(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले पढ्न मिल्ने गरी खुला गरेका छौं।)
परदेशमा जमेका नेपाली
समीर मास्केले दस वर्षअघि आफ्नो लिभिङ रूमको एक कुना खाली गरे।
त्यही कुनामा एउटा कुर्सी राखे, कुर्सी अगाडि 'एल' आकारमा दुइटा टेबल जोडे, अनि टेबलमाथि एउटा कम्प्युटर।
यसरी सुरू भयो उनको एआई कम्पनी — फ्युजमेसिन्स इंक।
समीरलाई एआईको भविष्य र आफ्नो क्षमतामा यति धेरै विश्वास थियो, उनले एक्लै सुरू गरेको यो कम्पनीको कार्यालय न्यूयोर्कको मुटु म्यानहटनमा छ। नेपालमा शाखा छ। काठमाडौंको बानेश्वरस्थित फ्युजमेसिन्सको कार्यालयमा मात्रै क्षमतावान तीन सय युवाले काम गर्छन्। फ्युजमेसिन्सले विदेशमा बेच्ने धेरै उत्पादन आजकाल बानेश्वरको यही कार्यालयमा बन्छन्।
कम्प्युटर वैज्ञानिक तथा अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक समीर नेपाललाई 'एआई ट्यालेन्ट' को उदाउँदो बजार मान्छन्।
अनि त्यो बजार विस्तार गर्न, नेपाली युवाहरूलाई एआईसँग जोड्न सरकार र अन्य निकायहरूसँग मिलेर काम गरिरहेका छन्।
कामको विस्तारसँगै फ्युजमेसिन्सको व्यावसायिक रफ्तार पनि बढ्न थालेको छ।
समीरको कम्पनी २० करोड डलर (२६ अर्ब रूपैयाँभन्दा बढी) को 'इक्विटी भ्यालुएसन' सहित अमेरिकाको सेयर बजारमा सूचीकृत हुने क्रममा छ। यसअघि कुनै नेपाली वा नेपाली मूलका व्यवसायीको कम्पनी न्यूयोर्कको स्टक एक्सचेन्जमा दर्ता भएको छैन।
'मैले सानो कोठामा एक्लै सुरू गरेको फ्युजमेसिन्स कम्पनी अब सर्वसाधारणसम्म पुग्दैछ,' ४५ वर्षीय समीरले भने, 'नेपालबाट पढ्न अमेरिका आएको मजस्तो मान्छेका लागि यो साह्रै ठूलो उपलब्धि हो भन्ने लाग्छ।'
काठमाडौंका समीर कसरी तानिए त एआईको दुनियाँमा?
उनले यति लामो उडान केको तागतमा भरेका छन्? कहाँसम्म पुग्ने उनको सपना छ?
उनी जे गरिरहेका छन्, त्यसबाट नेपाल र नेपालीले के फाइदा लिन सक्छन्?
यिनै प्रश्न सोध्न र उनीबारे जान्न मैले ह्वाट्स-एपमा मेसेज छाडेकी थिएँ।
एक दिनपछि जबाफ आयो। जबाफ दिने एआई होइन, समीर स्वयं थिए।
'मलाई यसबारे इमेल पठाइदिनू,' उनले लेखे, 'मेरो टिमले समय मिलाउने छ।'
केही दिनमै उनको टिमले जूम मिटिङ तय गर्यो।
सात समुद्र पर बसेर पनि हामी आमनेसामने भयौं।
सेतो टेबलमाथि एउटा ल्यापटप थियो। त्योभन्दा पछाडि बायोलोजी, कम्प्युटर साइन्स, फिजिक्स, म्याथम्याटिक्स लगायत विषयका किताब चाङ पारेर राखिएका थिए।
किताबका विषय जति जटिल थिए, समीर भने त्यति नै सामान्य हुलिया र सरल मिजासमा पेस भए।
हामीले दुई चरणमा दुई घन्टा कुराकानी गर्यौं।
एआईले बुझ्ने भाषामा दख्खल राख्ने समीरले मलाई मेरै भाषामा आफ्नो कथा सुनाए।
समीरको कथा ठमेलको गल्कोपाखाबाट सुरू हुन्छ; जहाँ उनी जन्मे, हुर्के।
उनले आफ्नो किन्डरगार्टेन समय ठमेलकै बुद्ध प्रि-प्राइमरी स्कुलमा बिताए। अहिले त्यो स्कुल बन्द भइसक्यो। कक्षा एकदेखि उनी जावलाखेलको सेन्ट जेभियर्समा पढे। त्यहीँबाट २०५१ सालमा एसएलसी दिए। त्यसपछि भक्तपुर, सल्लाघारीको वीरेन्द्र सैनिक विद्यालयबाट आइएससी पास गरे।
उनका बुबा नेपाली सेनामा सिभिल इञ्जिनियर थिए। आमा ठमेलकै एउटा स्कुलमा शिक्षक थिइन्। प्राथमिक तहका विद्यार्थीलाई पढाउँथिन्। बुबा बितिसके। आमा, दाइ र दिदी अहिले पनि सपरिवार ठमेलमै बस्छन्। समीर श्रीमती र दुई छोराछोरीसँग न्यूयोर्कमा बसिरहेका छन्।
सामान्यतया वीरेन्द्र सैनिकमा पढ्ने विद्यार्थीहरू सेनामा जान्थे। थप पढ्न चाहने थोरैमध्ये एक थिए समीर।
उनकी आमाको पनि सपना थियो — समीर डाक्टर बनून्, वा बुबाजस्तै सिभिल इञ्जिनियर।
समीरलाई उच्च शिक्षाको हुटहुटी त थियो, तर विषय छानिसकेका थिएनन्।
'म राम्रो विद्यार्थी थिएँ। आफ्नै तागतमा विदेश पढ्न जान सक्छु भन्ने थियो,' समीरले आफ्नो किशोरावस्थाको मनस्थिति सुनाए, 'खासगरी मलाई एआई र कम्प्युटर साइन्समा रूचि थियो।'
कम्प्युटर साइन्समा रूचि बढे पनि उनी कम्प्युटरसँग अभ्यस्त थिएनन्। स्कुल पढ्दासम्म कम्प्युटर चलाउनै पाएनन्। आइएससी पढ्दा बल्ल कम्प्युटर छुन पाए, त्यो पनि इमेल चलाउन!
