(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
जसको मन नेपालमा छ
सन् २००६ को कुरा हो।
अमेरिकी नागरिक आना स्टर फुलब्राइट छात्रवृत्तिमा विद्यावारिधि गर्न नेपाल आएकी थिइन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन आएको गाडीमा दोहोरी गीत बजिरहेको थियो।
दोहोरीमा मस्त चालकले आनासँग कुराकानी सुरू गर्दै भने, 'अब दोहोरी सेलायो। मान्छेले पहिलेजस्तो सुन्नै छाडे।'
आनाका कान चनाखा भए।
उनी दोहोरी गीतमाथि अनुसन्धान गर्न भनेरै नेपाल आएकी थिइन्। नेपाली दोहोरीमै उनले रस भेटेकी थिइन्। भमराझैं त्यसमा झुम्मिएकी थिइन्। यति मग्न थिइन्, उनले आफ्नो विद्यावारिधि नै दोहोरीमा गर्ने सोच बनाइन्।
'मान्छे त्यति बेलै दोहोरी सेलायो भन्थे, आज पनि त्यही भन्दै छन्। त्यसैले यो चिन्ता लिनुपर्ने विषय हो जस्तो लाग्दैन,' यसपटक दोहोरीभन्दा फरक विषयमा काम गर्न नेपाल आएकी ४४ वर्षीया आनाले हामीसँगको कुराकानीमा भनिन्, 'जसलाई दोहोरी मनपर्छ, उनीहरूका लागि कहिल्यै सेलाउँदैन।'
आना नेपाली दोहोरीसँग कसरी जोडिइन्? उनलाई दोहोरीको कुन रसले तान्यो? र, उनी कतिसम्म यसमा झ्याम्मिइन्?
यो स्टोरीमा हामी यिनै विषयमा चर्चा गर्नेछौं।
![Ana-1724760446.jpg](https://www.setopati.com/uploads/posts/Ana-1724760446.jpg)
आना पहिलोपटक नेपाल आएको सन् २००० मा हो।
त्यति बेला उनी अमेरिकाको लोरेन्स विश्वविद्यालयमा स्नातक पढ्दै थिइन्। विश्वविद्यालयबाट पाएको छात्रवृत्ति कुनै चाखलाग्दो काममा प्रयोग गर्नुपर्ने थियो। उनले विश्वविद्यालयको 'स्टडी अब्रोड' कार्यक्रम कहाँ-कहाँ छन् भनेर हेरिन्। चिली, भियाना लगायत देशसँगै नेपाल पनि विकल्पमा थियो।
आनालाई नेपालबारे केही थाहा थिएन। थाहा नभएको कुरा सबभन्दा चाखलाग्दो हुन्छ, धेरै सिक्न पनि पाइन्छ। यही सोचेर आनाले नेपाल छानिन्।
'यहाँ आउनेबित्तिकै म नेपालसँग प्रेममा परेँ। मेरो छनौट सही ठहरियो,' उनले भनिन्, 'यो ठाउँबारे मलाई केही थाहा थिएन, तर किन-किन यो ठाउँ आफ्नै जस्तो लाग्न थाल्यो।'
चार महिनाको बसाइमा उनले नेपाली भाषा सिकिन्। यहाँको समाज र वातावरण अध्ययन गरिन्। सँगसँगै, एउटा यस्तो विषयमा गहिरो चाख राखेर अनुसन्धान गरिन्, जसले उनलाई आजपर्यन्त नेपालसँग जोडेको छ। त्यो हो, नेपालको शास्त्रीय संगीत।
