(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
सँगसँगै जिन्दगी
'तिमी मलाई मन पराउँदिनौ भने म तिमीलाई घर फर्काइदिन्छु।'
नदी किनारै किनार लम्किरहेका लक्ष्मीका पाइला एक्कासि अडिए।
आफ्नो अघिअघि हिँडिरहेका मीनबहादुरका कुरा सुनेर एकटक उनैलाई हेरिरहिन्। अनि त्रिशूलीतिर फर्किइन्।
बगिरहेको पानीलाई साक्षी राख्दै बाचा गरिन् — म मेरो जिन्दगी यही मान्छेसँग बिताउँछु!
आफ्नो बाचा सम्झेर आफैं मुस्काइन्, मुखले चाहिँ केही बोलिनन्।
मीनबहादुरले लक्ष्मीको मुस्कानमै आफ्नो जबाफ भेटे र गमक्क परे।
उनीहरूको जिन्दगीको सहयात्रा त्यही दिन तय भयो, आजभन्दा पचास वर्षअघि।
त्रिशूली किनारबाट उनीहरूले सुरू गरेको यो यात्रा अहिले बागमती किनारमा आएर अडिएको छ।
पैंतीस वर्षदेखि उनीहरूको घरठेगाना भन्नु यही किनार हो। यो अवधिमा बागमती जति फेरियो, उनीहरूको जीवनका रङ पनि त्यति नै फेरिए।
अहिलेसम्म नफेरिएका जम्मा दुइटा कुरा हुन् — सुकुम्बासी पहिचान र प्रेम।
यी पचास वर्षमा मीनबहादुर सुवेदी र लक्ष्मी श्रेष्ठले बाँचेको कथा लामो छ।
यो कथा २०३० सालबाट सुरू हुन्छ जब लक्ष्मी धनकुटाबाट कहिले ट्रक चढेर त कहिले पैदलै हिँडेर नुवाकोट आइपुगेकी थिइन्।
उनको घरमा बिहेको कुरा चलेको थियो। १४/१५ वर्षे किशोरी लक्ष्मीलाई बिहे गर्न फिटिक्कै मन थिएन। त्यसैले सुटुक्क घर छाडेर त्रिशूलीमा रहेको सानीमाको घर आइपुगिन्।
सानीमाले त्रिशुलीमै बस्ने माहौल मिलाइदिइन्। उनी सानीमाका छोराछोरी हेर्थिन्। स्कुल त उनले न धनकुटा हुँदा जान पाइन्, न सानीमाको घर हुँदा। बरू कहिलेकसो ज्यामी-मजदुरी गर्थिन्।
गुजारा चल्दै थियो तर दकसमा बसेर अरूको कमाइ खानुभन्दा स्वतन्त्रताको मजदुरी प्यारो हुने रहेछ भन्ने उनलाई महसुस हुँदै गयो। उनले बारम्बार आफ्ना पुराना दिन कोट्याइन्। बुबाले बिहे गर्नुपर्छ भनेपछि घरै छाडेर भागेको कहानी दोहोर्याइन्। मनमा उफान चलिरह्यो।
'१४/१५ वर्षमै बिहे गरेर जानुभन्दा काम गरेर खान निको लागेर घरबाट हिँडेकी थिएँ,' बागमती किनार टहराभित्रको सानो खाटमा बसेर उनले विगत सम्झिइन्।
झ्यालसँगैको खाटमा सिरेटोले हानिरहेको थियो। उनले आफ्नो हरियो रङको ज्याकेटको चेन टम्म कसिन्, टोपी तानेर कानसम्म छोपिन्।
बागमतीको हावासँगै बहँदै उनी त्रिशूलीको चिसो हावा खाएका दिन सुनाउन थालिन्।
घर छाडेर आएको दुई वर्षजति लक्ष्मीले त्रिशूलीमै ज्यामी-मजदुरी गरिन्। पाएजति काम गर्न थालिन्। ठुल्ठूला भारी बोकिन्, धनीमानीका घरमा भाँडा पनि माझिन्।
त्यही समयबीच एक दिन अचानक मीनबहादुर अगाडि आइपुगे र भने, 'मसँग बिहे गर्छ्यौ?'
