खच्चडसँगै खप्तड


सय वटा किताब पढेको आँखालाई दशवटा ठाँउ डुलेको खुट्टाले सहजै हराइदिन्छ। किनकी अक्षरमा भन्दा बढी ज्ञान दृश्यमा हुन्छ। उत्तर लेख्ने हात भन्दा बाटो नाप्ने खुट्टाहरु बढी बौद्धिक हुन्छन्। किताबमा सिमा हुन्छ तर यात्रा स्वतन्त्र हुन्छ। यात्रा जरुरी छ या यसरी भनौ देशको यात्रा जरुरी छ। खुट्टालाई माटो टेकाउनु र आँखालाई भुगोल चिनाउनु जरुरी छ। मलाई लाग्छ, नेपालमा नर्थ फेसको जुत्ताको छाप जतीनै गोल्डस्टारको पाइलाहरु जरुरी छ।

यो मेरो पहिलो एकल यात्रा थियो तर अन्तिम हैन। माँ को चिन्तामय आँखा र बाबाको ख्याल राखेस्मय मुस्कानलाई ब्यागमा पोको पारेर घर छोड्दा दिउसोको १ बजेको थियो। हेटौडाबाट साढे दुई घन्टाको यात्रा पछि साढे तीन बजे मैले नारायणघाट टेकेँ। बिहान १० बजे काठमाडौबाट बाजुराको लागि छुटेकोे बैजनाथ डिलक्सको गाडी मुग्लिनको जामका कारण ६ बजे मात्रा आइपुग्ने भयो। नारायणी तिरको चटपटे र चियासंगै हरिवंश आचार्यको हरिबहादुर किताबको केही पानाले ६ बजाउन मद्दत गरेँ। सबै भन्दा अगाडिको झ्यालकोे सिटमा ज्यान अडेस लगाउदासम्म छेउको सिट खाली नै थियो।

आशा थियो कुनै सुन्दरताले सिट ओगट्ला भनेर। तर अवसोस सुन्दरताको बा मेरो २२ घन्टे यात्राको सहयात्री हुन पुगे। मेरो खिन्न मन र केही थान खाली सिट बोकेर गाडीले नारायणी खोला पार गर्यो। झ्यालको सिटबाट बाहिर नियाल्दा राजमार्गले मलाई हरएक पल्ट मोहित पार्छ। केही पर पहाडको पछाडि पट्टि घाम डुब्दै गर्दा, गाडी सडकमा रफ्तारको साथमा पौडदै थियो। झ्यालको चेपबाट हावाहरु मेरो कपाल जिस्काउदै थिए। एक हुल बकुल्लाहरु निलो आकाशमा सेतो पोत्दै गुड फर्कदै थिए। सडक छेउको पेटीमा तरकारी झुन्डिएका हातहरु हिड्दैथिए। छेउ कतैको हाटबाट माछाको गन्ध ह्वास्सै नाकमा पस्यो। मैले बच्चामा हत्तामा हिले माछा मार्दा तीन दिनसम्म हातमा हिलो गनाएको सम्झिए।

खेतको आली आली केदालो काँधमा थकाइ मेट्दै निदाएका थिए। दाम्लोमा बाँधिएर चौरमा चर्दै गरेका बस्तुहरु गोठ तिर मुख फर्काएर घर लैजाउ भन्दै थिए। ग्रुप ग्रुपमा सुन्दरता सट्स लगाएर इभिनिङ वाकमा निस्किएका थिए। चट्पटे र पानीपुरीका हातहरुले पसिना पुछ्न भ्याएका थिएनन्। बाटो नछोड्ने साइकललाई खलासी दाइ मुख छोड्दै थिए। टि.भी.मा बाहुबली २ चल्दैथियो। सडकसँगै भुगोल र भुगोलसँगै मेरो आँखा बग्दै गर्दा सडक मलाई नदी जस्तै लाग्यो। बिस्तारै आकाश निलो हुदै कालो भयो। सडक किनारको पोलको बत्तीमा किराहरु मेला भर्न झुम्एिका थिए। कहिले रुख कहिले बादल भित्र बिलाउदै, लुकामारी खेल्दै जुन मसँगै गुड्दै थियो। र कानमा बिपुल क्षेत्रीको गीत बज्दै थियो आकाशैमा तारा जुनेली रात। बस रोकियो, म ब्युझिए। खाना खाउ खाना भन्दै खलासी दाइ बसबाट ओर्लिए। तीन तिर चिम बालिएको बोर्डमा होटलको नाम पढेँ पछि मात्र थाहा पाए अहिले म चनौटामा छुँ भनेर। पश्चिम तिर सबै खाना खाने ठाँउमा टोकन सिस्टम रहेछ।

खाना बासी होला कि भन्ने डर, मुखमा गाँस गए पछि मरेर गयो। पूर्व तिरको होटल भन्दा बिल्कुल फरक स्वाद र ताजा खाना पाइने रहेछ पश्चिमका राजमार्गहरुमा। साढे दश बजिसकेको थियो। बसले फेरि आफ्नै रफ्तार समात्यो। छेउको अंकल तिर चकलेट बडाउदै मैले गफको सुरुवात गरेँ। सिन्धुलीका मान्छे रहेछन्, बाजुराको एउटा कन्सट्रक्सन कम्पनीमा काम गर्दै गरेका। परिवार उता आफू एता…… सोचेँ, व्यवहारको लागि विछोड पनि सहज बनिदिने रहेछ। उहाँ संग खप्तड सम्बन्धी धेरै प्रश्नहरु सोधेँ र आशा लाग्दा जवाफ पनि पाँए। रमाइलो लाग्यो दुई फरक भुगोलको मान्छे एउटै सिटमा यात्रा गर्दा। सायद अन्जानहरु जनिने प्रकृया नै यात्रा हो। बत्तीहरु निभे तर आँखालाई निद«ाले निभाउन सकेन। हेडफोनको गीतहरु र चिसो हावासंगै भोली बिहान देखिने फरक भुगोलको कल्पनाले म मा छट्पटी अझ बढी थियो। बस कतै पनि नबसेर कालो रात चिर्दै निरन्तर अघि बढि रह्यो। मेरो आँखा कति खेर के गर्दा गर्दै निदाएछन् चालै पाइनँ।

बिहान करिब ६ बजेको आसपास बस कैलालीको अत्तरिया बसपार्क पुग्यो। सडक छेउको वन फडानी गरेर भर्खर बनाइएको जस्तो लाग्ने बसपार्क अव्यबस्थित देखिन्थ्यो। एक बोतल पानी, ब्रस र गम्जा बोकेर म बसबाट ओर्लिए। राजमार्ग छेउ ब्रस गर्नुको मजा घरको बाथरुममा कहाँ भेटिनु। तर प्लाष्टिकको कपमा चिया चुम्दा ओठले घरकै कपलाई सम्झेर ल्यायो। १ घण्टा पछि बस उत्तर तिर लाग्यो र म, छेउको अंकललाई प्रश्न गर्न तिर। भुगोल बिल्कुल फेरिदैै थियो। हामी उकालो लाग्दै थियाौ।

पहाड कैले दाँया त कैले बाँया देखिन्थ्यो। तर पहाडको दिशा परिवर्तन मैले ठम्याउनै सकिन। भासु भिर पुगे पछि अंकलले यो स्थान दृृघटनाको दृष्टिले राजमार्ग मध्ये कै खतरनाक ठाँउ भन्ने बारे जानकार गराउनुभयो। केही बर्ष अगाडिको घटना सम्झिदा उनि आँखा चिम्मलेर ढल्केका थिए। बस रोकेर राखेको ठाँउबाट आफै गुड्यो। पिसाब फेर्न ओर्लेका जती बाचेँ। अरु सब मरेँ उन्ले आँखा उघार्दै झस्काइ दिए। यो तथ्यबाट जानकार भए पछि पिसाब नआए पनि ज्यान बचाउने सुरमा गाडी रोकेको हरेक ठाँउमा ओर्लिए। जंगल पहाड अनि राजमार्ग छेउका साना बस्तीहरु छुट्दै गए, बालापनका ती मिठा समय जसरी।

