(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
हामी आमाबाबु
बैठक कोठाको भित्तामा लहरै फोटोहरू टाँगिएका थिए। तीमध्ये हाम्रो ध्यान चारवटा फोटोमा अडियो।
फोटोमा थिए — अनिता, सुनिता, मनिता र असुम।
२०४२ सालमा जन्मिएकी अनिताले सुरूमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरबाट पशु विज्ञानमा स्नातक गरिन्। त्यसपछि जर्मनीबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर गरिन् र नेपाल फर्किएर 'हेफर' नामक संस्थामा केही समय काम गरिन्। गोरखाका आइटी इन्जिनियरसँग विवाह गरेर अस्ट्रेलिया गएपछि युनिभर्सिटी अफ सिड्नीमा मास्टर्स इन नर्सिङ पढिन्। अहिले उनी एरमिडल रूरल रिफरल हस्पिटलमा काम गर्छिन्।
सुनिता २०४४ सालमा जन्मिएकी हुन्। उनले स्टाफ नर्स पढेकी थिइन्। दुई वर्ष काठमाडौंको प्रसूति गृहमा काम गरिन् र पब्लिक हेल्थ पढ्न बेलायत गइन्। पढाइ क्रममै जर्मन नागरिकसँग उनको प्रेम विवाह भयो। अहिले दुवै जना जर्मनीको एक अस्पतालमा काम गर्छन्।
२०४६ मा जन्मिएकी मनिताले रामपुर क्याम्पसबाट कृषिमा स्नातक गरेपछि पहिलो स्नातकोत्तर थाइल्यान्डमा गरेकी थिइन्। पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर गरेर नेपाल फर्किएपछि युएसएआइडी, फरवार्ड लगायत संस्थामा केही वर्ष काम गरिन् र अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का-लिंकनबाट 'एग्रिकल्चर इकोनोमिक्स' मा दोस्रो स्नातकोत्तर गरिन्। उनी अहिले अमेरिकाको युनिभर्सिटी अफ मिसौरीमा एग्रिकल्चर बिजनेसको विशेषज्ञका रूपमा काम गर्छिन्।
२०५० सालमा जन्मिएका असुम परिवारकै सबभन्दा कान्छा हुन्। होटल व्यवस्थापनमा स्नातक गरेर काठमाडौंको एक कन्सल्टेन्सीमा काम गरिरहेका छन्।
यी चार जना चेतबहादुर आले र उनकी पत्नी सन्तुका सन्तान हुन्।
चेतबहादुर चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सवारी चालकको काम गर्छन्। उनकी पत्नी सन्तु विश्वविद्यालयमै माली छिन् र घर पनि सम्हाल्छिन्।
बच्चा हुर्काउनु बच्चाको खेल होइन। यो आफैमा पूर्णकालीन काम हो, जसको निम्ति ठूलो सुझबुझ, सम्झौता र समर्पणको खाँचो पर्छ। चेतबहादुर र सन्तुले पनि आफ्ना सन्तानलाई लायकको बनाउन कम मिहिनेत गरेका छैनन्।
यो उनीहरूको त्यही अनुभवको कथा हो।
चेतबहादुरले बैठक कोठाको भित्तामा टांगिएका फोटा देखाउँदै गर्वसाथ आफ्ना सन्तानको तारिफ गरिरहँदा मेरो मनमा केही प्रश्न खेल्दै थिए —
सवारी चालकको जागिर खाएर उनले आफ्ना सन्तानलाई कसरी यो स्तरमा पुर्याए होलान्? त्यसको निम्ति के-कस्ता तयारी गरे होलान्? के-कस्ता अड्चन झेले होलान्? र, ती अड्चन कसरी पार लगाए होलान्?
