भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ।
सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए ।
बिहान काष्ठमण्डपमा नेपाल पर्यटन बोर्डका प्रमूख कार्यकारी अधिकृत दीपकराज जोशीले साइकल चलाएर राइड काष्ठमण्डप टु खोकनाको शुभारम्भ गरेका थिए। बरिष्ठ पर्यटन व्यवसायी अमर शाहीले सिठी फुकेपछि जोशीले साइकल चलाएका हुन्।
साइकल जात्रामा सहभागिहरू काष्ठमण्डपबाट बल्खु, चोभार, फर्पिङ पावर हावस, बुङ्मती हुँदै खोकना पुगेका थिए। काष्ठमण्डपदेखि खोकनासम्म २० किलोमिटरमा उनीहरुले साइकल चलाए ।
खोकनामा साइकलेहरुको भीडले जात्राको झल्को दियो। त्यहाँ नेवार पहिरन हाकु पटासीमा सजिएका महिलाले साइकलेलाई फूल र टिकाले स्वागत गरेका थिए। रातो मुकुण्डो लगाएका लाखेहरू सडकमा नाच्दा रमाइलो भएको थियो।
खोकनाबासीले साइकलेहरुलाई नेवारी भोजले स्वागत गरे। भोज खानु अघि कतिपय लोकल भट्टि र योमरी पसलमा रमाए । त्यतिमात्र होइन, सिकाली व्याण्डका सांगितिक धुनले सबैलाई मन्त्र मुग्ध बनायो ।
‘हामी सधै पर्यटकलाई स्वागत गर्न तयार छौं’, आयोजक समितिका अध्यक्ष श्याम महर्जन भन्छन्, ‘खोकनामा होमस्टे गराउने हाम्रो योजना छ।’
१२ वैशाख २०७२ को भुइँचालोले क्षति पुगेका सम्पदाहरु काष्ठमण्डप, बुङमती र खोकनाको पुनःनिर्माणमा हातेमालो गर्दै पर्यटन विकासमा टेवा पुर्याउन त्यही वर्षको साउनमा पहिलोपटक राइड काष्ठमण्डप टु खोकना गरिएको थियो । शनिबार तेस्रो पटक आयोजना गरिएको हो ।
मेलामा विश्व साइकल यात्री पुष्कर शाह पनि सहभागि थिए। यो साइक्लिङ रुट स्वदेशी तथा विदेशीका लागि उपयोगी हुने देखिएको छ।
साइक्लिङको प्राविधिक पक्ष देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदिप पौड्याल र गोपाल श्रेष्ठले सम्हालेका थिए। साइक्लिङ आयोजना गर्न नेपाल पर्यटन बोर्ड, रैका ट्राभल्स, हिमालयन म्याप हाउस, लायन्स क्लब अफ नेपाल गौरिशंकर, नेपाल माउण्टेन बाइक टुर्स लगायतले संस्थाले सहयोग पुर्याएका थिए ।
साइक्लिङका आयोजक हौसिएका छन् । गाउँलेहरु खुशी छन् । ‘हामी हरेक वर्ष भदौको पहिलो शनिबार ‘राइड काष्ठमण्डप टु खोकना’ आयोजना गर्नेछौं’, कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यले भने, ‘प्रकृति, संस्कृति र इतिहासको त्रिबेणीधाम खोकनामा साइकल चलाउँदा गज्जब अनुभव हुन्छ।’
यो कार्यक्रमले खोकनाको ऐतिहासिक, सांस्कृतिक पर्यटन पर्वर्धन गर्न साइकलेहरूलाई एउटा माध्यम बनाएको शाक्यले बताए। ‘यो एउटा माध्यम हो। विदेशी पर्यटकहरू पनि साइक्लिङमा ऐतिहासिक सहर खोकना आउनलाई सहज हुन्छ,’ उनले भने।
यस्ता कार्यक्रमले विदेशीहरू साइकल चढेर विदेशी पर्यटकहरू खोकना आउने भएकाले यसबाट पर्यटनमा टेवा पुग्ने वरिष्ट साइक्लिस्ट रञ्जन राजभण्डारीले बताए।
पर्यटन पर्वर्धनसँगै भूकम्प पछि तहसनहस बनेको खोकनालाई एउटा पर्यटकीय सहर बनाउन साइकलको माध्यमबाट सुरू गरेको खोकना पुनः निर्माण तथा पुनःस्र्थापना समिति श्याम महर्जनले बताए।