कालो पत्रे सडक घुमाउरो बाटो, हरेक मोडसंगै नयाँ दृश्य…मलाई भर्खर रिलिज भएको फिल्म हेरे जस्तै लाग्यो। विपरित दिशाबाट आएका बसहरु संग वीच बाटोमा रोकिएर गफ गर्दा, मलाई पनि ड्राइभर दाइ नजिक गएर कान थापेर सुन्ने मन हुन्थ्यो। मलाई फेरि पिसाब लाग्यो। गर्मी ठाँउको मान्छेलाई पानी नखाए पनि चिसो ठाँउमा पिसाबले पिरोल्छ। पाचांै पल्टको अनुरोधमा गाडी छेउ लाग्यो। म हतार हतार ओर्लिए र मसँगै करिब आधा बस पनि ओर्लियो। मैले झोक्किदै भनेँ सब्बैलाई लाग्या रैछ त, म बोल्दा त कोही बोलेनन्। अंकलले ठट्ट गर्दै भन्नु भो के गर्छौ राजा, नेपालीको सल्ला मुत्ने बेला मात्र मिल्छ। खाना खान बस भाँतकाँडामा रोकियो। ठाँउको नाम जस्तै भाँतमा चै काँडा भेटिएन।

तथ्य बुझ्दा, भातको लागि प्रख्यात भएको कारण यस ठाँउको नाम भातकाँडा रहेको रहेछ। तर तथ्य भन्ने भाइ म भन्दा कच्चा उमेरको भएकोले मलाई विश्वास चै लागेन। बाटो भरी चुनावी माहोल देखियो। ब्यानरहरुले सडक झकिझकाउ देखिन्थेँ। नोमिनेशनको दिन भएर पनि होला,बसका हुट अनि पिकअपको ढाँलाहरु कार्यकर्तामय देखिन्थ्यो। सुदुरपश्चिमको केन्द्रिय शहर दिपायलमा त बाजा गाजा सहितको र्याली नै देखियो। जन्ती भन्दा चर्को स्वरमा पञ्चे बाजा बज्दै थिए। दिपायल निकै गर्मी ठाँउ रहेछ। सेती नदीको तिरमा भएकाले थोरै बहुत बगरे हावा बग्छ। दिपायल छोडेर उकालो लागे पछि सेती नदी उल्टो बगेको देखिन्छ। यस्तै चुनावी माहोल, भिन्न भुगोलको स्वाद चाख्दै, कैलाली र डडेलधुराका विभिन्न ठाँउ छुदै दिउसोको १ बजे म डोटीको सदरमुकाम सिलगढी ओर्लिएँ।

भेटिनु अनि छुटिनु यात्राको अपरिहार्यता हो….जन्म मरण जिवनको सस्वत सत्य जस्तै। छुटिने बेला मलाई अंकल संग भन्न मन थियो जिवन लामो छ,नेपाल सानो छ। भेट त अवश्य हुन्छ। तर एक पित्की हाँसो हाँसेर छुट्टिए। सायद मेरो पित्की हाँसोमा पनि उन्ले माना पाथी भावहरु भेटेँ होलान्। सिलगढीको बस्ती बेग्लै बनोटको रहेछ। राजमार्ग भन्दा माथी बस्ती अनि बजारहरु छन्। ढुङ्गा छापिएको बाटो, छेउछेउका साना तर व्यस्त पसलहरु, पुराना घरहरुले बस्ती प्राचीन लाग्छ। बजारको बीचमा रहेको शैलेश्वरी देवीको मन्दिर स्थानीय बासिन्दा र सरकारी कामले सदरमुकाम झरेका मानिसका लागि सितल ताप्ने थलो रहेछ।

चहलपहल बढी भएकोले मन्दिर एरिया रमाइलो लाग्छ। चुनावी माहोलले सिलगढी पनि चोखो थिएन। त्यसैले मैले झिग्रानासम्म जाने गाडी पाउन सकिन। खप्तड जानको लागि सिलगढीबाट झिग्रानासम्म गाडी पाइन्छ। रिजर्भ लगेको रु.३५०० लिन्छ। झिग्रानाबाट खप्तड राष्ट्रिय निकुञ्च भित्र करिब ७ घण्टाको पैदल यात्रा पछि खप्तड पुगिन्छ। गाडी नपाए पछि हिडेर जानुको विकल्प थिएन। केही थोरै बिस्कुट जुस अनि चकलेट किनेर सिलगढी बजार छोड्दै म उकालो लागेँ। सिलगढी कटे पछि बस्तीहरु खासै बाक्लो छैनन् र खानाको ब्यवस्था पनि त्यती राम्रो नभएकोले खाने कुरा बोकेर जानुनै बुद्धिमानी हुन्छ। दिउसोको रापिलो घाम अनि १२ किलोको भारी ब्यागले मलाई उकालो चढ्न दिइ रहेका थिएनन्। २ ठाँउमा भारी बिसाउदै हिड्दा पनि १ घण्टामा ३०० मि. पार गर्न मुस्किल पर्यो। म मा हिडेर जान सक्छँु भन्ने आँट मरेर गइसकेको थियो। किनकी ३ वटा ठाँडा पहाड अनि तेस पछि उकाली ओराली गर्दै झिग्राना पुग्न ५ घण्टा लाग्थ्यो।

सिलगढीको माथिल्लो टुप्पोमा खप्तड बिकास बोर्डको अफिस छ। तेही अफिसको अगाडि पट्टिको चौतारामा सुस्ताउदै गर्दा, दिउसै टुच्च लगाएका दाइले अनाब सनाब सुनाउन थाले। तेसै बेला बिकास बोर्डका कर्मचारी पनि भेटिए। कसैले बाइकमा पु्र्याइ दिए पैसा तिरेरै लान्छँु भन्ने मेरो प्रस्ताव लाई उन्ले टाउको चिलाउदै टारि दिए। हातको इसाराले यसो उसो यसो उसो गर्दै उनी त छिनमै झिग्राना पुगेँ। तर मलाई झिग्राना अजङ्गको पहाड भएर आयो। धन्न… मौकामै टुच्च लगाएका दाइले घत पर्ने गरी बोलेँ औटा दुट्टा तीन्टा। तीन्टा पहाड। तम्ले नसक्न्याहुन्। त्यती बोली सुने पछि खै के जागेर आयो, जुरुक्क उडेर ब्याग बोके अनि लम्किए नसक्न्याहुन् लाई सक्न्याहुन् बनाउन।

पहिलो आधी घण्टा म खुब जोशमा हिडेँ। बिस्तारै मेरो जोशलाई पसिनाले सेलाउदै लग्यो। एकछिन छाहारीमा सुस्ताए। हतारको हिडाइले मैले वरिपरिको वातावरणलाई वेवास्ता गर्दै रहेछुँ। डाँडा माथी टुप्पोमा गाइको घाँटीमा बाधिएको घन्टिको टिङ टिङ आवाजले मलाई ब्युझायो। र मैले त्यो बेला प्रष्ट बुझे, गन्तब्य भन्दा बाटो मिठो। पूर्व पट्टि बाजुरा जाने बाटोले मलाई बाइबाइ गर्दै थुप्रै मोडहरुमा मोडिदै नदेखिने हुदैथ्यो। बिशाल अजंग सर्प जस्ता देखिने बाटोहरुले मेरो थकाइ स्वात्तै निली दिए। पश्चिम पट्टि पहाड भरि, कन्ला बनाइ गरिएका खेतीहरुले मेरो जाँगरलाई फेरि उर्वर बनाइदिए।

ती कन्लामा फलेका तरकारीहरु स्डेडियममा बसेर फुटबल हेर्दै गरेका दर्शक जस्ता लाग्थेँ। परबाट एकहुल बुढ्यौलो शरिर म तिर आउदै गरेको देखेँ। यात्रा देखाइ पछिको सिकाइ हो। मैले बुझे साहास र उमेरको कुनै तुलना छैन। झिग्राना भन्दा वल्लो गाँउ बग्लेखसम्म जान लागेको त्यो टोलीलाई पछ्याउदै म फेरि उकालो लागेँ। थकाइ अनि विश्रामले टोली छुट्यायो र एउटा डाँडाको टुप्पोमा पुग्दा म र एक जना बाजे मात्र बाँकी भयौँ। २५ वर्ष भारतको पन्जाब दिल्ली अनि बम्बइमा बिताएका समयहरुले अर्को २ डाँडाको टुप्पोमा पुग्न मद्दत गरेँ। जिवन अनुभवको श्रृंखला हो।

