म्याग्दीको महक र महोत्सवको माहोल

तस्बिरः सेतोपाटी


म्याग्दी! प्राकृतिक सुन्दरताको अनुपम स्थल। ११ वटा हिमालहरुले पहरा दिएको,सुर्योदयको रक्तमिश्रित पिताम्वरले आलोकित अनुपम दृश्य देखिने पुनहिलबाट विहानीपख हिमाल हेर्दा आउने आनन्दको अवर्णनीय अनुभूति गराउने उत्कृष्ट स्थल। राउण्ड अन्नपूर्ण र धौलागिरि क्षेत्रमा समेटिएको,विश्वप्रशिद्ध घोडेपानी, पुनहिल र रुप्से झरनाले मोहनी लगाउने म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा यही पुस २८ गतेदेखि छैंटौ म्याग्दी महोत्सवको माहोल शुरु हुँदै छ।

कुनै षोडसी युवतीले ओडेको सेतो पछ्यौरी हावाले उढाउन लाग्दा सम्हालेको जस्तो दृश्य देखिने रुप्से झरना, पूर्णतः खुलेको आकाश, उत्तरतर्फ मुसुक्क मुस्कुराए जस्ता देखिने हिमश्रृङखला, घोडेपानीको निलिमा,पुनहिलबाट देखिने सौन्दर्य र न्यानो आतिथ्यताले म्याग्दी महोत्सव अवलोकनका लागि आउन आगन्तुकहरुलाई निमन्त्रण दिइरहेको छ। म्याग्दीको सौन्दर्यतामा रमाउँदै महोत्सवको मजा लिन यस पटक म्याग्दी बोलाउने तारतम्य मिलाएको छ म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी महोत्सवको आयोजना गरेर।

‘उद्योग,व्यापार र कलाको विकास गरौं,संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ यही पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनी बजारमा ‘छैठौं म्याग्दी महोत्सव,माघे संक्रान्ति मेला एवम् ४ नं प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक व्यापार मेला २०७४’ आयोजना गरिएको छ।

‘बेनीको बजार,जता मायाँ उतै छ नजर

किरेमिरे जाले रुमाल………………’

२०१८ सालमा टीकाबहादुर श्रेष्ठले रचना गरेर  टीकाबहादुर श्रेष्ठ र मना छन्त्यालको स्वरमा रेडियो नेपालमा रेकर्ड भई लोकप्रिय बनेको माथिको गीतमा भनिएजस्तै बेनीबजार मायाँ र आत्मियता, हार्दिकता र सौहार्दता भएकाहरुको संगम स्थल पनि हो। जिल्लाका विभिन्न भेगबाट आएर वसोबास गरेका,विभिन्न जातजातीहरुको बसोबास रहेको, विविधतामा अनौठो एकता भेटिने जातीय सहिष्णुताको अनुपम उदाहरण पनि हो बेनीबजार।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजारको ऐतिहाँसिक र व्यापारिक महत्व वाइसे÷चौविसे राज्यको इतिहाँससंग जोडिएको छ। प्राचिन समयमा भोट—मधेशको व्यापारिक नाका रहेको यो सानो तर सुन्दर बजार कालीगण्डकी करिडोरको निर्माणसंगै फेरी एकपटक उत्तर दक्षिणको व्यापारिक नाका वन्दैछ।

यही सुन्दर बेनीबजारमा पुस २८ देखि माघ ७ सम्म १० दिन म्याग्दी महोत्सवको आयोजना गरिएको छ। म्याग्दी महोत्सवमार्फत जिल्लाको पहिचानलाई व्यापक बनाउने र थप सम्भावनाहरुको खोजी सहित साविकका सम्भावनाहरुको सदुपयोग गरी जिल्लालाई समृद्धितर्फ अघि बढाउने उद्धेश्यले आयोजना गरिएको म्याग्दी महोत्सवमा म्याग्दी भ्रमणमा आउन आयोजक म्याग्दी उद्योग वाणिज्य संघले सबैलाई निमन्त्रणा गरेको छ।

‘उद्योग,व्यापार र कलाको विकास गरौं,संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गरौं’ भन्ने भन्ने मुख्य उद्धेश्य सहित छैंटौ म्याग्दी महोत्सव,माघेसक्रान्ति मेला एवम् ४ नम्बर प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक व्यापार मेला—२०७४ आयोजना गरिएको हो। मनोरञ्जनका अतिरिक्त लक्षित उद्धेश्य समेत राखिएको यस्ता मेला महोत्सवले जिल्लाको पहिचान र चिनारीलाई फराकिलो बनाउन र सम्भावनाहरुको उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन् र खेल्नुपर्छ। आसन्न म्याग्दी महोत्सवले पनि म्याग्दी जिल्लाको पहिचानलाई देश विदेशसम्म पु¥याउन, सम्भावनाहरुको सदुपयोग गरी आयआर्जन र पर्यटन विकासमा सघाउ पु¥याउन सहयोगी भूमिका खेल्न सकोस् शुभकामना छ।

