनाइ अनुसार देवीका चार दिदी बहिनी– चम्पादेवी, नागार्जुन जामाचो, शिवपुरी र फुल्चोकी हुन्। ती मध्ये सबैभन्दा उचाइमा बसेकि फुल्चोकी। हिमालय दर्शनका लागि फुल्चोकी प्रख्यात छ। पुस–माघमा डाँडामा  हिउँ पर्छ।

त्यहाँबाट तलतल हरिया डाँडा आपसमा खप्टिएर बसे झैं देखिन्छन्। आकाशै छोपुँला झैं उडेर आउने भुइँ कुहिरोले ढपक्कै ढाकिँदा सेतो तलाउझै देखिन्छ। फुल्चोकीबाट देखिने दृष्यले मन र मस्तिस्क शीतल बनाइदिन्छ। मनसुनमा भुइँकुहिरोभित्र लुकामारी खेल्छिन् फुल्चोकी। छिनमै कुहिरो फाट्दा प्रकृतिको अदभूत सुन्दरता लिएर मुस्कुराउँछिन्।

सूर्योदय र सूर्यास्त हेर्न फुल्चोकी उपयुक्त छ। फुल्चोकीबाट काठमाडौ, भक्तपुर र ललितपुरका दृष्य देखिन्छ। फुल– चोकी अर्थात फुलै फुलको चोक भन्ने बुझिन्छ। धेरै फुल फुल्ने बगैचा भएकाले फुल्चोकी रहेको भनाई छ। उचाइमा हावा चल्छ। मौसम चिसो हुन्छ। चैत–बैशाख फुल्चोकी चढ्न उपयुक्त समय हो, त्यतिबेला बाटैभरी गुराँस र ऐसेलु हुन्छ।

फुल्चोकीबाट चारै दिशाको दृश्य राम्रोसंग देख्न सकिन्छ। उत्तरतिर मौसम खुलेका बेला हिमालको लर्कन देखिन्छ। पश्चिम देखि दक्षिणसम्म हरिया पहाड र तराइका दृश्य देखिन्छ भने फुल्चोकीको मुनि काठमाडौं उपत्यका। अनि छिनछिनमै उडेर आएका बादलले डाँडाका बस्तीलाई छोपिदिँदा स्वर्गझै देखिन्छ।

रमणीय छ फुल्चोकी। डाँडामा हवाइजहाजलाई सिग्नल दिने र टेलिभिजनलाई सिग्नल पठाउने टावर छन्। सैनिक क्याम्प छ। होटल तथा रिसोर्ट छैनन्। सामान्य खाजा घर छ।

ललितपुरको गोदावरी (१४,००मिटर)बाट फुल्चोकी जाने दुई बाटा छन्। नौधाराबाट जंगलको ठाडो बाटो र कुण्डबाट कच्ची मोटर गुड्ने तेस्र्रो बाटो। झरी पर्दा तेस्र्रो बाटो हिँड्ने र अरुबेला गोरेटो। मनसुनमा चारैतिर हरियाली हुन्छ। कहिले निलो आकाश त कहिले सेतो बादल अनि कहिले चिसो बतास अनि इन्द्रेनीसंग पदयात्रा हुन्छ।

गोदावरीबाट फुलचोकीसम्म मोटर बाटो छ। हाइकिङ गर्दा गोदावरी कुण्डबाट जंगलको बाटो उकालो लाग्नु बेस हुन्छ। कुण्डबाट २ घन्टामा चापाखर्क पुगिन्छ। खर्कमा चौबाटो छ। पूर्व ओरालो झरे काभ्रेको ¥याले पुगिन्छ। उत्तर लागे कोटडाँडा, पश्चिम झरे गोदावरी। दक्षिण उकालो चढे २ घन्टामा फूलचोकी। फर्कंदा पश्चिम ओरालो झरेर गोदावरी नौधारासम्म हिँड्ने।

ठाडो उकालो र ठाडै ओरालो भएकाले जंगलको बाटो साहासिक छ। घना जंगलमा वनस्पति र चराचुरुङी अवलोकन गर्न सकिन्छ। जंगलमा चितुवा, विरालो, लोखर्के, कालो भालु पाइन्छ। बाँदर त सधैं भेटिन्छन्। किरा–फटयाङग्रा र रंगविरंगका पुतलीहरुले लोभ्याउँछन्।