अमेरिकामै वेस्टर्न बाँसुरीमाथि अध्ययन गरिरहेकी आनाले '१९७४ एडी' ब्यान्डका मनोज सिंह र जीवन आलेसँग एक महिना नेपाली बाँसुरी सिकेकी थिइन्।
नेपाली शास्त्रीय संगीत र बाँसुरी मोहले आनालाई यस्तरी तानिरह्यो, उनी स्नातक सकेर फेरि नेपाल आइन्। नेपालबारे अझ धेरै जानकारी बटुलिन्। नेपाली भाषा अझ राम्ररी सिकिन्। धेरैभन्दा धेरै नेपालका ठाउँ घुमिन्। यति मात्र होइन, काठमाडौं विश्वविद्यालयमा वेस्टर्न म्युजिक थ्योरी पनि पढाइन्।
त्यसपछि अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा स्नातकोत्तर पढ्न थालेकी आना एमफिल सकेर गर्मी यामको छुट्टीमा नेपाल आइन्। यो सन् २००४ को कुरा हो। उनी नेपालको 'स्पाइनी ब्याबलर' भन्ने संस्थामा इन्टर्नसिप गर्थिन्। त्यसैबीच एकदिन गाडीमा यात्रा गरिरहेका बेला उनले पहिलोपटक दोहोरी गीत सुनिन्। पहिलो सुनाइमै दोहोरीले तान्यो। केही दिनपछि नै चिनजानका एक बाँसुरीवादकमार्फत् दोहोरीलाई नजिकबाट सुन्ने मौका पाइन्। र, यो पनि बुझिन्, 'दोहोरीमा तत्कालै गीत बनाउनुपर्छ। त्यसका लागि कविको मन हुनुपर्छ।'
उनलाई कविको मन बनाएर आफू पनि दोहोरी गाउँछु भन्ने त थिएन, तर कवि मञ्जुलसँग कविताको ट्युसन भने लिइन्। त्यहाँ उनले लक्ष्मीप्रसाद देवकोटा, पारिजात लगायत नेपाली कविहरूलाई पढ्दै गइन्। कविता अध्ययनले उनको नेपाली भाषा सुधारिँदै गयो।
त्यो समय काठमाडौंमा दोहोरी साँझ रेस्टुरेन्ट बढ्न थालेका थिए। माओवादी द्वन्द्वका कारण गाउँबाट विस्थापित भएर काठमाडौं आएका वा वैदेशिक रोजगार निम्ति विदेश जान खोजिरहेका व्यक्ति त्यस्ता रेस्टुरेन्टमा बढी भेटिन्थे। ती व्यक्तिसँगको कुराकानीले आनालाई दोहोरी गीत मात्र होइन, नेपाली समाज नजिकबाट चिन्ने अवसर दियो।
'धेरै मान्छे दोहोरीलाई नेपाली राष्ट्रियतासँग जोड्थे र त्यसमा गर्व गर्थे। कतिपयले भने झ्याउरे र गाउँले पाराको गीत भनेर हेप्थे पनि। दोहोरीका यस्ता विविध आयाम मलाई चाखलाग्दो लाग्यो,' आनाले भनिन्, 'दोहोरीमा लैंगिक र जातीय सम्बन्धको विषय पनि आउँछ। त्यसैले नेपाली समाज बुझ्न दोहोरी राम्रो लेन्स हो भन्ने मलाई लाग्छ।'
आना दोहोरीसँगै पञ्चेबाजाको अनुसन्धान पनि गर्दै थिइन्। उनले धादिङ गएर यो बाजा के हो, कसरी बजाइन्छ र पञ्चेबाजाअन्तर्गत कुन बाजाको आवाज कस्तो आउँछ लगायत अनुसन्धान गरेकी थिइन्। जर्नलहरूमा त्यसबारे लेख पनि छपाइन्।
