आहा! पूर्वै रमाइलो

सेवा मुन्दुम ट्रेल


भोजपुर र खोटाङको सीमाका मनोरम डाँडाहरु चखेवा- टेम्के – मैयुङ-साल्पा सिलिचुङ पुग्न ८ देखि १० दिनको पैदल मार्ग पहिचान भएको छ।

लामो अध्ययन र छलफल पछि किराँत राईहरुको धार्मिक संस्कृति जोडिएको, मुन्दुमीहरूले बास बिसाउने स्थानहुँदै सिलिचुङ पुगेर गुरूसँग आशिर्वाद थाप्ने ठाँउहरू भएकोले ‘मुन्दुम ट्रेल’ नामकरण गरिएको ट्रेलका अभियान्ता रमेश कुमार राईले बताए।

पुस तेस्रो साता मैयुङ-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रबर्दन केन्द्र काठमाडौंका अध्यक्ष रामेश राईको नेतृत्वमा पर्यटन अध्येता, संचारकर्मी, पथ प्रर्दशकको टोलीले पदमार्ग अध्ययन र अन्वेषण गरेको हो।

टोलीले करिब १२ दिनको स्थलगत अध्ययन, पदमार्ग चिन्ह कोर्ने र आवश्यक सूचना संकलन गरी फर्किएको थियो। अभियानलाई नेपाल पर्यटन बोर्ड र टान, स्थानीय गाँउपालिका र नगरपालिकाले सहयोग गरेका थिए

पूर्वाधार र प्रवर्धनको पर्खाईमा रूपाकोट

दिक्तेल नजिकको मुढे गाँउबाट करिब डेढ घण्टा उकालो हिँडेपछि रूपाकोट डाँडा पुगिन्छ।

समुन्द्र सतहबाट २६१६ मिटर उचाईमा रहेको रूपाकोट डाँडाबाट खोटाङ, भोजपुर र तराईका धेरै भुभागहरूको मनोरम दृश्य देखिन्छ।

यहाँ मंसिरे र वैशाखै पूर्णिमामा ठूलो मेला लाग्छ। मेलामा शाकेला नाचिन्छ। यहाँ नयाँ वर्षमा पिकनिक मनाउन आउनेको घुइँचो लाग्छ।

यहाँबाबाट उत्तरतिर दुधकोसी, ल्होत्से, मकालु, कञ्चनजंघालगायत हिमशृंखलाले मनमोहक बनाइदिन्छ।

अझै पर्यटकीय हिसाबले ओझेलमा रहेको रूपाकोटमा एउटा भ्यूपोईन्ट बनाएर सामान्य पूर्वाधारको विकास र थप पर्यटकीय गतिविधि आयोजना गर्ने हो भने पर्यटकको ताँती लाग्नेछ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मेयर दीप नारायण रिजालले रूपाकोटलाई केन्द्रमा राखी दिक्तेल वरिपरिका क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन गुरूयोजना बन्ने क्रममा रहेको बताए।

मनोरम टेम्के डाँडा

 

हामी मध्य पहाडी लोकमार्ग हुँदै पूर्व करिब ४० कि.मि. भोजपुरको चखेवा भञ्ज्याङमा (२२९३मि.) गाउँमा बास बस्न पुग्यौ।

बिहानीको सूर्योदय नहुँदै उकालो लाग्यौं, बेस क्याम्प नपुग्दै घाम झुल्कियो, केही फोटोहरू खिचियो। जति जति उकालो चढ्दै गयौं, त्यती सुन्दर दृश्यहरु खुल्दै गए।

करिब ३ घण्टा उकालो गुराँसे जंगलहुँदै टेम्के (३००० मि.) पुग्दा, १८० डिग्री हिमाल देख्दा दङ्ग पर्‍यौं। पथ प्रर्दशक तथा पर्वतारोही ईन्शु राईले आफ्नो १९ वर्षे ट्रेकिङ पेशामा यति धेरै हिमालहरू एकैचोटी देखेको पहिलो पटक भन्दै फररर हिमालहरूको नाम भन्न थाले। साथमा रहेका हिमालयन म्याप हाउसका सञ्चालक पवनजीले टिप्न थाले।

५ वटा जति ८००० माथिका हिमाल-कञ्चनजुंगा, मकालु, सगरमाथा, ल्होत्से, आमादवलामदेखि दर्जनौ सेताम्मे लस्करै हिमाल एकैचोटी देख्न पाउँदा हामी पनि रमायौं।

कच्ची मोटरबाटो डाँडासम्म पुगे पनि गोपाल किराँतीको गणतन्त्र टावर र रिवोलबिङ रेस्टुरेन्टसहितको वृहत पर्यटन योजना अझै पुरा हुन बाँकि रहेछ।