फुल्चोकीको आधारशिविर गोदावरी आफैंमा वनस्पति केन्द्र हो। गोदावरी प्रख्यात पिकनिक स्पट पनि हो। मिश्रित जाति बसोबास रहेको गोदावरी धार्मिकस्थल पनि हो। जहाँ नौधारा र कुण्ड छन्। गोदावरीमा खाजा घर, रिसोर्ट र होटल पनि छन्।

गोदावरीबाट फुल्चोकीसम्म हाइकिङ, बाइकिङ, मोटर ड्राइभिङ र साइक्लिङ पनि गर्न सकिन्छ।

कसरी पुग्ने ः काठमाडौं–गोदावरी १५ किमि। लगनखेल बसपार्कबाट गोदावरी पुग्न गाडिमा एक घन्टा। गोदावरीबाट जंगलको बाटो हुँदै हाइकिङ गर्ने। फुल्चोकी टप पुगेर नौधारासम्म पदयात्रा गर्ने। हाइकिङ दुरी करिब १८ किमि। समय ७ घन्टा। जीप र मोटरबाइक फुल्चोकीसम्मै पुग्छन्।

 

अनन्तलिंगेश्वर

भक्तपुर बजारको दक्षिणमा पर्ने अनन्तलिंगेश्वर शदियौं पुरानो मानिन्छ। मन्दिर वरपर बासुकि नाग, उमामहेश्वर, गणेश, लक्ष्मी, सरस्वती, गरुड आदिका मूर्ति छन्। अनन्तलिंगेश्वर  (१,४३० मिटर)मा १२ वैशाख ०७२ को भुकम्पले मन्दिरमा क्षति पु¥याएको छ। अहिले स्थानीय समितिले प्यागोडा शैलीमा पुनःनिर्माण गर्दैछ।

त्यहाँ सातौं शताब्दीमा राजा नरेन्द्र देवले राख्न लगाएको शिलालेख छ। त्यस हिसाबले पनि यो १३ सय वर्ष भन्दा पुरानो मन्दिर हो। चारैतिर पहरा बीचमा छन् अनन्तलिंगेश्वर। रमणिय ठाउँको मन्दिर दक्षिणमा फूल्चोकी, पूर्वमा डोलेश्वर महादेव र आशापुरेश्वर छन् भने पश्चिममा चरखण्डेश्वर र उत्तरमा शुर्वणेश्वर महादेव छन्।

मन्दिर हातामा अनन्त कुवा र पोखरी छ। कुवाको पानी पिए रोग निको हुने जनविश्वास छ। राणाकालमा कुवाको पानी काठमाडौंको दरबारसम्म पु¥याइन्थ्यो रे। खडेरी परेमा चित्रपुर (दधिकोट)को नेवार समुदाय बाजागाजाका साथ पानी माग्न अनन्तलिंगेश्वर आउने चलन छ।

मन्दिरमा साउने सोमबार, शिवरात्री, जनैपूर्णिमा, बाला चतुदर्शी, गाइजात्रा, तीज, दशैतिहार आदि समयमा भिड लाग्छ। चैत–वैशाखमा पुग्न सके त्यहाँ लालीगुराँसको यौवन हेर्न पाइन्छ।

मन्दिरबाट माथि कैलाश डाँडा (१,४९० मिटर)बाट काठमाडौंको दृश्य छर्लङै देखिन्छ। असोजदेखि १८० डिग्रिमा हिमालको रेञ्ज देखिन्छ। निलो आकाश मुन्तिर उपत्यकाको दृश्य।

डाँडामा भ्यू टावर बनाउन सके तिर्थालुका साथै अन्य पर्यटकलाई समेत आर्कषित गर्न सकिन्छ। पिकनिक स्पट र खाजा पसल भैदिए काठमाडौंबासीको विकेण्ड मनाउने थलो बन्न सक्छ दधिकोट। डाँडामा होटल तथा गेष्टहाउस बन्नेक्रममै छन्।

महादेव दर्शन गरेर रानीकोट र लाँकुरी भञ्ज्याङ हाइकिङ गर्न सकिन्छ। अनन्तलिंगेश्वरबाट सडकैसडक तिवारी आश्रम, देउराली हुँदै रानीकोट पुग्न सकिन्छ। लाँकुरी भञ्ज्याङ जाने र रानीकोट जाने दोबाटो छ देउरालीमा। अनन्तलिंगेश्वर–देउराली ५ किमि। देउराली–रानीकोट ४ किमि।