म्याग्दी महोत्सवको छैंटौ श्रृङ्खलामा पनि विगतका श्रृङ्खलाहरुकै पुनरावृत्ति हुने हो भने यसले लिएको उद्धेश्य सफल हुनेछ र महोत्सव फलदायी हुनेछ भनेर आशा गर्ने ठाउँ रहदैन। महोत्सवको उद्धेश्य जिल्लाका उद्योग,व्यापार र कलाको विकास गर्ने र त्यसैको माध्यमबाट संस्कृति संरक्षण गर्दै पर्यटन प्रर्बद्धन गर्ने हो भने सबैभन्दा पहिला जिल्लाको रैथाने सीप,प्रविधि,उत्पादन,जनजीवन,लोकसंस्कृति र जनशक्तिको सहीरुपमा सदुपयोग र तत्तत् क्षेत्रमा लागेका जनशक्तिलाई अवसर दिइनु पर्दछ। जिल्ला बनाउने र जिल्ला चिनाउने अभियानको रुपमा महोत्सवलाई लिइने हो भने आयातित प्रविधि,संस्कृति र जनशक्ति (कलाकारदेखि खेलाडीसम्म) लाई भन्दा बढी स्थानीय प्रविधि,संस्कृति र जनशक्तिलाई महत्व दिइनुपर्दछ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीमा रहेका उद्योगी र व्यापारीहरुको छाता संगठन हो। तर उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको म्याग्दी महोत्सव भने उद्योगी र व्यापारीहरुको महोत्सव मात्रै होइन भन्ने कुरा आयोजकले बुझ्नुपर्दछ। महोत्सवमा सीमित व्यक्तिहरुको मात्र मनलाग्दो चल्ने परम्पराको अन्त्य हुनु जरुरी छ। सबै क्षेत्र र वर्गका म्याग्देलीहरुले महोत्सवको अपनत्वबोध गर्ने वातावरण मिलाइनुपर्दछ। जिल्लाको इज्जत र प्रतिष्ठालाई कायम राख्नु सबैको दायित्व हो भन्ने जिम्मेवारी बोध गराउन आयोजक संस्थाका प्रतिनिधिहरुको व्यवहार र कार्यशैलीले पनि महत्वपूर्ण अर्थ राख्दछ।

म्याग्दी महोत्सव सबै म्याग्देलीको साझा महोत्सव हो। यसले जिल्लाको पहिचानलाई फराकिलो बनाउँदै आर्थिक उपार्जनका सम्भावना र विकासको ढोका खोल्न सक्यो भने मात्र महोत्सव फलदायी बनेको अनुभूत गर्न सकिने छ। अन्यथा रसरङ र खानपानमै रमाउने मेला भन्दा म्याग्दी महोत्सवलाई अन्य अर्थमा बुझ्न नसकिने अवस्था उत्पन्न हुने छ। यसतर्फ सबैको ध्यान जान आवश्यक छ।

तथ्याङ्क र भूगोलमा यस्तो छ  म्याग्दी

२ लाख २९ हजार ७ सय ६ वर्ग कि.मिमा समेटिएको र २०६८ सालको जनगणना अनुसार १ लाख १३ हजार ६ सय ४१ जनसंख्या रहेको म्याग्दीका धेरै स्थान घुम्नलायक छन्। यसमध्ये सदरमुकाम बेनीबजार रहेको स्थान,घोडेपानी,पुनहिल,रुप्से झरना,रिखारक्षेत्र,गलेश्वरधाम र सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्ड जीवनमा एकपटक पुग्नैपर्न ठाउँमध्येका स्थानहरु हुन्।

समुद्री सतहदेखि धौलागिरि हिमालसम्म ८ हजार १ सय ६७ मिटर उचाइमा रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नेपालका पहाडी जिल्लाहरूमा रहेको सदरमुकामहरूमध्ये प्रकृतीको सुन्दर उपमा मानिन्छ। ऐतिहाँसिक,व्यापारिक र प्राकृतिक सौन्दर्यताका दृष्टिकोणले बेनीबजार नेपालकै अद्धितीय बजार हो भन्दा कुनै अत्युक्ति नहुने स्थानीय बूढापाकाहरु बताउँछन्।