हरेकको आफ्नै कथा आफ्नै संघर्ष। मलाई लाग्छ हरेक घर एउटा सिंगो उपन्यास हो।सँगै हामीले थुप्रै ठाँउमा थकाइ मार्यौ। तर त्यो थकाइलाई कैले पनि मर्न नदिन मैले केही सेल्फीहरु मारेँ। बाटो तेर्सो आउन थाले पछि आफ्नो टोली कुर्न बाजे पनि बाटोमै तेर्सिए। बाजेलाई मैले वीचमै छोड्नु पर्यो। घडीले पाँच बजाइ सकेको थियो। जंगलको बाटो…बेला बेला चराहरु चिरबिर गर्दा मात्र थाहा पाउथेँ म एक्लै छैन भनेर। घरबाट बोकेको बोतलमा सिलगुढीमै निचोरेको कागती पानी सक्कि सकेको थियो। पैदल यात्रा गर्दा सादा पानीले भन्दा कागती पानीले बढी उर्जा दिन्छ। २ ३ वटा घर देखियो। पानी छ भनि सोध्दा तल बग्लेखमा पधेरी छ भन्ने जवाफ आयो। कपालको लट्टा फुटाउदा पनि ती दिदी बच्चालाई ममता चुसाउदै थिइन्। करिब १५ मिनेटको ओरालो झरेँ पछि बग्लेख आयो। एउटै धारामा थुप्रै काम हुदै थियो। म पुग्ने बित्तिकै एउटीले पेटिकोट मास्तिर सारिन्।

आँखा डेडो बनाउदै धारामा पानी थापेँ। १२ १५ वटा घर भएको बग्लेख सानो बस्ती हो। तर त्यो एकलासको ठाँउमा बग्लेख मलाई शहर नै लाग्यो। साना तिना होटल तथा पसलहरु देखियो। थोर बहुत मान्छेलाई खप्तड हिड्या भनेर छाती फुलाउन पाइयो। तर त्यो फुलेको छाती, बेलुनको हावा फुस्के जसरी तब फुस्क्यो जब थाहा पाए, पुग्नुपर्ने ठाँउ आउन अझै साढे दुई घन्टा बाँकी छ। गर्मीमा दिन लामा हुन्छन्। घडीले साँझ पारे पनि आकाश अझै उज्यालै छ भन्दै थियो। बाटोमा भेटिने बच्चाहरुले हाँस्दै हात हल्लाएनन्। तर मुख हल्लाउदै भने दश रुपे देउ,नत्त पाप लाग्न्याहुन्। मैले आफ्नो रफ्तार बडाए। आकाशमा गड्याङ गुडुङ सुरु भैसकेको थियो। पानी नपरोस भनेर एक मनले चिताउदा अर्को मन झिग्र्राना कैले आउछ भनेर तर्कना गर्दै थियो। घना जंगल मुन्तिरको घुमाउरो बाटो एकदमै पट्यार लाग्दो थियो। साँझ पर्नै लाग्दा मलाई बाटो देखि रिस उठ्दै थियो। मैले हतारको कारण त्यो पैदलयात्रालाई कत्ति पनि रमाइलो रुपमा लिन सकिन। थकाइले जिउ बिरानो लाग्दै थियो।

त्यतिकैमा पानी पर्यो। हतार हतार रेनकोट लगाए। रेनकोट छोटो भयो भनौ या व्याग ठूलो, जिउनै छोपिन गाह्रो भयो। राम्रै सरापे त्यो पसलेलाई,जस्ले यो रेनकोट जत्रो व्याग बोक्दा पनि ठिक हुन्छ भनेको थियो। जिउ पसिनाले निथुक्र थियो। अब भिजाउने पाली पानीको। पानी र पसिनाले जिउ दिग्दिगायो। थुप्रै यस्ता मोडहरु आए जहाँ मैले मोडको पछिल्तिर झिग्राना हुने आश गरेँ। तर हरेक मोड पछि एउटै दृश्य थियो, जंगल अनि घर फर्कदै गरेका गाइ बस्तु। तर एउटा मोडमा मैले फुत्त बाटो काटेको मृग देखेँ। उकालोमा बैकुन्ठ मानन्धर भन्दा चर्को कुद्ने रहेछ।

आँखा झिमिक्क गर्दा टुप्पोमै पुग्न भ्यायो। सायद मृगले बाटो काटेको शुभ हुने रहेछ, अर्को मोड पछाडि मैले झिग्राना देखेँ। तिख्राएको घाँटीले पानी भेटेँ जस्तै भयो। त्यहाँ पुग्दा साढे सात बजेको थियो। करिब साढे पाँच घन्टाको पैदल यात्रा पछि पाएको झिग्रानाको दृश्य मैले सोचेँ भन्दा विल्कुल उल्टो थियो। पुराना देखिने एक नाले माटोका गारा भएका घरहरु। एकदमै उराठ लाग्ने बातावरण। साझमै मध्ये रात भए जस्तो, बोल्न र सोध्नका लागि पनि कोही मान्छे पाइएन। होटल भनिएको घरमा पुग्दा, एउटी दिदी एउटै भाडामा आफू खादै बच्चालाई खुवाउदै थिइन्। उनी मसँग निकै सानो स्वरमा साउती गर्दै बोलिन्।

मैले कुरा बुझ्न सकिनँ। पछाडि पट्टि चोटामा लगेर बस्ने कोठा देखाइन्। कोठा देख्ने बित्तिकै थाहा पाए पत्रपत्रिकामा खप्तडको पर्यटन बिकासको लागि उठाइएका मुद्दाहरुको समाधान झिग्रानामा एउटा राम्रो होटलले मात्र गर्न सक्छ भनेर। २ वटा खाँट, टाउको ठोकिने छत, खाँट मुनि आलु प्याजको भन्डारन, एउटा ओड्नी अनि सोलारबाट बलेको एउटा मधुरो सिएफएल। मसँग बिकल्प थिएन।

तर झिंग्रानामा राम्रो होटल नखुलेसम्म खप्तड आउदा सिलगढीमै बास बसेर भोलिपल्ट बिहान गाडीमा आउदा राम्रो हुन्छ। बलेरो पिकअपले करिब डेढ घन्टामा सिलगढीबाट झिग्राना ल्याइ दिन्छ। लुगा चेन्ज गरेर पल्टेको मात्र थिए, निदाएछु। चुकुल बाहिरबाटै खोल्न मिल्ने रहेछ ,बिना अनुमति खाना लिएर भित्र छिरेकी दिदीको सर्याक सुरुकले बिउझिएँ।

२ गाँस खाए पछि खाना खान मन भएन। थकाइ लाग्दा पेटले पनि निउ खोज्ने गर्छ। हात चुठेर पल्टिन मात्र लाग्दा अघि साउती गरेर बोलेको रहस्य थाहा भयो। पल्लो कोठाबाट दिदीका बुढा जाँड खाएको तालमा कराउन थाले। चोटामा सुतेकोलाई मार्छु र काट्छु मात्र भन्न थाले। मनमा कता कता चिसो पस्यो। जाँड खाको मान्छे, घरको कलह, चुकुल पनि बाहिरबाट खुल्छ मन आफै भित्र साउती गर्न थाल्यो।

सुतेको बेला जे पनि हुन सक्ने डरले म त्यहाँ सुत्न सकिनँ। थाकेको ज्यानलाई डरले जित्यो र त्यहाँबाट ब्याग भिरेर लुसुक्क चोर जसरी भागेर तल्लो घरमा बासको लागि गुहार मागेँ। सानो किराना पसले दाइको मन ठूलो रहेछ। सहजै सँगै सुताए मलाई। चामलको बोरा भण्डारण गरेको साँघुरो कोठाको एउटा चेपको खाँटमा पनि, म फराकिलो निदाए। यात्राले मान्छेलाई रबर जस्तै लचिलो हुन सिकाउँछ।