दोहोरी र पञ्चेबाजामा बराबरी रूचि राखे पनि उनले आफ्नो विद्यावारिधि अनुसन्धान भने दोहोरीमै गर्ने मन बनाइन्।
'पञ्चेबाजामा शब्दको कुरा त्यति आउँदैन। संगीत र भाषाको दृष्टिबाट हेर्न मन लागेकाले मात्र मैले त्यसमा अनुसन्धान गरेँ। तर मेरो मन दोहोरीमा बसिसकेको थियो। मलाई दोहोरीको कवितात्मक तत्त्वले धेरै तानेको थियो,' उनले भनिन्।
![Ana2-1724760495.jpg](https://www.setopati.com/uploads/posts/Ana2-1724760495.jpg)
सन् २००६ मा दोहोरीमाथि विद्यावारिधि गर्न नेपाल आउँदा यहाँ द्वन्द्वकाल सकिसकेको थियो। अनुसन्धान निम्ति देशभर आवतजावत गर्न कुनै रोकतोक भएन।
उनको पहिलो चरणको अनुसन्धान काठमाडौं कमलादीको नीरमाया रोदी क्लब, ठमेलको दोभान दोहोरी साँझ र ललितपुर मानभवनको ललितपुर रोदी क्लबमा केन्द्रित थियो। पछि जनसांख्यिक सर्वेक्षण क्रममा उनी पोखरा, धनगढी, नारायणघाट लगायतका दोहोरी साँझ पनि पुगिन्।
'म नेपालका लगभग सबै दोहोरी साँझ पुगेको थिएँ। त्यसबारे अनुसन्धान गरेको थिएँ। तैपनि मलाई दोहोरी गाउन आउँदैनथ्यो,' उनले भनिन्, 'मलाई प्रायःले भन्थे — लोक दोहोरीमा विद्यावारिधि गर्ने भए दोहोरी गाउन जान्नुपर्छ।'
यस्तो भन्नेहरूलाई आना मुसुक्क हाँसेर टारिदिन्थिन्। उनलाई आफू दोहोरी गाउन सक्छु भन्ने लाग्दै लाग्दैनथ्यो।
संयोगको कुरा हो, आनाले गायिका कोमल ओलीसँग राम्रो चिनजान बनाएकी थिइन्। ओलीकै स्कुटर चलाएर काठमाडौंका गल्ली-गल्ली चहार्थिन् र मनमनै गीत गुनगुनाउँदै हिँड्थिन्। बिस्तारै नेपालीमा शब्दहरू मिलाउँदै गाउने कोसिस गर्न थालिन्। कोमल ओली लगायत अन्य साथीहरूले ती शब्द मिलेका छन् कि छैनन् भनेर उनलाई सिकाइदिन थाले।
'दोहोरीमा शैली मिलाउनुपर्छ। शब्दहरूमा लय आउनुपर्छ। त्यो कसरी गर्ने? सबै सिक्दै गएँ,' आनाले भनिन्।
एकपटक आना दसैं मनाउन लमजुङको बेथेनी गाउँ गएकी थिइन्। त्यहाँको आमा समूहले दोहोरी कार्यक्रम आयोजना गरेको थियो। आना दोहोरीको मजा लिँदै थिइन्। अचानक त्यहाँका दिदीबहिनीले आनातर्फ केन्द्रित हुँदै भने, 'अब तपाईंको गाउने पालो।'
उनीहरूले गीतको भाका पनि भनिदिए — मिर्मिरेको घाम, लर्के जोबन तिमीलाई हो राम राम, ढाँटे मरिजाम्!
आनाले नाइँनास्ती गरिनन्। स्कुटरमा भाका मिलाएर गुनगुनाउँदै हिँड्ने प्रयास काम लाग्यो। उनले गाइन् –
यो गाउँमा आको छु फुरूक्क
सबै बुझ्न दुःख र सुख,
मिर्मिरेको घाम!