'त्यसो भए तपाईंको दिमागमा एआईको भूत कसरी जन्मियो त?' मैले सोधेँ।
उनको दिमागमा कहिलेदेखि यो भूत सवार भयो, उनले ठ्याक्कै भन्न सकेनन्।
केही बेर गमेर भने, 'म साइन्स-फिक्सन फिल्महरू खुब हेर्थेँ, त्यसैको प्रभाव पो हो कि!'
अनि फेरि हाँस्दै भने, 'एआईका फिल्म हेरेरै होला!'
समीर स्कुल र कलेज पढ्दाको समयमा अमेरिकी साइन्स-फिक्सन फिल्महरूले काठमाडौंमा खुबै चर्चा पाउन थालिसकेका थिए। टर्मिनेटर, द मेट्रिक्स, युनिभर्सल सोल्जर, स्टार वार्स लगायत फिल्म त हलिउडमा मात्र होइन, त्यति बेलाका नेपाली युवामाझ पनि हिट थिए।
ती फिल्म हेरेर समीर अचम्म पर्थे। मानव-निर्मित रोबोटहरू मान्छेजस्तै बोलेको, हिँडेको र मानिसले गर्न नसक्ने काम सजिलै फत्ते गरेको देखेर उनी चित खान्थे।
सात समुद्रपारि अमेरिकामा यस्तो पनि हुँदो रहेछ भन्ने उनलाई लाग्थ्यो। त्यहाँ पुग्न पाए यी सबै अद्भूत दृश्य आफ्नै आँखाले देख्छु भन्ने पनि भयो, सायद!
उनले आइएससी दोस्रो वर्ष पढ्दा पढ्दै अमेरिका पढ्न जाने बाटो खोज्न थाले।
त्यो बेला काठमाडौंको ज्ञानेश्वरमा अमेरिकन सेन्टर थियो। उनी अंग्रेजी किताबहरू पढ्न त्यहाँ गइरहन्थे। 'पिटरसन्स गाइड' भन्ने किताबमा अमेरिकाका कुन कुन कलेजमा पूर्ण छात्रवृत्ति पाइन्छ भनेर नाम र ठेगानासहितको सूची छापिएको थियो। समीरले त्यही गाइड हेरेर केही कलेज छाने र आवदेन दिने निधो गरे।
छात्रवृत्ति पाउन गाह्रो छ भन्ने उनलाई थाहा थियो, तर आफ्नो सपना पूरा गर्ने एक मात्र बाटो यही हो भन्ने उनले बुझेका थिए। शुल्क तिरेर उनलाई अमेरिकामा पढाउन सक्ने उनको परिवारको आर्थिक हैसियत थिएन।
३०-४० डलर शुल्क तिरेर कलेजहरूमा आवेदन पठाउन पनि उनलाई समस्या थियो। उनी धेरै घोत्लिए र एउटा जुक्ति फुराए।
उनले आवेदन फारमको सबभन्दा माथि एउटा पत्र लेखे — यो मेरो आवदेन हो। तर म यसको शुल्क तिर्न सक्दिनँ। शुल्क मिनाहा गरिदिन सक्नुहुन्छ भने प्रक्रिया अघि बढाइदिनू। नभए ठिकै छ।
'मसँग अर्को उपाय थिएन, जे होला होला भनेर आवेदनमाथि चिठी टाँसेर पठाएँ,' समीरले सुनाए, 'मैले यसैगरी थुप्रै कलेजमा आवेदन दिएँ। चार-पाँचवटाले शुल्क मिनाहा गरिदिए र मलाई पूर्ण छात्रवृत्तिमा अमेरिका पढ्ने ढोका खोलिदिए।'
उनलाई कुन कलेज कस्तो छ भन्ने धेरै जानकारी थिएन। अलिअलि खोजबिन गरेको भरमा उनले थाहा पाए, अमेरिकाको मेन राज्यमा रहेको बेट्स कलेज उत्कृष्ट २५ मध्ये पर्दो रहेछ। त्यो कलेजले पनि उनलाई छात्रवृत्ति र सुविधाहरू दिएको थियो, जुन अरूको तुलनामा राम्रो थियो।
तर समस्या के पर्यो भने, त्यो बेला बेट्स कलेजमा एआई त के, कम्प्युटर साइन्सको पढाइ पनि हुँदैन थियो। त्यही भएर समीरले कम्प्युटर साइन्ससँग सबभन्दा नजिकका दुई विषय छाने — गणित र भौतिकशास्त्र।
सन् १९९९ को एक दिन, ठमेलको घरबाट निस्किएर उनी आफ्नो सपना पछ्याउन अमेरिका उडे।
अमेरिकी कलेज पुगेपछि अथाह किताब, स्रोतसाधन र प्रविधिसँग उनको पहुँच भयो। उनले सकेजति नियाले, सकेजति अध्ययन गरे।
त्यही अध्ययनले एआईसँग समीरको सपनाको 'फ्युजन' गरायो। उनलाई सफ्टवेयर निर्माण गर्न मद्दत गर्यो।
उनलाई एआईको संसारमा छिराएको भने स्नातक पहिलो वर्ष पढ्दै गर्दा दिमागमा आएको एउटा खयालले हो।
उनी सोच्थे — मैले बोलेको नेपाली भाषा अंग्रेजीमा फर्रर अनुवाद भएर अर्कोले सुन्न सक्ने भए कस्तो मजा हुन्थ्यो! अनि अंग्रेजीमा बोलेको कुरा त्यसैगरी नेपाली भाषामा सुनिने भए कति सजिलो हुन्थ्यो!