टुप्पोमा महादेव मन्दिर छ। पश्चिमतिर जोगी गुफा, बेस्सरि हावा चलिरहेको थियो। उत्तरतिर हिमालको लामो लर्कन- यहाँबाट हिमाल, पहाड र तराईको भूभाग पर-परसम्म प्रष्टै देखिन्थ्यो।

बेसक्याम्पको गेस्टहाउस ब्यवस्थित गरी लजको रुपमा सञ्चालन गर्नसके यसको संरक्षण हुने थियो। यसमा सम्बन्धीत सरोकारवालाको ध्यान जान जरुरी छ।

हामी चखेवा फर्किँदा टेम्के-मयुङ ४ का सांस्कृतिक टोलीले शाकेला नाँच देखाए। खुला चौरको अन्तरकृया कार्यक्रममा युवा समाजसेवी तथा संस्थाका संस्थापक सदस्य पावीहाङले किराँती राईहरूको सभ्यता, ईतिहास, संस्कृति र मुन्दुमबारे प्रस्ट्याए।

गाँउपालिका प्रमुख ध्रुब राईले पर्यटन स्थानीयको मुख्य श्रोत भएकोले, आगामी दिनमा टेम्के मयुङलाई उत्कृष्ट गन्तब्य बनाउन आफ्नो गाउँपालिकाले कुनै कसुर बाँकी नराख्ने दाबी गरे।

पदयात्राको शुभारम्भ

बिहान गाँउपालिकाका पदाधिकारी, प्राबिधिक र हामी सम्मिलित २७ जनाको जम्बो टोलीले चखेवा भञ्जाङ (२३३०मि.) बाट पदयात्रा सुरू गर्‍यौ।

जननिर्वाचित सदस्यहरु र स्थानीयको उल्लेखनीय सहभागतिबाट हामी उत्साहित थियौ। सरकारी, निजी तथा स्थानीयको  सहभागिता र सहकार्यले पर्यटकीय गन्तब्य सफल हुन्छ।

प्रमुख राईले पदमार्ग चिन्ह कोरेर पदमार्गको शिलान्यस गरे। यात्रासँगै उचाई मापन, दूरी नाप्ने, र ट्रेल मार्किङ गर्दै डाँडै डाँडा जम्बो टोलीले यात्राको थालनी गर्‍यो। निकै लामो पदयात्रीका समूहले दृश्य रोमाञ्चक देखिन्थ्यो।

प्रमुख राई बेला बेला थुच्चुक्क बस्दै, ‘हाईट लेख!’ बाक्यले पदयात्रा रमाईलो बनाईरह्‍यो!

डलसिङ्गे नजिकै किचन टोलीले खाना बनाउने ठाउँ रोजे, दृश्य हेर्दा बनभोज कार्यक्रम जस्तै देखिन्थ्यो। दिउँसो सार्‍है मिठो भोजपुरे लोकल चामलको भात र सुँगुरको मासुले फूर्ति जगायो।

प्रमुख स्थानीय गाईड पिजे. राई बडो रमाईलो भाकामा -घुम्न जाउ सुन्तलेबजार….. गाउँदै यात्रालाई थप राइलो बनाए।

साँझ परेको थियो धोत्रे देउराली (२४५०मि.) का २ घर र गोठमा रात कटायौ। ‘जाडोले सुत्नै गाह्रो भयो,’ मित्र अमृत र पवनले बिहान सुनाए।

बिहान उठ्दा सेताम्मे तुसारोले भञ्ज्याङ ढाकिसकेछ।

अर्को दिन डाँडै डाँडाको पदयात्रा सुरू भयो।

हिमालको दृश्य झनै नजिक देखिन्थे, ध्रुबे हात्ती हिमाल पनि प्रस्ट देखियो।

हाम्रो यात्रा थप रोमाञ्चक बन्दै गयो। पछाडि हेर्दा टेम्के बिस्तारै छेकिँदै थियो। मयुङ डाँडा नजिकिँदै थियो। अझै पर ठिङ्ग उभिएको अग्लो-सिलिचुङ डाँडानै हाम्रो लक्ष्य थियो।

हाँसपोखरी (२९६२ मि.) पुग्दा तारबारले घेरेको रहेछ। पोखरी निकै सुन्दर थियो, खुला रूपले गाईबस्तु, चरा चुरुङगी र जङ्गली जनावारको पानीको मुख्य स्रोत तथा कृडास्थललाई जेल जसरी बनाइएको रहेछ।

