(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
तपाईं नाइट क्लब जानुभएको छ?
छ भने उफ्रिँदै, चिच्याउँदै गीतको तालमा झुम्नुभएकै होला।
नाइट क्लबको विशेषता नै यही; त्यहाँ कोही पनि शान्त भएर बस्न सक्दैन। गीतको तरंग कानको बाटो हुँदै दिमागमा पसेपछि शरीर आफ-से-आफ झुम्न थालिहाल्छ।
फरक यत्ति हो; कसैको शरीर कम झुम्छ, कसैको बढी। कोही शान्त भएर हल्लिन्छन् मात्र, कोही चिच्याउँदै उफ्रिन्छन् पनि।
यसरी तपाईंको मन-मस्तिष्कलाई संगीतको तरंगभित्र कैद गर्ने काम गर्छन्, नाइट क्लबका डिजेहरूले।
तिनैमध्ये एक हुन् — विनिता घले गुरूङ।
नौ वर्षदेखि यो काम गर्दै आएकी विनिता नाइट क्लब पारखीमाझ 'डिजे नेहा' नामले प्रख्यात् छिन्। उनी बुथमा उक्लेर गीत बजाउन थालेपछि फ्लोरमा उभिएको भिड तात्तिहाल्छ। फ्लोर जति तात्तिन्छ र जति चर्को आवाज सुनिन थाल्छ, नेहा आफूलाई उति सफल र सन्तुष्ट महसुस गर्छिन्।
कोही थाकेर आराम गर्न थाले उनी माइकिङ (एमसी) गरेर फ्लोरमा उतार्छिन्। सबैलाई चिच्याउन लगाउँछिन्। हातमा ड्रिंक्स बोकेर क्लबको कुनामा चुपचाप बसेकाहरूलाई पनि फ्लोरमा आएर उफ्रिन बाध्य पार्छिन्।
करिब दुई महिनादेखि ठमेलको 'टेन-एक्स' क्लबमा डिजे गरिरहेकी नेहासँग उनको व्यक्तिगत जीवन र पेसासँग जोडिएका चुनौतीबारे हामीले लामो कुराकानी गरेका छौं।
'मान्छेहरू रातको निद्रा माया मारेर, पैसा तिरी तिरी क्लबमा आउनुको उद्देश्य आफ्ना सारा तनाव र चिन्ता भुलेर उफ्रिनलाई हो, मनोरञ्जन लिन हो। उनीहरूलाई क्लबमा छउञ्जेल चिन्ता र तनावको दुनियाँबाट तानेर फ्लोरमा ल्याउनु र मगनमस्त नचाउनु हामी डिजेहरूको जिम्मेवारी हो,' नेहाले भनिन्, 'क्लबमा आएकाहरूलाई एकछिन पनि स्थिर रहन नदिनु नै डिजेको सफलता हो।'
टेन-एक्स क्लबमा नेहासहित ६ जना डिजे छन्। सबैले पालैपालो बुथमा उक्लेर फ्लोर तताउँछन्। त्यसमा सुगन्ध थप्ने काम चाहिँ नेहाले गर्छिन्।

एउटा राम्रो डिजे बन्न नभई नहुने गुण के हो त?