लक्ष्मी अक्क न बक्क भइन्।
मीन र लक्ष्मीको त्यसअघि पनि भेट भएको थियो। मीनको मामाघर हो त्रिशूली। बेलाबखत आउँदा उनले लक्ष्मीलाई देखेका थिए। सायद त्यही बेला उनको मनमा प्रेम अंकुराएको थियो। उनैले कुराकानीको धागो उन्दै लक्ष्मीलाई मजदुरी गर्न कसरी आइपुग्यौ भनेर सोधेका थिए। छोटो गफगाफमा लक्ष्मीले पनि मीनलाई उनको घरपरिवार र थातथलोबारे सोधेकी थिइन्।
'त्यतिबेलै मलाई यो मान्छे मेरा लागि ठीक हुन्छ भन्ने लागेको थियो,' लक्ष्मीले हाँस्दै भनिन्।
एकातिर लक्ष्मी आफ्नो जन्मघर, आमाबा, परिवार सबै छाडेर आएकी थिइन्। अर्कातिर मीनको घर त थियो तर आमाबा थिएनन्। उनी ६ महिनाकै हुँदा आमाले छाडेर गइन्। १३ वर्षका हुँदा बुबा बिते।
मीनको जिन्दगी पनि लक्ष्मीकै जस्तो थियो। दाजुहरूले उनको वास्ता गरेनन्। न मीनलाई दाजुहरूसँग आफ्नोपन महसुस भयो। किशोर उमेरदेखि नै मीन एक्लिए। उनको भोक सोध्ने कोही भएन, पढाइमा चासो पनि कसैले राखेन। पाँच कक्षा पढेर छाडे।
उनी गाउँगाउँ डुल्दै हिँड्थे। जसको घरमा खान दिन्थे, त्यहीँ एक गाँस खान्थे। जसले बस्न दिन्थे, त्यहीँ रात बिताइदिन्थे।
मीनको जीवन फिरन्ते नै थियो।
एक्लिएका दुई जनको मन एक भए, दुक्लै जिन्दगी मजाले चल्छ भन्ने अनुभूति उनीहरूलाई भयो।
'हामी दुवै केही र कोही नभएकाहरू थियौं। एक्लाएक्लै भएकाले होला, माया पो लाग्न थाल्यो,' मीनबहादुरले भने, 'उस्तै उस्तै भए त एउटाले मेरो घर यस्तो, अर्कोले मेरा माइती यस्तो भनेर धाक लगाउँथे होला। दुवैको केही नभएकाले हामी एकअर्काका लागि ठीक छौं भन्ठान्यौं।'
अहिले लक्ष्मी ६५ वर्षकी भइन्, मीन ७० का भए। उनीहरू अहिले पनि त्यो समय सम्झिन्छन्, जब उनीहरूले सँगसँगै जिन्दगी बिताउने निधो गरेका थिए।
मध्य शरद थियो, दसैंका बेला। मीन मामाघरमा टीका थाप्न गएका थिए। लक्ष्मीसँग भेट भयो। त्यही मौकामा उनले बिहेको प्रस्ताव गरेका थिए।
'माटोलाई ढुंगाको भर, ढुंगालाई माटोको भर, हैन त!' खाटमा लक्ष्मीको छेउमा बसेका मीनले आफ्नो ढाका टोपी मिलाउँदै भने। र, अनुहारमा गजक्क परेको हाँसो छरे।
जसै निधो भयो, उनीहरू त्रिशूली किनारैकिनार धादिङको गजुरीतिर लागे जहाँ मीनको घर थियो।
'त्यही बेला बाटामा उहाँले तिमी मलाई मन पराउँदिनौ भने म घर फर्काइदिन्छु भन्नुभयो,' लक्ष्मीले सुनाइन्, 'तर मैले उहाँसँगै जीवन बिताउने पक्का गरिसकेकी थिएँ।'
त्यो दिन उनीहरूको आँखाअगाडि अहिले पनि एल्बमजस्तै फिरफिर पल्टिरहन्छ। गल्छीको बाटोमा त्यस बेला मोटर गुड्दैन थियो। त्रिशूली किनारपछि जंगलैजंगलको बाटो दिनभर हिँडेर गजुरी पुगे।
