'बाटो हिलाम्य भएर गाडी नरोकिएको भए बा बाँच्नुहुन्थ्यो जस्तो लागिरहन्छ!'
यसो भनिरहँदा खावा भञ्ज्याङमा बाबुको काजकिरिया सकेर आफन्त बिदाइ गर्न आएका सानुकाजी परियारको अनुहार ढपक्क बादलले ढाकेको थियो। गह भरिएका थिए।
धुलिखेल-पाँचखाल सडक खण्डअन्तर्गत खावा भञ्ज्याङबाट केही पर पर्छ उनको घर, बडालगाउँमा। साविक काभ्रेपलाञ्चोक गाविस ६ नम्बर वडामा पर्ने त्यो ठाउँ धुलिखेल नगरपालिकामा गाभिएपछि वडा नम्बर ८ भएको छ।
उत्तरतिर लश्करै उभिएका हिमाल। आँखाले देख्नेजति हरियाली। धुलिखेलबाट क्रमशः तलतल फिँजारिँदै गरेको पर्यटन व्यवसाय। त्यसलाई प्रबर्द्धन गर्ने गरी खुलेका जिपलाइनजस्ता उद्यमशीलताका नयाँ आयामले खावाले काँचुली फेर्दै थियो।
धुलिखेल घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक खावासम्म तन्किँदा स्थानीयको आय पनि बिस्तारै बढ्न थालेको थियो।
दीनहीन अवस्थाबाट गुज्रिइरहेका सानुकाजी परियारले पनि जुनी फेरिने सपना देख्नु अस्वाभाविक थिएन।
तर अचानक आइपरेको विपत्तिले अहिले उनको जीवनको लय खज्मजिएको छ।
गत भदौ १२ गते उनका बाबु चन्द्रमान परियार अचानक बिरामी परे। अघिल्लो दिन सानुकाजी आफैले मकै उसिनेर खुवाएका थिए। बेलुका सारसौंदो सुतेका बाबु भोलिपल्ट आलसतालस पो भए!
उनले तत्कालै नगरपालिका (धुलिखेल) मा फोन गरे। निरन्तरको झरीले निर्माणाधीन धुलिखेल-खावा सडक हिलाम्य थियो। दबदबे हिलोका कारण धुलिखेलबाट आउने सवारी र पाँचखालतर्फबाट जाने सवारी लाम लाग्दा बाटो अवरूद्ध थियो। चार जिल्ला भएर यात्रा गर्ने यात्रुहरू बाटैमा अलपत्र थिए। कति यात्रु सामान र लालाबाला काखी च्यापेर पैदलै धुलिखेल उक्लिइरहेका थिए।
यस्तोमा एम्बुलेन्स कसरी आउनू!
नगरपालिकाको एम्बुलेन्सले आउन नसक्ने जानकारी दियो। थाहा पाएजति एम्बुलेन्स चालकलाई खबर गर्दा धेरैले बाटोको कारण देखाए। कतिपयले इञ्जिनमा खराबी भएकाले आउन नसक्ने भने।
उता बाबु छटपटाइरहेका छन्। घरमै प्राणपखेरू उड्लाजस्ता भइसकेको छ!
त्यस दिनको अवस्था वर्णन गर्दै सानुकाजी भन्छन्, 'बोकेर लैजाऊँ कताको स्ट्रेचर! कताको डोको! एम्बुलेन्सलाई हारगुहार गर्दा कोही पनि आउन सक्दैनौं भन्छन्!'
उनले पाँचखाल नगरपालिका वडा नम्बर ४ मा पर्ने दुलालथोकसम्म हारगुहार गरेका थिए। सबैले बाटोलाई नै कारण देखाए। बाटामै फसेका दोहोरीलत्तो गाडी छिचोलेर धुलिखेलसम्म पुग्न नसक्ने भने।
त्यसपछि सानुकाजीले वडाध्यक्ष विनोद गौतमलाई भने र जसोतसो गाडीको प्रबन्ध गरे।
अरनिको राजमार्ग हुँदै धुलिखेल छिचोल्ने अवस्था थिएन। खावाबाट दक्षिण हुँदै धुलिखेलसम्म पुग्ने अर्को 'डोजरे ट्र्याक' खनिएको थियो। त्यही वैकल्पिक बाटोबाट उनले बुवालाई धुलिखेलतर्फ लिएर गए।
दुर्भाग्य!