हाम्रो यो प्रश्नमा नेहाले भनिन्, 'संगीतको ज्ञान त हुनैपर्छ, तर त्योभन्दा बढी आफूलाई त्यागेर अरूमा समाहित हुन सक्नुपर्छ। मेरो मन जतिसुकै दु:खी होस्, म लाख तनाव र चिन्ताले घेरिएको किन नहोऊँ, तर बुथमा चढेपछि आफूलाई बिर्सनुपर्छ। त्यति बेला म विनिता घले गुरूङ रहन्न। विनिताको जिन्दगीसँग जोडिएका सारा तनाव म क्लबको ढोकाबाहिरै छाडेर आउँछु र शतप्रतिशत डिजे नेहा बन्छु। त्यो मेरो निम्ति अर्कै संसार हो। यस्तो संसार, जहाँ मेरो सुख र मेरो दु:खको कुनै अर्थ छैन। जहाँ म अरूलाई खुसी पार्न उभिएको हुँ, अरूलाई तनाव र चिन्ताबाट मुक्त पार्न उभिएको हुँ।'
उनका अनुसार एउटा डिजेले बुथमा पाइला टेकेपछि ४० देखि ५० मिनेट टिक्नुपर्छ। त्यो ४०-५० मिनेट उनीहरू यस्तरी एकोहोरिन्छन्, मानौं जिन्दगीकै अन्तिम ४०-५० मिनेट हो। जसरी भिक्षुहरू मन्त्र जप्दै सारा संसार भुलेर ध्यानमा एकोहोरिन्छन्, डिजेहरूको निम्ति त्यो समय ध्यान गरेजस्तै हो।
अर्को कुरा, डिजेले क्लबमा आउने मान्छेहरूको मुड बुझ्नुपर्छ। कोही पनि गम्भीर गीत सुनेर भावुक हुँदै आँशु बगाउन क्लब आउँदैन। त्यस्ता मान्छे धुम्धुम्ती घरमा एक्लै बस्छन्। क्लब आउनेहरूको मनसाय उफ्रिनु नै हो। मनको दु:खलाई पसिनासँगै फ्लोरमा बगाउने नै हो। डिजेले यही कुरा ध्यानमा राखेर गीत छान्नुपर्ने नेहा बताउँछिन्।
यसका लागि डिजेले दुइटा कुरा विचार गर्नुपर्छ —
पहिलो, फ्लोरमा जम्मा भएकाहरू कुन उमेर समूहका छन् र कस्ता खालका मान्छे बढी छन्?
दोस्रो, उनीहरू गीतमा रमाइरहेका छन् कि छैनन्?
क्लबमा सधैं उस्तै खालका मान्छे आउँदैनन्। कुनै दिन भर्खर प्लस-टू पढ्दै गरेका वा भर्खरै सकेका युवायुवती बढी आएका हुन्छन्। कुनै दिन परिवारका सदस्य बढी हुन्छन्। कुनै दिन अधवैंशे महिला-पुरूष बढी आउँछन् भने कुनै दिन तन्नेरीहरू। यी सबैको रूचि र गीति छनौट फरक-फरक हुन्छ। प्लस-टू पढ्नेलाई मनपर्ने गीत पारिवारिक जमघटमा मेल खाँदैन। तन्नेरीहरूको रूचि अधवैंशेभन्दा फरक हुन्छ। डिजेले भिडको नाडी छामेर गीतको डिस्क घुमाउनुपर्छ। जसले सही नाडी छाम्यो, ऊ हिट!
एउटै उमेर समूहमा पनि कहिलेकाहीँ एकै खालको गीतले काम गर्दैन। मान्छेहरू बोर मान्न थाले वा फ्लोरमा भिड कम हुँदै गए डिजेले तुरून्तै गीतको ताल फेर्नुपर्छ र माहोल तताउने खालको डिस्क बजाइहाल्नुपर्छ।