धौलागिरि र गुर्जा हिमाल यसै जिल्लामा पर्छन। मालिकाको धुरी,रिखार धुरी र घोरेपानीको धुरीले गगन चुम्न लागेजस्तो दृश्य देखिने यस जिल्लामा ६ हजार ९ सय ६७ मिटर गहिरो संसारकै सवैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’ ले विश्व मानचित्रमा म्याग्दीको पहिचानलाई उजागर गरेको छ।

यातायात र होटेलको राम्रो छ सुविधा

नेपालका विभिन्न स्थानबाट पनि म्याग्दी आउन खासै गाह्रो छैन। २ सय ८५ किलोमिटरको दुरीमा रहेको काठमाडौंबाट दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रत्येक घन्टा सुविधायुक्त रात्रिबस सेवा उपलब्ध छ। त्यसका साथै पोखरा,नारायणघाट,बुटवल,भैरहवा,सुनौली लगाएतका सहरहरुबाट पनि म्याग्दीको सदरमुकामसम्म आउन दैनिक दिवा र रात्रि बसको व्यवस्था गरिएको यातायात व्यवसायीहरुको भनाइ रहेको छ।

सदरमुकाम बेनीबजार पुगेपछि यहाँ बस्न खान स्तरीय होटेल र बासको व्यवस्था छ। सस्तो, सुलभ र आरामदायी रूपमा आगन्तुकका लागि सेवा दिन आफूहरू तम्तयार रहेको जिल्ला होटेल व्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो। म्याग्दीमा ५५ वटास्तरीय र पर्यटकलक्षित सुविधा सम्पन्न होटलहरु रहेका छन्।

परिचय र पहिचानलाई बदल्दै छ म्याग्दी

म्याग्दी जिल्ला प्राकृतिक सौन्दर्यताको अनुपम उपहार प्राप्त गर्न सफल जिल्ला हो। परम्परागत रुपमा ‘लाहुरेको जिल्ला’ को परिचय बनाएको म्याग्दीले हिजोआज आफ्नो परिचय र पहिचानलाई बदलेको स्थानीय युवा एवम् नेपाल जेसिजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले बताउनुभयो। ‘हिजोआज म्याग्दी पर्यटकहरुको जिल्ला, प्राकृतिक सौन्दर्यताको जिल्ला भनेर चिनिन थालेको छ’ उहाँले भन्नुभयो।

पर्यटकलाई मोहनी लगाउन खप्पिस छ म्याग्दी

अन्नपूर्ण गाउँपालिकाको घारमा पर्ने र समुद्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा रहेको घोडेपानी र ३ हजार २ सय मिटर उचाइमा रहेको पुनहिल विश्वचर्चित यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन्। राउण्ड अन्नपूर्ण अन्र्तगतको आकर्षक गन्तव्य स्थल मानिएको घोडेपानी र पुनहिलमा बाह्रै महिना विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ। लालीगुराँसको विशाल जंगल,उकालो पदमार्ग,सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, आँखै अगाडी पंक्तिवद्ध भएर उभिएजस्ता सेता र सुभ्र हिमश्रृङ्खला, आग्र्यानिक खानाका परिकार,व्यवस्थित र सुविधायुक्त बसाइँ,स्वच्छ हावापानी, भौगोलिक विविधताको दृश्यावलोकन यहाँका प्रमुख आकर्षणहरु हुन्। पछिल्लो समय घोडेपानी र पुनहिलमा आन्तरिक पर्यटकहरुको समेत घुइँचो लाग्न थालेको छ। घोडेपानी सदरमुकाम बेनी बजारदेखि १८ कोषको दुरीमा पर्दछ।

त्यसैगरी समुद्री सतहदेखि ९ हजार मिटरको उचाइमा रहेको देशैभरी प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिंगा तातोपानी,१३ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने भूरुङ तातोपानी,मालिका गाउँपालिकाको देविस्थानमा पर्ने मालिकाको धुरी,टोड्केको धुरी,अन्नपूर्ण गाउँपालिका दानामा रहेको अन्धगल्छी,रुप्से झरना,धवलागिरि गाउँपालिकामा पर्ने ढोरपाटन आरक्ष, धबलागिरि गाउँपालिकाको मुदीमा पर्ने धौलागिरि वेस क्याम्प,अन्नपूर्ण गाउँपालिको हिस्तानमा पर्ने पेरी भरानी ताल,राम्चेको बराह ताल,बेनी नगरपालिकाको ज्यामरुककोटमा पर्ने लभ्लीहिल यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन्। सदरमुकाम बेनीबजारदेखि करिब डेढ घण्टाको दुरीमा रहेको गुफाको डिलबाट एकदर्जन भन्दा बढी हिमश्रृङ्खला सम्पूर्ण म्याग्दी जिल्लाका ग्रामिणवस्तीका साथै छिमेकी जिल्ला,बागलुङ र पर्वतका प्रशस्त भूभागहरु देख्न सकिने स्थानीय शिव बानियाँ बताउनुहुन्छ।