मीन र लक्ष्मीले बिहेको कुनै रिवाज गरेका थिएनन्। तर मीनले आफ्ना परिवार र आफन्तीका अगाडि लक्ष्मीलाई श्रीमतीकै रूपमा चिनाए। बधाइ र आशीर्वाद उनको थाप्लामा पर्नेवाला थिएन। आमाबुबा नभएकाले आफन्तले पनि उनलाई हेलाहोचो नै गर्थे।
'उनी (लक्ष्मी) अर्कै जातको भएकाले आफन्तजनले स्वीकार गरेनन्। कतिपटक त आफन्तले घरको खरको छानोमा आगो नै लगाइदिए,' मीनले सम्झिए।
यसै पनि मीनलाई आफ्नो गाउँप्रति लगाव थिएन। आफन्तीले खेदो खन्न थालेपछि झनै साँघुरो र बिरानो लाग्न थाल्यो।
लक्ष्मीलाई त झन् उकुसमुकुस नै भइसकेको थियो।
एक दिन मुखै फोरेर भनिन् — जाम् भो काठमाडौं!
गजुरीबाट काठमाडौं उति बिघ्न टाढा होइन। हातमा सीप र धन नहुनेका लागि भने काठमाडौं सहर पहरो नै थियो। तर आफ्नाले गरेको हेला र माया गरेको मान्छेको मन नबसेको देखेपछि मीनले त्यही पहरोमा नंग्रा खियाउने निधो गरे।
एक बिहान उनीहरू जुरूक्क उठेर हिँडे। पुग्नुपर्ने ठेगाना काठमाडौं थियो, यसबाहेक कुनै योजना थिएन।
बिरानो सहरमा एकअर्काको मात्र साथ थियो। प्रेमले बाँधिएका जोडीका लागि भने यत्ति भए अरू के चाहियो!
'कोही नभएको ठाउँमा केही न केही गरेर जीवन धानौंला भनेर काठमाडौं छिरेका थियौं,' खाटमा बसेका मीनबहादुरले झ्याल बाहिर हेरे, एकपटक लामो सास फेरे, घाँटी माथिसम्म लगाएको ज्याकेटको चेन अलिकति तल सारे र भने, 'हामीले पाएको दुःखको कथा भनिनसक्नु छ।'
चार दशकमा भोगेका कति कथा त उनीहरूले बिर्सिसके। कति सम्झिन पनि चाहँदैनन्।
'सुखको दिन काटेको भए पो सम्झीसम्झी सुनाउनु, दुःखको कुरा त बिर्सेकै राम्रो नि, हैन,' लक्ष्मीले आफ्नो रातो ऊनीको कुर्ताको फेर बटार्दै भनिन्।
काठमाडौं आएको केही दिन उनीहरू रनभुल्ल परे। कहिले यता भौंतारिए, कहिले उता। केही दिनपछि ज्यालामा सानोतिनो काम पाए। दिनभरि काम गर्दा गाँस त टर्थ्यो तर बासको टुंगो थिएन।
'कहाँ सुत्ने भन्ने पिर सधैं हुन्थ्यो। कति दिनसम्म फाटेको जुटको बोरा ओछ्याएर आफैंले लगाएको धोती ओढेर सुतियो,' लक्ष्मीले भनिन्।
लक्ष्मीले यसो भन्दै गर्दा मीनले आफूहरू बसिरहेकै खाटमा टम्म मिलाएर राखिएका बाक्ला सिरक वरिपरि आँखा घुमाए। ती नजरमा सन्तोक प्रस्टै देखिए।
सिरकबाट नजर हटाउँदै उनले सिरेटोले हानिरहेको झ्यालको पल्ला बन्द गरे र भने, 'कहिलेकाहीँ त दिनभर काम गर्दा पनि खान पुग्दैन थियो। अनि कहिले एक हप्तासम्म पनि काम पाइँदैन थियो।'