एउटा ठूलो रात काटेँ मैले। डर सहितको हतासे रात। बिहान आँखा खुल्दा बाहिर आँगनमा गाइगुइ चर्को सुनियो। दिदी छोरी लिएर आँगनमा मलाई खोज्दै आएकी रैछिन्। पसले दाइलाई बुढाको चर्तिकला बेली बिस्तार लगाउदै थिइन्। म आँखा मिच्दै बाहिर निस्कदा, उन्की छोरीको मुख मिठाइ मिठ्याएको थियो। चकलेटलाई अझै पनि झिग्राना तिर मिठाइ नै भनिदो रहेछ। आकाश कुइरोले ढाकेको थियो। बाहिरको मौषम चिसो थियो। चिसो मौषममा पसले दाइले कराइमा बनाएको कालो चिया ख्वाए। पसल गर्न गाँउ छोडेर एक्लै झिग्राना बसेका दाइसंग धेरै भाडाकुडा नभएरै तरकारी बनाउने भाडोमै चिया बनाएका रहेछन्।

चियामा राति बनाएको रायोको सागको गन्ध मिसिएको थियो। म राति चोेर जसरी भाग्नु पछाडिको कारण सुनाइ सकेपछि दिदीलाई मैैले रातिको खानाको दुई सय पचास रुपैया तिरेँ। ओछ्यान सेयर गरेको पैसा लिन मानेनन् पसले दाइले। त्यहाँबाट बिदा भएर म ती दिदीको पछि लाग्दै फेरि उन्को घरसम्म पुगेँ। बिहान ३ बजे फेरि चार्ज भएका उन्का बुढा अझै मदहोस् निद्रामा बेहोस नै थिए।

तै पनि दिदीले मलाई साउती गर्दै २ वटा लौरो र एउटा जीवन जल दिइन्। यस्को चै पैसा तिर्नु परेन। झिग्रानाको पारी पट्टि डाँडामा आर्मीको क्याम्प छ। क्याम्प  छिर्नु भन्दा अगाडि खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार छ। त्यो गेट मलाई आशाबादी लाग्यो। कसैलाई पर्खि रहेको जस्तो लाग्यो। सायद त्यो गेट थुप्रै सेल्फीहरुमा अटाउन चाहन्छ। प्रन्ट क्यामेराको क्वालिटी कम हुनु भन्दा अगाडि पुगी हालौ है। त्यहाँ एकछिन उभिएर झिग्राना नियाले। हिजो हिडेको बाटोलाई परसम्म हेर्न खोजेँ।

लखतरान जिउ सम्झिए, मारिने र काटिने डर सहित कुलेलम् ठोकेको सम्झिए। अनि फिस्स हाँस उठ्यो। सायद यात्राले हाँस्ने बहाना पनि दिने रहेछ। एक्लै थिए। बिहान कुनै टोली आउला रसँगै जाउला भन्ने आश पनि बाँकी रहेन। किनकी हिजोको रात झिग्रानामा बास बस्ने म मात्र एक्लो थिए। एक्लै हिड्न अलि खतरा नै होला भन्ने सुझावहरु बारबार दिमागमा रिमाइन्डर जसरी आउदै थिए। सैनिक व्यारेक अगाडि पुगेँ पछि आफ्नो परिचयलाई ढड्डामा उतारेर अघि बढ्न लाग्दा सुब्दार साबको बोलीले झ्याप्पै रोकिन बाँध्य भए, कु ठाँउमा बहादुरी मुर्खता हो, एक्लै नजानुस्। केही बेर बसेर गफ गर्दा उहाँले मलाई अस्ति मात्र घटेको घटनाको सचित्र व्याख्या गर्नु भयो। त्यहाँको एउटा स्थानीय, अस्ति भर्खर भालुको आक्रमणमा परेका रहेछन्।

गालाको हड्डी भाँचिएको त्यो फोटोले मेरो हिम्मतको हड्डीलाई लुलो बनाइ दियो। झिग्रानाको सैनिक पोष्टको मेन व्यारेक खप्तडमा छ। खप्तडको व्यारेकमा निर्माणको काम चलिरहेकाले हरेक दिन यताबाट सिमेन्ट लोड गरेर खच्चड उकालो लाग्दा रहेछन्। र त्यो ६ वटा खच्चडको टोलीको नाइके रहेछ, रिठ्ठे भाइ। उ हरेक दिन बिहान खाना खाएर १० बजे यताबाट हिड्दो रहेछ र भोली पल्ट बिहान उताबाट। उस्को खुट्टाले जती, त्यो बाटो अरु कस्ले नापेको हो र ? ४ बर्ष देखीको आउ जाउको समान दैनिकी मजाक हैन। दार्चुलाको बासिन्दा,सानैमा बा आमा गुमाएर एक्लै भौतारिदै खप्तड र खच्चण संग जोडिन पुग्नुको अर्को कथाले जिवनको उतार चढावलाई सहजै व्याख्या गरिदिन्छ। हरेक मोडमा नयाँ कथा भेटिन्छ। यात्रा एउटा कथा संग्रह हो। उस्को रंग कालो भएकाले सब्ले रिठ्ठे भन्दा रहेछन्। तर ठीक बिपरीत उस्को नाम दिपक हो। र उस्को पसिना नाम जस्तै साँचिकै दिपक छन्। रिठ्ठे भाइ झिग्राना झरेर सिमेन्ट लोड गरुन्जेल मैले उस्लाइ क्याम्पमै कुरेर बसेँ। मलाई एक्लै देखेर सुब्दार साबले मेसमै खाना खान निम्तो गर्नु भयो। सबै सामन चटक्क आफ्नो ठाँउमा मिलाएर राखिएको। सफा सुग्घर भुइ अनि भित्ताहरु।

त्यो ठाँउमा, अधिकृत मेस मलाई कुनै होटल भन्दा कम लागेन। पित्तलको थालमा आएको खाना,मासको दाल अनि काउलीको तरकारीले मेरो मुख मात्र नभएर आँखा पनि मिठो बनाइदिए। त्यो बिरानो ठाँउमा, एउटा साधारण नागरिकलाई आर्मीको त्यती धेरै सत्कार साँचै नै गुलियो थियो। अनुसासनले कडा नेपाल आर्मी व्यबहारले भुवा भन्दा नरम लागे। मैले मेरो व्यागको भारी खच्चडलाई जिम्मा लगाए। रिठ्ठे भाइले खाना खायो। हामीसंगै यात्रामा अर्को एकजना आर्मी दाइ पनि जोडिन आए। अनि सुरु भयो खच्चड संगको मेरो खप्तड यात्रा।

घना जंगल साँघुरो बाटो…चार वटा पाइला मात्र अटाउने। बाटोसँगै टाँसिएका अनेक अन्जान झारपात अनि बुट्यानहरु। रुख रुखमा फलेका कुइरोहरु। आकाश अगाडिनै खसे जस्तो सेताम्यै बाटोहरु। झरेका पातमा खच्चडको मल मिसिएर बनेको मलिला काला बाटोहरु जहाँ हिड्दा हिडाइ लचिलो लाग्छ। घामको किरणलाई प्रवेश निषेध गरेरसँगै झाङ्गिएका अग्ला मोटा अजंगका लेउले ढाकिएका रुखहरु। यस्तो लाग्दै थियो, रुखको साम्राज्यमा कुहिरो पाहुना लागेको छ। चराहरुको धुनमा खच्चडको खस्य्रक खस्य्रक लयबद्ध हिडाइ, कुनै रचनाकारको सुन्दर संगित जस्तै लाग्दै थियो। म केही बेर शान्त भएर हिडिरहेँ या यसो भनौ रहस्यमयी सुन्दरताले मेरो बोल्ती बन्द गरिदिए।