दुई किलोमिटर बाटो पनि छिचोलिएको थिएन, बाबुको प्राणपखेरू गइहाल्यो। उपचार गराउन लिएर गएको गाडीलाई शववाहन बनाएर घर फर्काउनुपर्दा उनी छाँगाबाट खसेझैं भए।
'जम्मा चार किलोमिटर बाटो समयमै नबनाइदिँदा मैले मेरो बालाई समयमै अस्पताल पुर्याउन पाइनँ। एम्बुलेन्स खोज्दाखोज्दै समय घर्कियो। अब मैले मेरै भाग्यलाई दोष दिने त होला! यी आज १३ दिनको काम सकेर पाहुनापासा बिदा गर्न आएको थिएँ, तपाईंहरूसँग भेट भयो,' सानुकाजीले बिलौना गरे।
भदौ महिनामा धुलिखेल-८ कै बोहिमा तामाङ सख्त घाइते थिइन्। लडेर गम्भीर घाइते भएकी उनलाई पनि स्थानीयले स्ट्रेचरमा राखेर सकसले उपचारका लागि धुलिखेल पुर्याए। उनको चाहिँ ज्यान जोगियो।
'नेपालमा २०२०-२२ सालबाट गाडी चल्न थालेको हो। यस्तो देशको चीनसँग जोड्ने पहिलो राजमार्गको यो दुर्दशा सुनाउँदा हामीलाई नै लाज लागिसकेको छ,' स्थानीय बिजु तामाङले डाँडापाखा र स्थानीयको अनुहार देखाउँदै भने, 'यहाँका रूखपात, घरका छाना हेर्नुस्, यी हाम्रो अनुहार पनि हेर्नुस्, कहाँ छैन धुलो! जम्मा चार किलोमिटर बाटो बनाउन नसकेर सरकारकै अनुहार धुलाम्य भइसक्दा पनि लाज हुँदो रहेनछ त!'
बाइस महिनामा सक्ने गरी २०७९ जेठ २० गते धुलिखेल-खावा चार किलोमिटर सडक निर्माणको ठेक्का लागेको थियो। मूल्य अभिवृद्धि करसहित बीस करोड १९ लाख ४६ हजार ५०१ रूपैयाँ लागतमा निर्माणको जिम्मा गौरी-पार्वती निर्माण सेवा कम्पनीले लिएको थियो।
उक्त खण्ड देशकै 'नमूना' बाटो बनाउने गरी सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का लगाएको हो।
गत चैत १९ गते निर्माणको २२ महिने समयावधि सकियो। काम भने ३५ प्रतिशत पनि भएको छैन। धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा ताछ्ने (कटिङ) को काम मात्रै सकिएको देखिन्छ। जिपलाइनदेखि तल खावासम्मको एक किलोमिटर भागमा कटिङ नै बाँकी छ।
डाँडा ताछेर छाडेकाले र पानीको निकास व्यवस्थित गर्न नसक्दा यो वर्षा धुलिखेल-खावावासीको भागमा मात्रै दुःख बनेर परेन; अरनिको राजमार्ग भएर यात्रा गर्ने चार जिल्ला (पूर्वी काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप) का मानिसले पनि पाउनुसम्म सास्ती पाए।
सास्तीबाट पार पाउन स्थानीयवासीले बाटो अवरूद्ध बनाए। ठेकेदारलाई हिलोमा हिँडाए। यथाशीघ्र बाटो बनाइसक्न दबाब दिए।
जिल्ला समन्वय समितिका संयोजक दीपक गौतम त अनसन नै बसेर ठेकेदार र तालुकवाला निकायको ध्यानाकर्षण गराउन खोजे।
स्थानीय र जनप्रतिनिधिको कुनै सीप चलेन।