कहिले उता, कहिले कता भौंतारिएर उनीहरूले दुई महिना बिताए।
एक दिन मीनबहादुरले घरमा रङ लगाउने काम पाए। दैनिक ज्यालादारीबाट हुने कमाइभन्दा केही हदसम्म स्थायी भयो।
यसपछि उनीहरूले हिम्मत गरेर मैजुबहालमा एउटा कोठा भाडा लिए। ठिकठाकका ओढ्ने, ओछ्याउने र लुगाफाटा जोडे। भाँडाकुँडा र मट्टीतेलबाट चल्ने एउटा स्टोभ किने।
डेराको आफ्नै कोठामा, आफैं पकाएर खाइवरि, फत्रक्क परेको ज्यान डसनामाथि फाल्दा उनीहरूलाई संसारै जितेजस्तो भयो। काठमाडौं सहरमा दुई महिना भौंतारिएपछि डेरा बस्ने हैसियत बनाउँदा उनीहरूको खुसीको सीमा थिएन।
'त्यो दिन त आफ्नै घरमा सरेजस्तो भयो नि,' लक्ष्मीले भनिन्।
मीनको एक दिनको ज्यालाले उनीहरू दुई जनालाई एकै दिन मात्र खान पुग्थ्यो। महिनैपिच्छे डेरा भाडा तिर्न पैसा बचाउनुपर्थ्यो। त्यसैले बासको टुंगो भएपछि लक्ष्मीले पनि काम खोजिन्। अरूका घरमा सहयोगी भइन्। थोरैतिनो कमाइ बढ्यो।
'त्यो बेला एक दिनको कमाइ जम्मा २५ रूपैयाँ हुन्थ्यो। एक किलो चामल, एक पाउ मासु, अलिकति दाल र एक लिटर मट्टीतेल ल्याउँदै सकिन्थ्यो। बचेको एक-दुई रूपैयाँ भाडा तिर्नुपर्छ भनेर जोगाउँथ्यौं,' मीनले भने, 'एकपटकमा एक बोरा चामल त कहिल्यै किन्न सकिएन है?'
लक्ष्मीले उनलाई पुलुक्क हेरेर सही थापिन्।
दुई छाकका लागि संघर्ष गर्दागर्दै दुई वर्ष काठमाडौंमा बितिसकेका थिए। जति नै मुस्किल भए पनि उनीहरूलाई गजुरी फर्किन मन लागेन। खोजिनिती गर्ने कोही थिएन पनि।
'बाउआमा र छोराछोरीबाहेक अरू नातागोता बेकारका हुन्,' मीनबहादुरका भनाइमा दिक्दारी सुनियो।
त्यसपछि यो जोडीले सन्तान जन्माउने योजना बुन्न थाल्यो। ओत लाग्न डेरा थियो, रङ लगाउने कामबाट दुई छाक जुटेको थियो।
अनि त्यही डेरामा लगालग जन्मिए उनीहरूका चार छोरा।
छोराहरू जन्मिसकेपछि एक दिन मीनले एउटा तिलहरी र सानो डब्बामा सिन्दुर बोकेर ल्याए। चौध सय रूपैयाँको तिलहरी किन्न सक्ने भएकामा उनी गमक्क परे। लक्ष्मीलाई साथै लिएर डेरा नजिकैको मन्दिर पुगे। तिलहरी गलामा बाँधिदिए, सिउँदोमा सिन्दुर भरिदिए।
'माया छँदै थियो, तिलहरी र सिन्दुर जहिले सकेँ, त्यही बेला किनेर ल्याइदिएँ,' मीनले भने।
तर मीनले सुन किनेको भोलिपल्टै पैसा शून्य भयो।
अभावमा आज रहर पूरा हुन्छ, भोलि त्यही रहर बेचेर गुजारा चलाउनुपर्छ। उनीहरूको रहर पनि यस्तै भयो।
पैसाको खाँचो पर्दा त्यही तिलहरीको सुन बन्धकी राखेर पैसा निकाले। साह्रै मुस्किल हुँदा बेचेरै पैसा जुटाए। फेरि सक्ने भएपछि किने। यसरी मीनले लक्ष्मीलाई अहिलेसम्म आठपटक तिलहरी किनिदिइसकेका रहेछन्।
