झट्ट हेर्दा २६ वर्षकी जस्ती देखिने रामदेवी महर्जनले जीवनका चालीस वसञ्त छिचोलिसकिन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ । तर, सत्य यही हो कि उचित आहार, विहार र विचारले उनी तन्दुरुस्त छिन् । उनले जन्मदिनको अबसर पारेर शनिबार घुमन्तेका लागि एउटा सुन्दर पुस्तक पस्केकी छिन्–‘हाइकिङ काठमाडौं ।’
नेपाल पर्यटन बोर्डको हलमा खचाखच (हल बाहिर पनि भिड थियो) दर्शक माझ जब मञ्चमा उनको पुस्तक विमोचन भयो तब दर्शकले कर्तल ध्वनीले स्वागत त्यसको गरे । फलस्वरुप कार्यक्रमस्थलमै २५० भन्दा बढी पुस्तक विक्रि भयो । पुस्तकको सबै ३२० पेज नै रंगीन छन् । यसमा काठमाडौं सेरोफेरोका ६४ वटा हाइकिङ रुट, एक दर्जन होमस्टे र स्वास्थ्यको जानकारी दिइएको छ ।
पाठकको उत्साह देखेर प्रकाशक हिमालयन म्याप हाउस पनि हौसिएको छ किनकि यो नै उसले प्रकाशन गरेको पहिलो नेपाली पर्यटन पुस्तक हो । हिमालयन म्याप हाउस पर्यटकका लागि पर्यटन गन्तव्यका नक्शा, गाइड बुक र कोसेली उत्पादन गर्दै आएको अगुवा कम्पनी हो । हाइकिङ काठमाडौंको अंग्रेजी संस्करण समेत प्रकाशन गर्ने तयारी भैरहेको म्याप हाउसका निर्देशक पवन शाक्यले जानकारी दिए ।
रंगीन पुस्तक देखेर गद्गद् भएका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले त ‘हाइकिङ काठमाडौं’को एउटा संस्करण प्रकाशन गरेर वितरण गर्ने घोषणा नै गरे । ‘हाइकिङ कल्चरको राम्रो विकास भैरहेको अबस्थामा यतिको राम्रो पुस्तक आउनु सुखद खबर हो’, जोशीले मञ्चमा सबैका सामु भने, ‘यसले हाइकिङ पुस्तकको अभाव पूर्ति गरेको छ ।’
आफ्नी चेलीको पुस्तक प्रकाशन भएको खुशीमा प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठ पनि धपक्कै बलेका थिए । ‘यो पुस्तकले स्वस्थ र मर्यादित रुपमा हाइकिङ गर्न सिकाउँछ’, उनले सिइओ जोशीतिर हेर्दै भने, ‘आगामी दिनमा पर्यटन बोर्डको नजर हाइकिङ पर्यटन प्रवद्र्धनमा पनि जाने आशा गरेका छौं ।’
बरोबर राष्ट्रिय दैनिक र अनलाइन पत्रिकामा स्वास्थ्य र हाइकिङका विषयमा कलम चलाउँदै आएकी महर्जनले पुस्तक प्रकाशन गर्नुको कारण खुलाईन्, ‘कतिपयले मनपरी ढंगले हाइकिङ गरेको देखिन्छ । स्वास्थ्यका लागि गरिने हाइकिङ स्वास्थ्यबर्धक हुनु पर्छ । त्यसैले स्वस्थ पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउन यो पुस्तक लेखेकी हुँ ।’
कार्यक्रममा समूहका अध्यक्ष रमेश चित्रकार, उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, पर्यटन पत्रकार अमृत भादगाउँलेले ‘हाइकिङ काठमाडौं’ पुस्तकले हाइकिङ जागरण र हाइकिङ प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने भन्दै रामदेवीलाई शुभकामना दिएका थिए ।
यो पुस्तक हाइकर्सका लागि मात्र उपहार होइन । यसले साइक्लिङ, बाइकिङ, ड्राइभिङ गरेर घुमफिर गर्ने गन्तव्यको चिनारी दिएकाले सबैका लागि उपयोगी हुने विश्वास गरिएको छ ।
विमोचनमा देखिएको उत्साहले पुस्तक लेखक महर्जन पनि उत्साहित छिन् । भबिश्यमा उनले यो पुस्तकमा सय वटा रुट समाबेश गर्ने योजना बनाएकी छिन् । विमोचन कार्यक्रम एक घन्टा चलेको थियो । त्यसपछि करिब डेढ घन्टा समय उनले पुस्तक हस्ताक्षर र पत्रकारसँगको अन्तवार्तामा विताएकी थिइन्।
पुस्तकको मूल्य ७०० रूपैयाँ राखिएको छ। उपत्यकाका विभिन्न पुस्तक पसलमा किताब उपलब्ध हुने प्रकाशन हिमालयन म्याप हाउसले जानकारी दिएको छ।