‍तार बार भित्रै भएको अन्तरकृयामा पोखरीलाई प्राकृतिक रूपमै खुला राख्दा पर्यावरणीय सन्तुलन हुने र पर्यटक थप लोभिने सुझाव दियौ।

बाटो अलग

पानीको स्रोत नजिकै पोखरीबाट १५ मिनट तल गोठमा बास बस्यौ।  निकै न्यानो ठाँउ थियो त्यो। कोही साथीहरू टेन्टमा सुते, म गोठालाका मुल विस्तारामा, बाँया तिर टेम्के मयुङ-३ का वडाध्यक्ष पूर्ण राई।
तेस्रो दिन गाउँपालिकाको टोली मयुङ डाँडा उक्लिए, हामी सिलुचुङ तिर लाग्यौ। जम्बो टोली केही सानो भयो।

उत्तरतिर हाम्रो यात्रा अगाडि बढ्यो। सातदोबाटे (३१२२मि.), ह्यकुले गोठमा थकाई मार्दै चिउराले भोक मेटाएर तेर्सो जंगलको बाटो हानियौं।

करिब ४५ मिनेट घना जंगलभित्र हरायौं, झाडीमा बाटो पहिल्याउन मुश्किल भएपछि, सिधै डाँडा तिर मोड्यौ। सहयोगी भाईहरू गणेश र बलधनलाई भारीसँगै उकालो चढ्न एकछिन गार्‍हो पर्‍यो। केही समय ठाडै उकालो हिडेपछि बाटो पहिल्यायौं।

करिब ३ बजेको थियो, प्यास र लाग्यो। पानीको स्रोत सुकेछ। एकछिन अत्तालियौ, पछि मोहन र श्यामजीले अगाडि पानी भेटेको संकेत दिए।

गोठ नजिकै चाउचाउ र साग उमालेर भोक मेटायौं।

अगाडि अग्लो लौरीको डाँडा, करिब १ घण्टा लाग्ने कुरा रमेसजीले बताए। हामीलाई झण्डै ३ घण्टा लाग्यो। उकालो भीर र चट्टाने बाटो उक्लन हामीलाई हम्मे हम्मे भयो। बाबियो र घाँस समाउँदै अध्यारोमा टर्चको भरमा रायो धाप (३४१४मि.) पुग्दा झमक्कै रात परेको थियो।

भीर काट्ने बित्तिकै मान्छे उडाउँने हावा लाग्दो रहेछ।

तर गोठालाले बनाएका तीन वटा ब्यवस्थित गोठ भेटिए पछि हामीलाई के चाहियो र भित्रै टेन्ट गाडेर आनन्दले बस्यौ।

हिलारी मार्गमा पाईला

 

नजिकै देखिन्थ्यो सिलिचुङ डाँडा, हामी सबै खुसी थियौ, सबेरै यात्रा सुरू भयो। दूर्भाग्य डेढ घण्टा हिडे पछि कान्ला ओर्लदा मेरो खुट्टा मर्कियो। थुच्चुक्क बसेँ। धन्न भाचिएन।

लाट्ठीको सहाराले करिब ५ घण्टा ओरालो, तेर्सो, सिधा बाटोहुँदै कुलुपंख (साल्पा भञ्ज्याङ, ३३४८मि.) पुगियो।

पहिला निकै चर्चित अरूण भ्याली ट्रेक यही बाटो भएर सोलु निस्कन्छ। एडमण्ड हिलारी यही बाटो हिँडेकोले उनको सम्झनामा सरकारले हिलारी मार्ग भनेर मोटर बाटो खोल्दैछ।

सिलिचुङ (४१५५मि.) चुमेको दिन

 

साल्पा सिलिछो संरक्षण तथा पर्यटन प्रवर्द्धन विकासका अध्यक्ष श्री कुमार राईले बिहान ५ बजे साथीहरूलाई सिलुचुङ चढ्न साथ दिए।

खुट्टा मर्किएकाले म जान पाइनँ।

भञ्ज्याङबाट करिब १ कि.मि. दूरि आधा घण्टामा साल्पा पोखरी (३५००मि.) पुगिन्छ।

स्थानीय लज सञ्चालक बुद्धि केशर राईका अनुसार साल्पा पोखरीमा भदौरे, कात्तिके, चैते र वैशाख पूर्णिमा ठूलो मेला लाग्छ।

बिहान ८ बजे बलधन र म साल्पा पोखरी पुग्दा पोखरी हिउँले जमेको थियो। पोखरीको छेउमा एउटा मन्दिर रहेछ। त्यसलाई दाहिने पारेर परिक्रमा गर्‍यौ।