'झपक्क गहना लगाएर उनी हाँसेको देख्दा त त्योभन्दा माथि खुसीको संसारै छैन जस्तो लाग्थ्यो नि,' मीनले भने।
लक्ष्मी भने गहना हुँदा पनि सधैं लगाउन्न थिइन्, चाहिएका बेला खर्च जुटाउन जतन गरेर राख्थिन्। मीन काम गर्न जाने र हरेक दिन घरको व्यवहार धान्ने भएकाले अभावले निम्त्याएका दुःखको भुक्तभोगी उनी धेरै हुन्।
साना छोरा छाडेर अर्काको घरमा काम गर्न जान्थिन् उनी। साहुले काम थपेको थप्यै गरिदिन्थे कहिलेकाहीँ। घर आउँदा झमक्कै रात पर्थ्यो। नानीहरूले के खाए, के गरे होलान् भनेर मन कटक्क खाइरहन्थ्यो। घर आएर छोराहरू खेलेको देखेपछि बल्ल ढुक्क हुन्थिन्।
घरभित्रका स-साना कुरामा श्रीमानको साथ नपाउँदा लक्ष्मीलाई साह्रै पीडा हुन्थ्यो।
'उहाँलाई त छोराछोरी कसरी हुर्काउने भन्ने थाहै भएन। अहिलेसम्म चिया समेत पकाउनुभएको छैन,' उनले भनिन्।
काम गर्न, खर्च जुटाउन र कमाएको पैसा घरमा खर्च गर्न भने मीनले कहिल्यै कन्जुस्याइँ गरेनन्। अरू व्यावहारिक जिम्मेवारीमा भने चुकेको स्वीकार गर्छन्।
'छोराछोरीको खानपिन, पढाइ सबै पिर धेरै आमालाई नै हुने रहेछ। मैले त बाहिरको कामबाहेक अरू केही सोच्दै सोचिनँ,' मीनले थोरै पछुतो मिसाउँदै भने, 'मेरो हुर्काइ नै त्यस्तै भएकाले पनि घरायसी जिम्मेवारी बोध नभएको होला। तर आफ्नो-आफ्नो स्वभाव हुन्छ नि है?'
जबाफ लक्ष्मीले नै दिइन्, 'हो नि!'
छोराहरूको हुर्काइ र रेखदेख तौरतरिकामा अहिले पनि उनीहरूको कुरा मिल्दैन। मीन छोराहरूलाई एसएलसी पास गराएकामा सन्तुष्ट छन्। लक्ष्मीलाई भने उनीहरूलाई अझ पढाउन सकिएन भन्ने चिन्ता छ।
'एसएलसीसम्म पढाएँ, त्यसपछि आफैं पढ, आफैं गर भनेर छोडिदिएको,' मीनले यति भनिनसक्दै लक्ष्मीले रोकिन्।
र, भनिन्, 'त्यसो भनेर कहाँ हुन्छ? जेठो छोराले डाक्टर हुन मन गरेको थियो। पढाउनै सकिएन। कटक्कै मन खान्छ। छोराहरूलाई पढाउन सकेको भए सुकुम्बासी जिन्दगीबाट छुट्कारा मिल्ने थियो!'
जन्माएपछि छोराछोरीको भविष्यबारे सोच्नैपर्छ भन्ने लक्ष्मीको मान्यता छ। उनलाई लाग्छ, लाख कमाउन सकेको भए त्यस्तै खर्च गरेर छोराहरूलाई पढाउन सकिन्थ्यो। उनीहरूले पढेलेखा मान्छेले गर्ने काम पाउँथे। लाखै कमाउँथे कि!
'तर आफूले दिनमा ५०-६० रूपैयाँभन्दा धेरै कमाउन सकिएन,' लक्ष्मीले भनिन्।
फेरि बाझाबाझ जस्तै हुन्छ। मीनबहादुरले भनिहाले, 'देख्नुभयो नि झगडा कस्तो कुरामा हुन्छ! यस्तै कुरामा हो यी!'