चेतबहादुरले कुराकानीको सुरूआत दोस्रो विश्वयुद्धबाट गरे।
सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा संसार दुई भागमा बाँडिएको थियो। नेपाल युद्धमा प्रत्यक्ष सहभागी त थिएन, तर तत्कालीन राणा शासकहरूले नेपाली युवालाई बेलायतको पक्षमा लड्न पठाएका थिए।
बर्मा, मलाया, सिंगापुर, साइप्रस, ग्रिस, सिरिया, लेबनान, इराक लगायत मुलुकमा लड्दा ७ हजारभन्दा बढी नेपालीको मृत्यु भएको तथ्यांक छ। २३ हजारभन्दा बढी घाइते भएका थिए।
तिनै घाइतेमध्ये एक थिए, लमजुङको पुरानोकोटका डम्बरबहादुर आले।
मलायामा जापानविरूद्ध लड्दा उनको बायाँ छातीमा लागेको गोली ढाडबाट निस्किएको थियो। भाग्यले साथ दियो; गोलीले मुटु छुन पाएन। डम्बरबहादुर बाँचे।
बहादुरीपूर्वक लडेको सम्मानमा बेलायत सरकारले उनलाई विभिन्न तक्मा र पदक दियो। १६ वर्ष बेलायती सेनामा बिताएर उनी लमजुङ फर्किए।
त्यो समय चितवनमा बस्ती विस्तार गर्न राप्ती दून उपत्यका योजना सुरू भएको थियो। पहाडी क्षेत्रमा बाढीपहिरोबाट पीडितहरूलाई प्राथमिकतामा राखेर चितवनमा बसाइ सारिँदै थियो। त्यही मेसोमा सपरिवार शिवनगर आइपुगेका डम्बरबहादुरले पाँच मोहरमा पाँच बिघा जमिन प्राप्त गरे।
डम्बरबहादुरका ९ सन्तान थिए — ४ छोरा, ५ छोरी।
चेतबहादुर तिनैमध्ये साइँला छोरा हुन्। गाउँमा उनको बोलाउने नाम 'मगर साइँला' थियो।
आफ्ना चारै सन्तानलाई मन फुकाएर पढाएका उनले आफू भने पाँच कक्षाभन्दा अगाडि पढेनन्। गाउँका अरूजस्तै उनी पनि कृषि कर्ममै रमाए।
१७ वर्ष उमेरमा उनले आफ्नै मामाकी छोरीसँग विवाह गरे। विवाहपछि सन्तान भयो, जिम्मेवारी बढ्यो। त्यही बेला कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरमा चौकीदारको जागिर खुलेको थाहा पाए। उनले आवेदन दिए, तर छनौट भएनन्।
'मलाई उचाइ पुगेन भनेर फर्काइदिएका थिए,' चेतबहादुरले भने, 'म मन खिन्न बनाएर घर फर्किएँ। जागिर खान गएको कुरा कसैलाई भनिनँ।'
केही समयपछि रामपुर क्याम्पसलाई थप चौकीदारको खाँचो परेछ। उनीहरूले भर्ती खुलाएनन्, बरू पुराना आवेदकको सूचीबाट चेतबहादुरलाई बोलाए र सिधै जागिर दिए।
हलो, कोदालो समातिरहेको हातमा लट्ठी आइपुग्यो।
'चौकीदारको काम धेरै हुन्थ्यो। गेटमा पालो बस्नेदेखि क्याम्पसले पालेका भैंसी हेर्ने, बाहिरका गाईभैंसी धपाउनेदेखि बगैंचा कुर्ने र भित्र पसेका गाउँका मान्छेलाई लखेट्नेसम्म गर्नुपर्थ्यो,' उनले भने, 'म परेँ लाहुरेको छोरो। आफूभन्दा उपल्लो तहबाट आएको निर्देशन मान्नुपर्छ, ढाँट्न हुँदैन, छल्न हुँदैन, झुक्याउन हुँदैन भनेर बुबाले सिकाउनुभएको थियो। त्यही सम्झिँदै इमानदारीपूर्वक काम गर्न थालेँ।'
यसैबीच गाउँमा लाहुरेको छोरो चौकीदार बनेर लट्ठी हल्लाउँदै हिँडेको छ भन्ने हल्ला चल्यो। गाउँलेहरू चेतबहादुरलाई गिज्याउने, होच्याउने र खिसीटिउरी गर्न थाले।
सुरूमा त उनलाई पनि लाज लागेछ। चिनेको मान्छे देख्यो कि लट्ठी फालेर घुम्न हिँडेजस्तो छाँट पार्थे रे! कसैले सोधिहाले यसै घुम्न आएको भनेर ढाँट्थे रे!
