मर्दी काखमा चिया काकाको न्यायो आतिथ्यता


मर्दी हिमाल भ्युप्वाइन्ट, १६ मंसिर

भिरालो ठाउँ। चिसो हावा। उत्ततर अनि पूर्वतिर ठ्याक्कै अगाडि हिमाल। बिहान ५.३० बजे डाँडाबाट सूर्य झुल्कँदै गरेको दृश्य। दक्षिणतिर डम्प बादलमाथि सूर्यको किरण पोतिएको। जहाँबाट यस्तो दृश्य देखियो त्यहाँ पर्यटक रमाइरहका थिए।

यो मर्दी हिमालको भ्यु प्वाइन्ट। जहाँबाट उत्तरतर्फ मर्दी र दक्षिणतर्फ माछापुच्छे« हिमाल छ। बिहान सूर्योदयको दृश्य हेर्न पर्यटकहरु हाइक्यापबाट बिहान ३–४ बजे नै हिँडेर भ्यु प्वाइन्ट आइपुग्छन्। ४ हजार १ सय मिटर उचाइको भ्यु प्वाइन्टबाट देखिने दृश्यले जोकोहीलाई लोभ्याउँछ।

साह्रै चिसो ठाउँमा पर्यटकलाई चिया काकाको सर्भिसले ठूलो राहत दिन्छ। चिया काका अर्थात टंकप्रसाद गौतम। त्यहाँ पुग्ने पर्यटकले उनलाई काका भनेर सम्बोधन गर्छन्। गौतमले पर्यटकलाई तातो चिया अनि बिस्कुट बेच्ने मात्र गर्दैनन्, कसैलाई समस्या पर्‍यो भने सहयोग पनि गर्छन्।

‘यस्तो चिसो ठाउँमा जाडोले कठ्याङग्रिएको बेला तातो चिया पाउनु भनेको भाग्य हो,’ ललितपुर कुपन्डोलबाट त्यहाँ पुगेका सुविन पन्तले भने, ‘फोटो खिच्दा समेत हात ठिहिर्‍याएको बेला आगो ताप्दै चिया पिउन पाउनुको मज्जा बेग्लै छ।’ मान्छे हिँडेर आउन गाह्रो भएको ठाउँमा यस्तो सेवा दिँदा काकालाई आशीर्वाद पनि लाग्ने पन्तले सुनाए। ‘मान्छे हिँडेर आउन गाह्रो छ, तलबाट पानी बोकेर ल्याएर चिया पकाएर दिनु सानो काम होइन्,’ उनले भने, ‘अनकन्टार ठाउँमा यस्तो सेवा दिनु निकै प्रसंशनीय काम हो।’

माछापुच्छे« गाउँपालिका–९ सिदिङ घर भएका गौतमले त्यहाँ छाप्रो बनाएर सेवा दिँदै आएका छन्। ४२ वर्षीय गौतमले आफ्नो उर्वर उमेर विदेशमै वित्ताएर गलत गरेको सुनाए। ‘दुवै कतार गरेर मैले १७ वर्ष विदेशमा बिताए,’ उनले चिया गिलासमा हाल्दै भने, ‘अहिले यहाँ काम थालेको १ वर्ष भयो।’ परिवारबाट टाढा भएर विदेशी मुलुकमा धन कमाउने आफ्नो ऊर्जाशील समय गुमाएको चिन्ता व्यक्त गरे गौतमले। ‘पैसा कमाउन गएको थिएँ तर सोचे जस्तो भएन,’ उनले भने, ‘विदेशमा महिनाको २५÷३० हजार मुस्किलले कमाउँथे तर यहाँ सिजनको बेला ७०–८० हजार कमाउँछु।’

