मोनोरेल सञ्चालन काठमाडौंमा यसरी सम्भव छ


काठमाडौंको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन तथा सुन्दर सहर निर्माण गर्ने उद्देश्यसहित ल्याइएको मोनोरेल काठमाडौंमा सञ्चालन गर्न सम्भव रहेको एक अध्ययनले देखाएको छ।  साइमेक्स इङ्क कम्पनीले गरेको सम्भाव्यता अध्ययनले काठमाडौँमा मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको हो।   कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ। यो खबर भउचप्रसाद यादवले गोरखापत्रमा लेखेका छन्।

कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययन प्रतिवेदन मङ्गलबार बुझाए। त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत महानगरपालिकाका कर्मचारीहरूको समेत उपस्थिति थियो।

सम्भाव्यता अध्ययनका लागि काठमाडौं महानगरपालिका र सो कम्पनीबीच ८ फेब्रुअरी २०१७ मा सम्झौता भएको थियो।  साइमेक्स कम्पनीले चिनियाँ बीवाईडी कम्पनीसँग मिलेर सम्भाव्यता अध्ययन गरेको थियो।  चार महिना लगाएर तयार पारिएको सम्भाव्यता अध्ययनमा जर्मनी र बेलायतका विज्ञहरूको समेत संलग्नता थियो।

अन्य मुलुकको तुलनामा काठमाडौंमा मोनोरेल सञ्चालन सहज रहेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा तिलगङ्गादेखि कलङ्कीसम्म मोनोरेल सञ्चालन गर्न तथा यसबीचमा १४ वटा स्टेसनको प्रस्तावसमेत गरिएको छ।

तिलगङ्गादेखि कलङ्कीसम्मको दूरी १० किलोमिटर छ। प्रतिवेदनमा गौशाला, एअरपोर्ट, सिनामङ्गल, तीनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, टेकु–१, टेकु–२, सोल्टीमोड, मिड कलङ्की,  कलङ्की, शहीद गेट र थापाथली चोकलाई स्टेसनका रूपमा प्रस्ताव गरिएको छ।

कम्पनीका अध्यक्ष पाण्डेले १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्नसक्ने बताए।  मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्नसक्ने प्रतिवेदनमा उल्लेख छ।  एउटा रेलमा दुई सयजना यात्रु अट्नसक्ने आठवटासम्म बोगी (डब्बा) जोड्न सकिने उनले बताए। तर, साँघुरो भौगोलिक अवस्थाका कारण काठमाडौंमा सञ्चालन हुने मोनोरेलमा मात्र तीनवटा बोगी (डब्बा) जोड्न सकिने प्रतिवेदनमा जनाइएको छ।

त्यसैगरी प्रतिवेदनमा अन्य पाँचवटा रुटको समेत प्रस्ताव गरिएको छ।  पहिलो रुटमा सातदोबाटो–लगनखेल–पुल्चोक–हरिहर भवन–त्रिपुरेश्वर–शहीद गेट–रत्नपार्क–नारायणहिटी दरबार–लाजिम्पाट–नारायणगोपाल चोकसम्मलाई प्रतिवेदनमा प्रस्ताव गरिएको छ।  यो रूटको दूरी १२ दशमलव दुई किलोमिटर छ। त्यसैगरी ११ दशमलव दुई किलोमिटर लम्बाइ रहेको कीर्तिपुर–कलङ्की–रविभवन–कालीमाटी–त्रिपुरेश्वर–माइतीघर–नयाँ बानेश्वर–तीनकुने–एअरपोर्टसम्मलाई दोस्रो रूटको रूपमा प्रस्ताव गरिएको छ।

तेस्रो रुटको रूपमा कोटेश्वर–तीनकुने–सिनामङ्गल–चाबहिल–धुम्बाराही–नारायणगोपाल चोक–तिलिङ्टार–गोँगबु–बालाजु–स्वयम्भू–सीतापाइला चोक–कलङ्की–बल्खु–धोबीघाट–एकान्तकुना–सातदोबाटो–ग्वार्को–कोटेश्वरको प्रस्ताव गरिएको छ।  यो रुटको लम्बाइ २८ दशमलव ५३ किलोमिटर छ।

त्यसैगरी स्वयम्भू–छाउनी–रत्नपार्क–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–चाबहिल–बौद्धलाई चौथो रूटका रूपमा तथा धोबीघाट–पुल्चोक–पाटन दरबार–माइतीघर–सिंहदरबार–डिल्लीबजार–टङ्गाल–नारायणहिटी–नयाँबजार–गोँगबुलाई पाँचौँ रुटका रूपमा प्रस्ताव गरिएको छ।  यी रुटको दूरी क्रमशः ११ दशमलव ७० र १३ दशमलव ८० किलोमिटर छ।

राजधानीको ट्राफिक अस्तव्यस्तता हटाउन, सवारी दुर्घटनाको सङ्ख्या घटाउन, हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन, ध्वनि प्रदूषण न्यून गर्न तथा हावाको शुद्धता बढाउन, पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न, समग्र उत्पादनमा बृद्धि ल्याउन मोनोरेलको आवश्यकता प्रतिवेदनमा औँल्याइएको छ।

यस विद्युतीय मोनोरेलमा १० किलोमिटरसम्म ब्याट्री ब्याकअप रहेको छ।  कुनै कारण विद्युत् आपूर्ति रोकिएको अवस्थामा पनि ब्याट्री ब्याकअपबाट यो रेल १० किलोमिटरसम्म गुड्न सक्छ।  आधुनिक प्रविधिबाट बनाइएको यो मोनोरेल चीनका विभिन्न सहरमा प्रयोगमा आइसकेको छ।  एउटा बोगी  (डिब्बा) मा दुई सय जनासम्मले यात्रा गर्ने क्षमता भएको यो मोनोरेल प्रतिघन्टा ३० देखि ८० किलोमिटरसम्म गुड्ने साइमेक्स इङ्कले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.