समीरलाई यो खयाल यसै आएको थिएन। स्कुल छँदा हेरेका साइन्स फिक्सन फिल्मबाटै उनले यो प्रेरणा पाएका थिए।
'स्टार वार्स सिरिज हेर्दा त्यसका पात्रहरू विभिन्न भाषामा कुरा गरेको मैले देखेको थिएँ। जुन पात्रले जे भाषा बोले पनि अर्को पात्रले सजिलै बुझ्थ्यो,' समीरले आफ्नो कामको सुरूआती क्षण सम्झिँदै भने, 'स्टार वार्सको त्यो दृश्य मेरो सम्झनामा यति गहिरोसँग बसेको रहेछ, अमेरिका गएको पहिलो वर्ष नै मलाई भाषा अनुवाद गर्ने सिस्टम बनाउन सके गज्जब हुन्थ्यो भन्ने लाग्यो।'
यस्तो प्रविधिलाई 'स्पीच-टु-स्पीच ट्रान्सलेसन' भनिन्छ।
नेपाली भाषामा त्यति बेला कसैले यस्तो सिस्टम बनाएको थिएन। बनाउन सजिलो पनि थिएन। यसका निम्ति नेपालीमा बोलेका कुरा कम्प्युटरमा रेकर्ड भएर स्वतः टाइप हुनुपर्थ्यो। अनि टाइप भएका कुरा कम्प्युटरले बोल्नसक्ने हुनुपर्थ्यो।
कम्प्युटरले त्यतिखेर मात्र यो काम गर्न सक्थ्यो, जब त्यो आफैं नेपाली भाषा बुझ्ने, लेख्ने र बोल्न सक्ने हुन्थ्यो।
'यसका लागि सबभन्दा पहिला कम्प्युटरको दिमागमा नेपाली भाषाको सफ्टवेयर हाल्नुपर्थ्यो। सबभन्दा गाह्रो चाहिँ नेपाली भाषामा बोलेको कुरा कम्प्युटरलाई फर्रर टाइप गराउन थियो,' उनले भने, 'पहिलो वर्षको विद्यार्थी भएकाले यो काम गर्न कलेजले पुग्दो स्रोतसाधन दिँदैन थियो। त्यसैले मैले सुरूमा नेपालीमा टाइप गरेका वाक्यहरू नेपालीमै बोल्ने सिस्टम कसरी बनाउने भनेर अध्ययन-अनुसन्धान गरेँ। त्यसलाई टेक्स्ट-टु-स्पीच भनिन्छ।'
समीरले आफ्नो पहिलो वर्षको गर्मी बिदा यही अनुसन्धान गरेर बिताए।
दोस्रो वर्षको गर्मी बिदासम्ममा उनको मेहनतले रङ देखायो — नेपालीमा लेखिएका कुरा कम्प्युटरले नेपालीमै बोल्ने सिस्टम उनले बनाए। यो सन् २००० को कुरा हो।
त्यति बेलासम्म अरू भाषामा यस्तो काम भए पनि नेपालीमा भएको थिएन। समीरले बनाएको यो सिस्टम कलेजका प्राध्यापकहरूले मन पराए। कलेजको वेबसाइटमा समेत समीर र उनको कामबारे छापियो।
त्यसमा भनिएको छ — हामीमध्ये धेरै जना आफ्ना कम्प्युटरसँग बोल्छौं। तर बेट्स कलेजमा भौतिकशास्त्र र गणित विषय पढिरहेका समीर मास्के कम्प्युटरलाई नै विभिन्न भाषामा बोल्न सिकाइरहेका छन्। नेपालबाट आएका समीरले नेपाली भाषाका लागि पहिलोपटक टेक्स्ट-टु-स्पीच सफ्टवेयर बनाउँदै छन्। यो सफ्टवेयरका माध्यमबाट कम्प्युटरले नेपालीमा टाइप गरिएका शब्दहरू बोल्न सक्छ।
'मैले त्यो सफ्टवेयर बनाउन नेपाली र अंग्रेजीका हजारौं शब्द बोल्नुपर्यो,' उनले त्यो क्षण सम्झिँदै भने, 'त्यति त मैले दैनिक जीवनमा कहिल्यै बोलिनँ होला। कलेजका प्रोफेसरहरूले मेरो कामको खुब प्रशंसा गर्नुभयो।'
वेबसाइटमा उनका प्रोफेसरको भनाइ नै छापिएको थियो — समीरको उत्साह असाधारण छ। कसैले कम्प्युटरसँग बोल्दा कम्प्युटरले पनि बोलेरै जबाफ फर्काउने प्रोग्राम बनाउनु उनको सपना हो। यो प्रोग्राम आजका दिनमा त्यति सान्दर्भिक नलाग्ला। तर जब कम्प्युटर सानो र सस्तो हुँदै जान्छ, विश्वका कुनाकुनासम्म पुग्छ, तब समीरको कामको निकै ठूलो महत्त्व हुनेछ।'
यो घटनापछि समीरलाई कलेजले स्रोतसाधनमा सहयोग गर्यो।
उनको हौसला र हुटहुटी ह्वात्तै बढ्यो।
उनी अब यही जगमा टेकेर कम्प्युटरलाई नेपाली भाषा बुझ्ने र त्यसलाई अंग्रेजीमा अनुवाद गरेर बोल्न सक्ने बनाउन चाहन्थे।
यसको निम्ति कम्प्युटर साइन्स विषयमै घुसेर थप अध्ययन गर्नुपर्ने खाँचो थियो। आफ्नो कलेजमा त्यो विषयको पढाइ नभएकाले उनी गर्मी बिदाहरूमा अरू कलेज गएर अध्ययन-अनुसन्धान गर्थे।