जब यो कुरा लाहुरे बुबाको कानसम्म पुग्यो, त्यस दिन चेतबहादुर डरले थुरथुर भएछन्। उनलाई बासँग आँखा जुधाउन पनि गाह्रो परेछ।
तर बुबा डम्बरबहादुरले रिसाउनु त कहाँ हो कहाँ, उल्टै छोरालाई स्याबासी दिएछन् र भनेछन्, 'काम जेसुकै होस्, परिश्रम गर्न लाज मान्नुपर्दैन। जसले जे रोप्छ, उसले त्यही खान्छ। तैंले आज परिश्रम गरिस् भने तेरा छोराहरूले पनि भोलि परिश्रम गर्न सिक्नेछन्। तँ अल्छी भएर हिँडिस्, ठगठागमा लागिस् भने भोलि तेरा सन्तानले पनि त्यही बाटो समात्ने छन्। त्यसैले जे गर्, इमानदारीका साथ गर्।'
बुबाको यस्तो बचनले चेतबहादुरको चेत खुल्यो। उनले गाउँलेहरूको खिसीटिउरी वास्ता गर्न छाडे।
पत्नी सन्तुले पनि अरूका कुरा नसुन्नू भनेर सम्झाइन् र भनिन्, 'जुन कामले केटाकेटीको भविष्य सप्रिन्छ, त्यो काम गर्न के लाज! जसले जेसुकै भनोस्, तपाईं हरेस नखानुस्, मन लगाएर काम गर्नुस्।'
'आफ्नै बुबा र श्रीमतीले साथ दिएपछि मैले कसैको सुनिनँ,' चेतबहादुरले भने, 'सायद जिन्दगीभरि मैले श्रम गरेको देखेर होला, मेरा छोराछोरी पनि श्रम गर्न डराउँदैनन्, लजाउँदैनन्। हामीले आफ्नो श्रमबाटै उनीहरूलाई यत्तिको लायक बनाउन सक्यौं, मलाई यसैमा गर्व छ। राम्ररी हुर्काएछौं भन्ने लाग्छ।'
त्यतिखेर चेतबहादुरले दैनिक ८ घन्टा काम गरेको ८ रूपैयाँ ज्याला पाउँथे। बिदा नबसी काम गर्दा मासिक २४० रूपैयाँ हात पर्थ्यो।
पछि रामपुर क्याम्पसमा 'एग्रिकल्चर म्यानपावर प्रोजेक्ट' सुरू भयो। उनले आन्तरिक प्रतिस्पर्धाबाट त्यहाँको चौकीदारमा नाम निकाले। क्याम्पसभन्दा प्रोजेक्टको तलब ६० रूपैयाँ बढी थियो। ३० प्रतिशत प्रोजेक्ट भत्ता पनि थपिन्थ्यो।
काम गर्दै जाँदा एकदिन उनले प्रोजेक्ट संयोजक डा. कृष्णराज तिवारीसँग आफूलाई सवारी चालक बन्ने इच्छा भएको सुनाए। इच्छा भए पनि उनलाई गाडी हाँक्न आउँथेन। त्यतिखेर चितवनमा सिक्ने ठाउँ पनि थिएन।
तिवारीले चेतबहादुरको इच्छा बुझेर उनलाई काठमाडौंको त्रिपुरेश्वरस्थित प्रोजेक्टको सम्पर्क कार्यालयमा हाजिर गर्ने गरी गाडी सिक्न पठाइदिए।
'मैले पुतलीसडकको ड्राइभिङ सेन्टरमा गाडी सिकेँ। डेढ महिनामा लाइसेन्स परीक्षासमेत पास गरेर चितवन फर्किएँ,' उनले भने, 'त्यसपछि म चौकीदारकै पदमा रहेर अफिसको गाडी चलाउन थालेँ। पछि सवारी चालककै नियुक्ति पाएँ।'
२०५३ सालमा प्रोजेक्टको अवधि सकिएपछि उनको दरबन्दी रामपुर क्याम्पसमै फिर्ता भयो। त्यसै वर्ष उनी स्थायी भए र तलब बढेर ५ हजार रूपैयाँ पुग्यो। अब उनको जिम्मेवारी क्याम्पस प्रमुखको गाडी चलाउने थियो।