उनीहरूको सम्बन्ध बागमती जस्तै नै छ, कहिले सलल बग्छ, कहिले उर्लिन्छ। ठाकठुक हुन्छ, कहिले लड्छन् नै।
'अझ वैंसको बेलाको कुरा त सम्झेरै साध्य छैन है,' खित्का छाड्दै मीनले भने, 'पूर्वेलीकी छोरी हुँ म, निहुँ खोज्छौ भन्दै यिनले मलाई कुकरले हान्न लखेटेकी छन्!'
त्यस्तो अवस्था आउनुको कारण भने मीनको शंकालु स्वभाव र डर रहेछ। लक्ष्मी कोही पुरूषसँग बोलेको देख्दा उनलाई साह्रै रिस उठ्ने रहेछ। कतै आफ्नी श्रीमती अर्काकी हुन्छिन् कि भन्ने डरले पिरोल्दो रहेछ।
अनि त्यही बोलेको बाहनामा लम्बेतान निहुँ खोजेर अनेक भन्न थालेपछि लक्ष्मीमा पनि एक्कासि उग्रचण्डी चढ्थ्यो रे!
'त्यसपछि आँखा अघिल्तिर जे भेट्यो, त्यसैले कुट्न तम्सिन्थिन् यिनी,' लक्ष्मीलाई हेरेर हाँस्दै मीनले भने, 'ज्यान त जोगाउनै पर्यो। म भाग्थेँ, उनी मलाई लखेट्दै पछिपछि आउँथिन्!'
उनीहरूको जीवनमा यस्तो घटना बारम्बार दोहोरियो — मैजुबहालका गल्लीदेखि बागमती किनारसम्मै!
तर कुनै झगडा लामो समय रहेन। उनीहरू आपसमा माफी मागिहाल्थे। बाझाबाझ एकैछिनमा मन माझामाझ बन्थ्यो। अघिल्लो दिन निहुँ खोजिरहेका यी बूढाबूढी भोलिपल्टै नारिएर हिँडेको देख्दा छिमेक पनि मुखामुख गर्थे।
समय बित्दै जाँदा भाग्ने र खेद्ने क्रम टुट्यो। मीनको शंका र डर मासिएर होइन, झगडाका कारण बदलिएर। छोराहरूलाई कहाँ पढाउने, घरव्यवहार कसरी चलाउने, पैसा कसरी कमाउने, यस्तै यस्तै।
ती विवाद पनि बागमतीको असारे भेल मात्र भए।
'हामीलाई एकदमै माया देखाउन अँगालो हाल्न परेन, रिस उठेका बेला छाडेर जाने ठाउँ पनि भएन। त्यही भएर हाम्रो माया सधैं एकनासको भयो,' मीनले भने।
उनीहरूको झगडा लामो समय नटिक्नुको अर्को कारण पनि छ — सानो घर, साँघुरो विस्तारा।
'झगडा त पर्छ नि, तर झगडा गरेर पनि कहाँ जाने? माइती छैनन्, दाजुभाइ छैनन,' लक्ष्मीले भनिन्, 'भातभान्सादेखि सुत्ने विस्तारासम्म एउटै टहरोमुनि। माया गर्ने मान्छे एकै ठाउँमा बसेर त कतिबेर पो ठुस्किन सक्छ र!'