बेट्स कलेजले स्नातक तेस्रो वर्षका विद्यार्थीका लागि 'स्टडी अब्रोड प्रोग्राम' चलाउँथ्यो। यसअन्तर्गत पूर्ण छात्रवृत्तिप्राप्त विद्यार्थीले संसारभरको जुनसुकै कलेजमा केही समय पढ्न जान पाउँथ्यो। यसमा लाग्ने शुल्क पनि कलेजले नै तिरिदिन्थ्यो।
समीरले युनिभर्सिटी कलेज लन्डन छाने र त्यहाँ गएर कम्प्युटर साइन्स पढ्न थाले। कम्प्युटर साइन्सका चारवटा विषय एकैपटक पढ्नुपर्दा सुरूमा त उनलाई सम्हाल्नै गाह्रो पर्यो।
'एउटा मात्र विषय लिएको भए मैले पछि कम्प्युटर साइन्समै डिग्री पढ्न पाउँदिनँ थिएँ। तर त्यो बेला एकदमै गाह्रो भयो, पढ्नै सकिँदैन कि जस्तो लागेको थियो,' समीरले सम्झिए।
उनले चारै विषयमा राम्रो अंक ल्याए।
यसबीच भाषा अनुवाद सफ्टवेयर पनि परीक्षण गरिरहेकै थिए। एकदिन उनको यो परीक्षण सफल भयो।
उनले नेपालीमा बोलेको अंग्रेजीमा अनुवाद हुने र अंग्रेजीमा बोलेको नेपालीमा अनुवाद हुने सिस्टम बनाए। त्यति बेला त्यो निकै सानो स्तरको थियो। शब्दहरू एकदमै थोरै राखिएका थिए। त्यसैले धेरै कुरा अनुवाद हुँदैन थियो।
उनले आफ्नो यो परीक्षणबारे नेपाल आएर तत्कालीन शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट) लाई जानकारी गराए। औपचारिक प्रस्तुति नै दिए।
त्यो बेला नेपालमा अधिकांशलाई एआई भनेको के हो, थाहा थिएन। त्यसैले कार्यक्रमका सहभागीले अचम्म मान्दै सुने, 'गज्जबै रहेछ' भनेर टिप्पणी पनि गरे। केही अखबारमा समाचार पनि छापिए। त्यसबाहेक खासै चासो कसैले देखाएनन्।
'त्यसको प्रयोग पनि कहीँ भएन,' उनले भने, 'तर म आफ्नो काम र परीक्षणप्रति विश्वस्त थिएँ।'
कम्प्युटरको दुनियाँमा नेपाली भाषालाई खुसुक्क छिराएपछि उनलाई पक्का भइसकेको थियो — मैले अब काम गर्ने एआईमै हो।
उनले यही विषयमा पिएचडी गर्ने सोच बनाए।
अमेरिकामा स्नातक नसकिँदै पिचएडी अध्ययन निम्ति आवेदन दिन पाइन्छ। समीरले स्नातक अन्तिम वर्ष पढ्दै गर्दा केही कलेजमा आवेदन दिए। कोलम्बिया युनिभर्सिटीले 'कम्प्युटर साइन्स इन एआई' विषयमा उनको आवेदन स्वीकार गर्यो।
समीरलाई अमेरिकामा पढ्न आर्थिक दुःख कहिल्यै भएन। उनले पढाइसँग सम्झौता गरेर कमाउनतिर लाग्नुपरेन। सबै पढाइ पूर्ण छात्रवृत्तिमा भएकाले शुल्क तिर्ने चिन्ता भएन। कलेजले केही पैसा दिन्थ्यो, जसले उनको जीवन आरामले चल्थ्यो।
'पढाइका मामिलामा म निकै भाग्यमानी ठहरिएँ,' उनले भने।
समीरले पिएचडीसँगै एआईसम्बन्धी अनुसन्धान पनि फराकिलो बनाउने सोच बनाए। यसका लागि उनी अमेरिकाको प्रख्यात अनुसन्धान केन्द्र 'आइबिएम वाट्सन रिसर्च सेन्टर' मा आबद्ध भए। यो सेन्टरले पिएचडी गरिरहेका अब्बल विद्यार्थीलाई आफ्नो अनुसन्धान समूहमा सहभागी गराउँथ्यो।
त्यो बेला आइबिएमले संसारका विभिन्न भाषामा 'स्पीच-टु-स्पीच ट्रान्सलेसन' को अनुसन्धान गर्दै थियो, जुन समीरका लागि निकै फलदायी साबित भयो।
इन्टर्नसिपबाट आइबिएमसँग जोडिएका समीरले पछि रिसर्च साइन्टिस्टका रूपमा पाँच वर्ष त्यहीँ काम गरे। यस क्रममा उनले चिनियाँ, अरबी, जर्मन, फारसी लगायत धेरै भाषालाई अंग्रेजीमा अनुवाद गर्ने प्रविधिमा अनुसन्धान गरे।
'एउटा विशेष उपकरण हुन्थ्यो जसमा बोल्दा भाषा अनुवाद हुन्थ्यो। त्यो आफ्नो समयको एकदमै विकसित र परिस्कृत प्रविधि थियो,' उनले भने, 'पछि यही प्रविधि आइफोनले प्रयोग गर्यो।'
यसबीच उनी कोलम्बिया युनिभर्सिटीमा पढाउनसमेत थालेका थिए। अनुसन्धान र प्राध्यापनमा केही समय बिताइसकेपछि एकदिन समीरले सोचे — यति धेरै अनुसन्धान गरिसकेँ, अब आफैं केही गर्छु!
