फेवाताल फेरोमा पदमार्ग


 

विश्वका पदयात्रा क्षेत्रमा कहलीएको नाम हो अन्नपूर्ण पदमार्ग । तर पछिल्लो समयमा पदमार्गलाई मोटरबाटोले घटाउँदै गएपछि पदयात्रा आउने पर्यटकहरुको यो क्षेत्रको बसाई घट्दै गएको छ।

पोखरा आउने विदेश र स्वदेशी पर्यटकका लागि व्यवसायी पदमार्गको खोजीमा छन् । पोखराका केही सक्रिय व्यवसायी पोखरा उपत्यका र फेवाताल घुम्ने गरी पदमार्गको निमार्णमा जुटेका छन् ।

फेवाताललाई फन्को मार्ने गरी पोखराको लेकसाइडबाट पदमार्गको काम भई रहेको छ । लेकसाइडको जरेबरबाट सुरु हुने पदमार्ग सराङकोट, कास्कीकोट, ढिकुरपोखरी, भदौरेतामागी, पन्चासे, चापाकोट, भुम्दीकोट र पुम्दीहुँदै तालकिनार ड्यामसाइडमा आएर पदमार्ग टुंगिने छ । ७४ किलोमिटर लामो यो पदमार्ग निर्माण भएको ४ वर्ष भई सकेको छ अहिले सम्म २५ किलोमिटर तयार भइसकेको नयाँ पैदलमार्ग निर्माण समितिका अध्यक्ष विष्णुहरि सुवेदीले बताए ।

त्यही पदमार्गमा १४ किलोमिटर साइकल र तीन किलो मिटरमा ह्वलचियर समेत चलाउन मिल्ने गरि निमार्ण भएको सुबेदीले बताए । उनले ३ किलोमिटर खण्ड अपांगता भएका व्यक्तिले ह्वलचियरमा घुम्न सकने गरि तयार भइरहेको बताए । उनले फेवाताललाई केन्द्रविन्दु बनाएर गाउँ पर्यटनको विकासका लागि पदमार्ग निमार्ण गरेको बताए ।

पोखरा महानगरपालिकाको वडा नम्बर १८ सराङकोटबाट अन्नपूर्ण गाउँपालिकाको नागडाँडासम्म १४ किलोमिटर साइकलमार्ग/पदमार्ग तयार भएको छ। नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिले पदमार्गसँगै साइकलका लागि पनि बाटो निर्माण गरेको हो।

सराङकोटबाट ढिकुरपोखरी गाउँको नागडाँडा निस्कने १४ किमि मार्ग नै जिल्लाकै पहिलो साइकलमार्ग भएको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश वज्राचार्य बताए ।

मोटरबाटोले कत्ति पनि नछुने गरी तयार भएको साइकलमार्ग निर्माणको तरिका सुझाउन पर्यटनबोर्ड, सामुदायिक वन उपभोक्ता महासंघमार्फत अमेरिकी सरकारको वन सेवाका विज्ञ सहजीकरण गरेका छन् । उनले पदमार्गले साइकल मार्गलाई पनि समेटेकोमा खुसी व्यक्त गरे । उनले त्यसको संरक्षण र थप विकासको आवश्यकता रहेको भनाई छ । उनले पोखराको पर्यटनलाई साइकलमार्गले टेवा पु¥याउने विश्वास लिए ।

गाउँ गाउँ हुदै जंगलै जंगलको बाटो दक्षिणतिर फेवाताल, माझमा जंगल र उत्तरतिर हिमाल देखिने दृश्यले पर्यटकको मनलोभ्याउने निमार्ण समितिका अध्यक्ष सुबेदीले बताए । उनले यो पदमार्गमा प्रसिद्ध बन्ने बताए । मार्ग टिकाउ होस् र भोलि मोटरबाटोले नछोओस् भनेर डाँडा र पाखातिर पदमार्ग बनाएको उनको भनाई छ । प्राकृतिक दृश्यसँग शाहवंशीय राजाहरुको उद्गम थलो कास्कीकोटको पुरानो दरबार, कास्कीकालिका मन्द्रिरको दर्शन पञ्चासे देबीको दर्शन, पुम्दिभुम्दिमा शान्तिस्तुपको दर्शन गर्न पाइने यो पदमार्गका विषेशता हुन् । निमार्ण सकिदा ४ रात ५ दिनको यात्रा हुनेछ । पदमार्गमा सहजीकरण गरिरहेका अमेरिकन विज्ञ ब्रायन मुर्डोकले सडक र पदमार्गलाई फरक बनाए र लैजानु पर्ने सुझाब दिन्छन् ।

यो पदमार्गमा सराङकोटको मृगस्थलीबाट मनाङदेखि नवलपरासीको देवचुलीसम्मका दृश्य देखिन सकिने स्थानीय बताए छन् । यो कामका लागि पोखरा महानगरपालिका, तत्कालीन जिल्ला विकास समिति र पर्यटन बोर्डले खर्च सहयोग गरेको छ । समुन्द्री सतह देखि १७८५ मिटर उचाईमा कास्कीकोट पर्दछ भने कास्की, पर्वत र स्याङजाको संगमस्थल पञ्चासे २५१७ मिटर उचाईमा रहेको छ । पञ्चासेमा सुनाखरी, लेकसल्लो, लालीगुराँस, लोपोन्मुख वनस्पति, जडीबुटी, विश्वकै लोपोन्मुख वनस्पति सतुवा, छत्रे उन्यू, लोठ सल्ला लगायतका प्रजाति पञ्चासे पाइन्छन् । फेवातालको मुहान हर्पन, खहरे, आँधी र सेती खोलाको उद्गमस्थल पञ्चासेबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल लगायतका हिमशृङ्खला देख्न सकिन्छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.