हजारौ तिर्थालु आउँछन् पूजा र भाकल गर्न, यहाँ दर्शन गरे पनि मनोकामना पुरा हुने जनविश्वास छ।

दिउँसो १ बजे सिलिचुङबाट साथीहरू फर्किए, उनीहरू सूर्योदय हेर्दै, भीरको उकालो बाटो भएर ४ घन्टामा सिलिचुङ डाँडा चुमेको बताए।

पछि फोटाहरु हेर्दा सिलिचुङ साच्चै बयानै गर्न नसक्ने ठाउँ रहेछ। भोजपुर, सोलुखुम्बु, संखुवासभाको सीमामा पर्ने साझा धार्मिक स्थल। हिमालको दृश्य रहरलाग्दा र नजिकै देख्न पाइदो रैछ।

मैच्याङ हो मैच्याङ, घुम्न जाम है सु्न्तले डाँडैमा …

साल्पा भञ्ज्याङबाट रायो ढाप, ह्याकुले, सातदोबाटे हुँदै मैयुङ फर्किने योजनामा एकाएक यात्राले मोड लियो।

अरूण भ्याली ट्रेकको बाटो पछ्याउँदै जौबारी, फेदि, तेन्दो, दोभाने पच्छ्यायौ।

सुन्दर शेर्पा र राई बस्तीहुँदै खोलानाला अलैचीबारी, रूद्राक्षको बनहुँदै दोभानेबाट जिपमा कात्तिके, दिङ्लाहुँदै राति ११ सुन्तले पग्यौ।

भोजपुरबजारबाट ११ कि.मि. टाढा, हिँडेर २ घण्टामा पुगिने सुन्दर हिल स्टेशन हो सुन्तले डाँडा (२५००मि.)।

भोजपुर बजार र वरिपरिबाट थुप्रै आन्तरिक पर्यटक घुम्न आउँछन्। हिमालको दृश्य, चिसो ठाउँ, तोङ्बा र सुकुटीको लागि प्रख्यात रहेछ।

हामीले पनि सुकुटीको साथमा तोङ्बा पियौं। साच्चै सुन्दर रहेछ सुन्तले डाँडा। मित्र श्याम सोमसोङ राईको ‘मैच्याङ हो मैच्याङ, घुम्न जाम है सुन्तले डाँडैमा, चिसो चिसो बतासैमा, तोङबाको चुश्किमा माया साटौ मस्तिमा…. बोलको गीतमा जस्तै।

साढे २ घण्टा ओरालो लागेर मित्र मोहन राईको भैसी पंख गाँउमा पुगेर हामीले मुन्दुम ट्रेलको यात्रा समापन गर्‍यौं।

अन्तिम अन्तरकृया कार्यक्रममा भोजपुर नगरपालिका मेयर कैलाश कुमार आलेले मुन्दुम ट्रेलमा पर्ने टेम्के-मयुङ-सिलिचुङ क्षेत्र भोजपुरको मात्रै गौरव नभई देशकै सम्पति भएको र यो क्षेत्रलाई पर्यटन गन्तब्य बनाउन सहकर्य गर्ने बताए।

त्यसैगरी टेम्के मयुङ गाउँपालिका वार्ड न. ५ का अध्यक्ष सुनिल राईले टेम्के-मयुङ संरक्षण क्षेत्र घोषणा गर्नेमा जोड दिने र यसलाई नेपालकै नमूना पर्यटन गन्तब्य बनाउन लागिपर्ने बताए।

मित्र पावि हाङ राईले राति हतारमा टकसार घुमाए। स्वदिस्त नेवारी खाजा चखाए।

माघे सक्रांति (यलेदुंमा) निम्तो समयको अभावले स्वीकार्न सकिएन, टकसार र भोजपुर बजार मज्जाले घुम्नै पाईएन, रहर पुरा गर्न भोजपुर फेरि घुम्न आउने मित्र अमृतजि बताए।

बिहान ४ बजे हामी ऐतिहासिक मनोरम माझ किराँत भूमीलाई बाई बाई गर्दै बस चढेर मध्य पहाडी लोक मार्ग हुँदै अरूण नदि काटेर हिले, भेडेटार, धरानहुँदै काठमाडौं हुइँकियौ।

कसरी पुग्ने:

 

काठमाडौं – सिन्धुली-खुर्कोटहुँदै दिक्तेल-चखेवा (जिप वा बसबाट)

काठमाडौं-धरान-हिले-भोजपुर (बसबाट)

काठमाण्डौ-भोजपुर (४५ मिनेट हवाई मार्ग)

हेर्नुहोस् ट्रेलका थप तस्बिरहरू

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.