२०८० चैत २८ गते सूर्य थापाले प्रतिनिधि सभामा ६ मिनेट ३५ सेकेन्ड बोले।
परिवारको गाँस र आफ्नो पेट काटेर पैसा जम्मा गरेका र त्यही निक्षेप जिलीगाँठी नै नरहने गरी सञ्चालकहरूले खाइदिएपछि बिल्लीबाठ भएकाहरू माइतीघर मण्डलमा आँसु झारिरहेका थिए।
'शीत उभाएर भरेको घैला' सहकारीका ठालुहरूले खाइदिएको अनिर्वचनीय पीडाबाट बेखबर थिएनन् थापा।
समाजशास्त्रमा स्नातकोत्तर; स्नातकसम्म व्यवस्थापन पढेका; ऐच्छिक गणित लिएर प्रवेशिका उत्तीर्ण; माध्यमिक तहमा आफ्नो समयमा जिल्लामा उत्कृष्टहरूमध्ये परेको; बैंक, वित्तीय संस्था र त्यसभित्र फन्को मार्ने रूपैयाँ-पैसाबारे ज्ञान नहुने कुरा भएन।
सहकारीभित्र हुर्किएर लक्का जवान भइसकेको बचतमारा प्रवृत्तिको डढेलोले सिंगो मुलुक लपेट्न लागिसकेको थियो। सहकारी सञ्चालकहरूले सहकारीमा जम्मा भएको आममानिसको रगत-पसिना लगेर व्यक्तिगत सम्पत्तिमा बदल्ने, दुरूपयोग गर्ने र उस्तै परे निक्षेप बोकेर विदेश फरार हुने प्रवृत्ति बढ्दो थियो।
करिब तीन खर्ब रूपैयाँभन्दा धेरै बचतको यस्तो अपचलनले राष्ट्रिय अर्थतन्त्रसमेत खँजाहा बन्ने अवस्था निम्तिइसकेकोबारे थापाले गहिरो गरी भेउ पाएका थिएनन्।
एक जना व्यक्ति, ठाकुरचन्द्र श्रेष्ठले उनलाई सहकारी ठगी, बचत अपचलन र दुरूपयोगको केही माखेसाङ्लो बताइदिए। त्यसमा हुर्किइरहेको प्रवृत्तिमाथि राज्य निर्मम नबन्ने हो भने सहकारीको डढेलोले नेपालको अर्थतन्त्र नै खाक बनाउनेबारे केही 'क्लु' पनि दिए उनले।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)