तीन तीन वटा खच्चडहरु दुई समूहमा विभाजन गरि रिठ्ठे भाइले अगाडिको खच्चड सम्हाल्यो। हाम्रो भागमा पछाडिका तीन खच्चड परे। हिडइ, छिट्टो,अ‍ैले,बडिस् जस्ता शब्दहरु खच्चडले बुझ्ने रहेछन्। यत्ती सुने पछि रोकिएका खच्चड पनि अघि बड्थेँ। सबै खच्चडको घाँटीमा घन्टि थियो। तेही घन्टिको आवाज पछ्याउदै हिड्दा लाग्छ,खच्चडहरु तीर्थ यात्रामा छन्। अगाडिको खच्चड रोकिएर घन्टि बज्न छोड्दा एकपछि अर्को गर्दै सबै खच्चड रोकिए्। उकालो उक्लन सजिलो मान्ने खच्चडलाई ओरालोमा बेस्सरी कुदाउन खोज्दा भारी फाल्ने गर्छन् रे। कोही कोही बेसरम मान्छे जस्तै, खच्चड पनि बाटो हिड्दा पाद्दै हिड्ने रैछ। जनावरहरु कति स्वतन्त्र छन्। विचरा हामी छोड्दा पनि ३ पल्ट सोच्नु पर्छ। नचिनेको मान्छेले खच्चडको पछाडि छुदा चिडिएर व्याक किक हान्ने रहेछन। यो ट्र्ेलमा खच्चडको किक खाएर २ जना मरिसकेको तथ्य थाहा पाए पछि, म खच्चडको चार हात पछाडि मात्र हिड्न थालेँ। तर रिठ्ठे भाइ टाँसिएरै हिड्दा पनि खच्चडहरु आनन्द मान्दै हिड्दै थिए। आफ्नो र आफ्नाको परक जनावरहरुमा मान्छे भन्दा बढी पाउछँ म।

मान्छे पनि खच्चड नै त हो। नाता सम्बन्ध,व्यवहार,काम,सुख दुखको भारी बोकेर, जीवनको गोरेटोमा हिड्ने खच्चड। व्यारेकबाट १५ मिनेट जती हिडे पछि , बाटोको वीचमा पुल आउछ। जहाँ खप्तड जाने २ वटा बाटो देखिन्छ। एउटा खच्चड जाने बाटो जुन घुमाउरो ठाँडो छ। र अर्को मान्छे जाने बाटो जुन एकोहोरो ठाँडो छ। खप्तड जाँदा खच्चडको बाटो गएकै राम्रो। मान्छे हिड्ने बाटो भन्दा राम्रा राम्रा दृश्यहरु देख्न सकिन्छ। फर्किदा मान्छे हिड्ने बाटो छिटो अनि उपयुक्त हुन्छ। हामी खच्चड हिड्ने बाटो तिर लाग्यौ। रुखहरुको फ्रेममा खच्चडहरु कैद गर्दै, क्यामेराको व्याट्री आधा सक्काए। जति खिचेँ पनि चित्त नबुझ्ने। जंगल ओसिलो भए पनि,पसिनाले जिउ राम्रै भिजाएको थियो।

थकाइ मार्दै गर्दा टोक्न आउने जंगली भुसुनाहरुलाई पनि मार्नु पथ्र्यो। हरेक थकाइ मराइमा रिठ्ठे भाइ चुरोट सल्काइ ल्याउथ्यो। मेरो सिङ्गल फोटोहरु खिचिदिन्थ्यो र मैले खिचेका उस्का फोटोहरु हेर्र्दै निचिक्क दाँत देखाउथ्यो। उ धेरै बेर बस्न मान्दैनथ्यो। पानी परे भारी भिज्ने डरले उ हतार हतार हिडि हाल्थ्यो। माथि उक्लदै गर्दा सकस त हुन्छ तर आँखालाई दृश्यले यस्तरी सेक्छकी जीउ भरी आनन्द सस्तैमा फैलिदिन्छ। बिशाल चट्टानबाट निरन्तर तप तप चुहिने चिसा पानीका थोपाहरु। भिरमा बर्षौ देखि सुन्दरतामा मोहित भएर लठ्ठिएका एक्ला ढुङ्गाहरु।

जहाँबाट तल हेर्दा पैतालासम्म सिरिङ्ङ गर्छ। त्यो एकान्तमा भेटिएका मन्दिरहरु र रुखमा झुन्ड्याइएका घन्टिहरु..यस्तो लाग्छ सायद धर्म गर्नु नै पाप भयो र ति घन्टिहरुलाई झुन्ड्याइयो। थोरै बहुत पाटनका नमुनाहरु र मंगोलियन गालामा उम्रेका दारी जस्ता फुलहरु..थोरै थोरै कतै कतै। खन्डहर जस्ता बाटोमा भेटिएका घरहरु जस्ले हिउदमा थुप्रै ज्यान बचाएका छन् रे। कहि उकाली कहि ओराली… ती बाटोहरु बाटो कम सुरुङ बढी लाग्छन्। दहको छेउमा फुलेका राताम्यै फुलहरु। त्यो चौरको डस्ना अनि फुलको कपासमा पल्टिदा, आफूले आफैलाई इन्द« महसुस गरिन्छ। फुलमा सुतेर, पल्टिएर, पलेटि कसेर, घोप्टो परेर, नजिकबाट, टाढाबाट जती जसरी फोटो लिए पनि,मेमोरी भरिएला तर चित्त भरिदैन।

कुनै दिन स्वर्ग हरायो भने देउताहरु फोटोकपी गर्न यही ठाँउमा आउनेछन्। यि सबै दृश्यहरु आँखाका लागि टोनिक भैदिन्छन्। र थकाइ पसिनासँगै स्वत बग्दै जान्छ। ती सजिव चित्रहरु संगाल्दै क्याम्पबाट हिडेको तीन घन्टामा हामी बिचपानी पुग्यौ। पर्यटन बोर्डले बनाएको एउटा दुई तल्ले घर,सानो एक तल्ले होटल र आधी छाना च्यातिएको प्रतिक्षालय मात्र भेटिन्छ बिचपानीमा। होटल सञ्चालन गर्ने दाइ, झिग्रानामा रक्सीको सुरमा मार्छु र काट्छँु भन्ने मान्छेको छोरा रहेछन्। बिचपानीको नाम एकदम सटिक लाग्यो। किनकी यो टे«लको वीचमा पर्छ र यहाँ पुग्ने बित्तिकै पानी पर्यो। भारी नभिजोस् भनेर रिठ्ठे भाइले सबै खच्चडमा प्लाष्टिक ओडायो। बाटोमा आर्मी दाइले चिमोटेका कलिला निगालोका मुन्टा हालेर चाउचाउ भुक्लुक्क उम्लियो। हिडुन्जेल पसिनाले नओभाएको मेरो ज्यान एकछिन बस्न नपाउदै लगलग काप्न थाल्यो। आगो छेउ गएर चाउचाउ निले पछि अलि राहत मिल्यो।

हामी हिड्ने बेलामा ४ ५ जनाको टोली पनि त्यहाँ आइपुगे। जस मध्ये एकजना सिलगढी व्यारेक निजगढ घर भएका सुब्दार साब थिए भने अरु चै काठमाडौ बाट घुम्न आएको टोली। जुन टोलीमा एक जना लेडिज पनि थिइन्। पानी अलि जोडले परेकाले रिठ्ठे भाइ निस्किन मानेन। जसले गर्दा हामी भन्दा पछि आएको टोली एकछिन सुस्ताएर हामी भन्दा अघि लागे। मैले रेनकोट लगाए। पानी पर्न अलि कम भए पछि हामीले पनि बीच पानी छोड्यौ। त्यो चिसो मौसममा हुस्सु ओढेर बसेको बिचपानीको सुन्दरता एकदमै न्यायो लाग्यो।

यस क्षेत्रमा कुन बेला पानी पर्छ, अन्दाज लगाउन सकिन्न। छिनमै पानी छिनमै घाम र छिनमै कुइरो। मौसम परिवर्तन भइ रहने। बिचपानीबाट अघि लाग्दा सिमसिम पानीले स्वागत गर्यो। अबको बाटो तेर्साे पर्छ। उकालो ओरालो भेटिए पनि, एकोहोरो चै छैन। निगालोका बाक्ला घारी वीच हिड्दै गर्दा भालु आउने डरले आँखा अगाडि भन्दा पछाडि बढी ध्यान दिन्छ।