तामाङ जातिको बसोबास भएको रानीकोट क्षेत्र। रानीकोट एतिहासिक गढी (२,०००मिटर) हो। भक्तपुरका गुण्डु, सिपाडोल र काभ्रे पलाञ्चोकको ¥यालेको साँधमा पर्छ। आकाश खुलेका बेला यहाँबाट कञ्चनजंगा, सगरमाथा, मकालु, चोयु, मनास्लु, धौलागिरी, लाङटाङ लगायत हिमाल देखिन्छ। त्यतिमात्र होइन सिंगो काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।

रानीकोट थुम्कामा इट्टाका टुक्रा छन्। नेपाल एकिकरणका बेला पृथ्वीनारायण शाहले गढीलाई अस्थायी सुरक्षा किल्ला बनाएका थिए। त्यतिबेला दक्षिण पूर्वबाट काठमाडौं उपत्यका प्रबेश गर्ने प्रमुख नाका रानीकोट नै थियो।

किंवदन्ती अनुसार गुण्डुमा एउटी रानी बस्थिन। उनी शीतल हावा खान रानीकोट पुग्थिन्। रानी जाने कोट भएकाले रानीकोट भनियो। कोट नजिकै बाघभैरब मन्दिर पनि छ। झट्ट हेर्दा बाघको मुखाकृति देखिन्छ ढुँगामा।

रानीकोट मुन्तिर छ घ्याम्पेडाँडा। रानीकोट–घ्याम्पेडाँडा ३ किमि। डाँडाको पुछारमा पाइलट बाबा आश्रम छ। आश्रमबाट चारैतिर सुन्दर दृश्य देखिन्छ। पश्चिमपट्टि गुण्डु र दधिकोट। पश्चिमदेखि उ्रत्तरतिर काठमाडौं र भक्तपुरको दृश्य, उत्तरमा काठमाडौं र दक्षिणमा काभ्रे देखिन्छ। त्यहाँ सोमनाथ मन्दिर, ध्यान कक्ष र पुस्तकालय छ।

रानीकोट र घ्याम्पेडाँडालाई केन्द्र बनाएर आशापुरेश्वर, डोलेश्वर, अनन्तलिंगेश्वर, लाँकुरी भञ्ज्याङ र फुल्चोकी हाइकिङ गर्न मिल्छ। यो रुट साइक्लिङलाई उपयुक्त छ। साइक्लिङ गर्दा ठिमीबाट गाम्चा, दधिकोट, अनन्तलिंगेश्वर, तिवारी आश्रम, देउराली, रानीकोट, घ्याम्पेडाँडा हुँदै सूर्यविनायकसम्म गर्नु राम्रो हुन्छ। घ्याम्पेडाँडा–सूर्यविनायक ४ किमि।

कसरी पुग्ने ः काठमाडौं–नयाँ ठिमी–दधिकोट–अनन्तलिंगेश्वर १५ किमि। अनन्तलिंगेश्वर वेस क्याम्पसम्म बस चल्छ। नयाँ ठिमी चोकबाट १० नम्बरको अनन्तलिंगेश्वर यातायात चल्छ। हाइकिङ चाहिँ तर्खगालदेखि गरे बेस हुन्छ। नयाँ ठिमी–तर्खगाल ४.३ किमि। तर्खगाल–अनन्तलिंगेश्वर १.५ किमि। हाइकिङमा  अनन्तलिंगेश्वर, कैलाश डाँडा, देउराली हुँदै रानीकोट पुगेर घ्याम्पेडाँडा हुँदै पाइलट बाबा आश्रम झर्ने। पदयात्रा दूरी १४ किमि। समय ६ घन्टा।

 

दलचोकी

दक्षिणी ललितपुरको शीतल गन्तव्य होे–दलचोकी (२,२०० मिटर)। जहाँ मन र मस्तिष्क दुवै शान्त र शीतल बन्छ। डाँडाबाट सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ। आकाश उघ्रिएका बेला छयाङ् हिमाल देखिन्छ। अन्नपूर्ण, मनास्लु, गणेश, दोर्जे लाक्पा, लाङटाङ, गौरीशंकर लगायत हिमाली शृङखला।