तीज लगायत चाडपर्वका बेला यात्रु र स्थानीयलाई थप सकस नहोस् भनेर भदौको तेस्रो साता खावा चौकीमा छलफल भएको थियो। स्थानीय, ठेकेदार कम्पनी लगायत सरोकारवाला पक्ष बसेर गरेको छलफलमा निर्माणाधीन चार किलोमिटर सडकमा ग्राभेल बिछ्याउने, पानीको नाला व्यवस्थित गर्ने समझदारी भएको थियो।
सहमति अनुरूप दुई दिन तातोपानी नाकाबाट आएका कन्टेनरसमेत रोकिने गरी मालवाहक गाडीलाई प्रवेश निषेध गर्दै ग्राभेल बिछ्याइयो। बाटोमा रोडा-बालुवा बिछ्याएपछि हिलो कम भएको छ। तर धूलोको कुहिरीमण्डलले स्थानीयको जनजीवन थप आक्रान्त बनेको छ।
जिपलाइन नजिकै भेटिएकी सिर्जना तामाङले धूलोमैलोकै कारण आफूलाई रोग लागेको गुनासो गरिन्। उनी घरको गुजारा चलाउन रक्सी पार्छिन् र धुलिखेल बजार पुर्याएर बेच्छिन्।
'रातविरात यही बाटो हिँड्नुपर्छ। सधैं यही सास्ती छ। एक झर पानी पर्यो भने हिलो भएर हिँडिनसक्नु हुन्छ। घाम लाग्यो भने धूलोले सासै फेर्न सकिँदैन। तीन दिनजति भयो, पानी परेको छैन। धूलोले मलाई त दम नै निस्कियो,' उनले भनिन्, 'सास बढेर हैरान छ।'
धुलिखेल-खावाको दुर्दान्तबाट स्थानीय मात्रै होइन, जनप्रतिनिधि पनि आजित छन्। त्यही क्षेत्रबाट निर्वाचित सांसद गोकुल बास्कोटाले सदनदेखि आफ्नै पार्टीको सरकारप्रति रोष प्रकट गरिरहेका छन्।
सडक डिभिजन कार्यालयदेखि तालुकवाला निकाय मन्त्रालयसम्म धाउँदा पनि एउटाले अर्को देखाएर पन्छिने गरेको भन्दै उनी पनि दिकदार छन्।
भदौ २३ गते संसदको पूर्वाधार विकास समिति अन्तर्गतका सांसदहरू अनुगमनका लागि त्यहाँ गएका थिए। नेपाली कांग्रेसका शंकर भण्डारी, प्रतिमा गौतम, नेकपा एमालेका ठाकुर गैरे, दयालबहादुर शाही, माओवादीका माधव सापकोटा, जनता समाजवादी पार्टीका सुशीला श्रेष्ठ लगायत सांसदहरू अनुगमनमा पुगेका थिए। त्यो टिमको नेतृत्व सांसद भण्डारीले गरेका थिए।
अनुगमनमा सडक विभागका उच्चपदस्थ अधिकारीहरू पनि थिए।
अढाइ वर्षदेखि सास्ती खेप्दै आएका र व्यापार-व्यवसाय चौपट भएका स्थानीयवासीहरू आक्रोशित भए। सांसद र स्थानीयवासीबीच नोकझोंक नै चल्यो। ठेकेदार कम्पनीले केही दिनअघि ग्राभेल गरेकोमा पनि स्थानीयले आशंका गरे।
'हाम्रो आँखामा त छारो हालिएको रहेछ नि। दुःख भयो भनेर ग्राभेल गरे भनेको त सांसद र हाकिमहरू अनुगमनमा आउने भएर पो गरिएको रहेछ। अहिले धूलो उडेर खपिनसक्नु छ। ठेकेदार कम्पनीले पानी पनि हाल्दैन,' स्थानीय चन्द्रकुमार तामाङले आक्रोश पोखे।
अनुगमनमा आएका सांसद र सडक डिभिजनका अधिकारीहरूको प्रस्तुति देखेर आफूहरू निराश बनेको स्थानीय उद्धवराज गिरीले बताए।