नयाँ काम के गर्ने भन्ने योजना उनले बुनिसकेका थिए।
अमेरिकामा विभिन्न संस्थाले कस्टमर सर्भिस चलाउँछन्। तिनको कल सेन्टर सञ्चालनमा एकदमै धेरै खर्च हुन्छ। उदाहरणका लागि, बैंकहरूमा हजारौं ग्राहकले विभिन्न समस्या र जिज्ञासा राख्दै फोन गर्छन्। सरकारी कार्यालयहरूमा पनि थुप्रै फोन आउँछन्। यस्तो कुराकानी लामै चल्छ। थोरै कर्मचारीले भ्याउन सक्दैनन्। त्यसैले फोन गर्नेहरूले आधा घन्टासम्म कुर्नुपर्ने हुन्छ। यस्तोमा ग्राहक रिसाउन र भड्किन सक्छन्।
ग्राहकलाई फोनमा दिनुपर्ने आधारभूत जानकारी मान्छेको सट्टा मेसिनले दिने भयो भने!
न धेरै कर्मचारी चाहियो, न ग्राहकले धेरै कुर्नपर्यो। भएन त प्रभावकारी!
'मलाई त्यही प्रविधि बनाउने मन भयो,' समीरले भने, 'संसारकै उत्कृष्ट र प्रभावशाली बनाउन सकिन्छ कि सकिँदैन भन्ने चुनौती मात्र थियो।'
यो सन् २०१२/१३ तिरको कुरा हो। त्यो बेला समीरका केही साथी र प्रोफेसरहरूले यस्तै प्रविधि बनाइसकेका थिए। तर ती सबै प्रयोगशालामै सीमित भए। व्यावसायिक प्रयोगमा आएनन्।
समीरले त्यसलाई व्यावसायिक प्रयोगमा ल्याउने सम्भावना देखे।
यसको निम्ति कम्प्युटर प्रोग्राम बनाउन उनी 'गुप्तवास' बसे।
जनवरी महिना थियो। अरू सबै काम थाती राखेर उनी बीस दिन एउटै कोठामा थुनिए। जहाँ उनले जम्मा तीनवटा काम गरे — खाने, सुत्ने र लेख्ने।
उनी दिनरात १८-१९ घन्टा लेख्थे — हामीले गणितमा पढ्ने सूत्रजस्तै कम्प्युटर प्रोग्रामका कोडहरू।
कति लेखे, कति मेटे।
फेरि लेखे, फेरि मेटे।
बीस दिनका बीचमा १९ हजार लाइनका कोड लेखेर भ्याए।
सफलता चाहेर मात्र पाइने कुरा होइन। यसका लागि रनाहा, मेहनत, दृढता र त्याग चाहिन्छ। र, यस्तो जोखिम लिने हिम्मत पनि!
समीरमा यी सबै कुराको 'फ्युजन' छ।
'मैले बाहिरको संसार सबै छाडेको थिएँ। आइएससी र स्नातकमा त्यसैगरी पढेकाले खासै गाह्रो भएन,' उनले भने, 'अब भने त्यसरी बस्न ठूलै मानसिक तयारी चाहिन्छ।'
यसरी पहिलो कोड तयार भएपछि सन् २०१३ को एकदिन समीरले आफ्नै लिभिङ रूममा आफ्नो कम्पनी खोले।
'मैले कम्पनी एक्लै सुरू गरेको थिएँ,' फ्युजमेसिन्सका संस्थापक तथा प्रमुख कार्यकारी समीरले भने, 'एआईमा काम गर्ने मेरो सपना थियो, यो कम्पनी त्यसकै लागि खोलेको थिएँ।'
केही समयपछि दुई जना साथी उनको कम्पनीमा जोडिए। उनीहरू त्यही लिभिङ रूममा काम गर्थे, त्यहीँ खान्थे। धेरै रात उनीहरूले त्यहीँ बिताए।
करिब पाँच महिनापछि समीरले न्यूयोर्कको म्यानहटनस्थित एउटा घरमा पहिलो व्यावसायिक कार्यालय खोले। पन्ध्र जनाको टिम पनि बनाए।
कम्पनीको पहिलो उत्पादन बन्यो — कल सेन्टरको एआई सफ्टवेयर।
पढाइमा 'भाग्यमानी' ठान्ने समीर आफ्नो पहिलो व्यावसायिक कदममा पनि भाग्यमानी ठहरिए।
नेपालमा अहिले हेलो सरकार भएजस्तै अमेरिकामा त्यति बेलै सरकारी कल सेन्टरहरू थिए। उनको कम्पनीले उत्पादन गरेको सफ्टवेयर र सेवा लिने पहिलो ग्राहक बन्यो, न्यूयोर्क राज्य सरकार।
समीरलाई लाग्यो — अब त गजबै हुन्छ! राज्य सरकार नै जोडिएपछि अरू ग्राहक बनाउन त के गाह्रो होला र!