दलचोकी डाँडामा मनकामना मन्दिर छ। मनको इच्छा पु¥याइदिने देवी हुन मनकामना। ध्यान, योग र अध्यात्मको केन्द्र बन्न सक्छ दलचोकी गाउँ। जहाँ बाहुन, क्षेत्री, तामाङ, मगर, नगरकोटी र सुनुवार समुदायको बसोबास छ। गाउँले कृषिमा निर्भर छन्। गाई, बाख्रा र कुखुरा पाल्छन्। यहाँ उत्पादित तरकारी र दूध काठमाडौं पु¥याइन्छ।

दलचोकीको पूर्वमा चौघरे, नल्लु, भारदेव, बुखेल, मानिखेल र फूल्चोकी टप देखिन्छ भने पश्चिममा भट्टेडाँडा गाविस। उत्तरमा सेता हिमाल र तलतल काठमाडौं, टीकाभैरव र लेले गाविस देखिन्छ। दक्षिणतिर हरिया डाँडाको लहर। गाउँले जनजीवन बुझ्न उपयुक्त छ दलचोकी।

अनौठो मौसम हुन्छ, दलचोकीमा। छिनमै घाम लाग्छ, छिनमै बादल मडारिन्छ। भुइँकुहिरोभित्र लुकिरहन्छ दल्चोकी। जंगलको बाटो भएकाले यात्रामा चितुवा, मृग, वनबिरालो, खरायो, कालिजलगायत जीवजन्तुसँग जम्काभेट हुन सक्छ।

दलचोकीमा प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम (२,१६५ मिटर) बनाएको छ। समूहले उचित आहार, बिहार र विचारको अभ्यासबाट आनन्दित रहने ज्ञान बाँड्न आनन्दधाम बनाएको हो। अहिलेको समय अधिकांश मानिस अनुचित आहार, अनुचित बिहार र अनुचित विचारका कारण रोग र दुःखको भुमरीमा छन्। त्यसबाट उनीहरूलाई निरोग आनन्दको सरल, प्राकृतिक, फराकिलो राजमार्गमा हिँडाउन जरुरी छ।

आनन्दधाम हाताको क्षेत्रफल सात रोपनी छ। त्यहाँ ठूलो डाइनिङ र योग हल बनेको छ। त्यहाँ एकैपटक सय जनाले आवासिय ध्यान, योग र अभ्यास गर्न पाउने छन्। त्यहाँ उचित आहार, विहार र विचारको अभ्यास हुनेछ।

घुमन्तेका लागि गाउँमा खाजा घर छन्। होटल छैन। सामुदायिक होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ। बिडम्बना ! १२ वैशाख ०७२ को भूकम्पले दलचोकीलाई पनि क्षति पु¥याएको छ। घर भत्केका छन्। सामुदायिक होमस्टेले पर्यटकलाई टहरा र टेन्टमा सुत्ने व्यवस्था मिलाउँछ।

दलचोकी पुग्दा मन रिचार्ज हुन्छ। तनावबाट मुक्ति मिल्छ। चराको चिरबिरले आनन्दित बनाउँछ। होमस्टे सुविधा भएकाले रात बिताउन समस्या छैन। हाइकिङ, बाइकिङ र जीप राइडका लागि समेत उपयोगी छ। असोजदेखि हिमाल खुल्छन्। त्यति बेला उत्तरतिर चाँदीझैं टल्किन्छन्, हिमाल।

दलचोकी प्रचुर पर्यटन सम्भावना भएको ठाउँ हो। प्रदूषणबाट टाढा। काठमाडौंबाट मात्र २१ किमि दक्षिणमा अवस्थित  दलचोकीलाई काठमाडौंको भेडेटार भने फरक पर्दैन। गर्मी छल्न र विकेण्ड मनाउन सकिन्छ।

कसरी पुग्ने

सातदोबाटोबाट २० किलोमिटर दुरीमा दल्चोकी। लगनखेलबाट लेले जाने गाडीमा टीकाभैरव झर्ने। टीकाभैरवबाट दाया“ गोरेटो दक्षिण लाग्ने। हाइकिङ दुरी १६ किलोमिटर। मोटरबाटो दलचोकीसम्मै पुग्छ। पदयात्रा सिजन असोजदेखि फागुनसम्म। तर, वर्षैभरि पदयात्रा गर्न सकिन्छ। दलचोकी टपबाट पूर्व ठाडो ओरालो झर्दै मनकामना मन्दिर हुँदै गोठ भन्ज्याङ, बासुकी, शिखर्पा हुँदै टीकाभैरवसम्म पदयात्रा गर्न पनि मिल्छ। जताबाट जाँदा पनि चढ्न तीन घन्टा र ओर्लन दुई घन्टा।