पाँचखाल-५ का गिरी त्यहाँका व्यवसायी पनि हुन्। एक वर्षदेखि उनको व्यवसाय ठप्पप्रायः छ। चीनसँग जोड्ने राजमार्ग अढाइ वर्षदेखि खण्डहर हुँदा पनि ठेकेदारलाई काममा लगाउन नसक्नु सरकारकै निरिहता भएको उनले बताए।
'ग्राभेल गरेको बाटोबाट पनि सांसदहरू आउन सकेनन्। दैनिक रूपमा यो बाटो हिँड्नुपरेको भए के हुन्थ्यो!,' गिरीले भने, 'ठेक्का तोड्न पनि नसक्ने, काममा लगाउन पनि नसक्ने! यो कस्तो निरिहता हो, हामीले बुझ्न सकेनौं!'
सांसदहरूसँग अनुगमनमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल पनि पुगेका थिए। सांसदहरूकै अगाडि उनले मौजुदा कानुनले ठेकेदारलाई लापरवाही गर्ने बाटो खुला राखेको भन्दै नीतिगत सुधारकै खाँचो औंल्याए।
सम्झौता अवधिमा काम नसक्ने निर्माण कम्पनीसँग ठेक्का तोड्न खोजे पनि व्यवसायीहरू अदालत पुगिहाल्ने हुँदा त्यो आँट गर्न नसकिएको उनको भनाइ थियो।
'हामी ठेक्का तोड्न चाहन्छौं। नयाँ ठेक्का लगाउन चाहन्छौं। तर हामी एकदमै पीडित छौं। विद्यमान कानुन के छ, त्यो यहाँहरूलाई थाहै छ,' उनले भने।
ठेकेदारसँग निर्माण सम्झौता हुनुअगाडि नै काम समयमा पूरा हुन नसके ठेक्का तोड्ने र त्यसविरूद्ध अदालती प्रक्रियामा नजाने भनेर सम्झौता गर्न खोजिए पनि कम्पनीले सही गर्न नमानेको महानिर्देशक पोखरेलले बताए।
'ठेक्का तोड्नेबित्तिकै अदालत जान्छन्। अदालतबाट हाललाई यथास्थितिमा राख्नू भनेर आदेश आउँछ। न हामीले काम गर्न पाउँछौं। न ठेकेदारले नै काम गर्छ,' उनले भने।
नयाँ ठेक्का प्रक्रिया पनि झन्झटिलो भएको उनले बताए। नयाँ ठेक्का लगाउँदा एकातिर लागत बढ्छ, अर्कातिर त्यसका लागि अर्थ मन्त्रालयसँग सहमति लिनुपर्छ। अर्थसँग सहमति खोज्दाखोज्दै समय बित्ने र निर्माण झन् विलम्ब हुन्छ। त्यसैले ठेकेदारलाई जरिवाना तिराएर भए पनि काममा लगाउनुको विकल्प विभागसँग नरहेको उनी बताउँछन्।
धुलिखेल-खावा सडकको दुरावस्था अवलोकन गर्न गएका सांसद माधव सापकोटाले पनि ठेकेदार कम्पनीको लापरवाहीका कारण नागरिकले अनाहकमा दुःख पाएको बताए। यो सडक निर्माणका लागि संसदको पूर्वाधार विकास समितिले ताकेता गरिरहे पनि परिणाम ननिस्किएको उनको भनाइ छ।
'हामी स्थलगत अनुगमनमा जाँदा जनताको पीडामिश्रित आक्रोश थियो। समग्र अरनिको लोकमार्ग ११४ किलोमिटर हो। त्यसमध्ये धुलिखेल-खावा खण्ड चार किलोमिटर मात्रै छ। निर्माण कम्पनीको गम्भीर लापरवाहीका कारण त्यहाँको जनजीवन अत्यन्त कष्टकर र जोखिमयुक्त छ। यो समस्या समाधानका लागि हामी लागिराखेका छौं। तर परिणाम आइराखेका छैन,' उनले भने।