पर्यटकलाई उनले चिया बिस्कुट र चक्लेट बेच्छन्। पहिला यस क्षेत्रमा गोठ  रहेको गौतमले सुनाए। ‘पहिला भेडाब्राखा, भैसी पाल्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले पर्यटकको केन्द्र बनेको छ।’ एक वर्षअघि भ्यु प्वाइन्टमा एउटा छाप्रो बनाएर चिया बेच्न सुरु गरेको गौतमले बताए। ‘एक्यापसँग अनुमति लिएर ३० हजार खर्चेर छाप्रो बनाएको हुँ,’ उनले छाप्रो देखाउँदै भने, ‘बिहान ४ बजे हाइक्यापबाट उठेर आउँछु।’

गौतमले दिनमा २५÷३० लिटर पानी बोकेर म्यु प्वाइन्ट आउने गरेको सुनाए। ‘पानीको साहै्र दुख छ बोकेर ल्याएर मात्र हँुदैन पानी जमेको हुन्छ,’ उनले भने, ‘बिहानदेखि दिउँसोको ३ बजेसम्म मात्र म बस्छु त्यस पछि बस्न सकिँदैन।’ ५ महिनाको सिजनमा राम्रो व्यपार हुने गौतमले जानकारी दिए। ‘सिजनमा एक दिनमा ६० देखि ७० कप चिया बिक्छ,’ उनले भने, ‘एक कप चियाको १ सयदेखि डेढ सयसम्म लिन्छु।’

आफ्नै देशमा काम गरेर कमाउन पाउँदा गौतमले दिनभरको थकान भुल्ने गरेको अनुभव सुनाए। ‘विदेशमा घाम खाएर पैसा कमाउनुभन्दा यहाँ हिमालको चिसो हावा खाएर पर्यटकको आशीर्वादसहितको पैसा कमाउनु आकाश जमिनको फरक छ,’ उनले भने, ‘आजसम्म कुनै पर्यटकले गुनासो गरेका छैनन्, उनीहरु यहाँ आउँदाको दुख्ख देखेर नै मलाई प्रेमपूर्वक खाएको पैसा दिन्छन्, मेरो फोटो पनि खिचेर लान्छन्।’

३ हजार ९ सय मिटर हाइक क्यापबाट गौतम बिहान ४ बजे पानी बोकेर भ्युप्वाइन्ट पुग्छन्। ‘सधै हिँड्ने भएर होला मलाई हाइक्यापबाट यहाँ आइपुग्न १ देखि डेढ घण्टा मात्र लाग्छ,’ उनले भने, ‘पर्यटकहरुको भने हिँडाइमा भर पर्छ सामान्य तय २ देखि साढे २ घण्टामा आउँछन्।’

त्यस्तो ठाउँमा सेवा दिनु पर्यटकका लागि निकै महत्वपूर्ण कुरा रहेको घलेलका राम गुरुङले बताए। ‘हाइक्यामबाट भ्यु प्वाइन्टसम्म कुनै पनि होटल या घर छैन,’ उनले भने, ‘त्यतिमाथि सेवा दिनु भनेको ठूलो योगदान हो।’ भ्यु प्वाइन्टमा सेवा पाइन्छ भन्ने थाहा पाएको हुनाले पर्यटकले सुरक्षाको समेत अनुभूति गरेको उनले सुनाए। ‘त्यस्तो ठाउँमा भोलि केही भयो भने त्यहाँ मान्छे छ भन्ने त हुन्छ,’ उनले भने, ‘पर्यटनका लागि त्यो आवश्यक पनि छ।’

त्यहाँ पुगेर फोटो खिचाइरहेका सप्तरीका सन्दीपकुमार झाले एउटा हातमा चिया लिँदै गौतमको प्रशंसा गर्दै थिए। ‘काका तपाईं त हाम्रो लागि भगवान जस्तै हो,’ उनले ओठ कमाउँदै भने, ‘म त चिसोले सकिन्छु कि जस्तो लागेको थियो।’ झाले यति उचाइमा यसरी चिया बिस्कुट खान पाइन्छ भन्ने कल्पनासमेत नगरेको सुनाए। ‘कहाँ यस्तो ठाउँमा चिया खाएर हिमाल हेर्न पाउनु त भाग्यको कुरा हो नि,’ उनले भने, ‘त्यसै माथि छाप्रो भित्र आगो तापेर बस्दा त आनन्द हुन्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.