(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
इन्दू बर्मा छक्क परेकी थिइन्।
नेपाल क्रिकेट संघ (क्यान) ले २०८० साल कात्तिकमा उनलाई महिला टोलीको कप्तान घोषणा गरेको थियो।
इन्दू मात्र होइन, त्यसअघि ११ वर्ष कप्तानी गरेकी रूबिना क्षेत्रीलाई हटाएर उनलाई छान्दा धेरैले अचम्म मानेका थिए।
तर २५ वर्षकी युवा अलराउन्डर इन्दू आफ्नो काँधमा आएको नयाँ जिम्मेवारीबाट अलिकति पनि हच्किइनन्।
इन्दूले हालसम्म १२ खेलमा कप्तानी गरिसकेकी छन्। तीमध्ये ७ वटामा नेपाल विजयी भयो भने ५ वटामा पराजित।
साउन पहिलो साता श्रीलंकामा भएको एसिसी एसिया कपमा भारत र पाकिस्तानविरूद्ध नेपालको प्रदर्शन सम्झनलायक थियो। विश्व क्रिकेटका शक्तिराष्ट्र भारत र पाकिस्तानबाट पराजित भए पनि नेपाली खेलाडीले आफ्नो क्षमता यस्तरी देखाए, भारतकी कप्तान स्मृति मन्धनाले तारिफको पुल बाँध्दै इन्दूसँग भनिन्, 'नेपाली महिला क्रिकेटको भविष्य उज्ज्वल छ। हामी फेरि नेपालसँग खेल्न इच्छुक छौं।'
स्मृतिले भनेझैं नेपाली महिला क्रिकेटको मात्र होइन, अन्य महिला खेलाडीको भविष्य पनि पुरूषको दाँजोमा सुनौलो मान्न सकिन्छ। नेपालमा पुरूषले भन्दा महिला खेलाडीले बढी अन्तर्राष्ट्रिय पदक जितेका छन्।
सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण जित्दा २९ स्वर्ण महिलाले ल्याएका थिए। गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा नेपालकी एरिका गुरूङले करातेमा रजत जितेकी थिइन्। कबड्डीमा जितेको कास्य पनि महिलाकै उपलब्धि थियो। महिला फुटबल टोलीको प्रदर्शन पुरूषभन्दा उच्च स्तरको छ।
यति हुँदाहुँदै पुरूषको दाँजोमा महिला खेलाडीका लागि राज्य तथा सम्बन्धित संघ-संस्थाले कम लगानी गर्दै आएका छन्। प्रतियोगिता पनि कमै हुन्छन्।
पैसा, प्रशंसा र प्राथमिकताको अभावसँग जुझेरै देशका लागि धडाधड पदक जित्ने गरेका महिला खेलाडीमध्ये एक हुन्, इन्दू बर्मा।
बाग्लुङको हुग्दिसीरमा २०५४ सालमा जन्मिएकी हुन्, इन्दू।
उनी जन्मिएको दुई वर्षमा उनको भाइको जन्म भयो। दुई सन्तान हुर्काउने जिम्मेवारी थपिएपछि उनको परिवारले २०६१ सालमा बुटवल झर्ने निर्णय लियो।
बुटवल पुगेपछि इन्दूलाई शारदा नामक सरकारी स्कुलमा भर्ना गरियो। उनको भाइ भने एपेक्स बोर्डिङ स्कुलमा भर्ना भए।
'सायद दुवै छोराछोरीलाई बोर्डिङ स्कुल पढाउने आर्थिक क्षमता उहाँहरूको थिएन,' आमाबुबाको संघर्ष सम्झिँदै इन्दूले भनिन्, 'पछि आर्थिक क्षमताले भ्यायो भने छोरीलाई पनि बोर्डिङमा सार्ने उहाँहरूको योजना हुन सक्छ।'