'डिजेका रूपमा सफल हुन तपाईंसँग जम्मा ४०-५० मिनेट हुन्छ। त्यसबीच जति बढी माहोल तताउनुभयो, तपाईं त्यति हिट,' नेहाले भनिन्, 'कुनै बेला फ्लोरबाटै गीतको फरमाइस आउँछ। जस्तो गीत भन्यो, हामी त्यस्तै बजाइदिन्छौं। ग्राहकको खुसी नै हाम्रो खुसी।'
क्लबमा सामान्यतया इलेक्ट्रोनिक डान्स म्युजिक (इडिएम), हिपअप, एफ्रो, टेकहाउस (भोकलभन्दा बढी बिट सुनिने) र टेक्नोट्रान्स गीत बढी चल्छन्। यसले क्लबमा आएकाहरूलाई शान्त बस्न नदिने र नाच्न प्रेरित गर्ने नेहाको भनाइ छ।
गीत छनौट डिजेको आफ्नै छनौट र कलामा पनि भर पर्छ। ऊ एउटै खालको संगीत लामो समय बजाइरहँदैन। फ्लोरको स्वाद फेर्न उसले डिस्क फेर्ने खुबी पनि राख्नुपर्छ। तर त्यसो भन्दैमा आफूले बजाउँदै आएको वा क्लबमा बढी चल्ने संगीत एक्कासि परिवर्तन गर्नु पनि सही हुँदैन।
'झट्ट परिवर्तन गर्दा ग्राहकको मुड खराब हुनसक्छ,' नेहाले भनिन्, 'त्यसैले माहोल बुझेर बिस्तारै बिस्तारै परिवर्तन गर्नुपर्छ।'
नेहा सामान्यतया ५० मिनेट अवधिमा तीन-चार किसिमका संगीत बजाउँछिन्। बीच-बीचमा घाँटीको नशा फुल्ने गरी चिच्याउँछिन्। त्यसपछि केही समय विश्राम लिन्छिन् र फेरि उही ऊर्जाका साथ बुथमा फिर्ता आउँछिन्।
नेहाको हरेक रात यसरी नै बित्छ।

धादिङको रूबी भ्यालीमा जन्मिएकी नेहाको बाल्यकाल भक्तपुरमा बित्यो। उनका बुबा लोकबहादुर घले गुरूङ नेपाली सेनामा थिए। आमा कान्छीमाया घरव्यवहार सम्हाल्थिन्।
लोकबहादुरको जहाँ-जहाँ सरूवा हुन्थ्यो, उनी छोराछोरी लिएर त्यहीँ जान्थे। परिवारका पाँच सन्तानमध्ये नेहा चौथो हुन्।
२०७१ सालमा एसएलसी दिएकी नेहाले कक्षा १० सम्म छात्रावास बसेर पढिन्। त्यसपछि टोखा नगरपालिकाको बानियाटारमा आमाबुबासँग बस्न थालिन्।
सेनामा रहेका बुबाको घरभित्र पनि कडा अनुशासन थियो। उनी छोराछोरीलाई नियममा बाँधेर राख्थे। त्यसैले एसएलसी दिँदासम्म नेहाले भविष्यमा के गर्ने टुंगो गरिसकेकी थिइनन्। खिद्रीमिद्री जागिर त गर्थिन्, तर करिअरबारे प्रस्ट सोच थिएन।
कक्षा ११ पढ्दै गर्दा उनी नयाँ साथीहरूसँग घुलमिल भइन्। केही साथी डिजे पनि थिए। उनले ती साथीको नाम खुलाउन चाहिनन्, तर तिनकै प्रेरणा र हौसलाले आफू यो पेसामा लागेको उनी बताउँछिन्।
'म एकदिन मेरो डिजे साथीको आग्रहमा लाजिम्पाटको पुल पार्टीमा गएको थिएँ। उसले त्यहाँ सयौं जनालाई नचाएको देखेर म छक्क परेँ। मलाई पनि यो काम गर्ने रहर लाग्यो,' उनले भनिन्।
त्यस दिन पार्टी सकेर फर्किँदा नेहाले ती साथीसँग सोधिन्, 'म पनि डिजे बन्छु। कसरी बन्ने?'
