हामीले आफ्नो कथा आफैं भन्नुपर्छ: चिनुवा अचिबे


चिनुवा अचिबे नाइजेरियाका चर्चित लेखक, कवि, प्राध्यापक र समालोचक हुन्। १९५८ मा प्रकाशित उनको पहिलो उपन्यास ‘थिङ्स फल अपार्ट’ लाई अफ्रिकी साहित्यमा सबैभन्दा पढिएको किताबका रूपमा लिइन्छ।

उनका उपन्यासमा इग्बो समाजका परम्परा, त्यसमा क्रिश्चियन प्रभाव र औपनिवेशक समयअघि र पछि पश्चिमा तथा परम्परागत मूल्य-मान्यताबीचका टकराव भेट्न सकिन्छ। नो लङ्गर एट इज (१९६०), एरो अफ गड (१९६४) र अ म्यान अफ दि पिपुल (१९६६) उनका केही चर्चित किताब हुन्।

दि अफ्रिका रिभ्यू पत्रिकामा प्रकाशित यो अन्तर्वार्तामा अचिबेले समकालीन नाइजेरियाका समस्याबारे बोलेका छन्। एक उपन्यासकारका रूपमा आफूले देखेको भविष्यबारे पनि उनी बोल्छन्। सन्दर्भ फरक भए पनि आफ्नो देशको नेतृत्वबारे उनले सन् २००७ तिर बोलेका कुरा अहिलेको नेपाली सन्दर्भमा ठ्याक्कै मेल खान्छ। अहिले नाइजेरिया विकासको चरणमा छ र अफ्रिकामा सबैभन्दा ठूला पूर्वाधार निर्माणमा होमिएको छ।

हेलोन हबिलाले लिएको यो अन्तर्वार्ता सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ।

नाइजेरियाको समस्याबारे कुरा गर्दा तपाईंले त्यहाँको मुख्य समस्या नेतृत्व हो भन्नुभएको छ। यसलाई धेरै ठाँउमा साभार गरिएको छ र यो एकप्रकारले सबैले स्वीकारेजस्तै भैसक्यो। वर्तमान नेतृत्वलाई विगतका सँग तुलना कसरी गर्नुहुन्छ? के हामीले प्रगति गर्न थालेको जस्तो लाग्छ?

मलाई लाग्छ हामी त्यहाँसम्म पुगेका छैनौं। यो दुखद कुरा हो। त्यस्तो जोखिमपूर्ण अवस्थाबाट आएर पनि हामी जहाँको त्यहीँ छौं। विशेष गरी अबाचाको (नाइजेरियन सैनिक अफिसर जसले कू गरेर सत्ता हत्याएका थिए) बेलाको समयभन्दा फरक अहिले केही हुनैपर्थ्यो।

एकातिर सोच्दा हामी केही ट्रेन्डले जता दौडाउँछौं त्यही देख्छौं। मलाई लाग्छ हामी त्यसरी फेरि बाँधिनु हुँदैन। ती आशा, अपेक्षा धराशयी हुँदै गएका छन्। म पनि त्यसको दोषी हुन सक्छु। मैले मानिसलाई बहकाएँ। जब राष्ट्रपति ओबासान्जो (जो दुई कार्यकाल राष्ट्रपति भए) पुनस् आए, त्यसबेलासम्म धेरै मानिस उनको पहिलो कार्यकालबाट दिक्क भइसकेका थिए। त्यस बेला मैले लेखेँ- हामीलाई थाहा छ अवस्था गम्भीर छ, तर पनि यो मान्छेलाई एकपल्ट मौका दिउँ। हुनसक्छ उनले थाहा पाए, नाइजेरियाको अवस्था हामीले सोचेभन्दा नाजुक रहेछ र त्यसलाई ठिक गर्न उनलाई केही समय चाहिएको छ।’

त्यसरी लेख्नु गलत थियो। हामीले सुरुबाटै थाहा पाउनुपर्थ्यो, ती मान्छे प्रजातन्त्रवादी हैनन्। त्यो नै उनको पहिलो नम्बरको अयोग्यता थियो।

उनका धेरै योग्यता पनि थिए, जसबारे मैले कुराकानी गरेको थिएँ। सेनामा उनको अनुभव र अबाचा (उनीभन्दा पहिलाका राष्ट्रपति) को समयमा उनले पाएको सास्ती। उनलाई थाहा थियो, मृत्युको नजिकै पुग्नु कस्तो हुन्छ। ती योग्यता पक्कै ठूला हुन् तर उनले ती कुनै योग्यता प्रयोग गरेनन्। त्यसकै कारण देशको यो अवस्था आइरहेको छ।

केही मानिस भन्छन्, कसैले पनि सर्वगुणसम्पन्न शासक पाउन सक्दैन। उसले गरेका केही काम, जस्तो- प्रहरी प्रमुखलाई जेल हाल्ने र भ्रष्टाचारविरुद्ध जुध्ने काम हेर्दा केही सुधार गर्न खोजेजस्तो पनि लाग्छ। हामीले त्यस्तै मानिस त्यहाँ पुगोस् भन्ने सोचेका हैनौं र?