छोरालाई बोर्डिङ स्कुल भर्ना गर्दा फाइदै भयो। त्यही स्कुलमा इन्दूका आमाबुबाले क्यान्टिन खोले। स्कुलका शिक्षकहरूसँग निकट सम्बन्ध बन्यो।
र, त्यही सम्बन्धले इन्दूको भाग्य बदलियो।
शारदा र एपेक्स स्कुलबीच त्यति दुरी थिएन। इन्दू हाफ-टाइममा खाजा खान आमाबुबाको क्यान्टिन भएको एपेक्स स्कुल पुग्थिन्। आमाबुबालाई क्यान्टिनको काममा सहयोग पनि गर्थिन्। यसले एपेक्स स्कुलका विद्यार्थी र शिक्षकसँग उनको निकटता बढ्यो।
एकदिन एपेक्सका प्रधानाध्यापक र खेलुकद शिक्षक क्यान्टिनमा आए। इन्दूलाई देखेपछि उनीहरूले एपेक्समै भर्ना गराउन आमाबुबालाई भने। आमाले हाँसेर 'ल हुन्छ' भन्ने जबाफ त दिइन्, तर छोरीलाई एपेक्समा पढाउन पैसा छैन भन्ने उनलाई थाहा थियो। त्यति बेला इन्दू आठ वर्षकी थिइन्।
एक सातापछि इन्दूकी आमा भुमाले बुबा रमेशसँग सरसल्लाह गरिन्।
रमेशले छोराछोरीको पढाइ र परिवारको आर्थिक गर्जो टार्न विदेश जाने निर्णय गरे।
त्यसको केही महिनापछि नै उनी कतार उडे।
जुन दिन बुबा रमेशले कतारबाट पहिलो तलब पठाए, त्यसै दिन इन्दू एपेक्स स्कुलमा भर्ना भइन्।
यहाँबाट इन्दूको क्रिकेट यात्रा सुरू भयो। कक्षा ६ पढ्ने उनी प्रत्येक शुक्रबार स्कुलमा हुने खेलकुद प्रतिस्पर्धामा भाग लिन्थिन्। उनको सबभन्दा बढी चासो भने क्रिकेटमा थियो।
इन्दूसँगै उनकी साथी समीक्षालाई पनि क्रिकेट खेल्ने इच्छा थियो। उनीहरू सोच्थे – केटाले खेल्न सक्ने खेल केटीहरूले किन नसक्ने!
यही रनाहाले उनीहरू खेलकुद शिक्षक उमेश श्रेष्ठसँग कुरा गर्न गए।
उमेशले सकारात्मक प्रतिक्रिया जनाएपछि इन्दू र समीक्षा दुवै क्रिकेट खेल्न थाले। दुवैको राम्रो प्रदर्शनपछि स्कुलले पनि महिला क्रिकेटलाई प्राथमिकतामा राख्यो। इन्दूलाई महिला टोली बनाउन खेलाडी जम्मा गर्ने जिम्मा दिइयो। उनले जेनतेन ११ खेलाडी जम्मा पारिन् र क्रिकेट खेल्ने वातावरण बनाइन्।
भैरहवामा भएको अन्तरस्कुल प्रतियोगितामा टोलीले उपाधि नै जित्यो। त्यो इन्दूको करिअरको पहिलो उपाधि थियो।
पहिलो प्रतियोगिता जितेपछि स्कुलले महिला टोलीको निम्ति छुट्टै प्रशिक्षक व्यवस्था गरिदियो। वसन्त शाही प्रशिक्षक बनेर आए। शाही अहिले नेपाली राष्ट्रिय पुरूष टोलीका सहायक प्रशिक्षक छन्।
उनी प्रशिक्षक बनेर आएको दिन इन्दू अहिले पनि झलझल्ती सम्झन्छिन्। त्यो दिन शाहीले भनेका थिए, 'जो क्रिकेटको जर्सी, ट्राउजर र बुटमा आउँछ, उही महिला क्रिकेटको कप्तान हुन पाउँछ।'
इन्दूसँग यी कुनै पनि चिज थिएनन्।
त्यो दिन झमझम पानी परिरहेको थियो। पानीमा रूझ्दै-भिज्दै उनी एपेक्स स्कुलको होटल पुगिन्। अनि आमा भुमासँग रोइकराई गर्न थालिन्, 'आमा मलाई जसरी भए पनि जर्सी, ट्राउजर र जुत्ता चाहियो।'
