पछिल्लो एक वर्षमा प्रहरीले काइँलीका ८-९ वटा थर्मस खोसेर लगिसके। दुई महिनाअघि मात्र दुइटा थर्मस लगेको उनले बताइन्।
त्यस दिन उनी सदाझैं साढे ९ बजेतिर चिया बेच्न चाबहिल चोक आइपुगेकी थिइन्। एक कप चिया बिक्री नहुँदै प्रहरीहरू छापामार शैलीमा आए। उनीहरूलाई देख्नासाथ काइँली र उनका साथीहरू गल्लीमा लुक्न गए।
भागदौडबीच काइँली भने प्रहरीको फन्दामा परिहालिन्। उनले आफ्नो सामान लुकाउनधरि भ्याइनन्।
'मैले थर्मस हातमै बोकेको थिएँ,' उनले भनिन्, 'जति बिन्ती गर्दा पनि उहाँहरूले मेरो थर्मस लिएरै जानुभयो।'
उनी आफ्नो सामान फिर्ता लिन गौशाला प्रहरी वृत्त गएकी थिइन्। कार्यालय प्रमुखसँग सोध्नुपर्छ भन्दै त्यहाँका कर्मचारीले दुई-तीन घन्टा कुराए। त्यसपछि सामान फिर्ता नगरी उनलाई यत्तिकै फर्काइदिए।
एकचोटि रातको १२ बजेतिर प्रहरीबाट भाग्दै गर्दा उनको थर्मस ठोक्किएर फुट्यो। कतिचोटि त थर्मसको बिर्को मात्रै भए पनि लग्ने गरेको उनले बताइन्।
प्रहरी र काठमाडौं महानगरका नगर प्रहरीहरूले रातको समय चिया बेच्नेहरूलाई पनि किन धरपकड गरेका होलान् भनेर काइँलीले बुझ्न सकेकी छैनन्।
'दिउँसो त लौ बाटो हिँड्नेलाई डिस्टर्ब हुन्छ रे, गाडीको बाटो छेकिन्छ रे, राति चाहिँ हाम्रो कामले कसलाई डिस्टर्ब हुने रहेछ?' उनले भनिन्, 'यी प्रहरीहरूले हामी गरिबले सडकमा चिया बेचेर रोजीरोटी कमाएको पनि किन देखी नसहेका होलान्?'
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)