एकछिन कतै ओझेल पर्नेबित्तिकै आँखाहरूले खोज्न थालिहाल्छन्। त्रिशूलीको बतासमा अंकुराएको उनीहरूको प्रेमको सुवास बागमतीको सिरेटोसम्म घुलिएको प्रस्टै देखिन्छ। यही बागमती किनारमा उनीहरूले ३५ वर्ष बिताइसके।
२०४६ सालको जनआन्दोलनताका उनीहरू मैजुबहालमै बस्थे। भूमिगत नेताहरू अनेक गरेर मजदुरहरूसँग कुराकानी गर्थे, संगठन बनाउँथे। मजदुरी गर्दागर्दै मीन पनि पञ्चायतविरूद्ध आन्दोलनमा सहभागी हुन थाले।
देशमा बहुदल, लोकतन्त्र हुँदै गणतन्त्र आउनुमा थोरबहुत आफ्नो पनि भूमिका छ भन्ने उनलाई लाग्छ। बहुदलै राम्रो हो भन्ने लागेर उनी नाराबाजीमा कुद्न थाले। फेरि नेताहरू घरबारबिहीनहरूले घर पाउँछन् भन्थे। उनीहरूको कुरा सुनेर आशा जाग्थ्यो।
'खाली जमिन तारबार गरे त्यो जनताकै हुन्छ भन्ने नेताहरूको भाषण सुनेपछि मैले पनि खाली जग्गामा गएर टहरा हाल्ने निधो गरेँ। कमाएर किन्न सकिँदैन थियो, एउटा आफ्नै झुपडी त होला नि भन्ने भयो,' उनले भने।
सुरूमा उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउको खाली जग्गामा गएर टहरा हाले। केही समयपछि सिनामंगल छेउको बागमती किनारमा सरे। समय बित्दै गयो। सुकुम्बासीलाई घरबास दिने नेताहरूको भाषण झुटो रहेछ भन्ने उनीहरूले बुझे।
बागमतीमा उर्लिरहने भेलले उनीहरूको आशा बगाउँदै लग्यो। भेलले गुजारामा पनि धक्का दिएर जान्थ्यो। कहिले आँगनमा छ्यालब्याल हुन आइपुग्थ्यो, कहिले भित्रै कोठासम्मै आधा भरिन्थ्यो। भाँडा बग्थे, लुगा भिज्थे। सामान बिग्रिन्थे। उनीहरू एक एक गरी फेरि सबै समेट्थे।
'यो समाजको जात व्यवस्थाका कारण हामी गाउँमा टिक्न सकेनौं। सुकुम्बासी हुनुपर्यो। नभए थोरैतिनो जमिनमा खेतीपाती गर्थ्यौं होला। सानोतिनो भए पनि आफ्नै झुपडीमा चयनको सास फेर्थ्यौं होला। अहिलेजस्तो राज्यको डर हुन्थेन होला, डरैडरमा जुनी बित्थेन होला,' मीनले भने।
अचेल कुनै जमिनमा आफ्नो स्वामित्व हुनु र नहुनुले उनलाई खास अर्थ राख्न छाडेको छ। एकबारको जिन्दगी जसरी पनि चल्छ भन्छन्।
आफ्नो घरभित्रका समस्या त उनीहरू दुःखजिलो गरेरै समेट्न सक्छन्, जोरीपारि र समाजले मच्चाउने आतंकमा के गरून्!
'हामी गरिब भए पनि कहिल्यै बदमास भएनौं,' लक्ष्मीले भनिन्, 'तर छरछिमेकका ठूलाबडा-धनीमानीले हामीलाई, हाम्रा छोराहरूलाई चोरसम्म भने नि। गरिब भन्दा केही लागेन, चोर दोष लगाउँदा मन साह्रै दुखेको थियो।'
त्यसैले लक्ष्मीलाई आफ्नै नाममा एउटा टुक्रो मात्रै जमिन भइदिए पनि कसैले सुकुम्बासी भनेर हेप्थेनन् कि भन्ने लाग्छ।
लक्ष्मी र मीनका सोच अलग भए पनि दुवैको एउटै सपना छ — सुकुम्बासीको परिचयबाट छोराहरूलाई छुट्कारा दिन पाए हुन्थ्यो!
घरमा मीन, लक्ष्मी, जेठा र माइला छोराबुहारी छन्। दुई छोराको बिहे हुन बाँकी छ। साइँला छोरा कमाउन विदेश पुगेका छन्। कान्छा बाहिर डेरा लिएर बस्छन्।
लक्ष्मी र मीनको ज्यान पाको हुँदै गएको छ। ज्याला-मजदुरीको काम गर्न छाडिसके। आफ्नो कमाइ नहुँदा, अझ बुढेसकाल लाग्दै जाँदा छोराहरूले नहेर्लान् कि भन्ने चिन्ता पनि थपिएको छ।
फेरि आफैं सम्हालिन्छन् र भन्छन् — हामीले छोराहरूलाई राम्रो संस्कार दिएका छौं!