भुमाले कतारबाट आएको सबै पैसा छोरीलाई बोर्डिङ स्कुल भर्ना गराउन खर्च गरिसकेकी थिइन्। त्यही भएर सुरूमा नाइनास्ती गरिन्। छोरी रोइकराई गर्न थालेपछि उनी पनि छोरीसँगै रून थालिन्।
आमा रून थालेको देखेपछि इन्दूले घरमा पैसा छैन भन्ने बुझिहालिन्।
चित्त बुझाउनुबाहेक उनीसँग अर्को बाटो थिएन।
इन्दूले त चित्त बुझाइन्, तर आमाको मन न हो! छोरीको इच्छा पूरा गर्न नपाएकोमा उनलाई खटपट भइरह्यो।
मुसलधारे झरीको वास्ता नगरी उनी वरपर सरसापट खोज्न गइन्। त्यही पैसाले छोरीलाई जर्सी र ट्राउजर किनेर ल्याइदिइन्। जुत्ता भने पाइएन।
इन्दूले त्यसको पनि जुक्ति निकालिन्।
ठूलीआमाका छोरा गोल्डस्टार जुत्ता लगाउँछन् भन्ने उनलाई थाहा थियो। त्यो जुत्ता उनको खुट्टालाई अलि ठूलो हुन्थ्यो। उनले त्यही भए पनि जसोतसो आफ्नो खुट्टामा फिट गरिन् र भोलिपल्ट बिहानै जर्सी, ट्राउजर र गोल्डस्टार जुत्ता लगाएर स्कुल पुगिन्।
त्यस दिन स्कुल पुग्ने उनी पहिलो खेलाडी थिइन्। त्यो देखेपछि प्रशिक्षक शाहीले इन्दूमा खेलकुदप्रति लगाव बुझिहाले।
इन्दू निर्विकल्प कप्तान भइन्।
त्यो उनको जिन्दगीकै पहिलो कप्तानी थियो।
प्रशिक्षक वसन्त शाहीको सहयोगमा इन्दू पहिलोपटक नेपालगन्जमा यू-१६ प्रतियोगिता खेल्न गइन्।
यहाँबाट उनको क्रिकेट यात्राले उडान भर्यो।
त्यसपछि भैरहवाको टोलीबाट यू-१९ राष्ट्रिय प्रतियोगिता खेलिन्। यू-१९ राष्ट्रिय प्रतियोगिता खेल्दा इन्दू १२ वर्षकी थिइन्। उनलाई कलिलै उमेरमा क्षेत्रीय टोलीको कप्तान बनाइएको थियो।
इन्दूको बलिङ एकदम राम्रो थियो। फिल्डिङमा पनि उत्कृष्ट थिइन्। ब्याटिङ ठिकठाक गर्थिन्। भैरहवाको यू-१९ टोलीबाट राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनले उनलाई नेपालको यू-१९ राष्ट्रिय टोलीमा पुर्यायो।
सन् २०१० को कुरा हो। सिंगापुरमा एसिसी यू-१९ प्रतियोगिता हुँदै थियो। इन्दू पनि यू-१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको खबर आयो। स्कुलका शिक्षकले होटलमै आएर आमा भुमालाई भने, 'छोरी यू-१९ का लागि विदेश जाने भई। तपाईंलाई धेरै बधाई छ।'
सुरूमा त आमाले पत्याइनन्। इन्दूले पनि विश्वास गरिनन्। तर कुरा साँचो रहेछ।
विदेश जाने भनिए पनि त्यसका लागि विभिन्न चरण पार गर्नुपर्थ्यो। शिक्षकले पहिला काठमाडौं जानुपर्ने र त्यसपछि छनौटमा पर्न सके सिंगापुर खेल्न जान पाइने जानकारी दिए।
आमालाई छनौट प्रक्रियाको मतलब थिएन। उनी खबर सुनेरै खुसीले रून थालिन्।
१२ वर्षकी छोरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश जाने खबर नै उनको निम्ति कल्पना बाहिरको कुरा थियो!