उनले सोचेजस्तो भने भएन।
एक वर्ष बित्यो, दुई वर्ष बित्यो। उनको सफ्टवेयरले बजार पाउँदै पाएन।
'कहिलेकाहीँ ओभरकन्फिडेन्ट भइन्छ नि, त्यस्तै भयो मलाई! सफ्टवेयर बनाउन जति गाह्रो हुन्छ, बेच्न त झनै गाह्रो हुने रहेछ,' त्यो बेलाको कठिन परिस्थिति अहिले उनी हाँस्दै सुनाउँछन्, 'म एकेडेमिक क्षेत्रको मान्छे, व्यावसायिक क्षेत्रमा कामै गरेको थिइनँ। यसै चल्छ होला भनेर मार्केटिङमा केही खर्च गरेको थिइनँ, अनुभवी मान्छे पनि राखिनँ। तीन-चार वर्षसम्म त कम्पनी चलाउन चुनौती नै भयो।'
फ्युजमेसिन्सको प्रविधिमा चासो राख्ने र मनपराउने ग्राहक भेटिँदै नभेटिएका होइनन्। तर ठूला संस्थाको मागअनुसार सेवा दिन कम्पनी असमर्थ थियो। बैंक लगायतका संस्थासँग काम गर्ने हो भने उनीहरूका हजारौं ग्राहकसम्म सेवा पुर्याउनुपर्थ्यो। उनीहरू समीरको सानो टिमलाई पत्याउँदैन थिए।
उनीहरू भन्थे — तिमीहरूको टिम नै जम्मा १५ जनाको छ। कुनै बेला सफ्टवेयर चलेन भने के रात-बिरात फोन गर्ने? सफ्टवेयर राम्रो छ, तर हाम्रो लागि टिम सानो भयो!
यसरी तीन-चार वर्षसम्म कम्पनी बामे सर्न नसके पनि समीर हतासिएनन्।
उनलाई कम्पनी कहाँ पुग्छ भन्ने थाहा थिएन, तर आफ्नो काम ठीक छ र आफूले वर्षौंदेखि देख्दै आएको सपनाको बाटो यही हो भन्नेमा उनी ढुक्क थिए।
'कति ठेक्का आए तर टिम सानो भएकाले कम्पनी उकास्न गाह्रो परिरह्यो,' समीरले सुनाए।
समीरले कम्पनीको भविष्य सपार्न आफ्नो उत्पादनमा थोरै परिमार्जन गरे।
उनी कम्पनीहरूको मागअनुसार विभिन्न एआई सफ्टवेयर बनाएर बेच्न थाले। त्यसबापत् अतिरिक्त सेवा दिनुपर्दैन थियो।
यसले समीरलाई दुइटा फाइदा भयो — जसले जे माग गर्यो, उनी त्यस्तै सफ्टवेयर बनाइदिन्थे; र अतिरिक्त सेवा दिन नपर्ने हुँदा टिम सानो भए पनि फरक पर्दैन थियो।
यो परिमार्जनपछि उनको कम्पनीले फड्को मार्दै गयो।
बजारबाट एआई सफ्टवेयरको माग आउँदै गयो, उनीहरू बनाउँदै गए।
संयोगले त्यो समय एआईको बजार बढ्दै गएको थियो। साना-ठूला सबै किसिमका व्यावसायिक कम्पनी आफ्नो ग्राहक सेवा चुस्त बनाउन एआई चलाउन थालेका थिए।
यही बदलिँदो परिवेशलाई भरपुर उपयोग गरे समीरले।
त्यसबीच उनी आफैंले पनि बजार माग बुझे र बेच्ने तरिका सिके। मार्केटिङ टिम तयार गरे। बजारमा जमिसकेपछि पहिले नबिकेका पुराना उत्पादनका नयाँ संस्करण बजारमा ल्याए।
यसले कम्पनीको व्यवासायिक रफ्तार तीव्र हुँदै गयो।
अब समीरको फ्युजमेसिन्स कम्पनी अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत हुँदैछ। यसलाई उनी 'कोशेढुंगा' मान्छन्।
'अमेरिकामा कम्पनी खोल्ने सबैजसो व्यक्तिको सपना कसरी त्यसलाई ठूलो बनाउने र कसरी सेयर बजारमा सूचीकृत गराउने भन्ने हुन्छ। नेपाली मूलको व्यक्तिले सञ्चालन गरेको र नेपालमा आधारित भएर काम गर्ने कम्पनीका लागि यो कोशेढुंगा नै हो,' उनले भने।
सेयर बजारमा सूचीकृत हुने क्रममा फ्युजमेसिन्समा एक लगानीकर्ता कम्पनीले झन्डै दुई करोड डलर हालेको छ। नियन्त्रण र बहुमत भने फ्युजमेसिन्सकै हुनेछ। कम्पनीको सेयर कारोबार 'फ्युज' नामबाट हुने सम्झौता भएको छ।
अहिले फ्युजमेसिन्सले एआईसम्बन्धी सबैजसो काम गर्छ — एआईबारे पढाउँछ, एप्स र सफ्टवेयरहरू बनाउँछ र तथ्यांक विश्लेषण गर्छ।
कुनै पनि कम्पनीले फ्युजमेसिन्सको सफ्टवेयर प्रयोग गरेर आफूलाई चाहिएको एआई आफैं बनाएर चलाउन सक्छन्। उदाहरणका लागि, कुनै बैंकलाई अटोमेटिक सिस्टममा ऋण दिनुछ भने फ्युजमेसिन्सको 'एआई स्टुडियो' भन्ने सफ्टवेयर प्रयोग गर्न सक्छन्।
'कसैले आफैं बनाउन सकेन भने हामी बनाएर दिन्छौं,' समीरले भने, 'एआई उत्पादन भनेका यस्तै हुन्।'
फ्युजमेसिन्सको काम न्यूयोर्कबाट मात्र हुँदैन, काठमाडौंको बानेश्वर कार्यालयबाट पनि हुन्छ। बानेश्वर र काठमाडौंबाहिर गरी तीन सयभन्दा बढी युवाले रोजगारी पाएका छन्। अमेरिका, क्यानडा र ल्याटिन अमेरिकाबाट करिब दुई सय जना कर्मचारीले काम गर्छन्। तीमध्ये केही नेपाली मूलका अमेरिकी हुन्।
फ्युजमेसिन्सले बानेश्वरस्थित आफ्नो कार्यालयबाट नेपाल र दक्षिण एसियाको काम हेर्छ। कार्यालयको भुइँतलामा प्रशासनिक इकाई छ। त्यसभन्दा माथिल्ला तलामा सफ्टवेयरहरू बनाउने काम हुन्छ। यो व्यस्त कार्यालयमा कर्मचारीहरू दिन र रातको सिफ्टमा काम गर्छन्। कतिलाई घरबाटै गर्ने सुविधा छ।
कर्मचारीहरूको आ-आफ्नो क्युबिकल वा टेबल-कुर्सी छन्। तर त्यहीँ बसेर काम गर्नुपर्छ भन्ने छैन। कार्यालयका विभिन्न ठाउँमा बसेर काम गर्न पाउँछन्। थाके वा अच्छी लागे एकैछिन सुत्ने कोठा छ। आरामले बस्न परे सोफा र बिन ब्यागहरू छन्। साथीहरू मिलेर फुक्काफाल कुरा गर्न बेग्लै कोठा छ। अर्थात्, यो कार्यालय फरक शैली र संस्कृतिमा चल्छ।
नेपालको फ्युजमेसिन्सको कामबारे चर्चा गर्नुअघि मैले सोधेँ, 'कम्पनीको नाममा फ्युज शब्द कसरी जोडियो?'