उनले थाहा पाइन्, डिजे सिक्न पैसा लाग्ने रहेछ।
उनले घरमा कुरा गरिन्।
आमाबा मानेनन्।
नेहाले आफ्नो अडान पनि छाडिनन्।
उनले खिद्रीमिद्री जागिरबाट पाँच हजार रूपैयाँ जम्मा गरेकी थिइन्। आमाबासँग जबर्जस्ती दुई हजार मागिन्। सात हजार बोकेर डिजे सिक्न बागबजारको इन्स्पायर्ड एकोडेमी पुगिन्।
उनी बिहान क्याम्पस जान्थिन्, दिउँसो डिजेको तालिम लिन्थिन्।
तालिम लिएको दुई सातामै एक जना साथीले पाटनको एउटा पुल पार्टीमा जान प्रस्ताव राखे। त्यतिञ्जेल उनले डिस्क अन-अफ गर्न, गीतको आवाज सानो-ठूलो पार्न र अलिअलि मिक्सिङ गर्न जानेकी थिइन्। यत्तिको भरमा उनी पहिलोपटक बुथमा उक्लिन्। यो नौ वर्षअघिको कुरा हो।
'त्यस दिन मैले धेरै गल्ती गरेँ। मान्छेहरूले थाहा पाए कि पाएनन् कुन्नि, तर मैले थाहा पाएँ,' नेहाले भनिन्, 'आज पनि ती गल्ती सम्झिँदा मलाई आफैसँग लाज लाग्छ। तर मान्छेले गल्ती गर्दै सिक्ने त हो! एकचोटि गल्ती हुन्छ, दुईचोटि गल्ती हुन्छ, जिन्दगीभरि त्यही गल्ती बारम्बार त भइरहँदैन नि! यही सोचाइले मभित्र हौसला भर्यो।'
त्यस दिनको पहिलो अनुभवबाट नेहाले धेरै कुरा सिक्ने मौका पाइन्। एक महिनाको आधारभूत तालिम पूरा भएपछि त उनी पूर्ण आत्मविश्वासका साथ कार्यक्रममा भाग लिन थालिन्।
घरमा रोकतोक हुन्थ्यो। कतिचोटि गाली पनि खाइन्। तर डिजे बन्ने र सयौंलाई फ्लोरमा नचाउने अठोटमा उनी लागिपरिन्।
'सुरू सुरूमा कतिपयले मलाई बच्चै रहेछ भनेर गाली गरे। अहिले त जम्मा ४८ किलोको छु भने त्यति बेला त झन् साह्रै दुब्ली थिएँ। मान्छेले यसो तलदेखि माथिसम्म हेरेर यसले पनि डिजे गर्नसक्छ भन्दै मुख बिगार्थे,' नेहाले भनिन्, 'मान्छेको हाउभाउले मलाई दु:ख त लाग्थ्यो, तर हरेस खाइनँ। कुनै दिन यी सबैलाई गलत साबित गर्छु भनेर म आफ्नो काममा लागिरहेँ।'

यसरी नेहाले साथीहरूको सहयोगमा महिनाको दुई-चारवटा कार्यक्रममा डिजे गर्न थालिन्। एउटा कार्यक्रमबाट चार-पाँच हजार रूपैयाँ पाउँथिन्। उनको महिनाभरको खर्च त्यसैले धान्न थाल्यो।
प्लस-टू सकिँदासम्म उनले आफूलाई डिजेको दुनियाँमा रंगाइसकेकी थिइन्।
नेहाको नाइट क्लब यात्रा भने २०७४ सालबाट सुरू भयो। उनी पहिलोपटक पोखराको एक नाइट क्लबमा डिजे भएकी पाइन्। मासिक ३० हजारभन्दा बढी तलब पाउने भनेपछि पोखरा जान तयार भएकी थिइन्। त्यति बेला पनि आमाबाले सहमति दिएका थिएनन्, तर नेहाले अडान छाडिनन्।
पोखराको क्लबले उनलाई तलबबाहेक अरू सुविधा दिएको थिएन। कोठा भाडा आफै तिर्नुपर्थ्यो। उनी क्लबमै काम गर्ने साथीसँग मिलेर बस्थिन्।
चार-पाँच महिनामै उनी पोखराकी हिट डिजे भइन्। उनलाई 'पहिलो लेडी डिजे' को परिचय पनि पोखराले नै दियो।
उनले पोखराकै अरू क्लबमा पनि काम गर्ने अवसर पाइन्। जहाँ राम्रो अवसर आउँथ्यो, उनी त्यहीँ जान्थिन्।
त्यहाँ एक वर्ष काम गर्दा उनले थुप्रै तितामिठा अनुभव संगालेकी छन्। त्यसै क्रममा एउटा यस्तो घटना भयो, उनले अचानक पोखरा छाड्ने निधो गरिन्।
रातको समय थियो। नेहा आफ्नो साथीका दाइहरूसँग ट्याक्सीमा कोठातिर जाँदै थिइन्। उनकी साथी चालक छेउको सिटमा बसेकी थिइन्। उनी पछाडि दुई जना पुरूषको बीचमा थिइन्।