भालुलाई निगालो अत्यन्तै मन पर्ने भएकाले यो क्षेत्रमा भालु पाइने सम्भावना बढी हुदो रहेछ। कतिपय ठाँउमा बदेलले माटो खनेको भित्ता पनि देखियो। भालु,बदेल, कस्तुरी,हिउँ चितुव,डाँफे,कालिज यस क्षेत्रमा पाइने पशुपन्छी हुन्। तर भाग्य भन्ने कि दृभाग्य, मैलेले केही पनि देख्न पाइन। बाटोहरु अझ साँघुरो हुदै गए। बाटोमा झुलेका निगालोका हाँगाहरुले निधारमा ठोकिएर मुख धोइ दिए। भुइका चिसा झारहरुले खुट्टाका फोहरहरु पुछिदिए। रुख माथि माथि उफ्रिएर ढेँडुहरुले खच्चड बिच्काइ दिए। बिस्तारै पाटनको थोरै नमुनाहरु देखिन थाले।

पाटनसँगै गाइ अनि भैसीहरु पनि भेटिए। अछाम,बझाङ,बाजुर लगायतका सिमाबर्ती जिल्लाहरुबाट मान्छेहरु यस्ता पाटनमा चरनका लागि आउने गर्छन्। उनिहरु पाटनको टुप्पोमा गोठ बनाएर बस्छन्। चैत देखी असार दोस्रो वा गंगा दसहरा मेला सक्किए पछि फर्कन्छन्। बाक्लो कुइरो गर्दा ढुङ्गा छापेको हिड्ने बाटो मात्र देखिन्थ्यो। कुइरोमा हराएको त्यो एक धस्रो बाटोले छुट्टै दुँनियामा लैजान्छ जस्तो लाग्यो। छुट्टै दँुनिया हेर्ने रहरले आँखा ढकमक्कै ढाक्यो। त्यो बाटो पछ्याउदै गर्दा जाडोको मौषममा हुस्सुमा हराउने तराइका बस्तीहरुको याद आयो।

बिचपानीबाट हिडेको तीन घन्टा भैसकेको थियो। बिचबाटोमा एउटा सानो घर देखिन्छ जहाँ केही बर्ष अगाडि हिउमा पुरिएर ३ जना आर्मीहरुको मृत्यु भएको थियो। यहाँ हिउदमा ९ फिटसम्म हिउ पर्ने गर्छ। व्यारेकको लागि चाहिने रासन हिउद लाग्नु अगाडिनै खच्चडले ओसारी सक्छ। हिउदको समयमा यो बाटोमा प्राय मान्छे हिड्दैनन्। आउ जाउ गर्नु पर्दा, मुस्किलले घोडाहरु प्रयोग हुन्छन्। अब जंगल पातलिदै जान्छ। रुखहरु थोरै भेटिन्छन्। दुईवटा उकाली ओराली पार गरे पछि आँखाले भ्याउने जती ठाँउसम्म हरियो पाटन देखिन्छ। हरियो चौरका थुम्का थुम्कीहरुले सबै थकान सेलाई दिन्छन्। हामीले देख्दा त्यहाँ हामी भन्दा अघिल्लो टोलीको फोटो सेसन सुरु भैसकेको थियो।

 

डाँडाभरी हरियो कार्पेट ओछ्याए जस्तो लाग्ने दृश्यलाई सासको चाल पनि एकछिन बन्द गरेर हेर्ने मन हुन्छ। कपाल खुइलिएर छेउ छेउमा मात्र बाँकी रहेको टाउको जस्तो, हरियो पाटनको टुप्पोमा मात्र थोरै रुखहरु देख्न पाइन्छ। हरियो डाँडाको फेदै फेद बगेका नदीहरु पर उचाइबाट मसिनो धर्सेे लाईन जस्तो लाग्छन्। पाटनको टुप्पोमा बनाइएको अस्थाइ गोठहरुबाट धुँवाहरु निस्किरहेको देखिन्छ। त्यो दृश्य एकदम ओसिलो लाग्छ। पाटनमा चर्दै गरेका घोडाहरुले, हामी पुग्ने बित्तिकै शिर ठाँडो गरि हेरेँ। लाग्यो अविवादन गर्दैछन्। कोही चर्दै गरेका, कोही एकले अर्काको गर्धनमा मुसार्दै गरेका,कोही कुद्दै गरेका,कोही आफैमा मस्त रहेका। यस्तो लाग्छ..खप्तडको हरियो पाटन सुन हो भने ती घोडाहरु सुगन्ध हुन्।

हिउँदमा यी घोडाहरुलाई आ–आफ्नै मान्छेले लिएर जान्छन्। चर्नको लागि मात्र छोडिएका घोडाहरु रातभरी खुला आकाशको छानामुनी हरियो भुइ घाँसलाई सोत्तर बनाएर सुत्छन्। पाटन सुरु भैसके पछि बाटैमा सिता पाइला मन्दिर छ। मन्दिर भित्रको ढुङ्गामा सिताको पाइला मधुरो आकृतीमा देखिन्छ। साना खोल्छाहरुमा बनाइएको काठे पुलहरु एकदमै आकर्षक लाग्छन्। तेस्तै पुलहरुमा झुल भएको ज्यानलाई कुल पारामा क्यामेरामा कैद गरियो। पुलको तल पट्टि पानीको छेउमा हिमाली मुसाहरु चर्दै गरेको देखियो। लामो लामो जुङ्गा, पुटुस्स परेको शरिर,झट्ट हेर्दा सानो खरायो जस्तो लाग्छ। असारमा मन्सुनको पहिलो बर्षासँगै फुल फुलेर ढकमक्क हुन्छ भन्ने कुराको जानकारीमा म फुल हेर्न गएको थिए। तर मैले सोचेँ जस्तो फुल फुलेको रहेनछ। बाक्लै फुल हेर्नको लागि भदौ तिर उपयुक्त हुने रहेछ। तर चरनको मात्रा बढेकोले पहिला जस्तो फुल नफुल्ने कुरा मलाई आर्मी दाइले बताउनु भयो। हरियो पाटनको गोरेटो बाटोमा हिडेको करिब आधा घन्टा पछि हामीले पर्यटनको बोर्डको अफिस देख्यौ।

४,५ कोठाको पुरानो घरको ठीक अगाडि नयाँ दुई तल्ले भवन बन्दै रहेछ। तेस्को ठिक तल पट्टि एउटा सानो एकनाले लामो घर, जहाँ बाट धुवा निस्कदै थियो। जुन बाजुरा घर भएका दाइले चलाएको होटल रहेछ। नजिक पुग्दै गर्दा बाटोमा दाउरा बोकेर आउने दिदीहरुको मन्द लजालु हाँसोले स्वागत गर्यो। बाटोमा पर्ने सानो पसलमा सबै जना एकछिन सुस्ताए। तर म तल फेद तिर ओर्लिएर फोटोहरु खिच्दै भिडियो बनाउन थालेँ। मेरो चर्तिकला माथीबाट सबैले नियाल्दै थिए। खच्चड लिएर रिठ्ठे भाइ अघिनै क्याम्प पुगिसकेको थियो। आर्मी दाइ पनि उतै आउनु भन्दै क्याम्प तिर लम्किए। काठमाडौको टोली म भन्दा अगाडि कोठामा पुगेँ। मेरो मोबाइल र क्यामेराको ब्याट्रि निल भैसकेको थियो। बाटोमा आर्मी दाइले चार्जको लागि मद्दत गर्छु भनेकाले म क्याम्प तिर लागेँ। त्यो पसलबाट आर्मी क्याम्प दाँया तिर पर्छ भने पर्यटन बोर्डको भवन बाँया तिर। पर्यटन बोर्डको भवनमा सोलारबाट बत्ती मात्र बल्ने व्यवस्था छ।

अझैसम्म खप्तडमा बिद्युत पुग्न सकेको छैन। साथमा पावर ब्याक्क बोकेर जाँदा उचित हुन्छ। म कोठामा पुग्दा काठमाडौको टोली फ्रेस भएर गफ गर्दै थिए। ३ वटा जोडेर राखेको लामो खाट, ठिक्कको डस्ना अनि सफा तकिया। एट्याच ट्वाइलेट बाथरुम अनि छेउ छेउमा ठड्याएर राखिएको बैकल्पिक फोल्डेबल खटियाहरु। कोठा थोरै भएकोले खाटहरु धेरै देखिए। कोठा राम्रो थियो सफा थियो। फ्रेस भएर बाहिर निस्कदा झमक्क साँझ परिसकेको रहेछ। मौषस चिसो हुदै गएकोले तल होटलमा गएर एक कप तातो चिया अगेना छेउ बसेर खाए। दुधको स्वाद नै फरक लाग्यो। अघि बाटोमा देखिएका गोठहरुबाट दुध आउदो रहेछ। जम्मा वीस रुपैया कप चिया। दाइको कुरा सुनेर दरबारमार्गको चिल्लो सडक छेउका क्याफेहरु सम्झिए। जहाँ स्वाद भन्दा बढी पैसा सजावटको तिर्नु पर्छ। म कोठामा फर्किन लाग्दा काठमाडौको टोलीले ज्यान तताउने व्यवस्था सुरु गरिसकेका रहेछन्।