त्यतिखेरै श्रीमती सन्तुले रामपुर क्याम्पसमा मालीको जागिर पाइन्। ज्याला दैनिक ६६ रूपैयाँ आउँथ्यो।
क्याम्पस प्रमुखको गाडी चलाउन थालेपछि जिन्दगीलाई हेर्ने नजर बदलिएको र यहीँबाट छोरीहरूको भविष्यप्रति चिन्तित हुन थालेको चेतबहादुर बताउँछन्।
यसको कारण के भने, क्याम्पस प्रमुखमार्फत् उनको चिनजान पढेलेखेका व्यक्तिहरूसँग भयो। जता जाँदा पनि उनीहरूकै कुराकानी सुन्न थाले। जिन्दगीमा पहिलोपटक चेतबहादुरलाई आफूले स्कुले पढाइ पूरा गर्न नसकेकोमा थकथकी लाग्यो। तर त्यो थकथकीलाई उनले निराशामा परिणत हुन दिएनन्। बरू मनमा अठोट लिए — मैले पढ्न नसके पनि म मेरा छोराछोरीलाई यति धेरै पढाउँछु, ताकि उनीहरू यो क्याम्पसका सरहरू जत्तिकै सबैले मान्ने र लायकका होऊन्!
उनले यो पनि सोचे — नपढेकै कारण मैले जिन्दगीमा जे दु:ख पाएँ, त्यो दु:ख मेरा छोराछोरीले कहिल्यै नपाऊन्!
आफ्नो अठोट पूरा गर्न उनले छोरीहरूलाई बोर्डिङ स्कुल भर्ना गर्न खोजे। त्यो बेलासम्म तीनै जना छोरी स्कुल जान थालिसकेका थिए। तीनै जनालाई बोर्डिङ स्कुल राख्दा धेरै खर्च हुन्थ्यो, कमाइ भने श्रीमान र श्रीमतीको जोडेर करिब ७ हजार रूपैयाँ पुग्थ्यो।
चेतबहादुरले पत्नी सन्तुसँग घरसल्लाह गरे, 'बरू एकछाक खाऊँ, तर छोरीहरूलाई राम्रै स्कुलमा पढाऊँ!'
सन्तु सहमत भइन्।
उनीहरूले दु:खजिलो गरेरै भए पनि तीनै छोरीलाई कमलदेवी स्कुल भर्ना गरिदिए।
'त्यहाँ धनीमानीका छोराछोरी धेरै पढ्थे। मैले आँटेर छोरीहरूलाई भर्ना त गरेँ, तर खर्च टार्न निकै मुस्किल भयो,' चेतबहादुरले भने, 'स्कुल शुल्कको मात्र कुरा थिएन; किताब, कपी, ड्रेस लगायत अरू थुप्रै सामग्री किनिदिनुपर्यो। खाजा खर्च दिनुपर्यो। बेलाबेला स्कुलले घुमाउन लैजाँदा छुट्टै खर्च दिनुपर्यो। चाहिएको बेला खर्च गर्न नसक्दा छोरीहरूले आफूलाई कमजोर ठान्लान् भन्ने मलाई डर थियो। म मेरा छोरीहरूलाई कोहीभन्दा कमजोर महसुस गराउन चाहँदिनथेँ।'
जतिसुकै प्रयास गर्दा पनि सवारी चालक र मालीको आम्दानीले तीन-तीन जना छोरीको महँगो पढाइ धान्न सजिलो थिएन। कहिलेकाहीँ उनी महिनौंसम्म स्कुलको शुल्क तिर्न सक्दैनथे। छोरीहरू स्कुलको बिल देखाउँदै 'यो तिरेन भने परीक्षा दिन पाइँदैन रे' भन्ने खबर ल्याउँथे।
त्यस्तो बेला चेतबहादुरको मन भरंग हुन्थ्यो। आफ्नो आर्थिक अक्षमताले छोरीहरूको भविष्य बिग्रने त होइन भनेर कहालिन्थे।
मन कहालिए पनि हरेस भने खाएनन्।
महिनावारी तलबले छोराछोरी पढाउन मुस्किल परेपछि चेतबहादुरले बुबाबाट पाएको पैतृक सम्पत्ति बेचे र सबै पैसा उनीहरूको पढाइमै लगानी गरे।