जब इन्दू बन्द प्रशिक्षणमा सहभागी हुन लामो यात्रा गरेर काठमाडौं आइन्, उनले यहाँ आफूभन्दा ठूला ज्यान र उमेरका खेलाडी देखिन्। आफूभन्दा ठूला साथी देखेपछि कति दिन त उनी खुलेर बोल्नधरि सकिनन्। आँखामा आँखा जुधाएर हेर्नधरि सकिनन्।
'कतिपय खेलाडीले मलाई सानो मान्छे किल्चिएला भनेर जिस्क्याउँथे। त्यति बेला एक्लो महसुस हुन्थ्यो। ठूला मान्छेसँग बोल्न डर लाग्थ्यो। म हरेक दिन एक्लै रून्थेँ,' इन्दूले भनिन्, 'एक–दुई सातामा क्रिकेट टोलीको माहोलमा भिज्न थालेपछि रून छाडेँ। खेल्ने तरिकाबारे सबै खेलाडीसँग बुझ्न र सिक्न थालेँ।'
एक दिन उनी होटलमै बसिरहेकी थिइन्, एक सिनियर खेलाडीले आएर भने, 'सानो मान्छेलाई पनि बधाई छ।'
इन्दू ट्वाँ परेर उनको मुख हेरिरहिन्।
ती खेलाडीले अगाडि भने, 'तिमी पनि यू-१९ टोलीमा पर्यौ।'
इन्दूका आँखा चम्के। उनले खुसी हुँदै सोधिन्, 'अब हामी कहाँ जाने?'
जबाफ आयो, 'प्लेन चढ्ने, विदेश जाने!'
इन्दू फिस्स हाँसिन्।
उनका आँखा अझै चम्केकै थिएन।
जसै ती खेलाडी खबर सुनाएर बाहिरिए, इन्दूले तुरून्तै आमालाई फोन गरिन् र भनिन्, 'आमा, म राष्ट्रिय टोलीमा परेँ। अब प्लेन चढेर विदेश जाने रे!'
त्यसपछि त बधाईको ओइरो नै लाग्यो।
आमा केही बोल्नै सकिनन्। बुबा रमेश पनि निकै भावुक भए। उनले छोरी राम्रो खेलेर राष्ट्रिय टोलीमा पर्छिन् भन्ने कल्पना पनि गरेका थिएनन्।
इन्दूले सिंगापुरमा सबै खेल्न पाइनन्। तर अनुभव निकै बटुलिन्। त्यो प्रतियोगिताले आफ्नो क्रिकेट यात्रामा निकै सहयोग गर्यो भन्ने इन्दूलाई लाग्छ।
यू-१९ टोलीमा परेको दुई वर्षपछि इन्दूले राष्ट्रिय टोलीमा स्थान बनाइन्।
१४ वर्ष उमेरमा राष्ट्रिय टोलीमा परेकी उनले सुरूआती दिनमा नियमित खेल्न पाइनन्। सन् २०१९ सम्म टोलीबाट खेल्न पाउने-नपाउने भइरह्यो। पाँच वर्षयता भने राष्ट्रिय टोलीबाट नियमित खेलिरहेकी छन्।
अहिले पनि नेपालमा महिला टोलीका लागि खासै प्रतियोगिता हुँदैन। त्यति बेला त झन् वर्षमा एउटा राष्ट्रिय र एउटा अन्तर्राष्ट्रिय मात्र खेल्ने मौका मिल्थ्यो। तैपनि महिला खेलाडीले राम्रो प्रदर्शन गर्थे। इन्दू पाएका बेला उत्कृष्ट प्रदर्शन गर्ने मौका कुरिरहन्थिन्।
'घरको आर्थिक अवस्था बिस्तारै राम्रो हुन थालेपछि क्रिकेटबाट टाढा हुने सोच आएन। तर प्रतियोगिताहरू निरन्तर नहुँदा आर्थिक हिसाबले निकै गाह्रो हुन्थ्यो,' उनले भनिन्।