झर्ने बेला उनकी साथी फोनमा बोल्दै ट्याक्सीबाट बाहिर निस्किन् र घरभित्र छिरिहालिन्। नेहा भने दुई जना पुरूषको बीचमा बसेकीले बाहिर निस्किन अप्ठ्यारो भयो। तिनले उनको हात समाउन र शरीरका संवेदनशील अंगहरू छुन खोजे।
नेहा चिच्याइन्।
कसैले सुनेनन्।
उनले हिम्मत गरेर 'खबरदार! मेरो बुबा आर्मी हो, तिमीहरू पछुताउनुपर्ला' भनेर धम्क्याइन्।
त्यसपछि भने ती दुई जना हच्के। तिनले नेहालाई ट्याक्सीबाट बाहिर हुत्याइदिए।
त्यो रातभर नेहा छट्पटाइरहिन्। मनमा पीडाको आगो दन्किरह्यो।
र, त्यही पीडाको आगो बोकेर उनी काठमाडौं फर्किइन्।
उनी परिवारको अनुमतिबिनै पोखरा गएकी थिइन्, त्यसैले फर्किनुको कारण कसैलाई सुनाइनन्।
नेहाले त्यो घटना र त्यसले आफूलाई पारेको मानसिक असरबारे हामीसँगको भिडिओ कुराकानीमा विस्तृत चर्चा गरेकी छन्।
त्यो घटनाले उनी कतिसम्म विक्षिप्त भएकी थिइन् भने त्यसपछि अरू ठाउँमा कामै गर्न सकिनन्। उनलाई बाहिर घुलमिल हुन पनि गाह्रो भयो। लगभग डेढ वर्ष घरमै थुनिएर बसेपछि उनले बिस्तारै आफूलाई सम्हालिन् र बाहिर आउजाउ बढाउन थालिन्।
आफूलाई मानसिक रूपले तयार गरेर डिजेमा 'कमब्याक' गरे पनि पोखराको घटना सम्झेर उनले कयौंपटक बुथमै आँशु झारेकी छन्।
आँशु झरे पनि अनुहार मलिन हुन कहिल्यै दिइनन्। आफ्नो भोगाइ कसैसँग बाँडिनन्।
'त्यति बेलै हो मलाई लागेको, डिजे भएपछि आफूलाई त्यागेर अरूमा समाहित हुन सिक्नुपर्छ। मेरो मन जतिसुकै दु:खी होस्, म लाख तनाव र चिन्ताले घेरिएको किन नहोऊँ, बुथमा चढेपछि मैले आफूलाई बिर्सनुपर्छ,' नेहाले भनिन्, 'म भित्रभित्रै रोइरहेको हुन सक्छु, तर बाहिरबाट खुसी देखिएर अरूलाई नचाउन सक्नुपर्छ।'
'जुन दिन मैले यो कुरा बुझेँ, त्यही दिन म सही अर्थमा डिजे बनेँ,' उनले भनिन्।
कमब्याक गरेपछि पनि नेहाले केही तितामिठा अनुभव संगालेकी छन्।
उनी एउटा कार्यक्रमका लागि चितवन गएकी थिइन्। सञ्चालकले भनेअनुसार नै कार्यक्रम गरिन्। तर फर्किने बेला पैसा पाइनन्। सञ्चालकले बैंकमा पैसा जम्मा गरिदिन्छु भनेका थिए।
गरेनन्।
पैसा नपाउने समस्या त अरू ठाउँमा पनि भोगेकी छन्। तर भुटानको कार्यक्रममा जाँदा भने अपमानित नै हुनुपरेको उनी सम्झन्छिन्।
नेहालाई सन् २०२२ मा भुटान बोलाइएको थियो। आयोजकहरूले सिमानासम्म लिन आउने भनेका थिए। यही आसले उनी ढुक्क भएर गइन्। तर उनलाई लिन कोही आएनन्। बरू लोकेसन बताइदिने र त्यही हेरेर आफै आउनू भन्ने खबर पाइन्।
'भाषा नबुझ्ने र सोध्दै जान समस्या भएकाले पटक पटक फोन गर्नुपर्यो। कार्यक्रममा पनि राम्रो व्यवहार गर्नुभएन,' उनले भनिन्, 'कार्यक्रम सकिएपछि हातमा अपमानजनक ढंगले पैसा राखिदिए।'
त्यति बेला नेहाले कार्यक्रम सञ्चालकसँग विवाद नै गरेकी थिइन्।
'यस्तो घटना त अरू बेला पनि हुन्थ्यो। पहिले चुपचाप सहन्थेँ। भुटानको कार्यक्रममा भने मैले सहनै सकिनँ,' उनले भनिन्, 'झगडा नै गरेँ।'
नेहाले भुटानको अनुभव आमाबालाई पनि सुनाएकी थिइन्। त्यसपछि त आमाबाले अत्तो नै थापे। नेहाले पनि आमाबाको बचन राख्न काम छाड्ने सोच बनाइन् र केही समय म्यानपावर कम्पनीमा जागिर खाइन्।
संगीतको दुनियाँमा रमाएको मन म्यानपावरको जागिरमा कहाँ अडिन्थ्यो!
