(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
धरानबाट १४ किलोमिटर उकालो लागेपछि पुगिन्छ भेडेटार। भेडेटारबाट तीन किलोमिटर पूर्वमा पर्ने सानो गाउँ हो नाम्जे।
धनकुटा जिल्लामा पर्ने नाम्जे आजका दिनमा पूर्वकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्य बनेको छ।
घरघरै खुलेका होटल र होमस्टेमा आगन्तुकको भीड लागिरहन्छ। आन्तरिक पर्यटक बाह्रैमास आइरहन्छन् भने कहिलेकाहीँ विदेशी पाहुना पनि झुल्किन्छन्।
एक दशक अघिसम्म यो गाउँबारे कमैलाई थाहा थियो। त्यति बेलाको दुर्गम, निर्धन र सुनसान गाउँ कायाकल्प हुनुमा एक जना विदेशीको हात छ, जसले आफ्नो विवेक, बर्कत र लगनको बलमा नाम्जेको रूपै फेरिदिए।
उनले केही नयाँ काम थालेर होस्टे गरे, स्थानीयबासीले त्यसैमा सहयोगको हैंसे थप्दै गए।
कुनै अर्को देशबाट आएका ती व्यक्ति को थिए? उनले कसरी नाम्जे गाउँ बदले?
यसबारे जान्नुअघि नाम्जेका बासिन्दाको दिनचर्या कस्तो छ, त्यसबारे कुरा गरौं।
अचेल यहाँका गाउँलेलाई फुर्सद कम छ। पाहुना सत्कार गर्ने, खुवाउने र बसाउने प्रबन्धमै दिन बित्छ। फेरिएको दैनिकीले उनीहरूको व्यस्तता मात्र बढाएको छैन, जीवनस्तर पनि उकासिएको छ।
दस वर्षयता आर्थिक रूपले फड्को मारेका व्यक्ति गाउँमा टन्नै भेटिन्छन्। तिनैमध्ये एक हुन् दिलकुमार मगर।
पहिले दिलकुमार गाउँमै मजदुरी गर्थे। कहिले बाटो बनाउने काममा जान्थे, कहिले छिमेकीका खेतबारीमा खटिन्थे। बुबा, आमा, श्रीमती र छोराछोरी गरी ६ जनाको परिवार धान्न सधैं मुस्किल हुन्थ्यो।
'दिनभरि ढुंगा बोकिन्थ्यो, खेत खनिन्थ्यो,' ५१ वर्षीय दिलकुमारले भने, 'कसै गर्दा पनि परिवार चलाउन नसकेपछि दुबई गएँ। त्यहाँ कम्पनीले ठग्यो। फेरि साउदीतिर गएँ। भनेजस्तो कमाइ भएन। उल्टै ऋण थपेर घर फर्किएँ।'
उनी फर्किँदासम्म गाउँमा बदलाव आइसकेको थियो। सँगै मजदुरी गरेर हिँड्ने साथीहरूले होमस्टे चलाएर छोटो समयमै तरक्की गरेको दिलकुमारले देखे। उनीहरूको फेरिएको जीवन देखेर उनले पनि त्यसै गर्ने निर्णय लिए।
दिलकुमारले आफू बस्दै गरेको झुप्रोमा केही कोठा थपे। त्यसमा खाटहरू हाले। शौचालय बनाए।
'दिनको कम्तिमा दुई-चार जना, बढीमा १५ जनासम्म पाहुना आइरहन्छन्,' उनले भने, 'पाहुनालाई खुवाइपियाइ गर्नुपर्छ। घर छाडेर निस्किनै भ्याइँदैन। म, श्रीमती र छोरालाई वर्षभरिजसो घरैमा भ्याइनभ्याइ छ।'
एक रात बास बस्ने एक जना पाहुनाले एक हजारदेखि चार हजार रूपैयाँसम्म खर्च गर्छन्। होमस्टे चलाएको पहिलो वर्ष नै घर बनाउँदा लागेको र विदेश जाँदा लिएको ऋण तिरेको उनले सगर्व सुनाए।
दिलकुमारलाई थाहा छ — नाम्जे घुम्न र बस्न आउने पाहुनाका कारण आफ्नो र गाउँका अरू परिवारको आर्थिक तरक्की भयो।
उनी र उनका छिमेकीलाई यो पनि थाहा छ — यो उपलब्धिका पछाडि एक जना भारतीय मूलका अमेरिकी नागरिकको सबभन्दा ठूलो हात छ।
ती अमेरिकी नागरिक हुन्, राजीवकुमार गोयल।
नाम्जेका हरेकजसो व्यक्ति राजीव गोयलको नाम श्रद्धापूर्वक लिन्छन्।
राजीवले यो गाउँमा त्यस्तो के जादु गरेका थिए त?