'फ्युज भनेको बत्तीको फ्युज हो भनेर मलाई नेपालदेखि अमेरिकासम्मका मान्छेले सोध्छन्,' समीरले हाँस्दै भने, 'मान्छेको जीवनमा मेसिनको फ्युजन (मिश्रण) गराउने भन्ने सोचेर फ्युजमेसिन्स राखेको हुँ।'
'संसारभरि एआई मान्छेका निम्ति खतरा हो; यसले मान्छेको रोजगारी, स्वतन्त्रता र शक्ति खोस्छ भन्ने बहस चलिरहेको छ,' उनले आफ्नो कम्पनीको काम प्रस्ट्याउँदै अगाडि भने, 'एआई भनेको मान्छेले बनाएको र मान्छेकै काम सहज बनाउन सहयोग गर्ने प्रविधि हो। यो हाम्रो जीवनमा प्रवेश गरिसकेको छ। स्मार्टफोनदेखि ल्यापटपसम्म एआई प्रविधि प्रयोग भइरहेको छ। एप्पलका उपकरणमा सिरी छ। हामी गुगल म्याप चलाउँछौं। ती सबै एआई नै हुन्। हामी त्यस्तै एआई प्रविधिलाई मान्छेको जीवनमा फ्युजन गराउँछौं।'
'मान्छेलाई एआईसँग डर लाग्नुको मुख्य कारण यसबारे जानकारी नभएरै हो। थाहा नभएको अनौठो कुरासँग स्वाभाविक रूपमै डर हुन्छ,' उनले भने, 'डर हटाउने एक मात्र उपाय शिक्षा हो।'
एआई शिक्षा प्राथमिक कक्षादेखि नै दिनुपर्ने उनी बताउँछन्।
फ्युजमेसिन्सले नेपालमा गरिरहेका काममध्ये एआईबारे पढाउने पनि एक हो।
समीरले फ्युजमेसिन्स खोल्नुभन्दा अगाडि नेपालमा 'पारखी' नामको एउटा कम्पनी दर्ता गरेका थिए। पछि पारखीलाई फ्युजमेसिन्सकै नाम दिए। अमेरिकासँगै नेपालको यो कम्पनीलाई पनि सक्रिय बनाए।
'जब संसारमा एआई व्यापक रूपमा फैलिँदै गयो, मलाई नेपालबाटै यो व्यवसाय गर्न सकिन्छ भन्ने भयो,' उनले भने, 'त्यसका लागि पुग्दो जनशक्ति उत्पादन गर्न धेरै नेपालीलाई एआई पढाउनुपर्थ्यो।'
समीरले सन् २०१७ बाट 'एआई फेलोसिप' सुरू गरे।
यसअन्तर्गत एआई पढ्न चाहने जोकोहीले आवेदन गर्न सक्छ। गणित र अंग्रेजीमा भने राम्रो हुनुपर्छ। पहिलो वर्ष नै नेपालसहित विभिन्न देशबाट झन्डै हजार जनाले आवेदन दिएको उनी बताउँछन्। तीमध्ये केहीलाई फेलोसिप निम्ति छानियो।
यो फेलोसिप पैसा नतिरी पढ्न पाइने अनलाइन कक्षा हो। समीरले सुरूमा कोलम्बिया युनिभर्सिटीकै पाठ्यक्रम पढाए। नतिजा एकदमै राम्रो आयो। नेपाली विद्यार्थीहरू पनि कोलम्बिया युनिभर्सिटीका विद्यार्थी जत्तिकै अब्बल देखिए।
'त्यसपछि मलाई विश्वास भयो, नेपालमा पनि धेरै ट्यालेन्ट रहेछन्। कमी उच्च गुणस्तरीय शिक्षाको मात्र हो,' उनले भने, 'कोलम्बिया युनिभर्सिटी स्तरको पाठ्यक्रम, परीक्षा, प्रयोगात्मक शिक्षा भयो भने नतिजा राम्रो आउने रहेछ।'
नेपाली विद्यार्थीको क्षमताबाट प्रभावित समीरले यो फेलोसिप कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइरहेका छन्। एआई र प्रविधि विज्ञहरूबाट विशेष पाठ्यक्रम पनि तयार गराएका छन्। अहिलेसम्म १२ देशका आठ सय जनाले फेलोसिप पाइसके। तीमध्ये कयौंले फ्युजमेसिन्समै रोजगारी पाएका छन्, जसमा नेपाली युवाहरू पनि पर्छन्।
समीरका अनुसार नेपालमा यो फेलोसिप कार्यक्रमको प्रभाव राम्रो छ। कति विद्यार्थीले एआईमै काम गरिरहेका छन्। कति यही विषयमा मास्टर्स र पिचएडी गर्न विदेश पुगेका छन्। अघिल्लो वर्ष मात्र अमेरिका र युरोपमा ३० जना जति गएका थिए।