'जुन दिन छोरीहरू राम्रो अंक ल्याएको मार्कसिट बोकेर घर आउँथे, त्यो दिन म सारा दु:ख बिर्सन्थेँ,' उनले भने, 'मेरो निम्ति छोरीहरूको मार्कसिट नै जिन्दगीको जम्मापुँजी थियो।'
जेठी छोरी अनिताको एसएलसी नतिजा आउँदाको कुरा हो।
चेतबहादुर कामको सिलसिलामा पाल्पा पुगेका थिए। गोरखापत्रमा नतिजा सार्वजनिक भयो। उनले लाइन बसेर छोरीको सिम्बोल नम्बर खोजे। अनिता प्रथम डिभिजनमा पास भइछिन्।
'त्यो मेरो जिन्दगीकै सबभन्दा पहिलो ठूलो खुसीको क्षण थियो,' उनले भने, 'छोरीको सिम्बोल नम्बर फस्ट डिभिजनमा देख्दा मेरा आँखाबाट खुसीका आँसु बरर्रर झरेका थिए। घरबाट टाढा भएकाले रिजल्ट आएको दिन परिवारसँग खुसी बाँड्न सकिनँ। एक हप्तापछि घर पुग्दा खुसीको माहोल बेग्लै भयो।'
अरू छोरीको नतिजा आउँदा पनि चेतबहादुरको बेचैनी उस्तै थियो। उनी डरले थुरथुर काम्दै, मुटु ढुकढुक फुलाउँदै सिम्बोल नम्बर खोज्थे। सबै छोरीले प्रथम डिभिजनमा एसएलसी पास गर्दा उसैगरी खुसीका आँसु बरर्रर झर्थे।
त्यसपछिको चुनौती छोरीहरूको उच्च शिक्षाको थियो। अगाडिको पढाइ झन् बढी खर्चिलो हुँदै थियो।
चेतबहादुरले फेरि पनि आँट गरे।
उनले आफू त लामो जागिरे जीवनबाट खासै कमाउन सकेनन्। तर लाहुरे बुबाले जोडेको पुर्ख्यौली जमिन नै छोरीहरूको भविष्यका लागि त्याग्ने निधो गरे। जमिन बेचेर भए पनि जेठी छोरी अनितालाई त्यतिखेर चितवनकै चर्चित प्लस-टू कलेज स्मल हेभनमा भर्ना गराए।
अनिताले विज्ञान विषय लिएर प्लस-टू पास गरिन्।
बुबाले जुन माटोमा उभिएर श्रम गरेका थिए, अनिताले त्यही माटोमा उच्चशिक्षा हासिल गर्ने निर्णय लिइन्। उनी पशु विज्ञानमा स्नातक गर्न रामपुर क्याम्पस भर्ना भइन्।
बिस्तारै अरू छोरीहरू र छोरा पनि कलेज पढ्ने भए। छोराछोरी पढाउने क्रममा १५ कट्ठा पुर्ख्यौली जमिन बेचेको चेतबहादुर बताउँछन्।
त्यसमा उनलाई पछुतो कहिल्यै भएन। होस् पनि किन! उनका तीनै छोरी पढाइमा अब्बल थिए। सबैले आ-आफ्नो क्षेत्रमा राम्रो नतिजा ल्याए। र, आज सबै आ-आफ्नो क्षेत्रमा राम्ररी जमेका छन्।
'उनीहरूको सुन्दर भविष्यका लागि हामीले सकेजति गर्यौं,' चेतबहादुरले भने, 'त्यसैको प्रतिफल हो, आज उनीहरूको प्रगति।'
यसो भन्दै गर्दा चेतबहादुर र सन्तुले आफ्नो आँसु लुकाउन सकेनन्।
अवरूद्ध गला सफा गर्दै र भिजेका आँखा पुछ्दै चेतबहादुरले भने, 'जीवनमा गरेका सबै दुःख आँखाअगाडि एकैचोटि सर्लक्कै आए। अब त त्यस्ता दुःख आउँदैनन् होला नि! बूढाबूढी नै ६० वर्ष कटियो। हाम्रो जिन्दगीमा ढिलै भए पनि खुसीको दिन आउन थाल्यो जस्तो लागेको छ।'