हामीले यसबारे कुरा गर्न नाम्जेको ग्रामीण जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक भुजेललाई भेट्यौं। कुनै समय राजीव यही स्कुलमा अंग्रेजी पढाउँथे।
'यो गाउँ र यहाँका बासिन्दालाई राजीवले जति गुन कसैले लगाएका छैनन्,' होटल होलिडे इनमा चिया पिउँदै ५४ वर्षीय टंकले भने।
यो होटल उनकै छोराले सञ्चालन गरेका हुन्।
टंकका अनुसार राजीव २०५९ सालमा अंग्रेजी शिक्षक बनेर नाम्जे आएका थिए। त्यसअघि बैतडीमा पिसकोर स्वयंसेवकका रूपमा काम गरेका उनी त्यता माओवादी प्रभाव बढेपछि सुदूरपूर्व सरेका रहेछन्।
टंक र राजीव स्कुलमा सहकर्मी थिए। उनीहरूबीच गाउँको हालतबारे अनेक कुराकानी हुन्थे।
त्यो बेला नाम्जेको अवस्था नाजुक थियो। भेडेटारबाट नाम्जे हुँदै पाँचथर जोड्ने सडक बनिसकेको थिएन। गाउँमा खानेपानीको हाहाकार थियो। एक घैला पानी ल्याउन एक बिहान जान्थ्यो। कतिसम्म भने, खानेपानी लिन अर्को जिल्ला सुनसरीको ढाँडे भन्ने ठाउँसम्म पुग्नुपर्थ्यो। पानीकै दुःखले बाहिरका छोरीहरू यहाँ बिहे गरेर आउन मान्दैन थिए। दिउँसो कक्षामा पढिरहेका विद्यार्थीलाई तिर्खा लाग्यो भने दुई घन्टा हिँडेर खोलासम्म जानुपर्थ्यो, या कक्षा माया मारेर घरै फर्किनुपर्थ्यो।
राजीवलाई गाउँको त्यस्तो अवस्था देखेर टिठ लागेछ।
एकदिन दिउँसो शिक्षक साथीहरूसँग उनले प्रस्ताव राखे, 'गाउँमा पानी ल्याउन सकिन्छ। यो काममा म आफै लाग्छु। तर गाउँलेले सहयोग गर्नुपर्छ।'
उनको अर्को पनि सर्त थियो — गाउँमा खानेपानी ल्याउने अभियानको अगुवाइ स्कुलले लिनुपर्छ।
शिक्षकहरूले सहमति जनाए।
प्रस्तावपत्र तयार भयो। गाउँलेसँग विभिन्न चरणमा छलफल चल्यो। अंग्रेजी, हिन्दी र नेपाली भाषामा राम्रो दख्खल भएका राजीवले गाउँलेलाई आश्वस्त पारे। त्यसपछि १०७ घरपरिवार बसोबास गर्ने नाम्जे र छिमेकी थुम्की टोलका बासिन्दा खानेपानी अभियानमा श्रमदान गर्न तयार भए।
गाउँभन्दा टाढाको साचा खोलाबाट पानी ल्याउने राजीवको योजना २०५९ सालको प्रारम्भबाट सुरू भयो।
'यसबीच हाम्रो गाउँमा पानीको अभाव देखिने खालका फोटो र भिडिओ राजीवले अमेरिकाभरि छरिसकेका रहेछन्,' टंकले सम्झे, 'श्रमदान चल्दाचल्दै उनी छोटो समयका लागि अमेरिका गए। फर्किँदा खानेपानीकै लागि भनेर ३० लाख रूपैयाँ सहयोग लिएर आए।'
राजीवले आफ्नो परिवार, साथीभाइ र सामाजिक सेवामा सहयोग गर्न चाहनेहरूबाट उक्त रकम जुटाएका थिए। यता गाउँलेले पनि प्रत्येक घरबाट एक जनाका दरले १३ महिनासम्म निरन्तर श्रमदान गरिरहे।