चाडपर्वलाई लक्षित गरेर तत्काल आवागमन सहज बनाउने उपाय निकालिहाल्नुपर्ने सापकोटाले बताए। त्यसका लागि खाल्डाखुल्डी पुर्ने गरी ग्राभेल गर्ने र सापेक्षित सुधार ल्याउने काम गर्नुपर्ने उनी बताउँछन्।
दीर्घकालका लागि कामका क्षेत्र तोक्ने गरी संसदीय समितिले प्रतिवेदन बनाइरहेको उनले बताए।
'प्रतिवेदन तयार पारेपछि मन्त्री, सचिव र महानिर्देशक बोलाएर निर्देशन दिने तयारीमा समिति छ,' उनले भने।
धुलिखेल-खावा खण्डमा सास्ती बेहोर्नुपरेको अहिले मात्र होइन। भिरालो जमिन, सुख्खा पहिरो खसिरहने र नाला निकासको राम्रो प्रबन्ध नभएकाले डेढ दशक अघिदेखि नै त्यो बाटो यात्रा गर्नु चुनौतीपूर्ण थियो।
आठ वर्षपहिले पनि उक्त सडक खण्डमा ठेक्का लागेको थियो।
२०७३ फागुनमा सडक डिभिजन भक्तपुरले १५ करोड रूपैयाँ लागतमा अरनिको राजमार्गअन्तर्गत धुलिखेल-पाँचखाल सडक स्तरोन्नति गरेको थियो। त्यति बेला राजमार्ग सुधारअन्तर्गत सडकको २५ मिटर वरपर मापदण्डविपरीत निर्माण भएका भौतिक संरचना भत्काउने र सडक फराकिलो बनाउने काम भएको थियो। भूकम्पपीडित पुनर्निर्माण अन्तर्गत युरोपेली युनियनको १८ करोड रूपैयाँ अनुदान सहयोगमध्ये १५ करोडमा उक्त ठेक्का कञ्चनजंघा मोतीदान कन्स्ट्रक्सनले पाएको थियो।
तर बालुवागिटी ओसार्ने ठूला वजनका टिपर लगायतले बाटो खण्डहर तुल्याएपछि पुनः ठेक्का लगाइएको हो।
धुलिखेल-खावा सडकलाई नौ मिटरबाट बढाएर १२ मिटर कालोपत्रे गर्ने गरी ठेक्का लागेको हो। त्यस सडक खण्डमा गुड्ने मालवाहक सवारीको भारवहनलाई ध्यानमा राखेर २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने र दुई चरणको (डिबिएम र आस्फाल्ट) कालोपत्रे गर्ने योजना छ।
सडक निर्माणमा भइरहेको ढिलाइबारे हामीले ठेकेदार कम्पनीलाई पनि सोध्यौं।
ठेकेदारका प्रतिनिधि भरत थापाले राजमार्गको चरित्र बुझ्न नसक्दा निर्माणले गति लिन नसकेको बताए। निर्माण पक्षको कमजोरीका कारण स्थानीयवासी र त्यो रूट भएर यात्रा गर्नेले दुःख पाएको उनले बताए।
अरनिको राजमार्ग भएर दैनिक एक हजार ८ सयदेखि दुई हजार गाडी गुड्ने गरेकाले कटिङ र संरचना बनाउन समस्या भएको उनको भनाइ छ।
'डाँडा कटिङ र बाटामा बेस बिछ्याउँदा दुईपटक जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेर सवारी चाप घटायौं,' उनले भने, 'निरन्तरको सवारी चापका कारण निर्माणलाई गति दिन गाह्रो भइरहेको छ।'
