प्रतिस्पर्धामा उत्रिन नसकेपछि ग्रामीण भेगमा बस नचलाउने धम्की


काठमाडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई अरनिको राजमार्गमा चल्न नदिन कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले आन्दोलन घोषणा गरेको समाचार नागरिक दैनिकले छापेको छ।

समाचारका अनुसार मयुर बस सेवा सञ्चालनमा आएपछि प्रतिस्पर्धामा उत्रन नसकेर अत्तालिएका कोटेश्वर पूर्वका व्यवसायीहरुले लगातार दुई सातासम्म केही न केही तरिकाले मयुरलाई अवरोध पु-याइ रहे। तर, मयुर यातायातले जस्तोसुकै परिस्थितिमा पनि सेवा सञ्चालन गर्दै चैत १ गतदेखि यसले २४ वटा सुविधा सम्पन्न बसमार्फत चक्रपथको दायाँ र बायाँ परिक्रमा गर्दै कोटेश्वर हुँदै बनेपाभेगका यात्रुलाई सुविधा दिँदै आएको छ।

आम बनेपालीको समर्थन र यात्रुको रोजाइ मयुर हुन थालेपछि अत्तालिएका अन्य व्यवसायीले अन्तिम अस्त्रको रुपमा मयुरको बाटो इजाजत पत्र (रुट परमिट) खारेज नगरेमा ग्रामीण भेगमा बस सेवा सञ्चालन नगर्ने भन्दै सरकारलाई नै धम्क्याउन थालेका छन्।

कोटेश्वर पूर्वका १४ वटा यातायात व्यवसायी समितिहरुले मयुरको काठमाडौं–बनेपा रुट परमिट खारेज नगरे आइतबारदेखि ग्रामीण भेगमा सञ्चालित बस सेवा अनिश्चितकालीन बन्द गर्ने र कोटेश्वर पूर्वको यातायात सेवा चैत २१ गतेबाट बन्द गर्ने धम्की दिएका छन्। काभ्रे मिनिबस, काभ्रे बस र भक्तपुर मिनिबसले ग्रामीण भेगमा सञ्चालन गर्दै आएको यातायात सेवा चैत १८ गतेबाटै बन्द गर्ने भन्दै काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडालाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

‘उपभोक्ता हित संरक्षण ऐन, प्रतिस्पर्धा ऐन र मुलुकी ऐनले बन्देज लगाएको सिन्डिकेटलाई सर्वोच्च अदालतले समेत खारेज गरिसकेको अवस्था छ। समिति या कुनै पनि समूहको नाममा प्रतिस्पर्धी सेवा प्रदायकलाई आउन दिँदैनौ भनेर सिन्डिकेट लाद्न पाइन्न’, प्रजिअ सिम्खडाले भने, ‘स्वच्छ प्रतिस्पर्धामा सरकारले तोकेको भाडादरमा यात्रुलाई सुविधा दिनु पर्छ। समयानुकूल सेवा दिन आउनेलाई कुनै पनि बहानामा रोक्न खोज्नेलाई कानुनअनुसार कारबाही हुन्छ’, उनले थपे।

कोटेश्वर पूर्व यातायात समन्वय समितिका नाममा विभिन्न १४ वटा समितिहरुले अरनिको राजमार्ग र सहायक मार्गहरुमा वर्षौंदेखि एकाधिकार जमाउँदै आएको पनि प्रकाशित समाचारमा उल्लेख छ। यी यातायात व्यवसायीहरुले कम्पनीमा दर्ता भएर आएकालाई मात्रै नभई आफूहरुकै समन्वय समितिमा रहेका व्यवसायीलाई समेत सेवा विस्तारमा अवरोध गर्दै आएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.