यसरी राजीवले जुटाएको आर्थिक सहायता र स्थानीयको श्रमदानबाट साचा खोलाको पानी 'लिफ्टिङ' गरेर नाम्जे ल्याइयो।
'जुन दिन गाउँमा पानी आयो, त्यो दिन सारा गाउँलेले अबिर र फूलमालाले राजीवको अभिनन्दन गरे,' दुई दशकअघिको घटना सम्झिँदै टंकले भने, 'हामी खुसीले रोयौं, राजीव झन् मज्जाले रोए।'
नाम्जेमा राजीवको योगदान यतिमै सकिन्न।
खानेपानी समस्या हल भएपछि उनले फेरि सबै गाउँले भेला पारे र अर्को प्रस्ताव राखे —
'म संसारका धेरै देश घुमेको छु। तपाईंहरूजस्तो निःस्वार्थी र सहयोगी मान्छे कमै देखेको छु। तपाईंहरूको ठाउँ आफैमा रमाइलो छ। त्यसैले यहाँ अब बाहिरका मान्छे घुम्न आउने अवस्था बनाऔं।'
राजीवको यही प्रस्तावबाट नाम्जेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान सुरू भयो।
र, यही अभियानले गाउँ र गाउँलेहरूको कायाकल्प गरायो।
त्यो दिन नाम्जे गाउँका जे-जस्ता विशेषता राजीवले सुनाए, यहीँका गाउँलेले पनि त्यसरी कहिल्यै सोचेका थिएनन्।
राजीवले भने, 'यहाँ एकैदिनमा धेरैथरी मौसमी परिवर्तन देख्न पाइन्छ। संसारकै सबभन्दा निःस्वार्थी मगर जाति र उनीहरूको संस्कृति छ। ताजा तरकारी फल्छ। वरिपरिको दृश्य रमणीय छ। हामी पाहुनाहरूलाई स्थानीय मदिराले स्वागत गर्न सक्छौं। सबभन्दा राम्रो त यहाँ बाह्रै महिना चिसो मौसम हुन्छ। आधा घन्टा दुरीमा तराई पुगिन्छ। गर्मी याममा तराईका मान्छे यहाँ धुइरिनेछन्।'
गर्मी छल्न आएकामध्ये आधालाई पनि एक रात गाउँमा रोक्न सक्यौं भने धेरै आम्दानी हुने उनले बताए। यसका लागि नाम्जेका घर-घरमा होमस्टे सुरू गराउन आफ्नै पहलमा पर्यटकहरू निम्ता गर्ने प्रस्तावसमेत राखे।
'तपाईंहरूले हरेक घरमा एक-एक जना मान्छे राखेर अभ्यास गर्ने हो भने म मान्छे बोलाइदिन्छु,' राजीवको भनाइ उद्धृत गर्दै स्थानीय जीतबहादुर मगरले भने, 'तपाईंहरू जे खानुहुन्छ, त्यही खुवाए हुन्छ। थोरै पैसा लिनुस्। यत्ति हो, सरसफाइमा ध्यान दिनुपर्छ।'
राजीवको प्रस्ताव गाउँलेले सहर्ष स्वीकार गरे।
त्यसपछि राजीवले आफ्नो सम्पर्कका मान्छे नाम्जे बोलाउन थाले। केही विदेशी आए, केही नेपाली आए। महिनादिनमै गाउँमा पर्यटकको भीड बढ्न थाल्यो।
'राजीव सरको सम्पर्क राम्रो रहेछ। मान्छे त ह्वारह्वार्ती ओइरिए,' प्रधानाध्यापक टंकले भने, 'यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हामीले फूलमाला र अबिरले स्वागत गर्यौं। उनीहरूका लागि त्यो नौलो अनुभव भयो। दिनभरि घुमेर फर्किने विचारले आएकाहरू यहाँको मौसमी रमाइलो देखेर बास बस्न थाले। तर एकैचोटि धेरै जना राख्न हाम्रो पूर्वाधार बनिसकेको थिएन। त्यसैले कति त रिसाउँदै फर्किए।'
बिस्तारै हरेक घरपरिवार यो अभियानमा मिसिँदै गए। पूर्वाधार थपिँदै गयो। एउटा घरले कम्तिमा एक जना पाहुना राख्ने गरी थिति पनि बसालियो।
पाहुना बस्ने विदेशीहरू गाउँलेसँगै घाँसदाउरा र मेलापात जान्थे । फोटो र भिडिओ खिच्थे। गाउँले संस्कृति र रहनसहनमा घुलमिल हुन्थे।
'एकपटक राजीव सरसँग २५-३० जना अमेरिकीहरू आइपुगे,' टंकले सम्झिए, 'त्यही टिममा सिएनएनका दुई जना पत्रकार रहेछन्। उनीहरूले फर्केर हाम्रो गाउँको रिपोर्ट बनाएछन्। त्यो रिपोर्टमा संसारका १२ मुख्य पर्यटकीय गन्तव्यमध्ये नाम्जेलाई आठौं नम्बरमा राखिएको थियो। त्यसपछि त पर्यटकहरूको धुइरो नै लाग्यो। कोरोना लकडाउन बेलाबाहेक आजसम्म हाम्रो गाउँ कहिल्यै सुनसान भएको छैन।'
सिएनएन पत्रकारले नाम्जेलाई संसारका प्रमुख १२ गन्तव्यमध्ये एक भन्नुमा केही आधार दिएका थिए —
पहिलो, पाहुनालाई गरिने सत्कार।
'हरेक विदेशीले नाम्जेमा जति स्वागत र सेवा संसारमा कतै पाएका थिएनौं भन्थे रे,' वि राटनगर बसेर होटल व्यवस्थापन पढिरहेकी नाम्जेकै विद्यार्थी सुम्निमा राईले भनिन्, 'त्यसैले यो संसारको दुर्लभ ठाउँ हो भनेर उहाँहरूले समाचार बनाउनुभएको रहेछ।'
दोस्रो, मगर समुदायको बाक्लो बसोबास।
उनीहरूले यहाँको मगर संस्कृति र परम्परागत हुर्रा नाचलाई संसारकै दुर्लभ भनेका थिए।
तेस्रो, यहाँका मान्छेको खुसी।
'चरम गरिबी, अभाव र भौगोलिक विकटतामा पनि मान्छे कसरी खुसी हुन्छ भन्ने थाहा पाउन नाम्जे घुम्नुपर्छ भन्ने सिएनएनको रिपोर्टमा थियो,' प्रधानाध्यापक टंकले भने।
र, चौथो, यहाँको मौसमी विविधता।
'नाम्जेमा एकैदिन १२ थरीको मौसम अनुभव गर्न पाइन्छ,' टंकले भने, 'एकैछिनमा कुइरीमण्डल हुन्छ, एकै छिनमा पानी पर्छ। घरि सिरेटो चल्छ, घरि बादलले आकाश डम्म ढाकिन्छ। कहिले घाम चर्किन्छ, कहिले चिसोले कठ्यांग्रिनुपर्छ।'
यति मात्र होइन, सिएनएन रिपोर्टले समेटेको अर्को एउटा प्रसंग पनि रोचक छ।
राजीवकै निम्तोमा अमेरिकी इन्जिनियर ट्रयाभिस प्राइसको नेतृत्वमा २२ देशका इन्जिनियर नाम्जे आएका थिए। उनीहरूले मगर समुदायका पूर्वजको चिहानस्थलमा एउटा संरचना बनाए र त्यसलाई नामकरण गरिदिए — आत्मा बस्ने घर।
मगर संस्कृतिसँग जोडिएको त्यो घरले पनि नाम्जेको पहिचान बनाउन मद्दत गर्यो।
सिएनएन रिपोर्ट र एकचोटि नाम्जे घुमेर फर्केकाहरूको मौखिक प्रचारले गाउँमा पर्यटक ह्वात्तै बढेको पुराना होमस्टे सञ्चालक गुन्जमान मगर बताउँछन्।
'गाउँलेहरू अप्ठ्यारो भूगोल र कठोर दैनिकीसँग दिक्क थिए। पर्यटकहरू त्यसमै रमाउन आउने र उनीहरूमार्फत् आम्दानी हुन थालेपछि हामीलाई पनि आफ्नो ठाउँप्रति मोह बढ्न थाल्यो,' उनले भने, 'हुलका हुल पाहुना आउन थालेपछि हामीले घरगाउँका सुँगुरका खोर व्यवस्थापन गर्न र सरसफाइमा ध्यान दिन थाल्यौं। पाँच-सात वर्षयता धेरै व्यवस्थित भइसकेको छ।'
उनका अनुसार होमस्टे थाल्दा गाउँमा बिजुली थिएन। लालटिन (पेट्रोल म्याक्स) को उज्यालोमै पाहुना रमाउँथे।
यसबीच होमस्टे राम्रो चल्न थालेपछि सरकारले गाउँलेलाई विभिन्न तालिम दिन थाल्यो। भेडेटारबाट पाँचथरको रवि-राँके जोड्ने सडक बन्यो। गाडीहरूको आउजाउ बाक्लो भयो। गाउँमा बिजुली पनि पुग्यो।
नाम्जेका १८ घरपरिवार अहिले होमस्टेमा व्यस्त छन्। यति नै संख्याका गाउँलेले होटल खोलेका छन्।
होटल र होमस्टे नगरेका अरू ५० हाराहारी परिवार तरकारी खेती गर्छन्। बाँकीले कुखुरा, खसी र सुँगुर पालेका छन्। कुनै बेला पिठ्युँमा भारी कसेर पैदलै धरान पुर्याउनुपर्ने तरकारी र कृषि उपज अहिले गाउँमै खपत हुन्छ।
'यहाँ हाम्रो डेढ सय परिवार जति छ। उनीहरूले पाँचवटा समूह बनाएका छन्,' दिलकुमार मगरले भने, 'एउटा समूहले होमस्टे चलाएको छ, अर्कोले तरकारी खेती गरेको छ। अर्कोले पशुपालन गरेको छ। सबैको उत्पादनको मुख्य बजार आफ्नै गाउँ हो।'
गाउँको उपज गाउँमै खपत गर्ने तरिका पनि राजीव गोयलले नै सिकाएका हुन्।
प्रधानाध्यापक टंकको अनुभवमा २०५९ साल अघिसम्म नाम्जेका ७० प्रतिशत मानिस ज्यादै गरिब थिए। अर्काको खेतबारी र बाटोघाटोमा ज्याला मजदुरी गर्थे। खेतबारीको आम्दानीले वर्षको मुस्किलले तीन महिना मात्र खान पुग्थ्यो। अहिले गाउँलेहरू आत्मनिर्भर भएका छन्। गाउँको आर्थिक प्रगतिले घरजग्गाको मूल्य पनि ह्वात्तै बढेको छ।
'२०४८/४९ सालतिर बाटैमा रहेको चार आना जग्गा मैले ३५ सय रूपैयाँमा किनेको थिएँ,' टंकले भने, 'अहिले कम्तिमा एक करोड रूपैयाँ पर्छ।'
राजीवले भन्थे पनि — तपाईंहरू आफ्नो जग्गा-जमिन नबेच्नुहोला। हेर्दै जानुस्, पर्यटकहरू बढेपछि यहाँको माटो नै सुन बन्छ!
उनको यो भनाइ धेरैले माने, कतिले मानेनन्।
राजीव यो पनि भन्थे — तपाईंहरू कोठाहरूमा सुविधा थप्नुस्, तर ठुल्ठूला घर कहिल्यै नबनाउनुस्।
पर्यटक आकर्षित गर्ने हो भने गाउँले आफ्नोपन जोगाइराख्नुपर्छ भन्ने राजीवको तर्क थियो।
उनको यो भनाइ भने कतिले माने, धेरैले मानेनन्।
जिन्दगीभरि सानो झुप्रोमा बसेका गाउँलेले आम्दानी बढेपछि पक्की घर ठड्याए। घरघरै बाइक भित्र्याए।
यसले नाम्जे गाउँको घर-घरमा जुन मगर संस्कृति झल्किन्थ्यो, त्यो बिस्तारै हराउँदै गयो।
'यो देखेर राजीव सर रिसाउनुभयो। उहाँले सम्झाउनुभयो, तर गाउँलेहरूले अटेर गरे। त्यही झोकमा दस वर्षअघि कसैसँग बिदा नमागी उहाँ गाउँ छाडेर हिँडनुभयो,' टंकले भने, 'अहिलेसम्म फर्केर आउनुभएको छैन।'
'उहाँले भनेको मानेको भए सायद यो गाउँलाई विश्वकै नमूना बनाउन सकिन्थ्यो,' उनले थकथकी माने।
अहिले गाउँलेहरूको आँखा खुलेको छ। उनीहरू राजीव फेरि आइदियोस् भन्ने चाहन्छन्। तर बोलाउन असहज मान्छन्।
'बाटो आयो, गाडी आयो, बिजुली आयो, ठूला घर बने। हामी विकासै विकास देख्छौं, राजीव सर भने विनाशै विनाश देख्नुहुन्छ,' उनले भने, 'त्यही असहज लागेर हामीले बोलाएका छैनौं। उहाँ पनि आउनुभएको छैन।'
राजीव सधैं भन्थे, 'अहिले गाउँमा जस्ता साना घर छन्, त्यस्तै होस्। सुविधा थपिएको होस्। हल्लाखल्ला नहोस्, सबै घर एकै स्वरूपका होऊन्, सकेसम्म खर नभए पनि टिनको छानो होस्। जस्तापाताका हरिया छानामा काँक्रा, फर्सीका डल्ला लडिरहून्। यही चिज हेर्न मान्छे ओइरिनेछन्। बाहिरका मान्छेलाई खुला दिलले स्वागत गर्नुस्। सेवा दिनुस्। तर जमिन उनीहरूलाई नबेच्नुस्। बाहिरका मान्छेले तपाईंहरूको मौलिकता मासिदिनेछन्।'
सुरूमा केही समय राजीवको कुरा माने पनि कारोबारसँगै आम्दानी बढ्दै जाँदा त्यसमा अडिग रहन नसकेको टंक बताउँछन्।
'हामी पक्की घर बनाउनतिर लाग्यौं। उहाँले चित्त दुखाउनुभयो,' उनले भने, 'त्यही चित्त दुखाइले गाउँ छाड्नुभयो।'
होमस्टे चलाइरहेका १८-२० घर मगर परिवारले भने अहिले पनि राजीवका कुरालाई गुरूमन्त्र जत्तिकै मानिरहेका छन्।
'सानो सानो पक्की घर बनाउन पुग्ने पैसा कमाइएको छ। जग्गा बेच भन्नेहरू पनि आउँछन्। तर राजीव सरको सल्लाह मानेर जग्गा बेचेका छैनौं। पक्की घर पनि बनाएका छैनौं,' होमस्टे सञ्चालक दिलकुमारी मगरले भनिन्, 'हामी १८-२० घरका मान्छे जति दाम पाए पनि जग्गा नबेच्ने भनेर अडिग छौं।'
'जसले हामीलाई यो अवस्थामा उकास्नुभयो, उहाँको कुरा कसरी काट्नू!' उनले अगाडि भनिन्, 'राजीव सर एकपटक भए पनि गाउँमा आइदिनुभए हुन्थ्यो।'
राजीवले बाटो देखाएर बदलेको नाम्जे गाउँका होमस्टे तथा होटलमा अहिले एकैदिन पाँच सय जना अट्ने क्षमता छ। नाम्जेको अवस्थाले छिमेकी गाउँहरू पनि लाभान्वित छन्। डाँडाबजार, ओख्रे, राजारानी क्षेत्रमा उत्पादन हुने इस्कुस, आलु, सागपात लगायत तरकारी नाम्जे, थुम्की र भेडेटारतिरै खपत हुन्छ।
'यता घुम्न र बस्न आउने पाहुनाले तिनै तरकारी र सागपात खान्छन्। फर्किँदा भारीका भारी किनेर लैजान्छन्,' भेडेटार चोकैमा तरकारी पसल चलाउने राधिका लिम्बूले सुनाइन्, 'तरकारी बेच्ने र फलाउनेहरूलाई अहिले नराम्रो छैन।'
नाम्जे आउने पाहुनाले लोकल कुखुराको झोल, तोङ्बा, घरेलु मदिरा, कुखुरा र सुँगुरको सेकुवा, सुकुटी बढी रूचाउने स्थानीयको अनुभव छ। त्यसबाहेक यहीँ उत्पादित आलु, सागपात, अकबरे खुर्सानी खान रूचाउनेहरू उत्तिकै हुन्छन्। लैजानेहरू पनि त्यत्ति नै।
साँघुरीगढी गाउँपालिका, वडा नम्बर ६ मा पर्ने नाम्जे, थुम्की र भेडेटार बजारभरि सधैंजसो पर्यटकको चहलपहल हुन्छ। होमस्टे सञ्चालकहरूका अनुसार तराईमा उकुसमुकुस गर्मी हुन थालेपछि मान्छेहरू उकालो चढिहाल्छन्। मंसिर, पुस र माघमा संख्या थोरै हुन्छ, अरू बेला सधैं खचाखच।
प्रधानाध्यापक टंक भुजेलका नजरमा पछिल्ला ३० वर्षमा यो गाउँले रूप मात्रै फेरेको छैन, आत्मा पनि फेर्दै लगेको छ।
'१३ महिनासम्म निरन्तर श्रमदान गर्न सक्ने हामी नै हौं। तर अहिले १३ मिनेट फुर्सद निकाल्न गाह्रो छ,' उनले भने, 'पर्यटकहरू आइरहने भएकाले मान्छे घरघरै व्यस्त छन्। सामाजिक काममा निस्किनै नसक्ने भए। बढ्दै जाने आम्दानी र थपिँदै जाने सम्पत्तिले मान्छेलाई झन् स्वार्थी बनाउने हो कि भन्ने डर बढेको छ।'
***