लर्के जोबन तिमीलाई हो राम राम, ढाँटे मरिजाम्।
विदेशीले यति मजाले गाएको सुन्दा सबैले छक्क मानेर आनालाई हेर्दै थिए। तीभन्दा बढी छक्क स्वयं आना थिइन्।
'मैले त्यसरी गाउन सकेँ भनेर आफै चकित भएको थिएँ,' आनाले हाँस्दै भनिन्, 'त्यसपछि बल्ल गाउन सक्छु भन्ने आँट आयो। मैले अर्को पनि गीत गाएँ। यसरी पहिलोबाट दोस्रो र दोस्रोबाट तेस्रो हुँदै लगातार गाइरहेँ।'
आनाले अनुसन्धान गरिरहेका बेला यस्ता गीतलाई दोहोरी भनिँदैनथ्यो, जुवारी भनिन्थ्यो। दोहोरी त काठमाडौं वरपर वा पश्चिमेलीहरूले भन्ने शब्द थियो। जब यो गीतले व्यावसायिक क्षेत्रमा प्रवेश पायो, तबदेखि मात्र लोक दोहोरी भन्न थालिएको आना बताउँछिन्।
'पहिला धेरै प्रकारका लोकगीत थिए। जब जुवारी रेकर्डिङमा आउन थाल्यो तब यसलाई लोक दोहोरीका रूपमा वर्गीकरण गरियो,' आनाले भनिन्, 'दोहोरी चिनजान गर्ने र सम्बन्ध बढाउने माध्यम हो। दुई पक्षले दोहोरो गाउने भएकाले दोहोरी भनिएको हुनुपर्छ। मानिसहरू खेतमा रोपाइँ गर्दै दोहोरो संवादका रूपमा गीत गाउँछन् भने त्यो पनि दोहोरी हो। तामाङ सेलो, लिम्बूहरूको पालम लगायत अन्य भाषामा पनि दोहोरो संवाद हुन्छ। त्यसलाई दोहोरी नै नभनिए पनि दोहोरीको मूल सार त्यसले बोकेको हुन्छ।'
आनाले नेपाली दोहोरीमाथि विद्यावारिधि गरेपछि यही अनुसन्धानका आधारमा 'सिंगिङ एक्रस डिभाइड्स: म्युजिक एन्ड इन्टिमिटेड पोलिटिक्स इन नेपाल' नामक किताब लेखेकी छन्।
उनको अनुसन्धनात्मक किताबले जनजाति आन्दोलन, माओवादी द्वन्द्व, नयाँ संविधान लेखन लगायत सबै समय-काल र परिस्थिति समेटेको छ। यो किताबले दोहोरी गीत कसरी हाम्रो सामाजिक, जातीय, लैंगिक, क्षेत्रीय, आर्थिक, धार्मिक, राजनीतिक लगायत विषयको पुल बन्न सक्छ भन्ने बुझाउँछ।
आनाका अनुसार माओवादी द्वन्द्वले धेरै मानिस गाउँबाट विस्थापित भएर सहर आएका थिए। मान्छे सँगसँगै उनीहरूले गाउने गीत-संगीत पनि विस्थापित भयो। अहिले पुराना पुस्ताका मानिस नयाँ पुस्तालाई त्यही गीत-संगीत सिकाइरहेका छन्। नयाँ पुस्ता भने थुप्रै प्रकारका संगीतसँग घुलमिल भइसकेका छन्। यस्तो घुलमिललाई आना राम्रो र नराम्रो दुवै तरिकाले व्याख्या गर्छिन्।
'नयाँ संगीतको आविष्कार जति पनि होस् भन्ने पक्षमा छु। तर भएका ज्ञान छाड्दै नयाँतर्फ मात्र आकर्षित हुनु राम्रो होइन। नयाँ मात्र खत्रा हो र त्यो जान्ने मान्छे मात्र खत्रा हुन् भन्ने भावना त्याग्नुपर्छ,' उनले भनिन्।
![_P1A2775-copy-1724760539.jpg](https://www.setopati.com/uploads/posts/_P1A2775-copy-1724760539.jpg)
आना अहिले दोस्रो किताब लेख्ने तयारीमा छिन्, जुन क्रान्तिकारी गीत-संगीतमा केन्द्रित छ।