उनी कसैगरी पनि रमाउन सकिनन्।
हिउँद लागेपछि फूल मुर्झाएझैं मुर्झाउँदै गइन्।
आखिरमा सन् २०२३ मध्यबाट नेहाले दोस्रो कमब्याक गरिन्।
विगतका सारा तितामिठा अनुभव भुलेर नयाँ शिराबाट जिन्दगी सुरू गर्ने अठोटका साथ बुथमा उक्लिएकी डिजे नेहा आफ्नो दोस्रो कमब्याकबाट खुसी छिन्। उनले कम समयमै पहिलेजस्तै नाम र चर्चा कमाएकी छन्।
काठमाडौंको दरबारमार्गस्थित एउटा क्लबमा कमब्याक गरेकी नेहा त्यसयता थुप्रै क्लबमा काम गर्दै अहिले ठमेलको टेन-एक्स आइपुगेकी हुन्। यसबीच उनले लिने पारिश्रमिक तीन गुणा बढेको छ। उनी पहिले एउटा कार्यक्रमको १० हजार लिन्थिन्, अहिले ३५ हजार घटीमा कार्यक्रम गर्दिनन्।
यति मात्र होइन, यो क्षेत्रमा उनको उचाइ र सम्मान पनि बढेको छ। अचेल उनले कार्यक्रम सञ्चालकहरूबाट अपमान झेल्नुपर्दैन। कसैले पैसा दिन ढिला गर्दैनन्। कुनै सञ्चालकसँग कचकच भए उनी पहिलेजस्तो चुपचाप बस्दा पनि बस्दिनन्।
'म पहिलेभन्दा मानसिक र शारीरिक रूपले बलियो भइसकेँ,' उनले भनिन्, 'अचेल परिवारले पनि मेरो कामप्रति गुनासो गर्न छाड्नुभएको छ।'

नेहाको दिन त्यति बेला सुरू हुन्छ, जब अरूको दिन सकिन्छ।
अरू मान्छे दिनभरि काममा व्यस्त रहेका बेला नेहा घरमा सुतिरहेकी हुन्छिन्। अरूका लागि बिहानको समय भनेको उनको निम्ति साँझ हो। राति उनको ड्युटी ९, १० वा कहिलेकाहीँ त्योभन्दा ढिलो सुरू हुन्छ। ड्युटीको समय हेरेर उनी त्योभन्दा एक-डेढ घन्टा अगाडि घरबाट निस्कन्छिन्।
क्लबमा पुगेपछि ड्रेसअप र मेकअप गरेर बुथमा उक्लिन तयार हुन्छिन्। सामान्य दिनमा ड्रेसअप र मेकअपको जिम्मा उनको आफ्नै हुन्छ। नयाँ वर्ष, क्रिसमस वा भ्यालेन्टाइन्स डे जस्ता बढी भिडभाड हुने अवसरमा भने क्लबले नै विशेष ड्रेसअप र मेकअपको व्यवस्था गरिदिन्छ।
त्यसबाहेक बुथमा उक्लेपछि फ्लोरसँग कसरी अन्तर्क्रिया गर्ने र कस्तो खालको संगीत बजाउने भन्ने डिजेकै खुबीमा भर पर्छ।
प्रत्येक डिजेको आ-आफ्नै स्टाइल हुन्छ। जो जसरी प्रस्तुत भए पनि केही फरक पर्दैन, खाली सर्त एउटै हुन्छ — जसरी पनि फ्लोर तताउनुपर्यो, कुनामा चुपचाप बसिरहेकाहरूलाई नचाउन सक्नुपर्यो।