सँगै लगेको चाउचाउ र चिउरा मिक्स गरेर चटपटे बनेको रहेछ। बिस्तारै हाम्रो गफ पनि चटपटे बन्दै गयो। परिचयबाट सुरु भएको गफ, साहित्य,प्रकृती,राजधानी हुदै अलौकिक शक्तिहरुसम्म पुग्दा, मलाई मेरो कोठामा एक्लै गएर सुत्न बिरक्त लाग्यो। मैले मेरो व्याग रुमबाट ल्याए पछि, काठमाडौको ३ जना टोली सहित हामी चारजनाको गफले समय बितेको चालै पाएनौ। भोलीसँगै फर्कने कुरा पनि करिब करिब टुङ्गियो। पानी परिरहेको थियो। जस्ले गर्दा आकाश राम्रो संग नखुलेको हुदा पाटनहरु पनि त्यती स्पष्ट थिएनन्। तेसैले भोली बिहान खप्तड बाबाको आश्रम र त्रिवेणीधाम घुमेरसँगै फर्कने कुरा भयो। खप्तड दह, नागढुङ्गा,शिव लिङ्ग जस्ता ठाँउहरु नघुमेरै फर्कने निर्णयले घर गएपछि मलाई अवसोस हुनेछ भन्नेमा म पक्का थिए। करिब साढे आठ बजे खाना खान तल होटलमा झर्दा पोखराबाट अर्को ३ जनाको टोली पनि आएर बसेको रहेछ। हामीले खाना खायौ। कालो मासको दाल, फर्रर परेको भात अनि काउलीको तरकारीले पेटको राम्रै पुजा गर्यो। कोठामा फर्किएर गफको माध्यमबाटै सबैजना एकपल्ट बच्चा भयौं। केही घन्टा गफिए पछि दिनभरको थकाइमा निद्रा मिठो पर्यो। गफै त रहेछ जिन्दगी। गफ गफमै ती अन्जान अनुहार बर्षै देखी चिने जानेको लाग्यो। खप्पडको काखमा पहिलो रात घर भन्दा पर घर जस्तै लाग्यो।

ढोकाको ढकढक बिहानको अर्लाम बन्यो, सायद त्यो बेला ६ बजेको हुदो हो। हिजो बेलुका कोठा सम्मै आएर, खप्तड बाबाको आश्रमसँगै जानु पर्छ भन्ने निजगढको सुब्दार साब ढोका पछाडि रहेछन्। नउठाएको भए हामी ९ बजेसम्म पनि सुति रहन्थ्यौ होला। हरियो पाटनलाई सेतो कुइरोले ढाकेको थियो। सबै जनालाई एकछिन कुराएर म मोबाइल र क्यामेराको व्याट्रि लिन व्यारेक तिर कुदेँ। धमिलो बाटोमा दल्दले जमिनमा खुट्टा गडाउदै व्यारेक पुगेर कोठामा फर्कदा, साथीहरु लागिसकेछन् मलाई एक्लै छोडेर।

अब मलाई हतार गरेर केही गर्नु थिएन। तल होटलमा झरेर मस्त तातो चिया खाए। हरियो पाटनलाई बिस्तारै छोड्दै गरेका कुहिरो संगको त्यो एक कप चिया, जिन्दगीकै स्पेशल सुरुप्प थियो। लाग्दैथ्यो, सेतो कुहिरोको दुधमा,हरियालीको हरियो पत्ती र सुन्दरताको चिनी घोलिएर मेरो कपमा आइ चिया बनेको छ। बास्तवमै त्यो एक कप चिया, यादको दराजमा लकर भित्रको बस्तु बन्यो। खप्तड बाबाको आश्रम पर्यटन बोर्डको भवनको दाँया पट्टिको डाँडामा छ। जहाँ पुग्न करिब आधा घन्टा उकालो उक्लनु पर्छ।

चियाको नसाले बिस्तारै छोडे पछि लागँे एक्लै लौरो टेक्दै उकालो। चराहरु वातावरणलाई म आउदै गरेको जानकारी दिदै थिए। कागहरुलाई मेरो उपस्थिती खासै रुचिकर लागेन क्यारे, धोत्रे स्वरमा किन आइस् भनि सोधे जस्तै लाग्यो। आश्रम जाने बाटो उचाइमा भएकोले त्यहाँबाट पाटनहरु परसम्म देखिन्छन्। त्यो मेरो जिन्दगीकै सबै भन्दा सुन्दर बिहानी थियो। जंगलको सुनसानमा बड्दै गरेका मेरा पाइलाहरु,चराहरुको मिठो हल्ला, परबाट आएको मधुरो सुनिने गाइबस्तुको घन्टिको आवाज र आँखै खाने पाटनको हरियो रंग। सायद प्रकृतीले हरियो रंग उत्पादन गर्ने प्लान्ट खप्तडमै बसाएको छ।

छोडेर गएका साथीहरु बिचमै भेटिए। थोरै केही बातचित पछि म उकालो लागे। उकालो खासै गाह्रो थिएन। तेर्सो उकालोमा हिड्न सजिलै भयो। जंगलको बीचमा डाँडाको टुप्पोमा, बाबाको सानो आश्रम ध्यान गरेर बसिरहेको जस्तो लाग्छ। तार बार गरि कम्पान्ड बनाएर राखिएको रहेछ। गेटको कब्जा भाचिएकोले उचालेर छिर्नु पर्यो। अगाडि २ वटा ढोका भएको सानो एउटा घर। काठे रेलिङ लगाइएको बार्दली जस्तो पातलो बरन्डा। बरन्डामा बाबाको पुजा गरिएको मूर्ति र मुर्ति अगाडि अबिर केसरी सक्किएर खाली बसेका थालीहरु। तेही घरसँगै दाँया पट्टि अर्को सानो एक काठे घर। आश्रमको अगाडि गिट्टीले बनाइएको एच को सिग्नल।

त्यो एचले प्रष्ट भन्दै थियो,पैसा भएकालाई धर्म गर्न पनि सहज हुन्छ। एकदमै शान्त बातावरण। ध्यान गर्नको लागि अति उचित। पसिना ओभाउन्जेल पलेटी कसेर आँखा चिम्लिए। आनन्द आयो। बाबाको मूर्तिसंग दुईचार जोर सेल्फी खिचेर ओर्लिए तल। ओरालो झर्न मलाई दश मिनेट मात्र लाग्यो। जंगलबाट बाहिर निस्कदा, कुहिरो हटेर पाटन स्पष्ट देखिएको थियो। घोडाहरु ब्रेकफास्ट गर्न थालिसकेका रहेछन्। तल होटलमा आइपुग्दा पोखराका दाजुहरुले माहोल जमाइ सकेका थिए। त्यहाँ पनि एकलट परिचय चलेपछि एक राउन्ड चिया फेरि चल्यो। म चियाको भोगीलाई चिया खाने बहाना मात्र चाहिन्छ। चियासँगै गफ चल्यो। पोखराका एकजना दाजु किताब लेख्दै हुनुहुदो रहेछ।

आफ्नो किताबको बारेमा अनि घुमेको ठाँउको बारेमा प्रस्तुत गरेको तथ्य र प्रस्तुत भएको शैली गजब लाग्यो। ९ बजे खाना खाएर निस्किन सब जना तयार भैसकेका थिए। सबको ब्याग होटल बाहिरको बेन्चमा मस्त सुतेको थियो। सबैको एउटै निर्णय भयो,त्रिवेणीधाम घुमेर फर्कने। हिड्नु भन्दा अगाडि थोरै खानु पर्छ। खाना खाएर हामी सब जनासँगै निस्कियौ। सबको व्याग सानो देख्दा मलाई अनावश्यकमा ठूलो भारी बोकेछँु जस्तो लाग्यो। भारी बोकेर हिड्न सक्ने अवस्थामा थिइन म।