'हामीकहाँ फेलोसिप गर्यो, काम गरेर राम्रो अनुभव बटुल्यो अनि छात्रवृत्तिमा विदेश पढ्न गयो। कतिले पढिसकेर हामीसँगै काम गरेका छन्। एउटा विद्यार्थीले सानो एआई फेलोसिपबाट सुरू गरेर युरोप, अमेरिकामा छात्रवृत्ति पाउनु र पिचएडी गर्न सक्नु ठूलो कुरा हो। उनीहरूको जीवनस्तर नै उकासिएर अर्कै हुन्छ,' समीरले भने, 'यसले मलाई सन्तुष्टि दिन्छ। खुसी लाग्छ।'
नेपालले एआईबाट मुख्य गरी तीनवटा क्षेत्रमा फाइदा लिनसक्ने समीरको भनाइ छ।
पहिलो, कृषि।
नेपालमा डाँडाकाँडा र ठूला फाँटहरूमा खेती हुन्छ। एक एक पाइला हिँडेर बाली नियाल्न र समस्या पत्ता लगाउन सकिँदैन। एआई ड्रोनबाट कुन माटो कस्तो छ, कुन बाली लगाउन उपयुक्त छ भन्ने परीक्षणदेखि बिरूवामा लागेका रोग, कीराबारे जानकारी पाउन सजिलो हुन्छ। मान्छे पुग्न समय लाग्ने खेतीबारीमा ड्रोनबाटै औषधि छर्न सकिन्छ।
'कुन ठाउँमा के चाहिएको छ वा समस्या के छ भनेर ड्रोनले पत्ता लाउँछ,' समीरले भने, 'त्यसपछि गर्नुपर्ने काम पनि गर्छ।'
दोस्रो हो, औषधि-उपचार।
डाक्टर पुग्न नसक्ने ठाउँमा एआईले बिरामीका आधारभूत लक्षण पत्ता लगाउन सक्छ। जाँचेर औषधि दिन वा गम्भीर भए अस्पताल जानू भन्न सक्छ।
'सामान्य औषधि नपाएर मान्छेको रोग जटिल हुने, अंगभंग हुने र ज्यान जाने समस्या कम हुन्छ,' उनले भने।
तेस्रो हो, शिक्षा।
जुन ठाउँमा शिक्षक पुगेका हुँदैनन्, त्यहाँ एआईको माध्यमबाट शिक्षा दिन सकिन्छ। शिक्षक भएकै ठाउँमा पनि एआईले सहायक भएर पढाउन सक्छ। घरघरमै पनि केटाकेटीले एआईबाट सिक्न पाउँछन्।
'यी सबै काम यसै सम्भव हुँदैनन्। यसका लागि सरकारले पूर्वाधार बनाउनुपर्छ। सबै ठाउँमा बत्ती हुनुपर्छ। घरघरमा इन्टरनेट हुनुपर्छ। हरेक बच्चाको कम्प्युटरमा पहुँच हुनुपर्छ,' समीरले भने, 'कम्तीमा गाउँ वा स्कुलमा कम्प्युटर लाइब्रेरी हुनुपर्छ, ताकि बच्चाले सानैदेखि चलाउन सकून्। यति भए एआईबाट सहजै शिक्षा दिन सकिन्छ। बच्चाहरूले आफैं पनि सिक्न सक्छन्।'
नेपालमा एआई सेवा उत्पादन र निर्यातको सम्भावना पनि धेरै देखिएको छ।
सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस) को एक अध्ययनले सन् २०२२ मा नेपालबाट करिब ६७ अर्ब रूपैयाँ बराबरको आइटी सेवा निर्यात भएको देखाएको थियो।
समीर र उनको नेपाल टिमले यस्तो उत्पादन र निर्यातलाई बढावा दिन सरकारसँग नियमित वार्ता गरिरहेको छ। सल्लाह र सुझाव पनि दिइरहेको छ।
'यहाँसम्म पुग्नमा धेरै कम्पनीले योगदान दिएका छन्,' उनले भने, 'हाम्रो पनि प्रभाव छ भन्ने लाग्छ।'
यसबाहेक समीरले 'एआई शिक्षा' कार्यक्रम चलाइरहेका छन्। यसका लागि फ्युजमेसिन्सले हाल काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट, किङ्स कलेज र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टसँग सहकार्य गरेको छ। यो कार्यक्रमअन्तर्गत फ्युजमेसिन्समै इन्टर्नसिप दिने, कक्षा सञ्चालन गर्ने, सेमिनारहरू आयोजना गर्ने काम गरिन्छ।
'ट्यालेन्ट जहाँ पनि हुन्छ, तर अवसर हुँदैन। क्षमता भएका सबैले अवसर पाउनुपर्छ,' एआईका प्राध्यापक समीर भन्छन्, 'नेपालमा एआई शिक्षा कसरी व्यापक बनाउन सकिन्छ भन्नेमा म लागिपरेको थिएँ र छु। दस वर्षदेखि निरन्तर यसैमा काम गरिरहेको छु।'
*सच्याइएको