त्यो पर्याप्त छैन। सुन्नुहोस् नाइजेरियन मूर्ख हैनन्। त्यहाँ नेतृत्वले साँचो परिवर्तन गर्न खोजेको हो भने, भ्रष्टाचार चिर्न खोजेको हो भने, बिजुलीको वितरण गर्न चाहेको हो भने उनीहरू भन्नेछन्, हो यो मान्छेले प्रयास गरिरहेको छ। तर, जे भइरहेको छ त्यो निरर्थक भइरहेको छ भने वा समस्या समाधान गर्नुको साटो चलाखीपूर्ण ढंगले समाधान गरेजस्तो देखाएर झुक्याउन मात्र खोजिएको हो भने मानिस हेरिरहेका हुन्छन्। ओबासान्जो त अपराधीमध्येबाट अपराधी छानिरहेका छन्। सानो माछा पक्रिएर ठूलो छाडिरहका छन्। सानो अपराधी समात्छन् तर ठूलोसँग सँगै बसेर खाइरहेका छन्। यसलाई मानिसले पक्कै ध्यान दिइरहेका हुन्छन्। मानिस निष्पक्षतामा धेरै संवेदनशील हुन्छन्।

म तपाईंलाई सोध्न चाहिरहेको थिएँ, के नाइजेरिया जनयुद्धपछि लगभग ४० वर्ष अगाडि बढेको ठान्नुहुन्छ? विशेषगरी इग्बो (नाइजेरियाको एक जाति) को स्थानलाई विचार गर्दा।

यहाँ र त्यहाँ केही परिवर्तन भएका छन् तर मुख्य रूपमा इग्बोहरू अहिले पनि नाइजेरियाको मूलधारमा छैनन्। जब उनीहरू सीमान्तकृतहरूबारे कुरा गर्छन्, त्यसमा सत्यता छ। यो सत्य हो, जनयुद्धपछि धेरैखाले असर हुन्छन्। त्यसले लडाइँ हार्नेहरूलाई धेरै असर गर्छ। दुखद कुरा यस्तो सबैतिर हुन्छ। यो अप्रत्यासित कुरा भने हैन। तर, जो मानिस समझदार हुन्छन्, उनीहरू थाहा पाँउछन्, त्यो बाटोमा सधैंभरि हिँड्न सकिन्न। जति लामो समय समुदायको एक महत्त्वपूर्ण खण्डलाई बेवास्ता गरिन्छ, उनीहरूको क्षमता राज्यको लागि प्रयोग हुनबाट वञ्चित भइराख्छ। यसले हामी आफैंले पनि राम्रो नेतालाई भन्नुपर्छ, जतिसुकै ठूलो झगडापछि पनि मेलमिलाप चाहिन्छ। यसको अर्को महत्त्वपूर्ण कुरा ‘तैले त्यो बेला यस्तो गरेको थिइस्’ भनेर बारम्बार नदोहोर्याउनु पनि हो।

हामीले केही प्रगति गर्यौं त म भन्छु तर पर्याप्त छैन। किनकि नाइजेरियाको नेतृत्वको दिमाग यो कुरामा पर्न छाडिसक्यो।

अबको १५ वर्षमा नाइजेरियालाई कहाँ देख्नुहुन्छ त? केही अनुमान पनि छन् कि पूर्वी युरोपियन देशहरूजस्तै नाइजेरिया पनि टुक्रिँदै छ।

म तपाईँलाई भनुँ कि म भाग्यमा विश्वास गर्छु। आशा गर्छु नाइजेरिया १५ वर्षमा टुक्रिने छैन। त्यसैले पनि यो खाले भविष्यवाणी गर्न चाहन्न।

तपाईँलाई लाग्छ ‘हेइनेमन अफ्रिकन राइटर्स सिरिज’ अफ्रिकन लेखकहरूप्रति ज्यादै रक्षात्मक थियो? हेइनेमनले बजारमा निश्चित सीमाना बनाएको थियो र त्यसका लागि जे पनि गर्यो। त्यसले लेखकहरूमा उस्तै उस्तै थिमप्रति चासो राख्ने बनायो जसमा औपनिवेशिक विषयहरू धेरै सामेल थिए। हेइनेमनले लेखकहरूलाई त्यस्तो खाले शैली अपनाउन उत्प्रेरित गर्यो जुन झन्डै झन्डै अनैतिक नै थियो भन्ने लाग्छ?

