होमस्टे आउने पर्यटक उत्साहजनक – Setopati Nepal's Online Newspaper

होमस्टे आउने पर्यटक उत्साहजनक

भिटोफद्वारा आधा दर्जन होमस्टे अनुगमन


होमस्टेका समस्या बुझेर समाधानका लागि हातेमालो गर्ने उद्धेश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराले गण्डकी अञ्चलका आधा दर्जन सामुदायिक होमस्टेको अध्ययन भ्रमण गरेको छ । उसले तनहुँका चार, गोरखा र स्याङ्जाका एक–एक होमस्टे अनुगमन गरेको हो ।

भिटोफका अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोली भर्खरै तनहुँको बन्दीपुृर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे, कोरिखा सामुदायिक होमस्टे र बिमलनगर सामुदायिक होमस्टे घुम्यो । त्यसैगरि तनहुँकै रानागाउँ, गोरखाको पसलाङ र स्याङ्जाको पित्लेक देउराली होमस्टे अनुगमन गर्‍यो ।

तनहुँको पुरानो सदरमुकाम बन्दीपुर बजारमा सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे, स्याङ्जाको वालिङ नगरपालिका–५ मा अबस्थित पित्लेक देउराली सामुदायिक होमस्टे र तनहुँको भानु नगरपालिका–४ मा अबस्थित राना गाउँ भाल्डाँडा होमस्टे स्थापित गन्तव्य हुन् । कोरिखा र बिमलनगर होमस्टे भर्खरै खुलेका हुन् ।

अध्ययन अनुसार १२ वैशाख २०७२ को भुइँचालोबाट क्षतिग्रस्त गोरखा नगरपालिका–४ मा अबस्थित पसलाङ गाउँ पुनः निर्माणको चरणमा छ । गाउँलेहरु टहरामा बस्दै आएका छन् । पुनःनिर्माण भएका केही घरमा होमस्टे गराउन सुरु भैसकेको व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर रानामगरले बताए । गाउँ प्रबेशद्वारको द्रब्य शाह चौतारी छेउमा तिनै शाहको सालिक स्थापना गर्ने तयारी भैरहेको छ ।

डाँडामा अबस्थित बन्दीपुर सामुदायिक होमस्टेमा पाहुना खचाखच भेटिए । होमस्टेकि अध्यक्ष दिलकुमारी रानाका अनुसार बन्दीपुर आन्तरीक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । त्यसैगरि बन्दीपुर बजारबाट एक घन्टा पदयात्राको दुरीमा अबस्थित कोरिखामा गएको पुस ११ गते होमस्टे उद्घाटन गरिएको छ ।

त्यहाँ गुरुङका आधा दर्जन घरमा होमस्टे गराइने गाउँका अगुवा लिलबहादुर गुरुङले बताए । कोरिखामा अग्र्यानिक स्वाद पाइन्छ ।

बन्दीपुर बजार मुन्तिर पृथ्वी राजमार्गको किनार बिमलनगरमा मरस्याङदी आमा बचत तथा ऋण सहकारी लिमिटेडले पनि नयाँ वर्ष २०७४ देखि होमस्टे सञ्चालनमा ल्याएको छ ।

होमस्टेका लागि गाउँका १६ घरमा पूर्वाधार बन्दैछ । त्यसमा एक घर नेवारको हो भने बाँकी मगरका । हाल ८ घरमा होमस्टे गराइन्छ, बाँकीमा धमाधम पूर्वाधार बनिरहेको होमस्टेकि अध्यक्ष सीता थापाले बताइन् ।

त्यसैगरी राना गाउँ पर्यटकको पर्खाइमा छ । त्यहाँ एशियन फोरमको सहयोगमा विसं २०७१ देखि मगर समुदायका ११ घरमा होमस्टे गराउन थालिएको हो ।

अग्र्यानिक गाउँको चिनारी बनाएको पित्लेक देउराली गाउँमा विसं २०६८ देखि नै होमस्टे गराइन्थ्यो । तर, दर्ता गरेर औपचारिक रुपमा विसं २०७२ मा मात्रै सुरु गरिएको होमस्टेका अध्यक्ष महेश गुरुङले बताए ।

ग्रामीण पर्यटन विकासमा कोरियाबाट फर्केका युवा भुपेन्द्र गुरुङ, तेजेन्द्र गुरुङका साथै स्थानीय पत्रकार तिलक गुरुङ जस्ता युवा जुर्मुराएका छन् । ‘हामी पित्लेकलाई नमुना गन्तव्य बनाउँछौं’, भुपेन्द्रले भने ।

भिटोफ अध्यक्ष तारानाथ पहारीका अनुसार अध्ययन गरिएका सबै गाउँलेले अतिथि सत्कार तालिम, होमस्टे गाउँको भ्रमण र मार्केटिङका लागि सहयोग मागेका छन् । ‘हामी यी होमस्टेहरुमा तालिम, व्यवसायीको भ्रमण, होर्डिङ बोर्ड निर्माण लगायत काममा सहयोग पु¥याउने छौं’, पहारीले भने, ‘स्थानीय निकायमा जनप्रतिनिधि आइसकेको अबस्थामा अब हामी उनीहरु र पर्यटन बोर्डसँग मिलेर काम गर्नेछौं ।’

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.