उक्त सडकको अहिलेको भौतिक प्रगति ३५ प्रतिशत रहेको बताउँदै आगामी दसैंसम्म दुई किलोमिटर बाटोमा एक चरणको कालोपत्रे गरिसक्ने दाबी गरे।
'निरन्तर वर्षा भएकाले काम गर्न कठिन भयो। यसअघि बनाएका संरचना पनि पहिरो खसेर बिग्रिए, भत्किए। ती संरचनाको बीमा गरिएकाले त्यसको दाबीको प्रक्रिया पनि छ। यी सबै व्यवस्थापन गरेर निर्माणलाई गति दिन्छौं। दसैंसम्म बाटोमा धेरै सुधार आइसक्छ,' थापाले भने।
धुलिखेल-खावा खण्डमा अग्ला डाँडा छन्। माथिदेखि कटिङ गरेर बाटो फराकिलो बनाउनुपर्ने हुन्छ। वन क्षेत्र पर्ने हुँदा रूख कटानका लागि समयमै अनुमति पाउन नसकेको पनि थापाले बताए।
'कतिपय ठाउँमा कटिङ गर्दागर्दै सुख्खा पहिरो खसेर समस्या भयो। हामीले ४० हजार घनमिटर माटो कटिङ गरिसकेका छौं। थप कटिङ गर्न सडक डिभिजनले 'भिओ' दिनुपर्ने हुन्छ। त्यो प्रक्रिया पनि बाँकी छ। जे होस्, अब हामी निर्माणलाई गति दिन्छौं,' उनले दाबी गर्दै भने।
गत चैत १९ मा ठेक्काको म्याद सकिए पनि ६ महिनाभित्र म्याद थप गर्न सकिने व्यवस्था छ। अहिले दैनिक ८५ हजार रूपैयाँ पेनाल्टी (हर्जाना) तिरिराखेको पनि उनले बताए।
'गत चैतको खरिद ऐन संशोधनमा अरू निर्माण कम्पनीको म्याद थप भयो। हामीले कानुनबमोजिम पाउने ११ महिना म्याद थप पनि पाउन सकेनौं। सर्वसाधारण र राजनीतिक दबाबले हामीलाई म्याद थप दिइएन!,' ठेकेदार कम्पनीका प्रतिनिधि थापाले भने।
ठेकेदारका प्रतिनिधिले आफ्नो बचाउ गर्न खोजे पनि गौरी-पार्वती कम्पनीको यसअघिको ट्र्याक रेकर्ड राम्रो छैन। भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनलदेखि विशाल चोकसम्मको बाइपास सडक पनि बेलैमा नबनाएर स्थानीयले सास्ती पाएका थिए। बल्खु-दक्षिणकाली सडक पनि समस्याग्रस्त बनेको थियो। गौरी-पार्वतीले अरू कम्पनीसँग साझेदारीमा गरेका काम पनि प्रायः समस्याग्रस्त छन्।
सडकको दुरावस्थाकै कारण धुलिखेल-खावा चार किलोमिटर खण्डमा पछिल्लो एक वर्षमा २७ वटा साना-ठूला दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालयमा उल्लिखित ती दुर्घटनामा मृत्युको अभिलेख छैन। ती दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयको अभिलेखमा उल्लिखित विवरणमध्ये अधिकांश सवारीसाधन आफै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ।
ठेकेदार कम्पनीले जम्मा चार किलोमिटर बाटो नबनाइदिँदा झन्डै अढाइ वर्षदेखि चार जिल्लाका बासिन्दाले सास्ती भोगिरहेका छन्। यो सास्ती अझै कति लम्बिने हो, टुंगो छैन!
सबै तस्बिर र भिडिओः नवीनबाबु गुरूङ/सेतोपाटी