यो एकदमै रोचक प्रश्न सोध्नुभयो। एक लेखकका रूपमा मेरो करिअरमा त्यस्तो कुनै अवस्था सम्झना छैन जहाँ कसैलाई रक्षा गर्न खोजिएको होस्। बरु ठूलो नम्बरमा मानिसलाई किताब लेख्न प्रेरित गरेको भने सत्य हो। उनीहरूको लेखन बजारमा आउन सके। यो एकप्रकारले मार्केटिङ नै हो।

म यसलाई ‘दि अचेबे स्कुल’ भनिएकोमा भने विरोध गर्छु। व्यक्तिगत रूपमा कुरा गर्दा पनि म स्कुल गइनँ। त्यो पुस्तालाई सम्झिनुहोस् जहाँ कुनै साहित्य थिएन। जहाँ भनिएका कथाहरूमा तपाईं कतै पर्नुहुँदैन थियो। स्कुल सुरु गर्दा र पास भएर निस्किँदा पनि, त्यो सम्पूर्ण समयमा आफ्नो बारेमा कतै केही पढ्न सुन्न पाइदैन थियो। त्यो समयमा हुर्किन सारै कठिन थियो। त्यो अवस्थामा नगुज्रिएसम्म त्यो समयमा आफ्नो बारेमा कथाहरू लेखिनु र त्यो पनि आफ्नै शैलीमा लेखिनु किन जरुरी थियो भन्ने बुझ्नुहुन्न।

त्यसैले होला सम्भवत:, थोरै सत्य पनि होला, केही न्याय पनि, त्यो सबै संरक्षण गरिएजस्तो देखियो होला। वा भनौं ती लेखकलाई प्रकाशित गरियो जो हामी नभएको भए प्रकाशित हुनेवाला थिएनन्। उनीहरूलाई प्रकाशित हुने अवसर दिएकै हो।

मानिसहरू जो कहिल्यै पढ्दैन थिए उनीहरू पनि पढ्न थाले। यो ठूलो आन्दोलन थियो जसले समग्र अफ्रिकालाई नै प्रभावित गर्यो। त्यसैले विगत फर्किएर हेर्दा यसले एक खाले शैली बनाएको देखिन्छ। अफ्रिकन राइटर्स सिरिज सक्रिय भइरहेका बेला त्यहाँ मानिस थिए, जो अहिले बेलायतमा बस्छन्। हेइनेमनभित्रै पनि मानिस थिए, विशेषगरी युवाहरू। किनभने हेइनेमनभित्रै पनि प्रकाशकहरूको दोस्रो पुस्ता आइसकेको थियो। उनीहरू पनि पहिलो पुस्ताले के गरिरहेका थिए भन्नेमा खासै रुचि राख्दैन थिए। उनीहरूले तिनलाई समालोचकीय रूपमा पनि वास्ता राख्दैन थिए।

र आलोचना यसरी भयो, ‘औपनिवेशिक समयमा लेखिएका कथाहरूले युरोपको सभ्य बनाउने प्रयासलाई न्याय गरेनन्’। उनीहरूले आफ्नो पुर्खाले गरेको कामलाई त्यसरी हेरे। मैले मेरो नजिकको साथी होला भन्ने सोचेको एक व्यक्तिले पनि मेरो काम अस्वीकार्य भनेको रहेछ। मैले पछि थाहा पाएँ।

अहिले ब्रिटेनमा धेरै मानिस हिँडिरहेका भेटिन्छन् जसलाई अहिले पनि लाग्दैन, औपनिवेशिक प्रयोग जसरी लादिएको थियो त्यो निष्पक्ष थिएन।

तपाईंको सम्पूर्ण लेखन करिअर ‘आफ्नो कथा आफैं भनौ’ भन्ने आधारमा बढी केन्द्रित देखिन्छ। हामीले त्यो अवस्था पाउन थाल्यौं भन्ने ठान्नुहुन्छ? तपाईंलाई लाग्छ यो संसार जानीजानी अफ्रिकाको अर्को पक्ष मात्र हेर्न र सुन्न खोजिरहेको छ? अथवा उनीहरू जान्दैनन्, अफ्रिकामा भोकै लडिरहेका बच्चाबच्ची मात्र हैन, सामान्य मानिस पनि छन्। के यो हाम्रो कथा भन्ने उपयुक्त माध्यम हो?