'नाइट क्लबमा काम गर्ने भनेपछि हामीलाई हेर्ने दृष्टि अलि फरक हुन्छ। हामी डिजेहरू जथाभाबी अश्लील र अपशब्द बोल्छौं भन्ने धेरैलाई लाग्छ। तर त्यस्तो हुँदैन,' नेहाले हाँस्दै भनिन्, 'समय र ठाउँ हेरेर अलिअलि त बोलिन्छ, तर जहाँ पायो त्यहाँ बोलिँदैन।'
डिजे गर्दा कस्ता शब्द प्रयोग गर्ने भन्ने ठाउँ हेरेर पनि हुन्छ। काठमाडौंका क्लबमा जे बोले पनि खासै फरक पर्दैन। बाहिरी जिल्लाको कार्यक्रममा जाँदा भने संयमित हुनुपर्ने र आफ्नो बोलीमा विचार पुर्याउनुपर्ने उनी बताउँछिन्।
नेहाले काठमाडौंबाहेक चितवन र पोखराका विभिन्न कार्यक्रममा डिजे गरिसकेकी छन्। क्लबमा काम सुरू गर्दा नै उनले कार्यक्रम हुँदा बाहिर जान पाउने सम्झौता गरेकी छन्। पोखरा फर्केर जान भने उनलाई निकै गाह्रो परेको थियो। कार्यक्रमको प्रस्ताव आउँदा पनि धेरै समय टारेरै बसिन्।
आखिरमा सन् २०२५ को नयाँ वर्ष कार्यक्रममा पुराना कुरा बिर्सिएर पोखरा फर्किएको उनी बताउँछिन्।
'सधैं पुरानो कुरा सम्झेर हुँदैन। कतिपय घटना बिर्सिएर अगाडि बढ्नुपर्छ,' उनले भनिन्, 'लामो जिन्दगीमा आइपर्ने साना साना घटनामा नअल्मलिनु र संगीतको तालसँग जिन्दगीको चाल मिलाउनु नै डिजेको पहिचान हो।'
लगभग एक दशकको डिजे करिअरमा थुप्रै उतारचढाव झेलेकी नेहा आफ्नो जिन्दगीको सार यसरी खिच्छिन् —
'बाहिरी मान्छेहरूलाई डिजेको जिन्दगी रंगीन हुन्छ भन्ने लाग्छ। तर सबै कुरा देखिएजस्तो हुँदैन। बुथमा उभिएर ठुल्ठूलो स्वरले चिच्याएको र अरूलाई नचाएको देख्दा धेरैलाई लाग्छ, हामीसँग सारा संसारलाई नचाउने जादूको छडी छ। तर यथार्थमा जिन्दगीले हामीलाई नचाएको कसैले देख्दैनन्। नाइट क्लबको चकाचौंधमा हाम्रो अनुहार झिलिमिली भएको सबैले देख्छन्, तर त्यो झिलिमिलीले नछुने हाम्रो मन कसैले देख्दैनन्।'
नेहाको कुरा सुन्दा यस्तो लाग्छ, मानौं उनले बुथमा उफ्री उफ्री नचाउनुको कारण अरूलाई खुसी दिन होइन, आफ्नो दु:ख बिर्सन हो!
नेहा मात्र होइन, संसारभरका सारा डिजे यही उद्देश्यले संगीतमा झुम्ने त होइनन्!
सायद!
***
(सबै तस्बिर हामीलाई डिजे नेहाले उपलब्ध गराएकी हुन्।)