दोहोरीबारे सिक्दा सिक्दै प्रगतिशील, वामपन्थी र क्रान्तिकारी गीतमा झुकाव राख्न थालेकी उनी भन्छिन्, 'दोहोरीमा लागेका मानिस कोही पार्टीमा आबद्ध थिए, कोही त प्रचारप्रसारमै हिँडेका थिए। मलाई त्यसैको प्रभाव पर्यो।'
'मलाई कविता पढ्न सिकाउने मञ्जुल आफै राल्फा सदस्य हुनुहुन्थ्यो। उहाँकै साथीहरू रामेश, रामकृष्ण दुवाल, प्रदीप नेपाल लगायतसँग मेरो निकट सम्बन्ध थियो। रक्तिम परिवारमा रहनुभएका जीवन शर्मा, मणि थापा, खुसीराम पाख्रिनहरूसँग पनि म नजिक थिएँ,' आनाले भनिन्, 'जनसांस्कृतिक मञ्चमा हिँडेका दोहोरी कलाकारसँग पनि सम्बन्ध बनाएको थिएँ। दोहोरी किताब निस्किएपछि क्रान्तिकारी गीत-संगीतमाथि थप अध्ययन गर्छु भन्ने त्यति बेलै सोचेको थिएँ।'
आना आफ्नो किताबमा प्रगतिशील गीतको इतिहास र संगीत पक्ष सबै समेट्न चाहन्छिन्। यसका लागि प्रगतिशील गीत गाउने र नाटक लेख्नेहरूसँग कुराकानी गरेकी छन्। उनीहरूसँग कार्यक्रममा हिँडेकी छन्। दोहोरीका तुलनामा यस्ता गीतबारे लेखिएका सन्दर्भ सामग्री धेरै भएकाले उनको अध्ययन सहज भएको छ।
यति हुँदाहुँदै दोहोरीभन्दा फराकिलो विषय भएकाले एउटै किताबमा सबै समेट्नु ठूलो चुनौती भएको उनी बताउँछिन्।
'मबाहेक अरू पनि व्यक्ति हुनुहुन्छ, जो यस्तै किताब लेख्दै हुनुहुन्छ। कोही विद्यावारिधिको थेसिस लेख्दै हुनुहुन्छ, कोही संस्मरण। खासमा म उहाँहरूकै किताब कुरिरहेको छु। ती किताब पढेपछि धेरै मद्दत होला भन्ने मलाई लागेको छ,' उनले भनिन्।
दोहोरीझैं प्रगतिशील गीत भने आनाले गाएकी छैनन्। कहिलेकाहीँ गाउनुपर्यो भने उनी बारम्बार एउटै गीत दोहोर्याउँछिन् — रूमाल धोको छु!
यो गीतले जातीय भेदभावको विरोध गर्ने भएकाले उनलाई मन पर्छ।
'लोक दोहोरीमा पनि कति त प्रगतिशील गीतझैं सन्देशमूलक हुन्छन्,' आनाले भनिन्, 'क्रान्तिकारी गीत मेरो स्वरलाई सुहाउँदैन। त्यसैले सन्देशमूलक दोहोरी नै गाउन मन लाग्छ।'
आनाको अध्ययनअनुसार पहिले प्रगतिशील र वामपन्थी गीत लोक भाकाका हुन्थे। पछिल्ला कलाकारले त्यसमा सुगम संगीत भित्र्याएको उनी बताउँछिन्।
'वीर रसका प्रगतिशील गीत निराशावादी शैलीमा गाउन हुन्न,' उनले भनिन्, 'यी गीतमा सन्देश हुनुपर्छ; सबैले बुझ्ने, पढ्ने, गुनगुनाउने र सम्झन सक्ने हुनुपर्छ।'
आफ्नो किताबमा काम गर्नुका अतिरिक्त आना 'सुवि' अर्थात् सुरेन्द्रविक्रम शाहको परियोजनामा पनि लागेकी छन्। आफ्नो समयमा शाह चर्चित मादलवादक र नाचगुरू थिए। उनलाई आफ्नो भेगको सोरठी, मारूनी लगायत सबै नाचबारे ज्ञान थियो। आना र उनका साथीहरू मिलेर शाहले लेखेका किताब अनुवाद गरिरहेका छन् र अनलाइन प्रकाशित गर्ने तयारी गर्दै छन्। उनका किताब नेपाली धुनको परिचय, नेपाली लोकगीतको झलक, मादल, पाङ्दुरे नाच र सोरठी नाचमा केन्द्रित छन्।
'म्युजिक एन्ड डान्सेस अफ सेन्ट्रल नेपाल— द वर्क्स अफ सुवि शाह' भन्ने कार्ययोजना साइट अहिले तयार छ। किताब अनुवादसँगै त्यहाँका संगीत र नाच पनि संकलन गर्ने उनीहरूको योजना छ।