जहाँ मुसुक्क मुस्कुराउँछन् ११ वटा हिमाल

म्याग्दी जिल्ला भित्र मात्रै  विभिन्न ११ वटा हिमालहरु रहेका छन्। ८ हजार १ सय ६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि ६ हजार ३ सय ८० मिटर उचाइको मानापाथी लगाएतका  ११ वटा हिमालले म्याग्दीको सौन्दर्यमा ‘चार चाँद’लगाइदिएका छन्। ६ वटै स्थानीय तहका ४५ वटै वडाबाट विहान उठेने वित्तिकै हिमाल देख्न पाइन्छ। यहाँ धौलागिरि दोस्रो (७६९२), धौलागिरि तेस्रो (७५३५), धौलागिरि चौंथो (७६६१), धौलागिरि पाँचौ (७६१८), धौलागिरि छैठौं (७२८८),चुरेन हिमाल ( ७३८५),निलगिरि हिमाल, अन्नपूर्ण हिमाल (८०८१),मानापाथी हिमाल, र गुर्जा हिमाल (७१९३) रहेका छन्।

जिल्लाका गौरब र म्याग्दीका धरोहर

म्याग्दी जिल्लाको गरिमा र महत्वलाई बढाउन यहाँ रहेका धार्मिक र ऐतिहाँसिक स्थलहरुको महत्वपूर्ण भूमिका रहेको छ। म्याग्दी जिल्ला धार्मिक पर्यटकहरुका लागि समेत आकर्षक गन्तव्य स्थल बन्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मी बताउनुहुन्छ। मुक्तिनाथ प्रबेश द्धारको रुपमा रहेको म्याग्दी सदरमुकाम बेनी बजारको नजिकै ३ किमी दुरीमा पर्ने गलेश्वर धाम नेपालकै दोस्रो पशुपतिनाथका नामले परिचित छ। त्यसैगरी ऐतिहाँसिक पुलस्त्य आश्रम,रिखार,बेनी शिवालय,लक्ष्मीनारायण मन्दिर,बरको रुख,महारानीथान,बौद्ध गुम्बा,मालिकाथान,जगन्नाथ मन्दिर,ढोलठान,भगवति मन्दिर,ताकमकोट,ज्यामरुककोट, खोप्राको खरीबराह ताल,पुन मगरहरुको करवाकेली मन्दिर यहाँका प्रमुख धार्मिक एवम् ऐतिहाँसिक स्थलहरु हुन्।

समृद्धिका आधारः पर्यटन, जलविद्युत र खनिज

म्याग्दी जिल्लालाई प्रकृतिले यति धेरै सम्पदाहरु प्रदान गरेको छ कि त्यसको उपयोग मात्र गर्न सक्ने हो भने जिल्लाको समृद्धिका लागि प्रदेश वा संघीय सरकार र दातृ निकायको मुख ताक्नु पर्ने कुनै आवश्यकता छैन। यहाँको जल,जमिन,जंगल र जनताको सहिरुपमा प्रयोग र परिचालन गर्न सक्ने हो भने म्याग्दीलाई देशकै ‘आत्मनिर्भर जिल्ला’ बनाउन सकिने इतिहाँसकार एवम् म्याग्दीको भूगोलका जानकार कर्ण बानियाँ बताउनुहुन्छ।

म्याग्दीमा रहेका पर्यटकीय स्थलहरुलाई व्यवस्थित र समयानुकुल गराउँदै पूर्वाधारहरु विस्तार गर्न सक्ने हो भने यहाँ वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने संभावना रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् स्थानीय व्यवसायी÷समाजसेवी प्रमोद श्रेष्ठले बताउनुहुन्छ।

त्यसैगरी जलविद्युतको क्षेत्रमा म्याग्दी प्रशस्त संभावना भएको जिल्ला हो। यहाँका खोला तथा नदीहरुबाट १ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको विज्ञहरुले बताएका छन्। हाल अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङ गाउँमा मात्रै साना र ठूलागरी  १ सय ५७ मेगावाटका ५ वटा जलविद्युत आयोजनाहरु संचालन भैरहेका छन्।

त्यसैगरी खनिज स्रोतहरुमा पनि म्याग्दी धनी जिल्ला हो। यहाँ तामा,शिलाजित,अभ्रख,छाउने ढुङ्गा,खरीढुङ्गा र कालिगण्डकीको किनारमा सुन जस्ता खनिजहरु पाइन्छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.