नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा धाँधली भएको आरोप लागेको छ।
अध्यक्षका पराजित उम्मेद्वार जिङ्बाजाङ्बु शेर्पाले भोट हाल्न नआएका संघका साधारण सदस्यहरुको फर्जी परिचयपत्र बनाएर भोटिङ गराएको दावी गर्दै फर्जी परिचय पत्र वितरणबारे सिसिटिभी फुटेजसमेत सार्वजनिक गरेका छन्।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शेर्पाले निर्वाचनमा धाँधली गर्न कार्यालयसमयदेखि अन्य समयमा कार्यलय खोलेर गैरसदस्यलाई संघको परिचय पत्र वितरण गरिएको दाबी गरेको छ।
सचिवालयबाट निर्वाचन भइरहेको समयमै भोटिङ परिचयपत्र बुझेको सिसीटिभी फुटेज सार्वजनिक गर्दै शेर्पाले आफ्नो पक्षमा भोट तान्न निर्वाचन अधिकृत र केही कर्मचारी लागिपरेको आरोप लगाएका छन्।
शनिबारको चुनावबाट ३८३ मतका साथ अध्यक्षमा एमाले निकट सन्तवीर लामा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस निकट शेर्पाले ३१६ मत प्राप्त गरका थिए।
निर्वाचनमा धाँधली गर्न यसअघिका एनएमएका कोषाध्यक्ष तथा सचिव पदका प्रत्यासी टिकाराम गुरुङको प्रत्यक्ष संलग्नता देखिएको भिडियो फुटेजमा देखिएको छ।
‘संघका कर्मचारी र सिसिटिभी फुटेजमा देखिएका ब्यक्तिहरुले निर्वाचनमा हामीलाई हराउने प्रपन्च रचेका छन्’ शेर्पाले भने,’कर्मचारीलाई पनि आथिर्क प्रलोभन दिएर यो काममा लगाइएको छ। फुटेजमा हेर्नुहोस् न पैसा पनि बाढीरहेका छन्।’
अध्यक्षका प्रत्यासी शेर्पाले निर्वाचनमा दूषित मनसायबाट प्रेरित भई कुनै व्यक्ति/समूह विशेषलाई जिताउने अभिप्रायबाट निर्वाचन गैरकानूनीरुपमा भएको पाइएकाले कानूनी उपचारका लागि प्रक्रिया अघि बढाइएको बताए।
पुनः निर्वाचन गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएको र प्रशासनबाट उचित निर्णय नआए कानूनी उपचारका लागि अदालत जाने जनाएको छ ।
शेर्पाले निर्वाचनको मतदान चलिरहेका बेला संघको कार्यालय खोली फर्जी परिचयपत्र बनाएर मतदान गराउने कार्यमा संघकै कर्मचारी र अनुगमनका लागि खटिएका एक सरकारी अधिकारी पनि संलग्न भएको पाइएको बताए । यद्यपि, ती कर्मचारीको नाम खुलाइएको छैन ।
पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरणअनुसार संघका पूर्व कोषाध्यक्षसमेत रहेका सचिवका प्रत्यासी टीकाराम गुरुङले उम्मेदवारको परिचयपत्रसहित मतदानका बेला दिउँसो २ बजेतिर संघको कार्यालय खोली नक्कली परिचयपत्र बनाई पैसासमेत दिएको पाइएको छ। त्यस कार्यमा संघका एक सहायक कर्मचारी पनि संलग्न रहेको देखिएको छ ।
उनले निर्वाचनकै समयमा आफूहरूले केही गैरसदस्य मतदाताले मतदाता परिचपत्र लिएर आएको भेटाएपछि निर्वाचन समितिलाई बुझाउँदैं त्यसलाई जफत समत गरेको बताए।
‘समितिले गैरसदस्यले मत हालेको प्रतिवेदन दिएको छ। सिसिटिभी फुटेजमा पनि यो स्पष्ट देखिन्छ’ शेर्पाले भने।
शेर्पाले मंगलबार निकालेको प्रेश विज्ञप्तियस्तै वर्तमान अध्यक्ष सन्तबिर लामाले आफूहरूको टिमले कुनै पनि त्यस्तो धाँधली र गैर कानुनी काम नगरको स्पष्ट पारे।
‘आधिकारिक मान्छे भित्र नगए को जान्छ त?, यदि गलत नै गर्ने नियत भएको भए सिसिटिभिको अगाडि गएर किन कार्ड छानीछानी लान्छ त?,’ सेतोपाटीसँग कुरा गर्दै लामाले भने, ‘उसले कार्डको सय रूपैयाँ पनि तिरेको छ। उसले एकदम आधिकारीक काम गरेको छ। यो सबै चुनाव हारेपछिको गलत नियत मात्र हो।’
कुनै पनि व्यक्ति निर्वाचनको बेला आउँछ उसँग कार्ड हुन्न तर के भोट नै नदिइ जाने त होइन नि,’ उनले भने,‘कार्ड दिने एनएमएको कर्मचारीको कर्तब्य थियो र उनले छुटेका साथीहरुको कार्ड ल्याएर दिएका हुन्। यसमा आपत्ती मान्नु पर्ने कुनै कुरा छैन।
उनले कार्यकालयको सिसिटिभी नियतबस खोलेको भन्दै आरोप समेत लगाए। ‘सिसिटिभी किन खोलियो। सिसिटिभि खोल्नका लागि ठूलो घटना वा दुर्घटना भएको हुनुपर्थ्यो। त्यस्तो केही भएको थिएन। अहिलेको चुनाव हामीले गरेको हो। यसमा सबै अधिकार हाम्रो हुन्छ,’ उनले भने।
यो सामान्य विषयलाई लिएर पर्यटन उद्योगमै उदाङ्ग रुपमा प्रस्तुत हुनु केवल हार मानसिकता बोकेकोहरुको असामान्य पराकस्ट मात्र भएको लामाले बताए। उनले यो विषयलाई थप प्रष्ट पार्न भोलि पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी समेत गराए। ‘मैले र मेरो समूहले आवश्यकता परेको खण्डमा कानुनी रूपमा विधिवत तरिकालेसमेत मुकाविला र लड्न तयार छौ। हामी गलत छैनौ,’ लामाले भने।
यसैबीच एनएमएका निवर्तमान कोषाध्यक्ष एवम् निर्वाचित सचिव टीका गुरूङले कार्यालयमा गएर मतदाताले मतदान गर्न पाउने अधिकार स्वरुप केही साधारण सदस्य साथीहरुको कार्ड ल्याएको भन्दै यसमा आपत्ति मान्न नहुने बताए। ‘कार्ड दिने एन एम ए को
कर्मचारीको कर्तब्य थियो र मैले मेरो साथीहरुको कार्ड ल्याउनु म र मेरो साथीहरुको नैसर्गिक चुनाबी अधिकारको कुरा हो,’ उनले भनेका छन्।हेर्नुहोस् उनले फेसबुकमा लेखेको स्टाटस हेर्नुहोस् सिसिटिभी फुटेजमाhttps://www.youtube.com/watch?v=PxRj3E904-w&feature=youtu.be