ध्यान दिऔं

पदयात्राको विकास संगै घुम्ने प्रबृति बढेको पाइन्छ तर कतिपय हाइकर्सले अव्यवस्थित रुपमा पदयात्रा गरेको पाइन्छ। लामो दुरीको होस् या छोटो जुनसुकै पदयात्रा गर्दा पनि व्यवस्थित भएर हिड्नु पर्छ। नभए अप्ठेरोमा पर्न सकिन्छ।

  • विज्ञसँगको कुराकानी, पुस्तक र अनलाइनबाट जाने गन्तव्यको पूर्व जानकारी लिने। त्यहाँको भुगोल, हावापानी, बाटो आदि बुझ्ने। बहुदिने पदयात्रा गर्दा पहिल्यै होटल तथा लज बुक गर्ने। एक्लै होइन, समूहमा हिँड्ने।
  • सकेसम्म गोरेटोमा हिँड्ने। नत्र कम गाडी चल्ने सडक रोज्ने। मध्यम गतिमा हिँड्ने। निश्चित ठाउँमा पानी र फलफूल ब्रेक गर्दै हिँड्ने। मौसम ख्याल गर्नु पर्छ। जाडो मौसममा दिन छोटो हुन्छ, छोटो रुट रोज्ने। गर्मीमा लामो रुटमा हिँड्ने। मनसुनमा हिलो कम हुने, जुका नलाग्ने र पानी परे ओत लाग्ने ठाउँ भएको बाटो रोज्ने।
  • पछाडि भिर्ने झोलामा दुई लिटर पानी, क्यामेरा, फलफुल राख्ने। हिँड्न सजिलो हुने कपडा, घाम छेक्ने क्याप र स्पोर्टश शु लगाउने। टे«किङ लौरो, डायरी र कलम बोक्ने। प्राथमिक उपचार सामाग्रि बोक्ने।
  • मैदाजन्य जंक फुड, मादक पदार्थ र नुन बढी भएका खानाले शरिरमा भारीपन आइ हिँड्न गारो हुन्छ। स्वास्थ्यलाई हानी गर्छ। पचाउन सजिलो रेशेदार खाना खाने। चिल्लो, पिरो, अमिलो कम भएका स्वास्थ्यवर्धक खाना खाने। फलफुल खाने।
  • पानी एकैपटक धेरै पिउँदा पेट फुल्छ। प्रत्येक घन्टा दुई सयदेखि तीनसय मिलिलिटर पिउने। ठोस आहार र पानी कम्तिमा आधा घण्टाको फरकमा लिने। ठोस आहार र पानी एकै पल्ट लिँदा पेट फुल्छ।
  • अनुशासित भएर यात्रा गर्ने। स्थानीय संस्कृति, जीवनशैली र गाउँलेको सम्मान गर्ने। धार्मिक संस्थामा अनुमति लिएर मात्र जाने। ठूलो स्वरले नकराउने। पशुपंछीलाई नजिस्क्याउने। जथाभावि फोहोर नफयाँक्ने।
  • चकलेट चाउचाउ र जंक खाना खानु भन्दा गाउँमै पाइने खाजा खानु राम्रो। फर्कदा गएकै ठाउँका सामान कोसेली किनेर ल्याउने।
  • यात्रामा होस पु¥याउनु पर्छ, खिच्दा लडिएला। तडक भडक नदेखाउने। आराम गरेको ठाउँमा पर्स, कपडा, व्याट्रि तथा मोबाइल चार्जर, क्यामेरा, झोला आदि सामान छुट्न सक्छ। समयको पनि ख्याल गर्ने।
  • २५ सय मिटर भन्दा माथि अक्सिजन कमिले बिरामी बन्न सकिन्छ। त्यसैले बिस्तारै आराम गर्दै पानी खाँदै हिँड्ने। रिंगटा, थकाई लागे, घुच्चुक दुखेमा आराम गर्ने। वाकवाकि लागे तुरुन्तै ओरालो झरिहाल्ने।

 (हाइकिङ विज्ञ महर्जन प्रकृतिप्रेमि समूहसँग आबद्ध छिन्।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.