आले दम्पती कान्छी छोरी भेट्न एकपटक अमेरिका पुगिसके। माइली छोरी भएको जर्मनी त दुईपटक पुगे। अब केही समयमा फेरि अमेरिका जाने तयारी गर्दैछन्।
उनीहरूले केही वर्षअघि रामपुर बजार नजिकै तीन तल्लाको घर बनाएका छन्। गाडी पनि किनेका छन्। तर सवारी चालकको जागिर छाडेका छैनन्।
चेतबहादुर अचेल कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको गाडी चलाउँछन्। दैनिक ८ रूपैयाँ ज्यालाबाट काम थालेका उनको मासिक तलब ५३ हजार रूपैयाँ छ।
सन्तु अहिले पनि विश्वविद्यालयमा माली काम गर्छिन्। दैनिक ६६ रूपैयाँबाट सुरू गरेकी थिइन्, अहिले उनको मासिक तलब ३७ हजार छ।
'उपकुलपतिज्यूको काम प्रायः राजधानीतिरै हुन्छ। मन्त्रालय गइराख्नुपर्छ। त्यसैले प्रायः घरबाहिरै हुन्छु,' चेतबहादुरले भने, 'बिदाको समय दुई जना बूढाबूढी मिलेर घरको काम गर्छौं। मिलेको बेला आफ्नै गाडी लिएर घुम्न जान्छौं।'
चेतबहादुर र सन्तुले अब केही समयमा उमेर हदका कारण जागिर छाड्नुपर्छ। त्यसै पनि तीन जना छोरी र छोराले 'धेरै दु:ख गर्नुभयो, अब काम छाड्नुस्' भनेका भन्यै छन्।
'जुन काम गरेर छोराछोरी हुर्काइयो, उनीहरूलाई यति लायकको बनाइयो, त्यो कामप्रति त्यसै आदर जाग्दो रहेछ। अब छाड्नुपर्छ भन्ने सोचले नै कहाली लाग्छ,' सन्तुले भनिन्, 'हामीलाई त अझै केही वर्ष काम गर्न मन छ। चटक्कै माया मार्न कहाँ सकिन्छ र!'
चेतबहादुर बेला बेला सोच्ने गर्छन् – गाउँलेले गिज्याए भनेर उतिखेरै चौकीदारको जागिर छाडेको भए आज म के हुन्थेँ होला? मेरा छोराछोरी के गरिरहेका हुन्थे होलान्?
उनी यो पनि सोच्छन् – चौकीदारको काम गर्दागर्दै गाडी सिकेर क्याम्पसको गाडी हाँक्न नथालेको भए के हुन्थ्यो होला?
'जिन्दगीमा जे हुन्छ, राम्रैका लागि हुन्छ,' उनले भने, 'मेरो जिन्दगीमा जे भयो, मेरा छोराछोरीको भविष्यका लागि भयो। जुन दिन मैले उनीहरूलाई राम्ररी पढाउँछु भन्ने निधो गरेँ, त्यही दिन सायद मेरो पुनर्जन्म भयो। मैले त्यसपछिको सारा समय, सारा ऊर्जा र सारा सपना आफ्ना छोराछोरीमा केन्द्रित गरेँ। आज उनीहरू जहाँ पुगेका छन्, त्यो देख्दा हाम्रो हुर्काइबढाइ राम्रै भयो भन्ने लाग्छ। आमाबाबुका रूपमा हामी सफल भयौं भन्ने लाग्छ।'
यति हुँदाहुँदै उनी अरूभन्दा फरक गरियो वा अरूभन्दा खास गरियो भन्ने मान्दैनन्।
'आमाबाबुका रूपमा हामीले जे गर्यौं, त्यो सबै आमाबाबुले आफ्ना सन्तानका लागि गर्छन्,' चेतबहादुरले भने, 'फरक यत्ति हो, हामीले आमाबाबुका रूपमा आफ्नो क्षमताभन्दा ठूलो सपना देख्यौं र त्यो सपना पूरा गर्न जति कष्ट भोग्नुपरे पनि हार खाएनौं।'
***
यो पनि पढ्नुहोस्: