(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले पढ्न मिल्ने गरी खुला गरेका छौं।)
तीन महिनाअघि एक महिलाको बलात्कार भयो।
प्रहरी अनुसन्धान क्रममा उनले आफूमाथि भएको करणीको बयान दिनु थियो। तर बयान दिने कसरी?
उनी बोल्न र सुन्न सक्थिनन्।
आफ्नो शारीरिक अपांगताका बाबजुद उनी जसरी पनि ती अपराधीलाई दण्ड दिलाउन चाहन्थिन्। तर दिलाउने कसरी?
उनको हातको इसारालाई प्रहरी रिपोर्टमा कुनै ठाउँ थिएन।
बिलखबन्दमा परेकी ती महिलालाई साथ दिन अघि सरे, दिनेश श्रेष्ठ।
ती महिलाले आफूमाथि भएको बलात्कारको बयान हातको इसारा र हाउभाउबाट दिनेशलाई सुनाइन्। दिनेशले उनको इसारा बुझे। हाउभाउको अर्थ लगाए। र, त्यही वृत्तान्त प्रहरीलाई सुनाए।
अदालतमा पनि ती महिलाको आवाज र कान बनेर दिनेश नै उभिए।
घटनाको टुंगो अझै लागेको छैन, तर कानुनी प्रक्रिया अघि बढेको छ।
'दुई–तीनपटक मुद्दाको पेसी सरिसक्यो। एक महिनापछि फेरि पेसी छ,' दिनेशले भने, 'जति ढिला भए पनि ती महिलाले न्याय पाउँछिन् भन्ने आशा छ।'
बोल्न र सुन्न नसक्ने ती बलात्कृत महिलालाई न्याय दिलाउन होमिएका दिनेश राष्ट्रिय बहिरा महासंघ नेपालमा दोभासेको काम गर्छन्। बोल्न र सुन्न नसक्नेहरूको सञ्चारमा हातेमालो गर्नु उनको दैनिक हो।
उनीकहाँ सबभन्दा धेरै समस्या महिला हिंसाकै आउँछ। अन्य महिलाको तुलनामा आफ्नो कुरा बोलेर भन्न नसक्नेहरूमाथि शारीरिक तथा मानसिक हिंसाका घटना धेरै हुने उनको भनाइ छ।
उनले हामीलाई त्यस्तै अर्को घटना सुनाए —
दुई वर्षअघि कुरा हो। लमजुङको सुन्दरबजार नगरपालिका–१ कुन्छाकी २८ वर्षीया महिलाको बलात्कार गरी हत्या गरिएको थियो। घटनामा एक जना पक्राउ परे। एक विवाहित पुरूषले बोल्न र सुन्न नसक्ने ती महिलालाई ललाइफकाई बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्यो।
'देशव्यापी आवाज उठे पनि यो घटनाको टुंगो अझै लागेको छैन,' उनले भने।
३५ वर्षीय दिनेशले बोल्न र सुन्न नसक्नेहरूका लागि दोभासेको काम सुरू गरेको १४ वर्ष भयो। यसबीच उनी बोल्न नसक्ने हजारौंको आवाज बनेका छन्। अन्यायमा परेका थुप्रै पीडितलाई न्याय दिलाएका छन्। कति बेरोजगारलाई रोजगार पनि बनाइदिएका छन्।
आफ्नो कुरा आफै भन्न सक्नेहरूलाई बोल्न–सुन्न नसक्नेहरूका कुरा बुझाइदिने दिनेशसँग हाम्रो भेट गत सोमबार उनकै कार्यालयमा भएको थियो। हामी पुग्दा उनी भिडिओ कुराकानीमा व्यस्त थिए। सकिनेबित्तिकै हामीसामु आएर उनले भिडिओ कुराकानीबारे जानकारी दिँदै भने, 'नुवाकोटका बोल्न र सुन्न नसक्ने महिलाले आत्मनिर्भर बन्ने सीप सिक्न चाहेका छन्। उनीहरूको सांकेतिक भाषा स्थानीय जनप्रतिनिधिले नबुझ्ने भएकाले अनुवाद गर्न खबर गरेका थिए।'
उनले त्यही दिनको अर्को भिडिओ कुराकानीबारे पनि हामीलाई बताए।
उनलाई एक महिलाले भिडिओमार्फत् आफ्नो समस्या सुनाएकी रहिछन्। ती महिलाको अमेरिका गएर पढ्ने सपना रहेछ। तर बोल्न–सुन्न नसक्ने भएपछि उनलाई समस्या परेछ।
सुरूमा त उनी विभिन्न कन्सल्टेन्सी धाइछन्। आफ्नो कुरा बताउन समस्या भएपछि कापीमा लेखेर सञ्चार गर्ने प्रयास पनि गरिछन्। कति कुरा बुझाउन सकिन्, कति सकिनन्। आफ्ना सबै कुरा बुझाउन समस्या भएपछि उनले दिनेशलाई सम्पर्क गरेकी रहिछन्।
यसरी दिनकै १०–१५ जना मानिसका समस्यासँग दिनेशको साक्षात्कार हुन्छ। युवादेखि बुढापाकासम्म आफ्ना समस्या सुनाउन उनलाई भिडिओ कल गर्छन्। कति कार्यालयमै आउँछन्। धेरैजसो युवा पढ्न समस्या भएको, यौन दुर्व्यवहार भएको, रोजगारी नपाएको लगायत घटना सुनाउँछन्। बुढापाकाहरू अपहेलनामा परेको, भत्तामा समस्या आएको लगायतका समस्या बताउँछन्।
'म कहिले संस्थागत त कहिले व्यक्तिगत रूपमा सहयोग गर्छु। सहयोग माग्न आउने कसैलाई पनि खाली हात फर्काउन मन लाग्दैन,' उनले भने, 'सहयोग गरेबापत् शुल्क पनि लिन्नँ। संस्था वा कुनै कार्यक्रममा दोभासे बन्नुपर्दा भने शुल्क लिन्छु।'
![_S0A5948-copy-1719821664.jpg](https://www.setopati.com/uploads/posts/_S0A5948-copy-1719821664.jpg)
दिनेशको यो यात्रा एसएलसीपछि सुरू भएको हो।
नुवाकोटबाट २०६२ सालमा एसएलसी दिएका उनी त्यसको एक वर्षमा थप अध्ययनका लागि काठमाडौं आएका थिए। ताहाचलस्थित महेन्द्र रत्न क्याम्पसमा उच्च शिक्षाका लागि भर्ना भए।
कक्षा ११ पढ्दै गर्दा उनले आफ्नै कक्षामा दुई जना सहपाठी इसारै इसारामा बोलेको देखे। आवाजबिनै हात चलाएर कुराकानी गरेको देख्दा उनलाई अचम्म लाग्यो। जिज्ञासा पनि बढ्यो।
'गाउँमा त्यसरी कुरा गर्ने कोही देखेको थिइनँ,' उनले भने, 'उनीहरूलाई देखेपछि इसारामा कसरी बोलेका होलान् भनेर जान्ने हुटहुटी जाग्यो।'
त्यसपछि त दिनेशलाई पढाइभन्दा बढी चासो उनीहरूको कुराकानीमा हुन थाल्यो। उनी तिनको हाउभाउ र इसारा नियाल्न थाले। दिनहुँ उनीहरूलाई हेर्दा–हेर्दै उनीहरूका निकट साथी भए।
'ती दुई जना साथीले सांकेतिक भाषा सिकेका रहेछन्। त्यसको तालिम पनि भइरहेको उनीहरूले जानकारी दिए। मलाई सिक्न प्रोत्साहन गरे। कलेजको पढाइ दिउँसो भएकाले बिहानको समय सांकेतिक भाषा सिक्ने कुरा मलाई ठिकै लाग्यो,' दिनेशले भने।
अन्तर्राष्ट्रिय स्तरमा सांकेतिक भाषाको स्नातक र स्नाकोत्तर पढाइ हुन्छ। नेपालमा भने ६ महिने तालिम दिइन्छ। दिनेशले सिक्ने बेला जम्मा चार महिनाको तालिम थियो। नयाँ कुरा सिक्ने हुटहुटीले उनी राष्ट्रिय बहिरा महासंघमा भर्ना भए।
सुरूआतमा उनलाई सांकेतिक भाषा सिक्न निकै गाह्रो भयो। हातको हाउभाउ मिलाउनै मुस्किल पर्यो। दुई–चार दिन सिकेपछि दिक्कै भए।
मनमनै सोचे पनि, 'यो सिकेर केही काम छैन, छोडिदिन्छु।'
मनमा यस्तो तर्कना चले पनि बिहानको समय खाली भएकाले उनले छाडी चाहिँ हालेनन्। बिस्तारै बानी पर्दै जाला भन्ने सोचे।
'नभन्दै हात बस्न थालेपछि त रमाइलो पो लाग्न थाल्यो,' उनले भने, 'कक्षामा साथी भएपछि अभ्यास पनि भयो।'
दिनेशले तालिम सकेको समयतिरै पहिलो संविधानसभामा रघुवीर जोशी बोल्न–सुन्न नसक्ने समुदायका पहिलो सभासद बने। उनलाई सांकेतिक भाषा अनुवाद गर्न दोभासेको खाँचो पर्यो। उनी राष्ट्रिय बहिरा महासंघ आए। त्यहाँका शिक्षक र साथीहरूले दिनेशको नाम सिफारिस गरिदिए।
'शिक्षक र साथीहरूले मैले अलि छिटो सिक्छु भन्ठान्नुभएको थियो,' उनले भने, 'त्यही भएर मेरो नाम सिफारिस गर्नुभयो।'
सभासद जोशीसँग काम गर्न पाए पनि उनले संसदमै गएर बोल्न भने पाएनन्। त्यहाँ सम्बन्धित व्यक्तिबाहेक अरूलाई बोल्ने सुविधा थिएन। अन्य कार्यक्रममा जाँदा भने जोशीले सांकेतिक भाषामा भनेका कुरा उनले आमजनता र प्रतिनिधिहरूलाई बुझाइदिए।
'जोशी सभासद बनेको ६ महिनापछि मात्र संसदमा सम्बन्धित व्यक्तिबाहेक अरूले बोल्न नमिल्ने व्यवस्था संशोधन गरिएको थियो,' दिनेशले भने।
भाषा सहजीकरण क्रममा एकदिन जोशीले भनेको एउटा शब्द दिनेशले बुझेनन्। कार्यक्रममा प्रमुख अतिथि रहेका जोशीलाई आफ्नो कुरा नबुझेपछि झोक चल्यो। तीन–चारपटक भन्दा पनि दिनेश अलमलिएको देखेपछि जोशीले रिसाउँदै भने, 'यस्ता मानिसले सांकेतिक भाषा सिकेर खाँदैन।'
त्यो घटनाले दिनेशलाई सांकेतिक भाषा सुधार्न झनै हौस्यायो।
उनले जोशी सँगसँगै देउराली जनता फर्मास्युटिकल्समा पनि दोभासेका रूपमा काम गरेका थिए। देउरालीले सुन्न नसक्ने १५–२० जनालाई रोजगारी दिएको थियो। दिनेशले उनीहरूको कुराकानीमा सहजीकरण गर्थे।
सभासदसँग आठ र देउरालीमा पाँच वर्ष काम गरेको अनुभव बटुले पनि उनलाई धेरैले दोभासेका रूपमा चिनेको कोरोना कालमा हो।
संसारभरि कोरोना महामारी चल्दा स्वास्थ्य मन्त्रालयले हरेक दिन टेलिभिजनमा लाइभ अपडेट दिन सुरू गरेको थियो। त्यस क्रममा बोल्न र सुन्न नसक्नेहरूलाई सांकेतिक भाषामा कोरोना अपडेट दिन्थे दिनेशले।
हुन त उनी पाँच–सात वर्षदेखि नै नेपाल टेलिभिजनमा सांकेतिक भाषामा समाचार भनिरहेका थिए। तर त्यति बेला धेरैले वास्ता गरेका थिएनन्। कोरोना बेला भने लकडाउनले सबै मानिस घरमै थिए। स–साना गतिविधिमा पनि सबको नजर जान्थ्यो। त्यसैबीच उनले सांकेतिक भाषामा कोरोना अपडेट दिइरहेको सबैले देखे।
'मेरा आफन्त र साथीभाइहरू मलाई टिभीमा देखेर खुसी भए, हौसला बढाए,' उनले भने, 'कतिले भने समाचार भन्ने मानिस पागल हो कि भनेर सामाजिक सञ्जालमा तथानाम गाली पनि गरे। त्यसरी गाली खाए पनि सांकेतिक भाषाबारे धेरैलाई थाहा भयो। बिस्तारै मानिसहरूले टिभीमा हात चलाउने व्यक्ति पागल नभई दोभासे हो भन्ने बुझे।'
सुरूमा दिनेशले दोभासेका रूपमा काम गर्दा धेरैलाई सांकेतिक भाषाबारे थाहै थिएन। अहिले महत्त्व बुझ्न थालेपछि टेलिभिजन तथा अन्य कार्यक्रममा दोभासेको व्यापक प्रयोग हुन्छ। कतिलाई भने अझै पनि यस्ता दोभासे हुन्छन् भन्ने नभएको दिनेश बताउँछन्।
उनले दुई वर्षअघिको एउटा घटना सुनाए —
एक गर्भवती महिला आफ्नो गर्भ परीक्षणका लागि प्रसूति गृह गएकी थिइन्। उनका श्रीमान पनि सँगै थिए। दुवै जना बोल्न–सुन्न सक्थेनन्।
उनीहरूले सायद आफ्नो समस्या डाक्टरलाई राम्ररी बताउन सकेनन्। यस्तो समस्या पर्दा दोभासे प्रयोग गर्न सकिन्छ भन्ने पनि उनीहरूलाई थाहा थिएन।
गर्भवती महिलालाई डाक्टरले गलत औषधि दिए। केही दिनमै बच्चाको मृत्यु भयो।
'उनीहरूले आफ्नो बच्चाको न्यायका लागि आवाज पनि उठाउन सकेनन्,' दिनेशले भने, 'मैले त्यति बेला यो घटनाबारे थाहा पाएको भए सहयोग गर्न सक्थेँ कि भन्ने लाग्छ।'
दोभासे हुन्छन् भन्ने मात्र होइन, धेरैलाई त बोल्न र सुन्न नसक्नेलाई पढाउन सकिन्छ भन्ने पनि थाहा छैन। यही कारणले त्यस्ता धेरै बालबालिकाको पढाइ छुटेको छ।
'सहरको तुलनामा गाउँहरूमा बोल्न–सुन्न नसक्नेका लागि स्कुल कम छन्। त्यसैले सबै विद्यार्थीलाई सँगै राखेर पढाउने गरिन्छ,' उनले भने, 'यसरी पढाउँदा बोल्न-सुन्न नसक्ने विद्यार्थीलाई समस्या भएपछि उनीहरू स्कुल नै जान छाडेको प्रशस्त भेटेको छु।'
दिनेशका अनुसार बोल्न–सुन्न नसक्नेका लागि देशभर २४ वटा विद्यालय छन्। पाँचवटामा प्लस-टूसम्मको पढाइ हुन्छ। बाँकीमा कक्षा १० सम्म पढाइन्छ। सबै गरेर करिब १५ हजार विद्यार्थी पढिरहेका छन्।
![_S0A5892-copy-1719821664.jpg](https://www.setopati.com/uploads/posts/_S0A5892-copy-1719821664.jpg)
बोल्न–सुन्न नसक्नेका लागि सात हजार सांकेतिक शब्द छन्। यसलाई अझै बढाउने राष्ट्रिय बहिरा महासंघको योजना छ।
दिनेशका अनुसार सांकेतिक भाषा भनेको १० औंलाको चाल हो। यसमा औंलाहरूको संकेत र ओठ चलाएर बिनाआवाज एकअर्कासँग कुराकानी हुन्छ।
'सामान्यतया सबै मानिसले हातको इसाराबाट दुई–चार शब्द बुझ्छन्। नमस्कार, कता जान लागेको, खाना खायौ जस्ता कुरा इसाराबाट सजिलै बुझाउन सकिन्छ,' दिनेशले भने, 'बाँकी कुराकानी भन्न पढ्नैपर्छ।'
त्यसै पनि नेपालीका लाखौं शब्दलाई जम्मा सात हजार सांकेतिक शब्दमा बुझाउनु चुनौतीपूर्ण काम हो। दिनेश अनुभवी दोभासे भइसके, तैपनि उनलाई यो काम गाह्रो लाग्छ। कार्यक्रममा दोभासे भएर जाँदा उनी प्रस्तोताहरूलाई बिस्तारै बोल्न अनुरोध गर्छन्। बोलेको कुरा सुनेर हातको चालमा उतार्नुपर्ने भएकाले दिमाग र हात दुवै सक्रिय राख्नुपर्ने हुन्छ। लामो कार्यक्रम हुँदा त हात चलाउँदा चलाउँदा थाकिन्छ पनि।
'पहिला एक–डेढ घन्टाभन्दा बढी गर्न सक्दिनथेँ,' उनले भने, 'अहिले तीन–चार घन्टा पनि सांकेतिक वा आवाजमा अनुवाद गर्न सक्छु।'
दिनेश कहिलेकाहीँ बाटोमा हिँड्दा पनि हात चलाउँदै हिँड्छन्। कहिलेकाहीँ आफू बोल्न सक्छु भन्ने नै बिर्सन्छन्। कहिलेकाहीँ बोल्नुपर्ने ठाउँमा पनि हात चलाइरहेका हुन्छन्।
'बाटोमा हात चलाउँदै हिँड्दा त कतिले पागल हो कि भनेर मलाई हेरिबस्छन्,' उनले मुसुक्क हाँस्दै भने, 'बोल्न–सुन्न नसक्नेहरू भने मैले कसरी इसारामा बोल्न सकेको होला भनेर छक्क पर्छन्। कतिले कसरी सिक्नुभयो भनेर सोध्छन् पनि।'
यतिका समय दोभासेका रूपमा काम गरे पनि आफ्नो छुट्टै लाइसेन्स नभएकोमा दिनेशलाई गुनासो छ। अर्को गुनासो सबै स्थानीय तहले दोभासे नराख्नु हो।
पहिलो गुनासोको सुनुवाइ हुँदैछ। राष्ट्रिय बहिरा महासंघले दोभासेहरूको मान्यताप्राप्त कार्ड बनाउने तयारी थालेको छ। दोस्रो गुनासो पनि छिट्टै सुनियोस् भन्ने उनी चाहन्छन्।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुन्न नसक्ने व्यक्ति १ लाख २ हजार ८९३ छन्। बोल्न र सुन्न नसक्ने ५१ हजार ३७३ जना छन्। महासंघले भने तीन लाखभन्दा बढी भएको दाबी गर्दै आएको छ। तथ्यांकमा सबै नसमेटिँदा उनीहरूको अवस्था थाहा हुन्न। पाउनुपर्ने सुविधाबाट पनि वञ्चित हुन्छन्।
राष्ट्रिय सांकेतिक भाषा दोभासे संघ नेपालका अनुसार तालिमप्राप्त दोभासेको संख्या ६० जना छ। तीमध्ये १५–२० जना मात्र विभिन्न संघ-संस्थामा आबद्ध भएर काम गरिरहेका छन्। कतिले पार्टटाइम काम गरिरहेका छन्।
'सरकारी तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा दोभासे संख्या करिब १० हजार हुनुपर्ने हो। तर एकदमै कम छन्,' दिनेशले भने, 'जति छन्, उनीहरूसम्म पनि बोल्न–सुन्न नसक्ने सबैको पहुँच छैन। त्यसैले उनीहरू आफ्नो जीवन कसरी बिताइरहेका होलान्, के–कस्ता समस्या झेलिरहेका होलान् भन्ने कुराले पिरोलिरहन्छ।'
***