उनीहरूलाई कान्छा छोरा पनि घरै बसिदिए हुन्थ्यो भन्ने लाग्छ। तर घरै साँघुरो छ!
'छोराहरूका लागि केही जोड्न सकिएन। कान्छो छोरालाई घर आइज न बाबु भन्यो भने कहाँ आउनु, बस्ने कोठै छैन भन्छ। मन खिन्न हुन्छ,' लक्ष्मीको गला अवरूद्ध भयो।
'बढेका सन्तानलाई आफू हुर्केको घर साँघुरै लाग्दो रैछ नि,' मीनले फेरि मन बुझाउने मेलो खोजे।
छोराहरू जो जता पुगे पनि आफूहरू भने यही किनारमा बस्ने निधो गरेका छन् उनीहरूले। जिन्दगीभर घोटिएर बनाएको यही साँघुरो संसार पनि आफ्नो नहुने हो कि भन्ने डरले निद्रा उडाएको छ।
नदी किनारमा बनेका सुकुम्बासी घरहरू काठमाडौं महानगरपालिकाले डोजर ल्याएर भत्काउने भनेको उनीहरूले सुनेका छन्।
लक्ष्मीको अनुहारमा निराशा बाक्लो छ।
'घर भत्काउने मान्छेहरू अस्ति पनि आएका थिए,' उनले भनिन्, 'महानगरको डोजरले अहिलेसम्म घर भत्काएको छैन, तर आउँदैपिच्छे मनको भर भत्काएर जान्छ। जिन्दगी चाहेजस्तो नहुने रहेछ।'
मीनले उनको अनुहार नियाले, मन बुझाएको मुस्कानसहित भने, 'चिन्ता लिएर केही हुँदैन के! बसुञ्जेल बस्ने हो, धपाए भने हिँड्ने हो! मेहनत पनि गरियो, खर्च पनि गरियो। तागत हुँदा काउली फलायौं, मूला फलायौं। जिन्दगी यस्तै हो नि!'
लक्ष्मी फिस्स हाँसिन्।
दुवैले एकअर्कालाई हेरे, फेरि मुस्काए।
निकैबेर चुप्प बसे।
लक्ष्मीले बन्द रहेको झ्याल खाटबाटै उघारिन्। साँघुरो कोठाभित्र गुम्सिएको हावामा बागमतीको सिरेटो मिसियो।
झ्यालबाहिर, बागमतीपारि ठूलो घर छ। लक्ष्मीले देखाउँदै भनिन् — त्यो घरका मान्छे हामीभन्दा खुसी छन् त?
अनि मीनलाई हेर्दै भनिन्, 'माया माया जोडिने भए त हामी संसारकै धनी हुन्थ्यौं होला है!'
उनका कुरा नसकिँदै मीनका आँखा चम्किला भए। मुस्कान चौडा भयो। लक्ष्मीतिर फर्केर सोधिहाले, 'भन न त, म माया गर्छु कि गर्दिनँ?'
लक्ष्मी केही बोलिनन्। मुस्काइन् मात्रै।
मीनले नै भने, 'कम्ता माया लाग्छ! ऊ नभए त म कसरी बाँचौंला। मेरा लागि त यिनी नै सबथोक हो। उनी पनि मलाई मनपराउँछिन्, माया गर्छिन् नि!'
यति भनेर मीनबहादुर बेस्सरी हाँसे अनि लक्ष्मीलाई हेरे, ठ्याक्कै पचास वर्षअघि त्रिशूली किनारमा प्रश्न सोधेकै भावमा।
लक्ष्मीले पहिले बागमती किनारतिर हेरिन्, अनि मीनतिर फर्किएर भनिन्, 'हो नि, मेरो बूढाजति राम्रो त कोही पनि छैन!'