यो अलिक त मनोविज्ञानको कुरा होला। धेरै मानिसको दिमागमा अफ्रिका भनेको यस्तो भन्ने छाप लामो समयदेखि छ। उनीहरू त्यसैको आधारमा प्रतिक्रिया दिन्छन्। त्यसैले पनि कुनै क्यामराम्यान जब अफ्रिका जान्छ उसँग दिमागमा पहिल्यै ती कुरा भरिएका हुन्छन्। त्यसैले ऊ वास्तविक अफ्रिका देख्दैन। यो होइन कि उसले खिचेका तस्बिर झुटा हुन्। त्यस्तो अवस्था साँच्चै छ अफ्रिकामा। तर कुरा के हो भने त्यो सँगसँगै अरू धेरै कुरा पनि अफ्रिकामा भइरहेका छन्। तर क्यामराम्यानको खोजी र छनोट भने इतिहासमा खिचिएका तस्बिरहरूले नै निर्धारण गरिरहेका छन्।

हाम्रो अगाडि धेरै काम बाँकी छन्। हामी तयार हुनुपर्छ। चुनौती छन् तर त्यसबाट धेरै चिन्तित पनि हुनुपर्दैन। हामीले चिन्ता लिनुपर्ने विषय भनेको ती भइरहेका राम्रा कुरा अरूलाई देखाउनु हो। नत्र त्यस्तै तस्बिर खिचिइरहनेछन्।

कसैले खिचेको तस्बिर मन परेन भने त्योभन्दा साँचो र यथार्थ झल्काउने अर्को तस्बिर खिच्नुपर्छ र सँगै राख्नुपर्छ। कसैले भनिदिएको कथा मन परेन भने अर्को कथा भन्नुपर्यो जो मन पनि पर्छ र भनिएको कथामा अझै सत्यता थप्छ। लेखिएको कथालाई ढाल्ने वा हटाउने गर्नुहुँदैन। सत्य छ भने त झनै गर्नुहुँदैन। हामीले भन्ने कथाहरूमा एकरूपता भने हुनुपर्छ।

हामीले त्यो खाले काम ठूलो स्केलमा गर्न सक्नुपर्छ। अनि मात्र अफ्रिकाबारे सयौं वर्षदेखि बनेका तस्बिर र कथा मेटाउन सक्छौं।

तपाईंले अहिले कुनै उपन्यास प्रकाशित गर्नुभएको छैन। पछिल्लो उपन्यास आएको पनि १० वर्ष भइसक्यो। अर्को उपन्यासमा काम गर्दै हुनुहुन्छ? अथवा निबन्धहरू लेख्नु तपाईंको उद्देश्यका लागि झनै प्रभावकारी भइरहेको छ?

भन्नै पर्दा मेरो टेबलमा धेरै प्रकारका लेखन छन् अहिले। एउटा उपन्यास भन्दा धेरै। कहिले ती निस्कन्छन् भनेर भन्न पाए हुन्थ्यो तर म सक्दिनँ। समस्या धेरै छन्। पहिलो त म एकदमै धेरै लेख्छु। बरु बोल्दिन। दोस्रो म आफूलाई गर्नैपर्छ भनेर दबाब दिन्न। पटकपटक किताब निकाल्नुपर्छ भन्ने पनि लाग्दैन। कारण किनभने म फरक तरिकाले काम गर्छु र मेरो जीवनको काम भनेको किताब लेख्नुभन्दा धेरै छ भन्ने लाग्छ। मेरो जीवनमा अरू धेरै चिज छन् जसले मलाई व्यस्त राख्छन्। दिनहरू पहिला जस्तो लामो हुन्थे, आजकाल हुन छाडेका छन्। सबै कुरा एकैठाउँमा राखेर हेर्दा म भन्ने गर्छु ‘जब हामी देख्छौं, स्वीकार्छौं।’

केही मानिस तपाईंले नाइजेरियालाई वास्ता नगर्नु भए हुन्थ्यो भन्छन्। के तपाईंलाई लाग्छ, परिवर्तन ल्याउन सक्ने त्यस्ता कुनै चिज छैन जसका बारेमा तपाईं लेख्न सक्नुहुन्छ?

कहिलेकाहीँ मैले जे भन्नु थियो भनिसकेँजस्तो लाग्छ। तर फेरि सोच्छु र भन्छु ‘हैन।’ म जहिल्यै केही न केही भनिरहेको हुन्छु, किनकि मलाई आशा छ पहिलोपल्टमा काम नगरे पनि कम्तीमा दोस्रोपल्ट त्यसले काम गर्नेछ। मैले अगाडि नै भनेँ मलाई लेखनबाहेक अरू कुनै पेसामा इच्छा छैन। त्यसैले अनुमान गर्न सक्नुहुन्छ, म जीवनको अन्तिम समयसम्म लेखिरहनेछु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.