रिठ्ठे भाइ र खच्चडको बाटो हेरेर हिड्दा हिड्दै त्रिवेणी धाम आयो। तीनवटा नदीको संगम स्थल,२ वटा मन्दिर र पाटनमा चर्दै गरेका थुप्रै बस्तुहरु। टाढा भएर होला, मैले पुजारी बिनाको मन्दिर पहिलो पल्ट देखेँ। त्यहाँ दर्शन गरेर हामी छिट्टै बाटो लाग्यौ। बाटोमा रिठ्ठे भाइ र खच्चड भेटियो। मलाई मेलामा हराएको भाइ भेटिए जस्तै भयो। फेरि मेरो भारी मैले खच्चडलाई जिम्मा लगाए। जिउ भुवा जस्तै हलुङ्गो भयो। एकपल्ट ती हरिया पाटनलाई फर्केर हेरेँ। मनसम्म पुग्ने गरि, आँखा भरि भरेँ। हात हल्लाउदै वाइवाइ मैल भनेँ र जादा जादै खप्तडले मलाई भनिन त्यो सुन्दरताको के अर्थ जब अरुले देख्दैनन् भने। मलाई हेर्न तिम्रा जस्तै अरु थुप्रै आँखा पठाइदेउ है।

केही जानकारीहरु

१. काठमाडौबाट बाजुराको लागि हरेक दिन १० बजे बैद्यनाथ डिलक्सको गाडी छुट्छ। गाडीमा एसी, चार्जिङ सुविधासहित आरामदायी फोल्डिङ सिटहरु छन्। सम्पर्क नं. (सुन्धारा) ०१४२६७८७७। काठमाडौदेखि सिलगढीको भाडा रु.१९०० छ। अत्तरिया वा बझाङको बसमा आउँदा चेन्ज गर्नुपर्ने भएकाले बाजुराको बसनै उपयुक्त हुन्छ।

२. काठमाडौबाट करिब सत्ताइस घन्टामा डोटी पुगिन्छ। डोटी पुग्दा दिउँसोको करिब एक बजेको हुन्छ। झिग्रानामा राम्रो बस्ने ठाँउ नभएकोले सिलगढीकै होटलमा बसेर ( शैलेश्वरी होटल,लोक जी ९८४८८५९१८५) शैलेश्वरी मन्दिर जस्ता ठाँउहरु घुमेर भोलिपल्ट बिहान झिग्राना जानुपर्छ।

३.सिलगढीमै रेस्ट गर्दा भोलिपल्ट बिहानको लागि गाडी बुक गर्नु पर्छ। सिलगढीबाट झिग्रानासम्म बलेरो पिकअप जान्छ। करिब डेढ घन्टामा झिग्राना पुर्‍याउँछ र रिजर्भको रु.३५०० लिन्छ। सम्पर्क नं. ९८४८५९७२२७

४.झिंग्राना पुगेर खाना खाएर हिड्नुपर्छ। सादा खाना मात्र पाइन्छ। खानाको रु २५० पर्छ। सम्पर्क नं. (ओमप्रकाश साउत) ९७४९००८५२७। झिंग्रानाबाट बिचपानी पुग्न करिब ४ घन्टा लाग्छ। आर्मी व्यारेकबाट १५ मिनेट हिडे पछि पुल आउँछ। पुलबाट २ वटा बाटो छन्। दाँया खच्चड जाने बाटो हो भने बाँया मान्छे हिड्ने बाटो हो। खच्चड जाने बाटो तेर्साे ठाँडो छ। हिड्न सजिलो पनि हुने र अर्को बाटोको भन्दा भ्युहरु पनि राम्रो देखिन्छ। दुबै बाटो बिचपानीमा गएर मिसिन्छ। फर्कदा मान्छे हिड््ने बाटो फर्कदा छिटो हुन्छ।

५.बीच पानीमा ओमप्रकाश साउतकै होटल छ। खाना अर्डर गर्दा अथवा बस्नको लागि व्यवस्था गर्नुपर्ने भए सम्पर्क गरेर जानु पर्छ। बिचपानीबाट खप्तड पुग्न ३ घन्टा लाग्छ।

६.खप्तडमा पर्यटन बोर्डको अफिस छ। कोठाहरु थोरै भएकाले झिग्रानाबाटै बुक गराएको राम्रो। ओमप्रकाश साउतसँग सम्पर्क गरेर बुक गराउन सकिन्छ। बाजुराका मान्छेले सानो होटल चलाएका छन्। सादा खाना रु. ३००, चिया कपको रु. २०, दुध एक गिलास रु.४०, बिस्कुट चाउचाउहरु सामान्य मूल्य भन्दा १० देखी २० रुपैया फरक पर्छ , रुम चार्ज रु ५००। बत्ती सोलारबाट बल्छ, चार्जको व्यवस्था छैन।

७. फर्कदा बिचपानी पुगेर गाडीको लागि फोन गर्नुपर्छ। तेसो गर्दा झिग्राना पुग्दा गाडी ठिक समयमै आउँछ,धेरै समय कुर्नु पर्दैन।

८. काठमाडौको डाइरेक्ट बस सिलगढीबाट दिउँसो १२ बजे भित्र छुटि सक्छन्। त्यसपछि पाइने बसहरु अत्तरिया,धनगढी,टिकापुर,महेन्द्रनगर र नेपालगंजको मात्र हुन्छन्। काठमाडौका बसहरु राम्रो कन्डिसनका सुविधायुक्त छन्। टिकट बुकिङ गर्दा सुन्धारा काउन्टरमा फोन गरेर सम्पर्क नं. लिन सकिन्छ। सिलगढीमा प्रहरी बिट अगाडि ३-४ वटा टिकट बुकिङ काउन्टरहरु छन्,जहाँबाट काठमाडौको लागि बस चढ्न सकिन्छ।

त्यती लामो राजमार्ग र दुई दिनको हिडाइ पछिको खप्तडको बसाइ र घुमाइ मैैले निकै हतारमा सक्काएँ। जुन कुरा मलाई घर आए पछि महसुस भयो। यात्रा फुर्सदमा गर्ने हैन तर फुर्सदले गर्नु पर्ने रहेछ।

थोरै खल्लो बोकेर काठमाडौको टोली सँगै छ घन्टाको यात्रा पछि हामी झिग्राना पुग्यौ। फर्किदा मान्छे हिड्ने बाटोबाट आउदा छिटो हुने रहेछ। बीच बीचमा फेरि पनि पानीले दुःख दियो। फेरि पनि उही दृश्यहरुले आँखालाई आनन्द दिए। फेरि पनि पसिनाको गन्ध मिठो लाग्यो।

झिग्राना पुगेर व्याग लिँदा, अन्तिम पल्ट हासेको रिठ्ठे भाइको हाँसोले अहिले पनि आँखामा चमक दिन्छ। साहस र संघर्षको सजिव उदाहरण हो दिपक भाइ। झिग्रानाबाट करिब डेढ घन्टाको गाडीको यात्रा पछि हामी सिलगढी आइपुग्यौ। सिलगढीमा सबैसँग बिदा माग्दै फेरि पनि मैले राजमार्ग समाते। र सिलगढीबाट अत्तरीया,अत्तरीयाबाट नारायणघाट हुदै २६ घन्टाको लामो बस यात्रा पछि, चौथो दिन राति म घर पुगेँ।

चार दिनको यात्रामा मैले जम्मा नौ हजार खर्च गरेछु। नेपाल घुमाइ अत्यन्तै सस्तो छ। बिश्वास लाग्दैन भने एकपल्ट आफैं गएर हेर्नुस्। घरमा सबै कुरा थियो। सम्बन्ध थियो, ममता थियो, माया थियो,ख्याल थियो। तर पनि मेरो अनुहार सातो गएको बच्चा जस्तो थियो। बिर्सेछु….. खप्तडलाई हातमा थु थु गर्देउ भन्न।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.