करिब ६ वर्षअघि सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भएपछि भने इन्दूको आर्थिक समस्या हल भयो। अहिले क्लबबाट आउने तलबले चाहिने खर्चदेखि निरन्तर अभ्यासको अवसर मिलेको छ। उनको प्रदर्शन पनि सुधारिँदै गएको छ। एपिएफ क्लबमा आबद्ध भएपछि नै उनी राष्ट्रिय टोलीमा निरन्तर खेल्न थालेकी हुन्।
एपिएफ क्लबमा आबद्ध हुनुमा पनि एउटा संयोग छ।
महिला क्रिकेट गतिविधि निरन्तर हुन नसकेपछि उनी बुटवलबाट पढ्न भनेर काठमाडौं आएकी थिइन्। एकदिन एपिएफ क्लबको अभ्यास हेर्न साथीसँग गएकी गइन्। एपिएफका एक अधिकृतले इन्दूबारे चासो देखाए र डेढ वर्ष करारमा राखे। पछि उनी एपिएफमा भर्ना भएरै आबद्ध भइन्।
सन् २०१९ देखि राष्ट्रिय टोलीबाट खेल्दा इन्दूको प्रदर्शन राम्रो हुन थालेको छ। टोलीका लागि योगदान दिन व्यक्तिगत रूपमा पनि उनले निकै मिहिनेत गरिन्। एकेडेमी र जिम भर्ना भइन्। यही मिहिनेत र लगावले महिला क्रिकेट टोलीको सबभन्दा ठूलो जिम्मेवारी उनको हात पर्यो। टोलीमा रहेका अन्य अनुभवी खेलाडी पछि पार्दै उनी राष्ट्रिय टोलीको कप्तान बनिन्।
'तपाईं जति सकारात्मक ढंगले खेल्नुहुन्छ, तपाईंको खेल उत्ति नै राम्रो हुन्छ। अनि यस्ता जिम्मेवारी पनि स्वत: तपाईंलाई आउँछन्,' इन्दूले भनिन्।
कप्तान बनेपछि इन्दूमाथि जिम्मेवारीसँगै चुनौती पनि थपिएका छन्। हिँड्ने–बोल्नेदेखि प्रत्येक खेलाडीको विषयमा उनले सोच्नुपर्छ। नेपाली महिला क्रिकेट टोलीको प्रदर्शन र स्तर कसरी उकास्ने भन्ने चिन्ता थपिएको उनी बताउँछिन्।
'अब क्यानले महिला खेलाडीलाई एक्पोजर दिन्छ भन्ने लाग्छ,' उनले भनिन्, 'क्यानले घरेलु र अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्छ भन्ने विश्वास छ। निरन्तर प्रतियोगिता भए मात्र महिला क्रिकेटले गति लिन्छ।'
इन्दूको जिम्मेवारी बढ्दै गर्दा आमा भुमा र बुबा रमेशको जिम्मेवारी भने हलुका भएको छ। कुनै बेला छोराछोरीका लागि होटल खोलेकी आमा र विदेश गएका बुबा अहिले इन्दूको सफलताको ग्राफले दंग छन्।
आठ वर्षअघि विदेशबाट फर्किएका रमेश आजकाल छोरीका कुनै पनि खेल छुटाउँदैनन्। आमा पनि छोरीको खेलबारे सधैं चासो लिइरहन्छिन्। तर टेलिभिजनमा प्रत्यक्ष हेर्न सक्दिनन्।
'सायद डरले होला!' इन्दूले आमाको बानी सुनाइन्।
बुबा भने छोरीको खेल हेर्न अघिल्लो दिनदेखि नै तयारी गर्छन्। घरमा खेल हेर्दा ठूलो स्वरले हुटिङ पनि गर्छन्।
'मलाई बोर्डिङ स्कुल भर्ना गर्न उहाँहरूले निकै संघर्ष गर्नुभयो। उहाँहरूकै त्यागले म क्रिकेटर बनेको हुँ,' इन्दूले भावुक हुँदै भनिन्, 'अब उहाँहरूलाई मेरो खेल मैदानमा प्रत्यक्ष देखाउन मन छ।'
'जिन्दगीमा यत्ति चाहन्छु, आमाबुबाले गर्व गर्नसक्ने बाटो बनाइरहन सकुँ,' उनले भनिन्।
***