'हामीले मालश्री र चाचरी पनि रेकर्ड गर्न खोजेका थियौं। तर त्यो दसैंमा मात्र गाइने भएकाले यसपटक रेकर्ड गर्न सकिएन,' सुवि शाहको गाउँ धादिङ पुगेर फर्किएकी आनाले भनिन्, 'हामीले सोरठी, चरित्र, मारूनी, झुमरी, झ्याउरे लगायत नाचमा पनि ध्यान दिएका छौं। कतिपय नाच्ने शैली सुवि शाहले लेखेजस्तो थिएन। परम्परागत शैलीको नृत्य नभेटेपछि शाहकै किताबबाट स्वर लिपि पढेर स्टुडियोमै गर्ने सोच बनाएका छौं।'
आनाले अगाडि भनिन्, 'सुवि शाहको इच्छा पनि आफ्नो किताबबाट स्वर लिपि पढेर मादल बजाउने, गीत गाउने र नाच्ने तरिका बचाउन सकियोस् भन्ने थियो। हामी त्यही गर्दैछौं।'
नेपाली संगीत बुझ्ने सुरूआती दिनमा आनालाई संगीतका सिद्धान्त बुझ्न सुवि शाहको किताबले सहयोग गरेको थियो। त्यही भएर पनि शाहको विषयमा काम गर्ने मन भएको आना बताउँछिन्।
'क्षेत्रगत सांगीतिक सिद्धान्त कस्तो छ भनेर बुझ्न उनका किताब राम्रा उदाहरण हुन्। नेपालमा अहिलेसम्म यति फराकिलो र गहिराइमा गएर कसैले काम गरेका छैनन्,' आनाले भनिन्, 'शाहको किताबमा धुन, लय, छन्द, भाका लगायत संगीतका सबै सिद्धान्त, सामाजिक र सांस्कृतिक पक्षहरू छन्। कुन बेला, कस्तो रीतिरिवाजमा कस्तो गीत गाउने र कस्ता गतिविधि गर्ने भन्ने सबै विवरण उनका किताबमा भेटिन्छन्।'
आनाका अनुसार नेपाली गीतहरू शब्दमा बढी केन्द्रित छन्। त्यसपछि नृत्य आउँछ। संगीतलाई भने कम प्राथमिकता दिइएको छ। अनुसन्धान गर्ने मान्छेले पनि स्वर लिपि नराखेर गीतको शब्द मात्र राख्दा गीत पुनः उत्पादन गर्न समस्या हुने उनी बताउँछिन्।
'सबै अनुसन्धाताले संगीत नपढेकाले होला, उहाँहरूले गीतलाई पनि कविताजसरी हेर्नुभएको छ। त्यसरी नै गीतको विश्लेषण गर्नुभएको छ। त्यो पनि एउटा तरिका हो, तर हामी संगीतमा लागेका मानिसलाई त्यतिले पुग्दैन। गीतले कस्तो संगीत मागेको छ, त्यसलाई बेवास्ता गर्न मिल्दैन,' उनले भनिन्।
सुवि शाहकै परियोजनाका कारण आना अहिले वर्षमा दुईपटक नेपाल आइरहेकी छन्। अमेरिकामा रहँदा उनी युनिभर्सिटी अफ हवाईमा पढाउँछिन्। त्यहाँ पनि एसियाली अध्ययनकै विषय पढाउने भएकाले नेपालको झझल्कोले छाड्दैन।
'सुरू सुरूमा म नेपाल आइरहँदा आमालाई अमेरिका फर्किन्न होला भन्ने पिर थियो। त्यही भएर सुटकेसमा टन्न लुगा हालेर पठाउनुभएको थियो,' आनाले हाँस्दै भनिन्, 'अब उहाँलाई त्यो पिर छैन। बरू मलाई नै नेपाल आइरहन नपाउँला कि भन्ने पिर लागिरहन्छ। त्यही भएर यस्तै कामले नेपाल आउने बहाना खोजिरहन्छु।'
उनले अगाडि भनिन्, 'म प्रगतिशील किताबको काम अघि बढाउन चाहन्छु। अरू पनि राम्रा किताब र लेखहरू लेख्न चाहन्छु। डकुमेन्ट्रीहरू बनाउन चाहन्छु। नेपालीहरूले लेखेका गीत-संगीतका किताब अनुवाद गर्न चाहन्छु।'
***